२०८२ चैत्र ४ गते बुधवार
काठमाडौं । मधेस प्रदेश सरकारले ई-रिक्सा, अटो र ट्याक्टर चलाएर जीविकोपार्जन गर्ने विपन्न तथा निरक्षर नागरिकलाई लिखित परीक्षा नलिई सिधै प्रयोगात्मक (ट्रायल) परीक्षामार्फत लाइसेन्स दिने भएको छ ।
सय दिने उपलब्धी सार्वजनिक गर्दै मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्ण यादवले सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण प्रक्रियामा महत्वपूर्ण सहजीकरण गर्ने बताउनुभएको हो । मुख्यमन्त्री यादवले प्रदेशमा ठूलो सङ्ख्यामा रहेका यस्ता चालकहरूको बाध्यतालाई बुझेर लिखित परीक्षा नलिई सिधै प्रयोगात्मक (ट्रायल)परीक्षामार्फत लाइसेन्स दिने कानूनी आधार तयार पारिएको घोषणा गरे।
मुख्यमन्त्रीले मोटरसाइकल जस्ता सवारी साधनहरू सौख र व्यक्तिगत प्रयोजनका लागि बढी प्रयोग हुने भएपनि ई-रिक्सा र ट्याक्टर पूर्णरूपमा गरिबको पेट पाल्ने माध्यम भएकाले यसलाई पहिलो प्राथमिकतामा राखिएको प्रस्ट पारे । यस निर्णयले मधेस प्रदेशका हजारौँ विपन्न मजदुरहरूलाई कानूनी रूपमै सवारी चलाएर आफ्नो जीविकोपार्जन गर्न बाटो खुला गर्ने उनको विश्वास छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij