२०८२ चैत्र १० गते मंगलवार
काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिका-१ नुनथरस्थित बागमती नदीमा माछा मार्ने क्रममा डुबेर बेपत्ता भएका एक व्यक्तिको शव तीन दिनपछि फेला परेको छ।
चैत ७ गते बिहान करिब साढे १० बजेतिर सर्लाहीको बागमती नगरपालिका-४ नयाँबस्ती निवासी करिब ४० वर्षीय कामी सिंह स्याङतान नदीमा माछा मार्ने क्रममा डुबेर बेपत्ता भएका थिए।
खोजतलासका लागि इलाका प्रहरी कार्यालय चन्द्रपुरबाट डिएसपी रुपा लाबुङको कमाण्डमा प्रहरी टोली परिचालन गरिएको थियो। साथै, चपुरस्थित नेपाली सेना, सशस्त्र प्रहरी बल सन्तपुर क्याम्प र इलाका प्रहरी कार्यालय कर्मैया सर्लाहीबाट समेत संयुक्त टोली खटिएको थियो।
त
घटनापछि चैत ८ र ९ गतेसमेत बागमती नदीमा डुंगा प्रयोग गरी व्यापक खोजी कार्य जारी राखिएको थियो। सोही क्रममा आज बिहान करिब साढे ७ बजेतिर नुनथर झोलुङ्गे पुलदेखि करिब १०० मिटर उत्तरतर्फ नदीमा स्याङतानको शव पानीमा तैरिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।
शवलाई पोस्टमार्टमका लागि चन्द्रनिगाहपुर सरकारी अस्पताल पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij