२०८२ भाद्र ५ गते बिहिवार
काठमाडौँ । राष्ट्रियसभा सदस्य डा. खिमलाल देवकोटाले आफूलाई चुनावबाट पछि हट्न धेरैले फकाएको र कति जनाले त थर्काएको बताएका छन्। तर आफू अडिग रहेर विचलित नभएको उनले बताएका छन्।
सामाजिक सञ्जालमार्फत एक वक्तव्य जारी गर्दै उनले आफूलाई थर्काउनेहरुको नाम समयक्रममा आवश्यकता परे सार्वजनिक गर्ने बताएका छन्। थर्काउनेहरु मध्ये केहीको त भ्वाइस रेकर्ड गरेर राखेको उनले उल्लेख गरेका छन् ।
‘व्यक्तिगत रुपमा मलाई चुनावबाट पछि हट्न धेरै जनाले फकाएरथर्काए । समयक्रममा आवश्यकता परेमा नाम भन्दै गरौँला। कसै कसैको त भ्वाइस रेकर्ड नै राखेको छु’, देवकोटाले भनेका छन्।
उनले धम्कीबाट विचलित नभएकै कारण आफूसहित धेरै वुद्धिजीवीहरुको ईज्जत र प्रतिष्ठा गुम्न नपाएको धारणा व्यक्त गरेका छन्।
‘विचलित भएको भए मेरो मात्र हैन म जस्ता स्वतन्त्र रुपमा कलम चलाउने वुद्धिजीवीहरुको ईज्जत प्रतिष्ठा जाने थियो । हामी कलंकित हुने थियौँ’, देवकोटाले भनेका छन्।
डा. देवकोटा गएको जेठ ६ गते भएको निर्वाचनमा एमाले उम्मेदवार रामबहादुर थापा बादललाई पराजित गरेर विजयी भएका थिए। यो घटनाबाट लामो समयदेखि राजनीति गरिरहेका नेताहरुले पाठ सिके राम्रो हुने उनको भनाइ छ।
‘केही नेताहरुले हामीजस्ताबाट केही सिक्दा राम्रै होला । बोलेपछि, सही गरेपछि, वचनवद्ध भएपछि पूरा गर्नुपर्दछ। भागेर, लुकेर, जालसाझी गरेर केही समय त टिकिएला। तर बुझ्न जरुरी के पनि छ भने हामी जस्ता युवाहरुले लामो यात्रा गर्न बाँकी नै छ। निष्ठा र ईमान्दारिताको राजनीतिबाट भागेर नहिँडौँ। बोली र ईमानमा कटिवद्ध होऔँ’, देवकोटाको सन्देश छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij