२०८२ चैत्र ७ गते शनिवार
कपिलवस्तु । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जिल्लाको महाराजगञ्ज बर्गदवा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।
शनिबार मन्दिरमा भजन गाउँदा तोडफोड भएको विषयलाई लिएर हिन्दू र मुस्लिम समुदायका युवाबिच तनाव सिर्जना भएपछि जिल्ला प्रशासन कार्यालयले सो क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालयले एक सूचना प्रकाशित गर्दै सम्भावित झडपलाई रोक्न कुनै किसिमको भेला, सभा, जुलुस गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम आज दिउँसो २ बजेदेखि अर्को सूचना जारी नभएसम्म निषेधाज्ञा जारी गरिएको जनाएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्दा तीन जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी सन्तोष आचार्यले दिएको जानकारी अनुसार युवाहरूले प्रहरीलाई अवरोध गर्ने क्रममा झडप भएपछि हवाई फायर गर्नुपरेको हो । हवाई फायरबाट तीन जना घाइते भएका छन् । उनले अहिले स्थिति नियन्त्रणमा आउँदै गरेको र घाइतेहरूलाई उपचारका लागि बुटवल र भैरहवा पठाइएको बताए ।
आदेशको उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिई कानुनबमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ । निषेधाज्ञा पूर्वमा बर्गदी पुल, पश्चिममा बहादुरगञ्ज चोक, उत्तरमा महाराजगन्ज बजार र दक्षिणमा हर्दौनासम्म लागु गरिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij