Logo

२०८३ बैशाख १९ गते शनिवार

२०८३ बैशाख १९ गते शनिवार

आगोले दिउँसै जलेर खरानी भयो मुसहर बस्ती, खुला आकाशमुनि बस्न बाध्य

आगोले दिउँसै जलेर खरानी भयो मुसहर बस्ती, खुला आकाशमुनि बस्न बाध्य


  • 659
    Shares

    आगोले दिउँसै जलेर खरानी भयो मुसहर बस्ती,  खुला आकाशमुनि बस्न बाध्य

    विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका–४ मा बुधबार दिउँसो भीषण आगलागी हुँदा मुसहर बस्ती जलेर खरानी भएको छ । आगोले १५ वटाभन्दा बढी घर जलेर ध्वस्त भएको अनुमान गरिएको छ । गोकुवा चोकबाट पूर्वतर्फ रहेको बस्तीमा दिउँसो करिब २ बजेतिर अचानक आगलागी सुरु भएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार आगो तीव्र गतिमा फैलिँदा बस्तीका सबैजसो घरहरू पूर्णरूपमा जलेर खरानी भएका छन् । १५ भन्दा बढी घर जलेर खरानी भएको प्रारम्भिक अनुमसान गरिए पनि क्षतिको यकिन विवरण आइसकेको छैन । बस्तीका घरहरू प्रायः फुसको छाना र टाटीबेराले बनेका भएकाले आगोले छिट्टै विकराल रूप लिएको स्थानीयको भनाइ छ ।

    आगलागी नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय नेमुवाबाट सई अशोक कार्की र प्रहरी कार्यालय मोरङबाट वरिष्ठ सई राजेन्द्र कटवालको नेतृत्वमा टोली परिचालन गरिएको थियो । त्यसैगरी विराटनगर महानगरपालिकाका दमकल,सुरक्षाकर्मी र स्थानीय बासिन्दाको सक्रिय प्रयासका बाबजुद करिब ४५ मिनेटपछि आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    आगो नियन्त्रणमा आए पनि बस्तीका अधिकांश घर पूर्ण रूपमा जलेर नष्ट भइसकेका छन् । आगलागीको कारण हालसम्म खुल्न सकेको छैन । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।

    घटनापछि बस्तीका पीडित परिवारहरू बिचल्लीमा परेका छन् । भूमिहीन र दैनिक ज्यालादारीमा निर्भर मुसहर समुदायका परिवारहरूको आश्रय नै नष्ट भएपछि उनीहरू खुला आकाशमुनि बस्न बाध्य भएका छन् । घरसँगै लत्ताकपडा, अन्नपात र दैनिक प्रयोगका सामग्री जलेपछि पीडितहरू अत्यन्तै कठिन अवस्थामा पुगेका हुन् ।

    आगलागीपछिको दृश्य अत्यन्तै दर्दनाक बनेको छ । बस्तीभरि रुवाबासी चलेको छ भने बालबालिका, वृद्धवृद्धा र महिलाहरू अत्यन्तै त्रासमा रहेका छन् । सरोकारवालाले तत्काल राहत तथा पुनःस्थापनाको माग गर्न थालेका छन् ।

    यस घटनाले अति विपन्न समुदायका असुरक्षित बसोबास र विपद् व्यवस्थापनको कमजोर तयारीलाई उजागर गरेको छ । समयमै प्रभावकारी राहत,अस्थायी आवास र दीर्घकालीन पुनःस्थापनाको व्यवस्था नगरे पीडित परिवारहरूको अवस्था झन् जटिल बन्ने सरोकारवालाले बताएका छन् । 

    images
    प्रकाशित मिति :चैत्र ४ २०८२ बुधवार - १८:३८:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij