Logo

२०८२ चैत्र ६ गते शुक्रवार

२०८२ चैत्र ६ गते शुक्रवार

आज दिनभरको २९ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्

आज दिनभरको २९ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्


  • 722
    Shares

    • images
    आज दिनभरको २९ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्

    १. वन क्षेत्रलाई अर्थतन्त्रको मुख्य खम्बा बनाउनुपर्छः अर्थमन्त्री खनाल

    अर्थमन्त्री रामेश्वर खनालले नेपालको अर्थतन्त्रमा वन क्षेत्रको भुमिका महत्वपूर्ण रहेको बताउँदै यसलाई मुलुकको समृद्धिको आधार बनाउनुपर्नेमा जोड दिनुभएको छ । शुक्रवार संघीय संसद भवनको प्राङ्गणमा वृक्षारोपण कार्यक्रममा सहभागी हुँदै उहाँले वन क्षेत्रलाई मुलुकको समृद्धिको आधार बनाउनुपर्नेमा जोड दिनुभएको हो । मन्त्री खनालले मन्त्रालयमा हुँदा वन क्षेत्रले नेपालको अर्थतन्त्रमा पु¥याउन सक्ने योगदानबारे नजिकबाट बुझ्ने अवसर पाएको बताउनु भयो । वन क्षेत्रको योगदानलाई अगाडि बढाउन सरकारले आधा दर्जनभन्दा बढी महत्वपूर्ण कदमहरू चालिसकेको जानकारी दिनुभयो । नेपालको पर्यटन क्षेत्रबाट हुने आम्दानीको ठूलो हिस्सा वन क्षेत्रकै कारण प्राप्त हुने मन्त्री खनालको भनाइ छ । नेपालका ट्रेकिङ रुटहरूमा विदेशी पर्यटकहरू जानुको मुख्य कारण पनि यहाँको वन र प्राकृतिक सौन्दर्य नै रहेको उहाँले उल्लेख गर्नुभयो । उनले नेपाललाई विश्वमा चिनाउन ‘बायोस्फेयर रिजर्भ’ घोषणा गर्न सकिने थुप्रै क्षेत्रहरू रहेको र यस विषयमा वन मन्त्रालयका अधिकारीहरूसँग छलफल भइरहेको समेत बताउनु भयो । 

    २. मेयर आचार्य भन्छन्ः पोखरामा ‘टिकट काटेर हेर्नलायक’ फोहोर प्रशोधन केन्द्र बन्दैछ

    पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरामा हालै देखिएको फोहोरमैलाको समस्या समाधानको बाटोमा गएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र हालैका आन्दोलनका कारण सिर्जित फोहोरले व्यवस्थापनमा केही असहजता ल्याएपनि महानगरले अल्पकालीन र दीर्घकालीन दुवै समाधानका काम सँगसँगै अघि बढाएको उहाँले स्पष्ट पार्नुभएको हो । लामो समयसम्म फोहोर नउठेर आलोचना खेप्नुपरेको भन्दै मेयर आचार्यले चुनावको मुखैमा फोहोर उठ्न नसक्नुको मुख्य कारण साउन–भदौसम्म पुग्ने अनुमान गरिएको अस्थायी विसर्जन केन्द्र ‘जेनजी मुभमेण्ट’ (आन्दोलन) का कारण छिट्टै भरिएको थियो । मेयर आचार्यले चुनावको समयमा नयाँ ठाउँ खोज्न र व्यवस्थापन गर्न कठिन भएपनि गत ३० गतेबाट नयाँ अस्थायी विसर्जन केन्द्र तयार गरी फोहोर उठाउन थालिएको र अब पोखरा पुरानै अवस्थामा सफा हुने उनले जानकारी दिनुभयो । 

    ३. महिलाले महिलाकै विरोध गर्ने होइन, वकालत गर्ने संस्कार बसालौंः महान्यायाधिवक्ता भण्डारी

    महान्यायाधिवक्ता सविता भण्डारीले महिलाहरु उच्च पदमा पुग्दा महिलाहरुबाटै विरोध हुने गरेको भन्दै त्यसको सट्टा एक–अर्काको वकालत गर्ने संस्कार बसाल्न आग्रह गर्नुभएको छ । शुक्रवार भक्तपुरमा नेपाल बारले आयोजना गरेको कानून व्यवसायी महिलाहरुको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । भण्डारीले आगामी दिनमा न्यायपालिकामा महिला नेतृत्व पाउने आशा व्यक्त गर्दै सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल भोलिको प्रधानन्यायाधीश हुनेमा आफू विश्वस्त रहेको बताउनु भयो । महान्यायाधिवक्ता भण्डारीले कानून व्यवसायी महिलाहरु केवल पेशागत भुमिकामा मात्र सिमित नभई समाज परिवर्तनका वास्तविक संवाहक भएको बताउनु भयो । महिला, बालबालिका, दलित, आदिवासी जनजाति र सीमान्तकृत समुदायको अधिकार संरक्षणमा महिला कानून व्यवसायीको भुमिका निर्णायक हुने उहाँले उल्लेख गर्नुभयो । 

    ४. महिलाको शरीर आफैँमा ‘वारदात स्थल’ होः सपना प्रधान मल्ल

    सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले यौनजन्य हिंसामा परेका महिलाहरूको न्यायका लागि अदालतले विश्वमै उदाहरणीय र नयाँ नजिरहरू स्थापित गरेको बताउनुभएको छ । शुक्रवार भक्तपुरमा आयोजित कानून व्यवसायी महिलाहरुको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बलात्कारका मुद्दामा ‘लोकेशन’ वा घटनास्थल भन्न नसकेकै आधारमा पीडितले मुद्दा हार्ने अवस्थाको अन्त्य गर्दै अदालतले ‘महिलाको शरीर आफैँमा हिंसाको स्थल वा वारदात स्थल हो’ भन्ने सिद्धान्त स्थापित गरेको उहाँले जानकारी दिनुभयो । उहाँले अनुसन्धान प्रणालीमा रहेको कमजोरीप्रति पनि चासो व्यक्त गर्नुभयो । मुखमा बलात्कार भएको पीडितको बयान हुँदाहुँदै योनि परीक्षण गर्न पठाउने जस्ता त्रुटिपूर्ण अनुसन्धानले न्यायमा बाधा पु¥याएको उहाँको भनाइ थियो । पीडितले विरोधाभाषपूर्ण बयान दिएमा त्यसलाई ‘रेप ट्रमा सिन्ड्रोम’ का रूपमा बुझ्नुपर्ने नजिर समेत सर्वोच्चले कायम गरेको उहाँले उल्लेख गर्नुभयो । 

    ५. बैठक सञ्चालनका लागि पनि नयाँ संसद भवन तयारी अवस्था छः गृहमन्त्री

    गृहमन्त्री ओमप्रकाश अर्यालले नयाँ संसद भवनको निर्माण र व्यवस्थापन पक्षको निरीक्षण गर्दै सबै तयारी पूरा भएको बताउनुभएको छ । निरीक्षणका क्रममा उहाँले प्रतिनिधि सभाको छुट्टै बैठक र आवश्यक परेको खण्डमा दुवै सदनको संयुक्त बैठक सञ्चालनका लागि समेत पूर्वाधार तयार रहेको जानकारी दिनुभएको हो । उहाँले कार्यव्यवस्था समितिको बैठक कक्ष र सभामुखको कार्यकक्ष समेत तयार भइसकेको बताउनु भयो । शपथ ग्रहणका लागि मात्र नभई पूर्ण अधिवेशन सञ्चालनका लागि समेत भवन तयार रहेको उहाँको भनाइ छ । सिट प्लानिङ र फर्निचरको व्यवस्थापनलाई ‘राम्रो’ भन्दै उहाँले माइक र स्क्रिन जडानको काम समेत द्रुत गतिमा भइरहेको उल्लेख गर्नुभयो । 

    ६. बारको चेतावनीः दुई तिहाईको सरकारले संविधानवाद र कानूनको शासन चिर्न थाले बारल पोजिसन लिन्छ

    नेपाल बार एशोसिएशनका अध्यक्ष प्रा.डा. विजयप्रसाद मिश्रले मुलुकमा दुई तिहाई बहुमतको सरकार बन्ने अवस्था आउँदा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक श्रृङ्खला रहेको भन्दै सचेत रहन आग्रह गर्नुभएको छ । रोल...
    भक्तपुरमा शुक्रवार आयोजित नेपाल बार एशोसिएशन कानून व्यवसायी महलिाहरुको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । अध्यक्ष मिश्रले विगतका दृष्टान्तहरू प्रश्तुत गर्दै नयाँ सरकारलाई बारले ‘बेनिफिट अफ डाउट’ (शंकाको सुविधा) दिएपनि संविधानवाद मिचिएमा कडा कदम चाल्ने चेतावनी दिनुभयो । उहाँले २०१५ सालमा दुई तिहाईको प्रधानमन्त्री बनेपछि बीपी कोईरालाको सरकारले कानूनको स्नातक (ल ग्र्याजुएट) नभएको भन्दै हरिप्रसाद प्रधानलाई हटाएर भगवतीप्रसाद सिंहलाई ल्याएको, २०१७ सालमा काँग्रेसबाट नियुक्त भएका न्यायाधीशहरूलाई पदमुक्त गरी जेल हालिएको र २०४८ सालमा काँग्रेसको बहुमत आउँदा शाखा अधिकृतमा फेल भएकालाई पुनरावेदनको न्यायाधीश र पास भएकालाई त्यही बेन्चको सहायक बनाएर न्यायपालिका सञ्चालन गरिएको इतिहास स्मरण गराउनु भयो ।

    ७. फिनल्याण्डमा बस्ने नेपालीहरुले खोले ‘क्यालोर न्युट्रिशन’ ब्राण्ड

    फिनल्याण्डमा बस्ने नेपालीहरुले ‘क्यालोर न्युट्रिशन’ नामक नयाँ पोषण पूरक (न्युट्रिशनल सप्लिमेन्ट) ब्राण्ड बजारमा ल्याएका छन् । फिनल्याण्डस्थित नेपाली डायस्पोरालाई प्रतिनिधित्व गर्दै आशिष थापाको नेतृत्वमा विशेषज्ञहरूको एक समूहले उक्त ब्राण्डका प्रोडकहरु बजारमा ल्याएका हुन् । ‘नर्डिक कोल्याव लिमिटेड’ कम्पनीअन्तर्गत सञ्चालनमा आएको यस ब्राण्डले शुरुवाती चरणमा १४ वडा प्रोडकहरु छन् ।  थप दुई वटा प्रोडकहरु यस वर्षभित्रै बजारमा ल्याउने तयारी गरेको कम्पनीका सीईओ आशिष थापाले जानकारी दिनुभयो । उहाँले यस ब्राण्डले विगत दुई वर्षदेखि आफ्नै प्रयोगशालामा प्रिमियमस्तरका उत्कृष्ट सप्लिमेन्ट उत्पादन विकास गर्दै आएको जानकारी गराउदै उक्त प्रोडक्टमा सात प्रकारको न्याचुरल फ्लेबरहरु प्रयोग गरेको पन बताउनु भयो । 

    ८. नयाँ बन्ने सरकारलाई खबरदारी गर्दै सहकारी पीडितले भनेः ‘आफ्ना छोप्ने, पराइ हेप्ने प्रवृत्ति नदोहोरियोस्’

    सहकारीमा फसेको आफ्नो वचत रकम फिर्ताको माग गर्दै सहकारी पीडितहरूले काठमाडौंको माईतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । अगुवाइमा उनीहरूले सरकारको ध्यानाकर्षण गराउन पुनः सडक आन्दोलन शुरु गरेका हुन् । विगत ४५ महिनादेखि निरन्तर सडक आन्दोलनमा रहेका पीडितहरूले सरकारसँग पटक–पटक  सम्झौता भएपनि हालसम्म न्याय नपाएको गुनासो गरेका छन् ।  सरकारले गरेका सम्झौताहरू कागजमै सिमित भएको र आफूहरूको बिचल्ली भएको भन्दै उनीहरू आक्रोशित बनेका छन् । उनीहरुले वाचापत्रमा लेखेको सय दिनेप्रक्रिया हामीले पनि सम्झिएका छौँ, आफ्ना छोप्ने, पराइ मात्रै हेप्ने प्रवृत्ति नदोहोरियोस्, अपराध अनुसार सञ्चालकको प्रवृत्ति अनुसार दण्ड गर्ने विधान बनोस्, ठग सञ्चालकहरुको नागरिकता, पासपोर्ट, बैंक खाता, चल अचल सम्पती रोक्का गरियोस्, नयाँ बन्ने सरकार सहकारी पीडितलाई न्याय दे लगायतका प्लेकार्डहरु बोकेर प्रदर्शन गरेका छन् । 

    ९. ठूलो परिमाणको लागुऔषधसहित १ जना पक्राउ

    जिल्ला प्रहरी कार्यालय कास्कीले ठूलो परिमाणको लागुऔषधसहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका २९ सैनिक बस्ती बस्ने १९ वर्षीय आयुष तामाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय शिशुवा तथा लागुऔषध नियन्त्रण व्यूरो पोखराबाट खटिएको प्रहरी टोलीले गत बुधबार बेलुकी साढे ५ बजे तामाङलाई पक्राउ गरेको हो । उनको साथबाट लागुऔषध डाइजापाम १ हजार ७ सय २१ एम्पुल, फेनेरागन ३ सय ३४ एम्पुल, ब्रुफिनुर्फिन ३ सय ७७ एम्पुल गरी कुल २ हजार ४ सय ३२ एम्पुल, २ थान मोबाइल र नगद ९३ हजार ५ सय रुपैयाँ बरामद गरिएको कास्की प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए ।

    १०. जानकी मन्दिरमा प्रधानमन्त्री कार्कीको पूजा अर्चना

    अन्तरिम सरकारका प्रधानमन्त्री सुशिला कार्कीले जानकी मन्दिरमा पूजा अर्चना गर्नुभएको छ । अन्तरिम सरकारको नेतृत्व गरेपछि जनकपुरधाम पहिलो पटक जानुएकी प्रधानमन्त्री कार्की जानकी मन्दिर पुगेर पूजा अर्चना गर्नुभएको हो । जनकपुरधाम विमान स्थलबाट जानकी मन्दिर पुग्नुभएकी प्रधानमन्त्री कार्कीले पूजा अर्चना पश्चात मन्दिरका महन्थ तथा पूजारीहरुसँग समेत भेटघाट गर्नुभयो । पूजा पश्चात उहाँले जनकपुरधाम भ्रमण उपलब्धिमुलक रहेको जानकारी दिनुभयो । उहाँले आफू राजनीति गर्ने मान्छे नभएको र धार्मिक प्रयोजनका लागि मात्रै जनकपुरधाम आइपुगेको बताउनु भयो ।

    ११. क्षमताको आधारमा न्यायाधीश नियुक्ति गर्नुपर्छः सपना प्रधान मल्ल

    सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले न्यायपालिकाको जनआस्था जोगाउन र संस्थागत सुधारका लागि ‘बार र बेन्च’ बीचको निरन्तर संवाद आवश्यक रहेको बताउनुभएको छ । शुक्रवार भक्तपुरमा आयोजित कानून व्यवसायी महिलाहरुको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आगामी चैत १८ गतेदेखि बार र बेन्चबीचको संवादलाई निरन्तरता दिने घोषणा गर्दै यसले न्याय सम्पादनमा रहेका अवरोधहरू हटाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । अदालत अहिले जटिल परिस्थिति र संकट व्यवस्थापनको योजनाबाट गुज्रिरहेको स्वीकार गर्दै उहाँले जनता केन्द्रित न्याय प्रणाली स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । न्यायाधीश नियुक्तिमा उठ्ने गरेका प्रश्नहरूबारे टिप्पणी गर्दै उहाँले पारदर्शी ढंगले क्षमताको आधारमा र राजनीतिक हस्तक्षेपमुक्त नियुक्ति हुनुपर्ने बताउनु भयो ।

    १२. कानून पेशा मात्रै धनको स्रोत हुन सक्दैन, अन्य आर्थिक उपार्जनका उपाय पनि खोजौँः वरिष्ठ अधिवक्ता भण्डारी

    वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले कानून व्यवसायीहरूलाई पेशागत मर्यादा जोगाउन र आर्थिक रूपमा सबल बन्न वैकल्पिक आयका स्रोतहरू खोज्न सुझाव दिनुभएको छ । लामो समयदेखि कानून पेसामा आवद्ध भण्डारीले हालको समयमा कानून पेशा मात्रै जीवनयापन र धन आर्जनको भरपर्दो माध्यम हुन नसक्ने बताउनुभएको हो । आफ्नो लामो व्यावसायिक यात्राको स्मरण गर्दै भण्डारीले आफूलाई ‘अभागी भए पनि सौभाग्यशाली’ महशुस गरेको बताउनु भयो । उहाँले आफ्ना आज्ञा पालना गर्ने र सल्लाह मान्नेहरू देशको ठूला मन्त्रीदेखि पहिलो महिला प्रधानन्यायाधीशसम्म भएकोमा गर्व व्यक्त गर्नुभयो । सुशीला कार्की प्रधानन्यायाधीश भएको क्षणलाई उहाँले आफ्नो जीवनको एक महत्वपूर्ण र खुशीको उपलब्धिका रूपमा चित्रण गर्नुभयो । 

    १३. अध्ययन, निष्ठा र अनुशासन नै सफलताको पूर्वशर्तः न्यायाधीश थापा

    सर्वोच्च अदालतकी न्यायाधीश शान्तिसिंह थापाले अध्ययन, निष्ठा र अनुशासन नै सफलताको पूर्वशर्त भएको बताउनुभएको छ । शुक्रवार भक्तपुरमा नेपाल बारले आयोजना गरेको कानून व्यवसायी महिलाहरुको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अध्ययन र अनुशासन बिना कानून पेशामा टिक्न नसकिने बताउनु भयो । न्यायाधीश थापाकाअनुसार सफलताका पूर्वशर्तहरूमा गहिरो अध्ययन, कार्यदक्षता, क्षमता अभिवृद्धि, पेशागत निष्ठा, इमान्दारिता र कडा अनुशासन हुन् । न्यायाधीश थापाले सम्मेलनमा उपस्थित सहभागीहरूलाई केवल औपचारिकताका लागि मात्र नभई कार्यपत्रहरूमा घनीभूत छलफल गर्न र सशक्त घोषणापत्र तयार गर्न आग्रह गर्नुभयो । उहाँले औपचारिक कार्यक्रमहरूमा धैर्यता र अनुशासन पालना गर्नु कानून व्यवसायीको पहिलो पहिचान भएको बताउनु भयो । 

    १४. गाजाका स्वयंसेवकहरूले ओमारी मस्जिद पुस्तकालय जोगाउँदै

    गाजा शहरको पुरानो शसहरमा रहेको ग्रेट ओमारी मस्जिदको पुस्तकालयको छतमा एउटा ठूलो प्वाल छ । त्यही प्वालबाट सूर्यको किरण भित्र छिर्छ र भग्नावशेषमुनि दबिएका, जलेका र च्यातिएका पुस्तकहरूको थुप्रोलाई उज्यालो बनाउँछ । ७ अक्टोबर २०२३ मा इजरायल–प्यालेस्टाइन द्वन्द्व शुरु हुनुअघि यो पुस्तकालय साहित्य, इतिहास, चिकित्सा र कानूनका पुस्तकहरूको ठूलो भण्डार थियो । यहाँ विद्यार्थी, अनुसन्धानकर्ता र सम्पदा प्रेमीहरूको घुइँचो लाग्ने गथ्र्यो । आज, यो हल भग्नावशेषमा परिणत भएको छ । तर स्वयंसेवकहरू र सम्पदा कार्यकर्ताहरूले जीवित रहेका पुस्तकहरू र पाण्डुलिपिहरू उद्धार गर्न एउटा विशेष अभियान शुरु गरेका छन् । ग्रेट ओमारी मस्जिद गाजा पट्टीको सबैभन्दा ठूलो र पुरानो मस्जिदहरूमध्ये एक हो । जुन लगभग ४,१०० वर्ग मिटरमा फैलिएको छ । यसको पुस्तकालयमा करिव २० हजार पुस्तक र पाण्डुलिपिहरू थिए । तर प्रारम्भिक मूल्याङ्कन अनुसार डिसेम्बर २०२३ को बमबारीपछि मात्र ४ हजार जति पुस्तकहरू उद्धार वा पुनस्र्थापना गर्न सकिने अवस्थामा छन् । 

    १५. घानामा ‘ट्री–फर–लाइफ’ कार्यक्रम शुरु

    घानाका भूमि तथा प्राकृतिक स्रोत मन्त्री इमानुएल आर्मा–कोफी बुआकाअनुसार देशले बिग्रिएको जमिन पुनरुत्थान गरेर दिगो अर्थतन्त्रमा संक्रमण गर्न वृक्षारोपणको उपयोग गरिरहेको छ । बुआले २०२६ ‘ट्री–फर–लाइफ’ वृक्षारोपण कार्यक्रमको शुभारम्भ गरिएको बताउनुभएको हो । २०२६ को कार्यक्रमले अघिल्लो वर्ष जस्तै कम्तिमा ३ करोड बिरुवा रोप्ने लक्ष्य राखेको छ । जबकि पहिले रोपिएका बिरुवाहरूलाई हुर्काउने र संरक्षण गर्ने प्रयासहरू जारी राखिनेछ ।

    १६. ट्रम्पले भनेः इरानमा सेना पठाउने छैन

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीवार इरानमा सेना नपठाउने बताउनुभएको छ । अमेरिका–इजरायल र इरानबीचको युद्ध चर्किँदै गएको बेला उनले यस्तो टिप्पणी गर्नुभएको हो । ह्वाइट हाउसमा जापानी प्रधानमन्त्री सानाए ताकाइचीसँगको भेटका क्रममा ट्रम्पले यो कुरा बताउनु भयो । फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानमा ठूलो मात्रामा आक्रमण शुरु गर्नुभएको थियो । जसले विश्वव्यापी ढुवानीमा बाधा पु¥याएको छ, तेलको मूल्य बढाएको छ र विश्व अर्थतन्त्रलाई हल्लाएको छ ।

    १७. पाकिस्तानको कराँचीमा वर्षासँग सम्बन्धित घटनाहरूमा १७ जनाको मृत्यु, ३० घाइते

    अधिकारीहरूकाअनुसार पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा वर्षासँग सम्बन्धित घटनाहरूमा १७ जनाको मृत्यु भएको छ । अन्य ३० जना घाइते भएका छन् । स्थानीय अधिकारीहरू र रेस्क्यु ११२२ का कर्मचारीहरूकाअनुसार भारी वर्षापछि शहरका विभिन्न क्षेत्रहरूबाट हताहतको खबर आएको छ । जसले शहरी पूर्वाधारका कमजोरीहरूलाई उजागर गरेको छ । रेस्क्यु ११२२ का कर्मचारीहरूले बताएअनुसार देशको दक्षिणी सिन्ध प्रान्तको प्रान्तीय राजधानी कराँचीको बलदिया टाउन क्षेत्रमा पर्खाल भत्किँदा ११ जनाको मृत्यु भएको छ ।

    १८. रुसद्वारा जापानलाई पुनः सैन्यीकरण नगर्न चेतावनी

    जापानले विगतका गल्तीहरू दोहो¥याउन नचाहे इतिहासबाट पाठ सिक्नुपर्ने र आफ्नो संविधानका शान्तिवादी प्रावधानहरू पालना गर्नुपर्ने रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले बताउनुभएको छ । नियमित पत्रकार सम्मेलनमा बोल्दै जाखारोभाले जापानले क्रुज मिसाइल जस्ता आक्रमणकारी हतियारहरूको खरिद लगायत पुनः सैन्यीकरणतर्फ निरन्तर कदम चालिरहेको बताउनु भयो । यस्ता हतियारलाई रक्षात्मक हतियारको रूपमा वर्गीकृत गर्न नसकिने उहाँको भनाइ छ । रुस लगायत छिमेकी देशहरूको राष्ट्रिय सुरक्षामा सम्भावित खतरा निम्त्याउन सक्ने हतियारहरू प्राप्त गर्नेगरी सैन्य खर्चमा गरिएको तिब्र वृद्धिका विनाशकारी परिणामहरूबारे रुसले जापानलाई बारम्बार चेतावनी दिँदै आएको छ । 

    १९. लाओसद्वारा इन्धन संकट समाधान गर्न नयाँ कदम शुरु

    लाओस सरकारले बढ्दो विश्वव्यापी ऊर्जा मूल्य र आपूर्ति श्रृंखला अवरोधहरूका बीच इन्धन संकट कम गर्न तत्काल कदम चालिरहेको छ । यसले मूल्य स्थिर गर्न, निरन्तर आपूर्ति सुनिश्चित गर्न र देशभरका घरपरिवार तथा व्यवसायहरूलाई असर गर्न सक्ने अचानक मूल्यवृद्धिलाई रोक्न विभिन्न उपायहरू लागू गर्दैछ । जारी गरिएको एक सूचनामा, लाओ उद्योग तथा वाणिज्य मन्त्रालयले इन्धनको अन्तःशुल्क कटौती गर्ने घोषणा गरेको छ । यसले आन्तरिक मूल्यमा हुने तीव्र वृद्धिलाई रोक्ने उद्देश्यले पेट्रोलमा लाग्ने कर २५ प्रतिशतबाट घटाएर १५ प्रतिशत र डिजेलमा १० प्रतिशतबाट ० प्रतिशतमा झारेको छ । सरकारले विश्वव्यापी बजारको उतारचढावका बीच मूल्य स्थिर गर्न, उपभोक्ताहरूमाथिको भार कम गर्न र अचानक हुने मूल्यवृद्धिलाई कम गर्न आफ्नो अनुदान कार्यक्रमबाट रकम विनियोजन गर्नेछ । आयातकर्ता र वितरकहरूले स्थिर इन्धन आपूर्ति कायम राख्ने प्रतिबद्धता दोहो¥याएका छन् भने अधिकारीहरूले विशेषगरी दुर्गम क्षेत्रहरूमा भण्डारण र वितरण विस्तार गर्ने वाचा गरेका छन् । 

    २०. काँग्रेसका केन्द्रिय सदस्यहरुले भने– ‘पार्टी पुनर्निर्माणका लागि थापाको नेतृत्व आवश्यक छ, राजीनामा स्वीकृत गर्नुहुन्न’

    नेपाली काँग्रेसका अधिकांश केन्द्रिय सदस्यहरुले पार्टी सभापति गगनकुमार थापाले दिएको राजीनामा स्वीकृत गर्न नहुने धारणा राखेका छन् । पार्टी केन्द्रिय कार्यसमितिको जारी पार्टीपसभापति विश्वप्रकाश शर्माले सभापतिको राजीनामा अस्वीकृत गर्ने प्रश्ताव पेश गर्नुभएको हो । बैठकमा बोल्ने बहुमत सदस्यहरुले नैतिकताको आधारमा दिएको राजीनामाको उच्च सम्मान गर्दै अस्वीकृत गर्नुपर्ने धारणा राखेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभएको हो । प्रवक्ता चालिसेकाअनुसार अधिकांश सदस्यहरुले देशको पछिल्लो परिस्थिति र पार्टी पुननिर्माणका लागि थापाको नेतृत्व आवश्यक रहेको बताएका छन् । अहिलेको समय परिस्थिति सम्हाल्न तथा पार्टीलाई थप जिम्मेवारीका साथ अघि बढाउने बेला उहाँको भनाइ छ । 

    २१. मध्यपूर्वमा रहेका नेपाली नागरिकको विवरण संकलन जारीः हालसम्म ८२ हजार बढीले विवरण दर्ता गराए

    परराष्ट्र मन्त्रालयले कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणालीमा हालसम्म मध्यपूर्वबाट ८२ हजार एक सय जना नेपाली नागरिकले आफ्नो विवरण दर्ता गराएको जनाएको छ । शुक्रवार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले सो जानकारी दिनुभएको हो । उहाँकाअनुसार अनलाइन दर्ता प्रणालीमा दर्ता भएकामध्ये करिव ६ हजार जनाले शुरुमा आफूहरू असुरक्षित रहेको जानकारी गराएका थिए । तर पछिल्ला दिनहरूमा असुरक्षित महशुस गर्नेहरूको संख्या उल्लेख्य रूपमा घटेको उहाँको दाबी छ । इजरायल, अमेरिका र इरानबीच बढ्दो तनावका बीच मध्यपूर्वका विभिन्न देशहरुबाट मन्त्रालयको आपतकालीन कक्षमा हालसम्म ७८ वटा कलसहित कुल १ सय ७० पटक सम्पर्क भएको क्षेत्रीले उल्लेख गर्नुभयो । 

    २२. सभापति थापाको राजीनामाबारे केन्द्रिय कार्यसमिति बैठकले निर्णय गर्छः सहमहामन्त्री राणा

    नेपाली काँग्रेसका सहमहामन्त्री उदय शमशेर राणाले पार्टी सभापति गगनकुमार थापाको राजीनामाबारे केन्द्रिय कार्यसमिति बैठकले निर्णय गर्ने बताउनुभएको छ । शुक्रवार कार्यसमितिको बैठकअघि पार्टी केन्द्रिय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै सहमहामन्त्री राणाले यस्तो बताउनुभएको हो । उहाँले पार्टीका अधिकांश नेता कार्यकर्ताले अहिलेको राजनीतिक परिस्थितिमा काँग्रेसलाई थापाको आवश्यकता छ भनिरहेको उल्लेख गर्नुभयो । साथै उहाँले प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणामबारे प्रारम्भिक समिक्षा गरिने बताउनु भयो । प्रत्येक निर्वाचन क्षेत्रबाट उम्मेदवारलाई रिपोर्ट पठाउन निर्देशन दिइसकेको उल्लेख सबै निर्वाचन क्षेत्रबाट रिपोर्ट प्राप्त भइसकेपछि निर्वाचनको विस्तृत समिक्षा छिट्टै हुने समेत बताउनु भयो । 

    २३. सभापति थापाको राजीनामाबारे नेता केसी भन्छन्– पार्टी र देश बदल्छु भनेर हिँडेको क्याप्टेनले मैदान छोडेर जान मिल्दैन

    नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले निर्वाचनको हार वा जितकै आधारमा मात्र नेतृत्वको परीक्षण गरिनु गलत हुने बताउनुभएको बताउनुभएको छ । शुक्रवार पार्टी केन्द्रिय कार्यसमितिको बैठकअघि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पार्टी सभापति गगनकुमार थापाको राजीनामा बेठिक भएको बताउनु भयो । पार्टी र मुलुक नै बदल्छु भनेर मैदानमा आएको क्याप्टेनले जिम्मेवारी छोडेर जान नमिल्ने टिप्पणी पनि गर्नुभयो । उहाँले निर्वाचनको परिणामबाट नआत्तिन पार्टी कार्यकर्ताहरूलाई आग्रह समेत गर्नुभयो । 

    २४. सेतो मच्छिन्द्रनाथको रथ यात्राको लागि रथ निर्माण कार्य शुरु

    सेतो मच्छिन्द्रनाथको रथयात्राका लागि जमलस्थित तीनधारा पाठशालामा रथ निर्माण कार्य शुरु भएको छ । वर्षा र सहकालका देवता मानिने आर्याअवलोकितेश्वरको मूर्तिको रथयात्राका लागि रथ बनाउन शुरु गरिएको हो । काठमाडौं उपत्यकाका वृद्धवृद्धालाई दर्शन गराउन रथलाई नगर परिक्रमा गराउने चलनअनुसार सेतो मछिन्द्रनाथको रथयात्रा गर्ने गरिन्छ । यसपटकको सेतो मच्छिन्द्रनाथको जात्रा १२ चैतमा परेको छ । करुणामय र आर्याअवलोकितेश्वरको नामबाट पनि चिनिने सेतो मच्छिन्द्रनाथलाई जनबहालबाट खटमा राखी तीनधारा पाठशालामा बनाइएको रथमा प्रतिस्थापन गराइएपछि नगर परिक्रमा गर्ने प्रचलन रहिआएको छ । यात्राको अन्तिम दिन लगनटोलस्थित मच्छिन्द्रनाथकी आमालाई तीनपटक परिक्रमा गराएपछि रथयात्रा सम्पन्न हुन्छ ।

    २५. अब बन्ने सरकारले विद्यार्थी संगठन खारेज गर्ने निर्णय आगोको गोलामा हात हाले सरह हुनेछः नेविसंघ

    नेपाली काँग्रेसमा आवद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विद्यार्थी संगठनहरु खारेज गर्ने काम नगर्न अब बन्ने सरकारलाई चेतावनी दिएको छ । शुक्रवार काठमाडौंमा आयोजित संघको सिनेट बैठकमा बोल्दै अध्यक्ष दुजाङ शेर्पाले सो चेतावनी दिनु भएको हो । आफूले विद्यार्थी संगठनहरु खारेज गर्ने भनेर कहीँकतै मिडिया ट्रायल गर्ने काम भईरहेको भन्दै उहाँले त्यस्तो गलत काम अब बन्ने नयाँ सरकारले गरे त्यो आगोको गोलामा हात हाले सरह हुने समेत बताउनु भयो । अध्यक्ष शेर्पाले विद्यार्थी संगठनकै आन्दोलनका कारण नेपालमा बालेन्द्र साहहरुले ¥याप गाउन पाउने अधिकार प्राप्त भएकाले पनि त्यस्ता संगठनहरु खारेज गर्ने काम सह्य नहुने बताउनु भयो ।  
    उहाँले भन्नुभयो,‘म आज एउटा सन्देश, एउटा अनरोध र एउटा चेतावनी अब आउने सरकारलाई म दिन चाहन्छु । 

    २६. आगामी वर्षका लागि सरकारले लिने आन्तरिक ऋणको सीमा निर्धारण 

    आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नेपाल सरकारले उठाउनसक्ने आन्तरिक ऋणको सीमा तय गरिएको छ ।  राष्ट्रिय प्राकृतिक तथा वित्त आयोगले  नेपालको समष्टिगत आर्थिक स्थिति, राजस्व र खर्चको अनुमान र बजार सहजतासमेतको विश्लेषण गरी नेपाल सरकारले आर्थिक वर्ष ०८३/८४ का लागि उठाउन सक्ने आन्तरीक ऋणको सीमा निर्धारण गरेको हो । आयोगकाअनुसार आगामी वर्षमा संघीय सरकारले जिडिपीको ५.५ प्रतिशतमा नबढ्ने गरी आन्तरिक ऋण परिचालन गर्न सक्नेछ । आयोगले दिएको जिडिपीको ५.५ प्रतिशतको सीमाका आधारमा आगामी आवमा नेपाल सरकारले ३ खर्ब ९३ अर्ब ४१ करोड रुपैयाँसम्म आन्तरिक ऋण परिचालन गर्न सक्नेछ । चालू आवमा सरकारले ३ खर्ब ६२ अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालनको लक्ष्य लिएको छ । फागुन मसान्तसम्ममा २ खर्ब ४३ करोड ६६ लाख परिचालन गरिसकेको छ । जुन कुल लक्ष्यको ६७.३१ प्रतिशत बराबर हो । 

    २७. काठमाडौं उपत्यकासहित देशभर मुसलधारे वर्षा

    काठमाडौं उपत्यकासहित देशभर मुसलधारे वर्षा भएको छ । नेपालमा पश्चिमी न्युन चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । जसअनुसार हाबाहुरी चट्याङसहित देशभर असिना पानी परेको हो । काठमाडौं उपत्यकासहित बुटबल, अर्घाखाँची, ओखलढुंगासहित देशका विभिन्न भू—भाग दिउँसै अन्धकारमय बनेको थियो । जसकारण जनजीवन अस्तव्यस्त बनेको थियो । त्यसो त, मौसम विभागले पनि आज शुक्रवार कोशी, मधेस, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशको धेरै स्थानहरू, वागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन÷चट्याङ्ग ÷असिना÷हावाहुरी सहित मध्यम  वर्षा÷हिमपातको सम्भावना रहेको बताएको थियो । कोशी र मधेस प्रदेको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको अनुमान गरेअनुसार नै देशभर बर्षा भएको हो । वर्षाका करण लामोसमयको वायु प्रदुषण कम भएको छ भने खेतीबालीलाई भने राहत मिलेको छ ।

    २८. नेपालमा निर्यात प्रवद्र्धनका लागि इ–कमर्स र पेमेन्ट गेटवे प्रणाली सहज बनाउन आवश्यकः पाण्डे

    नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डेले नेपालमा निर्यात प्रवद्र्धनका लागि इ–कमर्स र पेमेन्ट गेटवे प्रणाली सहज बनाउन आवश्यक रहेको बताउनुभएको छ । उहाँले अहिले नेपाललाई विदेशबाट सामान किन्ने एप वा पोर्टलभन्दा पनि नेपालका उत्पादन अन्य देशमा बेच्न सक्ने अनलाइन प्लेटफर्म आवश्यक रहेको बताउनु भयो । नेपालबाट बैंकिङ च्यानल प्रयोग गरेर विदेशबाट सामान किन्न सकिने व्यवस्था भएपनि अहिलेको अवस्थामा त्यस्तो प्रणालीभन्दा नेपालका वस्तु विश्व बजारमा बेच्न मिल्ने एप वा पोर्टल विकास गर्नु आवश्यक रहेको उहाँको भनाइ छ । अध्यक्ष पाण्डेकाअनुसार नेपालमै इ–कमर्स पेमेन्ट गेटवे प्रणाली विकास गरेर पेपल, अमेजनजस्ता अन्तर्राष्ट्रिय कम्पनीहरूलाई नेपालमा आकर्षित गर्नुपर्छ । ती कम्पनीहरू नेपालमा स्थापना भएमा नेपालका निर्यातजन्य वस्तुहरूको विश्व बजार विस्तार गर्न सहयोग पुग्ने उहाँले बताउनु भयो ।

    २९. क्यानका उपाध्यक्ष सिंह भन्छन्— ‘पिएम कप खेलाडीहरूका लागि राष्ट्रिय टिममा पुग्ने लक्की पोइन्ट हो’

    नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटलाई काठमाडौं बाहिर विस्तार गर्ने उद्देश्यका साथ यस वर्षको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता मधेस प्रदेशको धनुषा र वीरगञ्जमा आयोजना गर्ने भएको छ । 
    प्रतियोगिताको पूर्वसन्ध्यामा क्यानका राष्ट्रिय उपाध्यक्ष रोशन सिंहले जनकपुरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ग्राउण्डको तयारी लगायतका सबै प्राविधिक कामहरू सम्पन्न भइसकेको जानकारी दिनुभएको हो । सिंहकाअनुसार विगतमा धनुषामा पहिलो पटक जय ट्रफी आयोजना गरिएको सफलतापछि यसपालि क्यानले नै प्रधानमन्त्री कप जस्तो ठूलो प्रतियोगिता मधेशमा ल्याएको हो । उहाँले यस प्रतियोगितालाई खेलाडीहरूका लागि आफ्नो क्षमता प्रदर्शन गरेर राष्ट्रिय टिममा स्थान बनाउने ‘लक्की पोइन्ट’ भएको बताउनु भयो । यसअघि लुम्बिनी प्रदेशमा आयोजना गरिएको यो प्रतियोगिता यसपटक मधेसमा ल्याइनुको मुख्य कारण क्रिकेटलाई काठमाडौंमा मात्र सीमित नराखी समग्र देशव्यापी बनाउनु रहेको सिंहले बताउनु भयो । क्यानका सबै पदाधिकारीहरूले क्रिकेटलाई देशका विभिन्न कुनामा पु¥याउने वातावरण सिर्जना गरेको उहाँको भनाइ छ ।—न्युज एजेन्सी नेपाल

    प्रकाशित मिति :चैत्र ६ २०८२ शुक्रवार - १९:२२:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij