Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

सीमा नाकामा ढुंगामुढा : एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते

सीमा नाकामा ढुंगामुढा : एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते


  • 8.8K
    Shares

    सीमा नाकामा ढुंगामुढा :  एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
    images

    महोत्तरी । जिल्लाको मटिहानी नगरपालिका-८ स्थित नेपाल-भारत सीमा नाकामा गएराति ढुंगामुढा र लाठिचार्ज हुँदा एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते भएका छन् । मटिहानीमा अवस्थित २ नम्बर बोर्डरमा रहेको ढाट (घेराबेरा) र कोभिड-१९ परीक्षणका लागि बनाइएका सहायता कक्षसमेत भारतीयहरूले तोडफोड गरी हटाएका छन् । 

    बोर्डर आउट पोष्ट (बिओपी) मटिहानीका प्रहरी निरीक्षक बलराम गौतमका अनुसार, गए राति करिब ८ बजे ५०/६० भारतीयले मदिरा खाएर एक्कासि २ नम्बर बोर्डरमा खटिएका प्रहरीहरूमाथि ढुङ्गामुढा गरेका थिए । करीब आधा घण्टासम्म भारतीयहरूले गरेको ढुङ्गामुढाबाट ड्युटीमा खटेका सशस्त्र प्रहरी जवान विवेक ढकालको टाउको फुटेको छ भने उनले लगाएको पोशाक (चुस्ता) समेत ढुङ्गामुढा गर्नेहरूले च्यातिदिएका छन् ।

    यता भारतीय व्यापारीका अनुसार बिओपी मटिहानीका प्रहरी निरीक्षक गौतमले कोभिड-१९ को अवधिमा पनि आफूहरूसँग मोटो रकम लिएर लाइन (तस्करी गर्ने इजाजत) दिएकामा गएराति ८ बज्‍नासाथ भारतबाट आलु, प्याज, चामललगायतका वस्तुहरू नेपाल ल्याउन शुरु गरेका व्यापारीमाथि बोर्डरमा खटिएका सशस्त्र प्रहरीले रोक लगाउँदै लाठी चार्ज गरेका थिए ।

    सशस्त्र प्रहरीको लाठी चार्जबाट आठ भारतीय व्यापारी घाइते भएका छन् । उनीहरूले आफूहरू महिनाबारी (महिनामा एकै चोटी) रकम दिएर लाइन लिएकामा सशस्त्र जवानहरूले सीमामा रोकेर थप पैसा माग्‍न खोजेको र नदिँदा कुटपिट गरेको बताएका छन् ।

    त्यसैगरी स्थानीय प्रत्यक्षदर्शीहरूले पनि सशस्त्र प्रहरीले बल प्रयोग गरेको र भारतीय व्यापारीहरूलाई कुटपिट गर्न थालेपछि भारततर्फबाट एक हुल मानिस आएर सशस्त्र प्रहरीमाथि पनि ढुङ्गामुढा गरेको बताएका छन् । रासस

    प्रकाशित मिति :जेठ १० २०७८ सोमवार - ११:१५:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij