२०८२ चैत्र ५ गते बिहिवार
काठमाडौं । धादिङ जिल्लाका १३ वटै स्थानीय निकायहरूले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले कानुन विपरीत दिने निर्देशन र प्रशासनमार्फत हुने हस्तक्षेपको कडा प्रतिवाद गर्ने घोषणा गरेका छन् ।
केहि दिन अगाडी धादिङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले दिएको निर्देशन प्रतिलक्षित गर्दै धादिङका पालिकाहरूले विरोध जनाएका हुन् ।
नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गानाको अध्यक्षतामा बसेको जिल्लाका सबै पालिका प्रमुख र उपप्रमुखहरूको संयुक्त बैठकले सांसदहरूबाट हुने हस्तक्षेपले स्थानीय सरकारको स्वायत्ततामाथि प्रहार गरेको निष्कर्ष निकाल्दै यसको विरुद्धमा उभिने निर्णय गरेको हो ।
संयुक्त विज्ञप्ति जारी गर्दै स्थानीय तहका जनप्रतिनिधिहरूले नवनिर्वाचित सांसदहरूबाट संविधान र कानुनको भावना विपरीत विभिन्न निर्देशनहरूप्रति गम्भीर आपत्ति जनाएका हुन् ।
संविधानको अनुसूची ८ ले स्थानीय सरकारलाई दिएको अनन्य अधिकारहरू प्रयोग गर्नमा बाधा पुर्याउने गरी कर्मचारीतन्त्र वा माथिल्लो तहका जनप्रतिनिधिले गर्ने कुनै पनि आदेश स्वीकार्य नहुने उनीहरूको अडान छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij