२०८२ चैत्र ६ गते शुक्रवार
हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा एलपी ग्यासको चरम अभाव भएको छ । ग्यास अभाव भइरहेका समयमा सर्वसाधारण उपभोक्तामाथि थप आर्थिक बोझ थोपार्ने गरी केही व्यवसायीले कालोबजारी गरिरहेको पाइएको छ ।
नेपाल आयल निगमले खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापन गर्न आधा सिलिन्डर बेच्ने निर्णय गरेसँगै त्यसको प्रभाव हुम्लामा पनि परेको छ । हुम्लामा प्रभाव मात्रै नभई ग्यास सिलिन्डरको दुरुपयोग गर्दै आएका छन् । सिमकोट बजारमा आधा सिलिन्डरलाई एक हजार छ सय रुपियाँसम्म उपभोक्ताले तिर्ने गरेका छन् । बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना भएपछि उपभोक्ताको बाध्यता र पीडालाई बेवास्ता गर्दै केही पसलेले मौकाको फाइदा उठाउँदै खुलेआम महँगो मूल्यमा ग्यास बेचेका हुन् । जसले गर्दा सर्वसाधारण उपभोक्ता मारमा परेको र दैनिकीलाई झनै कष्टकर बनाएको स्थानीय ऐटन रावलले गुनासो गरे ।
त्यस्तै सिमकोट गाउँपालिका–६ की सुनिता महत रावतले आधा सिलिन्डरको एक हजार छ सय रुपियाँ तिर्नुपर्दा आफूहरू गम्भीर समस्यामा परेको गुनासो गरे । दैनिक जीवन धान्नै मुस्किल भएको बेला यस्तो चर्को मूल्यमा ग्यास किन्नुपर्दा निकै पीडा भएको स्थानीयले गुनासो गरेका छन् ।
उद्योग वाणिज्य सङ्घ हुम्लाका अध्यक्ष रामबहादुर भण्डारीले बजारमा यसरी कालोबजारी गर्न नमिल्ने बताए । उनले पहिलो पटक मूल्य थपघट गर्ने व्यवसायीलाई सचेत गराएको र यस्तो गरेको पाइएमा नियम अनुसार कारबाहीसमेत हुने जनाए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij