२०८२ चैत्र ११ गते बुधवार
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नयाँ बन्न लागेको सरकारमा आफ्नो सहभागिताबारे भइरहेका टिकाटिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अध्यक्ष घिसिङले रास्वपाको सरकारमा आफ्नो सहभागिताबारे केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा भइरहेका टिकाटिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।
उनले भने,‘नेपालको संविधानअनुसार गैर–सांसद व्यक्ति मन्त्री बन्न सक्दैन भन्ने कुरा स्मरण गराउन चाहन्छु । जनताबाट प्राप्त जनादेश विपरीत अन्य कुनै पनि वैकल्पिक बाटोबाट सांसद बनेर मन्त्री बन्ने कल्पना समेत गर्न सकिँदैन।’
सरकारमा सहभागिताबारे अहिलेसम्म कोही सँग कुनै छलफल नभएको समेत उनले प्रष्ट पारे । चुनावी परिणामलाई सम्मान गरेर त्यसबाट पाठ सिक्दै उनेपालाई थप सुदृढ बनाउने अभियानमा आफूहरु केन्द्रित रहेको समेत उनले बताए ।
सुशासन र समृद्धिसहितको उज्यालो नेपाल निर्माणप्रति हाम्रो प्रतिबद्धता अटल रहेको बताउँदै उनले भने,‘हाम्रा विरुद्ध फैलाइएका गलत प्रचारको भ्रममा नपर्न सम्पूर्णमा अनुरोध गर्दछु।’

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij