२०८२ चैत्र ६ गते शुक्रवार
काठमाडौं । काठमाडौंमा हुरीबताससहितको वर्षा जारी रहँदा सहरका विभिन्न सडकखण्डमा ट्राफिक जाम बढेको छ । वर्षाका कारण सवारी आवागमन प्रभावित हुँदा ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार कोटेश्वर क्षेत्रलगायत विभिन्न स्थानको निरीक्षण गर्दा वर्षाका कारण सवारी जाम बढेको छ । उनका अनुसार वर्षाका कारण सडकमा पानी जम्दा सवारी सञ्चालनमा थप समस्या देखिएको हो ।
यसले ट्राफिक ‘फ्लो’ अवरुद्ध हुने र दुर्घटनाको जोखिम बढ्ने भएकाले सचेत भई सवारी चलाउन ट्राफिक प्रहरीले आग्रह गरेको हो । सबैलाई हतार नगरी धैर्यताका साथ सवारी चलाउन र सुरक्षित यात्रा गर्न आग्रह गरिएको छ ।
‘सबै स्थानमा ट्राफिक प्रहरी परिचालन गरिएको छ, तर वर्षाका कारण सवारीसाधनको चाप बढेको छ’, प्रहरी उपरीक्षक सुवेदीले भने, ‘ट्राफिक नियमको पालना गर्दै सुरक्षित यात्रा गर्नुपर्छ । हतारको मनस्थितिले दुर्घटना हुनसक्छ ।’
माइतीघर, पुतलीसडक र तीनकुनेलगायत स्थानमा वर्षाका कारण सडकमा समेत पानी जमेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij