२०८२ चैत्र ९ गते सोमवार
काठमाडौं । पर्वतारोहण र ट्रेकिङ क्षेत्रमा पर्यटकको फेक रेस्क्यु गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङको धुवाकोट नगरपालिका–१४ घर भएका ३८ वर्षीय सन्तोष अधिकारी भन्ने खोमराज अधिकारी छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको सीआईबीका एआईजी डा।मनोज केसीले बताएका छन् ।
मलेसियाबाट फर्किँदै गर्दा शनिबार पक्राउ गरेर प्रहरीले उनको बयान लिएर अदालतमा पेस गरेको छ । पर्यटकको फेक रेस्क्यु गरेर अवैध बिमा रकम दाबी गरेको कसुरमा ३२ जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अदालतमा मुद्दा दायर गरेको छ ।
सन् २०२२ यता भएको फेक रेस्क्युमा ३३ जनाको संलग्नता देखिएको सीआईबीको अनुसन्धान निष्कर्ष छ । तर, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहन्यायाधिवक्ता रामहरि काफ्लेले आरोपीमध्येका राजेन्द्रबहादुर सिंहलाई मुद्दा नचलाउने निर्णय गरेका छन् ।
हवाई व्यवस्थापन विज्ञ समेत रहेका सिंह फेक रेस्क्युमा संलग्न रहेको र उनले अन्य आरोपीलाई मुद्दाबाट बच्ने उपाय सिकाएको अडियो प्रहरीले अनुसन्धान प्रतिवेदन सँगै पेस गरेको थियो ।
पर्यटकको फेक रेस्क्यु गरेर स्वास्थ्य बिमा दाबी गर्दै नाफा आर्जन गरेको आरोपमा १० जना पक्राउ परेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij