२०८२ चैत्र ६ गते शुक्रवार
काठमाडौं । पोर्चुगलमा करिब दुई हजार नेपाली कानुनी समस्यामा परेका छन् । अस्थायी बसोबास कार्ड (टीआरसी) लिन पेश गरिएका प्रहरी रिपोर्ट प्रमाणीकरण गर्दा त्यसमा लागेको छाप नक्कली भेटिएपछि उनीहरू समस्यामा परेका हुन् ।
“पोर्चुगलको एजेन्सी फर इन्टिग्रेसेन, माइग्रेसन एण्ड असाइलम (एआईएमए)ले अस्थायी बसोबास कार्डका लागि आवेदन दिनेमध्ये १५ सयदेखि दुई हजार नेपालीको प्रहरी रिपोर्ट प्रमाणीकरण गर्दा छाप नक्कली भएको भन्दै आवेदन ‘रिजेक्ट’ गरेको छ,” पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले भने । राजदूत पौडेलका अनुसार, सन् २०२४ जुलाईपछि २०२५ अप्रिलअगाडि प्रहरी रिपोर्टमा लगाइएको छाप बढी नक्कली भएको पाइएको छ ।
“आवेदन रिजेक्ट भएकामध्ये करिब १५० जना नेपालीलाई पोर्चुगलका सम्बन्धित निकायले देश छाड्न भनेको छ । तर देश छाड्न भने पनि उहाँहरू अदालतमा जान पाउनुहुन्छ र आफूलाई निर्दोष सावित गर्ने अवसर मिल्छ,” राजदूत पौडेलले भने ।
पोर्चुगलमा नेपाली दूतावास सञ्चालनमा आएको एक वर्ष हुन लागेको छ । त्यसअघि फ्रान्सको पेरिसस्थित नेपाली दूतावासले पोर्चुगल पनि हेर्दै आएको थियो । फ्रान्सस्थित नेपाली दूतावासले हेर्ने भए पनि नेपाल सरकारले पोर्चुगलमा अवैतनिक दूत नियुक्त गरेको थियो । पोर्चुगलका नेपाली अवैतनिक दूतले नेपालीका समस्या र कामहरू हेर्थे ।
नेपाल सरकारले दूतावास स्थापना गर्नु केही महिनाअघि पोर्चुगलबाट अवैतनिक दूत हटाएको थियो । त्यसपछि पोर्चुगलमा रहेका नेपालीले आफ्ना कागजात प्रमाणीकरण गर्नुपरेमा फ्रान्सस्थित नेपाली दूतावास वा भारतको नयाँ दिल्लीस्थित पोर्चुगल दूतावासमा पठाउनुपर्थ्यो ।
“फ्रान्समा रहेको नेपाली दूतावासको टोली यहाँ आएर वा पेरिसबाटै प्रमाणीकरण गर्दा लगाएको छापमा कुनै समस्या छैन । तर कुरियरमार्फत प्रमाणीकरणका लागि नयाँ दिल्ली पठाएका प्रहरी रिपोर्टमा लगाइएको छापमा भने समस्या देखिएको छ । नक्कली छाप लगाएको पाइएको छ,” राजदूत पौडेलले भने ।
पोर्चुगलमा रहेका नेपालीले अस्थायी बसोबास कार्ड (टीआरसी) लिन एआईएमएमा आवेदन दिनुपर्छ । आवेदनका लागि नभई नहुने कागजातमध्ये एक हो, प्रहरी रिपोर्ट, जुन नेपाल प्रहरीले जारी गर्छ । नेपाल प्रहरीले जारी गरेको ‘प्रहरी रिपोर्ट’ सिँधै बुझाउन पाइँदैन । बुझाउनुअघि प्रहरी रिपोर्ट प्रमाणीकरण गर्नुपर्छ ।
अवैतनिक दूत नहुँदाको बेला प्रहरी रिपोर्ट प्रमाणीकरण गर्न स्वयंले फ्रान्सस्थित नेपाली दूतावास र नयाँ दिल्लीस्थित पोर्चुगलको दूतावासमा पठाउनुपर्थ्यो । नेपालमा पोर्चुगलको दूतावास नहुँदा प्रहरी रिपोर्ट प्रमाणीकरणका लागि भारत पठाउनुपर्थ्यो ।
“प्रमाणीकरणका लागि नेपालीले एजेन्टमार्फत पठाएका प्रहरी रिपोर्ट पहिले नयाँ दिल्लीस्थित नेपाली दूतावासले प्रमाणीकरण गर्थ्यो, त्यसपछि नयाँ दिल्लीमा रहेको पोर्चुगलको दूतावासले प्रमाणीकरण गर्थ्यो । बीचमा प्रमाणीकरण गर्दा एक–दुई जनाको प्रहरी रिपोर्टमा लगाइएको छाप नक्कली भएको भेटिएछ । नयाँ दिल्लीस्थित नेपाली र पोर्चुगल दुवै देशको भनी लगाइएका छाप दुवै नक्कली रहेछन् । त्यसपछि अनुसन्धान हुँदा ठूलो संख्यामा प्रहरी रिपोर्टमा लगाइएको छाप नक्कली रहेको पाइयो,” राजदूत पौडेलले भने ।
राजदूत पौडेलका अनुसार, एजेन्टहरूले बदमासी गर्दा नेपालीहरूले दुःख पाइरहेका छन् । यस्ता कार्यमा संलग्न केही एजेन्टलाई पोर्चुगल प्रहरीले पक्राउ गरी कारबाही अगाडि बढाएको छ । “प्रहरी रिपोर्ट सक्कली हो, तर प्रमाणीकरण गर्दा लगाइएको छाप नक्कली भेटिएको हो,” उनले भने । एउटा प्रहरी रिपोर्ट प्रमाणीकरण गर्दा ३०० युरोसम्म खर्च हुने गरेको छ ।
केही साताअघि परराष्ट्र सचिव अमृतबहादुर राईले पोर्चुगलको भ्रमण गरेका थिए । त्यतिबेला नेपाल–पोर्चुगल द्विपक्षीय संयन्त्रको बैठक बसेको थियो । बैठकमा नेपालीको सक्कली प्रहरी रिपोर्टमा नक्कली छाप लगाउँदा ठूलो संख्यामा नेपालीले दुःख पाइरहेको विषय उठाइएको थियो ।
“यी घटनालाई मानवीय रूपमा हेरिदिन हामीले पोर्चुगलका सम्बन्धित अधिकारीलाई अनुरोध गरेका छौँ । जवाफ प्राप्त भइसकेको छैन । हामी जवाफको पर्खाइमा छौँ,” राजदूत पौडेलले भने । अस्थायी बसोबास कार्ड (टीआरसी) नभएका नेपालीले पोर्चुगल छोडे पुनः पोर्चुगल प्रवेश गर्न पाउने छैनन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij