२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । अघिल्लो वर्षको लकडाउनमा राजधानीमा तरकारीको मूल्य निकै घटेको थियो । सर्वसाधारणले यसपालि पनि त्यही सोचेका थिए ! तर, भयो उल्टो । यसबीच उपभोक्ता ठग्न पल्किएका कालो बजारियाले यसपालि साबिकभन्दा बढाएका छन् ।
गाउँमा किसानले मूल्य पाएका छैनन् । तरकारी कुहेका र फालिएका छन् । कौडीका भाउमा उठाएर ल्याउने व्यापारीले सहरमा उपभोक्तालाई निचोरेर मूल्य लिइरहेका छन् ! यसको वास्तविक अनुगमन भएको भने पाइएको छैन ।
खाद्यान्न र अन्य उपभोग्य वस्तुको हालत उस्तै छ । महामारीलाई दुरुपयोग गर्दै सबैजसो सामानको अस्वाभाविक र असामयिक मूल्य बढेको छ । बजारमा अहिले माग घटेको छ । यस्तो अवस्थामा मूल्य घट्नुपर्ने हो ।
तर, अत्यधिक नाफा खाने मोहमा झन् बढाइएको छ । यो छाडापनमा राज्य भने मौन बसेको छ । महामारीका कारण उत्पन्न संकटलाई मौकाको फाइदा उठाउँदै कार्टेलिङ र कालोबजारीका कारण मूल्य र गुणस्तरमा सर्वसाधारण ठगिनुका साथै महँगीको मारमा परेका हुन् ।
निषेधाज्ञापछि स्वास्थ्य उपचार, औषधि, दैनिक उपभोग्यका सामग्री खाद्यान्न, इन्धन, तरकारीलगायतमा चर्को मूल्यवृद्धि गरी आम उपभोक्तालाई सकेसम्म यस्ता समूहले उखु निचोरेजस्तै निचोरेका छन् । सरकारको कमजोर नीतिका कारण बजारमा यस्तो अवस्था सिर्जना भएको उपभोक्तावादीहरूले औंल्याएका छन् ।
स्वास्थ्य उपचारका लागि अस्पतालमा भर्ना हुने बिरामीबाट हजारौंदेखि लाखौं रुपैयाँसम्म स्वास्थ्य संस्थाले असुल गर्दै आएका छन् ! नक्कली औषधिमा सक्कली औषधिको लेबल लगाएर बिक्री वितरण हुँदै आएको छ । औषधिको कृत्रिम अभाव सिर्जना गरी ५ हजार पर्नेलाई २५ हजारदेखि ५० हजार रुपैयाँसम्म असुल गर्ने क्रम रोकिएको छैन । यस्तै कालोबजारी र कार्टेलिङको अवस्था दैनिक उपभोग्य वस्तुतर्फ पनि सिर्जना भएको छ ।
कोभिडका कारण महामारी फैलिएर संकट निम्तिएको समयमा व्यापारीले मिलोमतो गरी दैनिक उपभोग्य वस्तुतर्फ ५ देखि २५ प्रतिशत मूल्यवृद्धि गरेका छन् ! टोलटोलमा भएका स–साना खुद्रा पसलले आफूखुसी अतिरिक्त मूल्य थप गरी दैनिक उपभोग्य वस्तु बिक्री गरेका कारण संकटको समयमा आम उपभोक्ता ठगिएका छन् ।
महामारीका कारण अधिकांश सर्वसाधारणको आयस्रोत गुमेर कमजोर बनेको क्रयशक्तिकाबीच नेपालीको भान्छा यो मूल्यवृद्धिले निक्कै महँगिएको छ । पछिल्लो समयमा भान्छामा अत्याधिक प्रयोग हुने चामल, दाल, गेडागुडी, खानेतेल, चिनी, पेट्रोलियम पदार्थलगायतमा चर्को मूल्यवृद्धि भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij