Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

आज दिनभरको २२ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्

आज दिनभरको २२ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्


  • 575
    Shares

    • images
    आज दिनभरको २२ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्

    १. राष्ट्रपति पौडेलद्वारा पूर्वप्रधानमन्त्री ओलीलाई समवेदना प्रकट

    राष्ट्रपति रामचन्द्र पौडेलले पितृशोकमा रहनुभएका पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीप्रति समवेदना प्रकट गर्नुभएको छ । राष्ट्रपति पौडेलले अध्यक्ष ओलीलाई भेटी उहाँका पिताको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । अध्यक्ष ओलीका पिताको निधनले सिंगो परिवारमा पर्न गएको अपूरणीय क्षतिप्रति राष्ट्रपतिले गहिरो सहानुभूति समेत व्यक्त गर्नुभयो । 

    २. देशभर पछिल्लो २४ घण्टामा ७३ विपद्का घटनाः ४ जनाको मृत्यु, साढे २ करोडभन्दा बढीको क्षति

    नेपालभर पछिल्लो २४ घण्टामा विभिन्न प्राकृतिक तथा गैर–प्राकृतिक विपद्का घटनामा परी ४ जनाले ज्यान गुमाएका छन् । साढे २ करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको छ । नेपाल गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो बुलेटिनअनुसार देशका ४३ जिल्लामा विपद्का घटनाहरू रेकर्ड भएका हुन् । 
    पछिल्लो २४ घण्टाको विपद् अवस्था
    चैत २ गते बिहान १० बजेदेखि चैत ३ गते बिहान १० बजेसम्मको अवधिमा देशभर कुल ७३ वटा विपद्का घटना घटेका छन् । यी घटनामा परी ४ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । मृत्यु हुनेमा हावाहुरीबाट २ जना, सर्पदंशबाट १ जना र चट्याङ लागेर १ जना रहेका छन् । यस अवधिमा सबैभन्दा बढी हावाहुरीका ४६ वटा र आगलागीका १२ वटा घटना दर्ता भएका छन् । विपद्का कारण २ करोड ४१ लाख ६ हजार ९ सय रुपैयाँ बराबरको अनुमानित क्षति भएको प्राधिकरणले जनाएको छ । साथै, २७ वटा चौपायाको समेत क्षति भएको छ । यी घटनाहरूको उद्धार र व्यवस्थापनका लागि ३ सय ४९ जना प्रहरी परिचालन गरिएको थियो ।
    यस वर्ष हालसम्मका मुख्य विपद् र क्षति (वैशाख १ देखि चैत ३ सम्म)
    प्राधिकरणको तथ्यांकअनुसार २०८२ साल वैशाख १ गतेदेखि चैत ३ गतेसम्म देशभर कुल ६ हजार ९ सय ५१ वटा विपद्का घटना भइसकेका छन् । यी घटनाहरूमा परी हालसम्म ४ सय ७५ जनाले ज्यान गुमाएका छन् भने ३८ जना अझै बेपत्ता छन् । त्यसैगरी, १ हजार ८ सय ४६ जना घाइते भएका छन् भने १२ हजार ६ सय ५० परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । 
    यस वर्ष सबैभन्दा बढी मानवीय क्षति आगलागीबाट भएको छ । जसमा १०० जनाको मृत्यु भएको छ । त्यसपछि सर्पदंशबाट ९८, पहिरोबाट ७४, जनावरको आक्रमणबाट ५४ र चट्याङबाट ४७ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ । 

    ३. उपराष्ट्रपति यादवद्वारा पूर्वप्रधानमन्त्री ओलीलाई समवेदना प्रकट

    उपराष्ट्रपति रामसहायप्रसाद यादवले पितृशोकमा रहनुभएका पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीप्रति समवेदना प्रकट गर्नुभएको छ । उपराष्ट्रपति यादवले अध्यक्ष ओलीलाई भेटी उहाँका पिताको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । अध्यक्ष ओलीका पिताको निधनले सिंगो परिवारमा पर्न गएको अपूरणीय क्षतिप्रति उपराष्ट्रपतिले गहिरो सहानुभूति समेत व्यक्त गर्नुभयो ।

    ४. अनलाइन घोटाला (स्क्याम) विरुद्ध लड्न चीनद्वारा कम्बोडियालाई सामग्री सहयोग

    चीनले कम्बोडियाको ‘कमिसन फर कम्ब्याटिङ अनलाइन स्क्याम्स’ लाई साइबर घोटालाहरू रोक्न र नियन्त्रण गर्ने प्रभावकारिता बढाउने उद्देश्यले विभिन्न सामग्रीहरू प्रदान गरेको छ । कम्बोडियाका लागि चिनियाँ राजदुत वाङ वेनबिन र सचिवालयका प्रमुख तथा कम्बोडियाका वरिष्ठ मन्त्री छाय सिनारिथबीच सामग्री हस्तान्तरण समारोह सम्पन्न भएको थियो । राजदुत वाङले अनलाइन घोटाला विरुद्ध लड्न कम्बोडियालाई सहयोग गर्न पाउँदा चीन खुशी भएको बताउँदै पछिल्ला महिनाहरूमा साइबर घोटाला नियन्त्रणमा कम्बोडियाले हासिल गरेको उल्लेखनीय नतिजाको प्रशंसा गर्नुभयो । उहाँले गत शुक्रवार अनलाइन घोटाला विरुद्ध लड्ने मस्यौदा कानुन पारित गरेकोमा कम्बोडियाली सरकारको प्रशंसा यसले देशबाट सबै अनलाइन घोटाला नेटवर्कहरू निर्मूल पार्ने कम्बोडियाको उच्च प्रतिवद्धतालाई प्रतिविम्वित गर्दछ । 

    ५. अमेरिका–इजरायल–इरान द्वन्द्व १८ औं दिनमा पनि जारी

    अमेरिका–इजरायल–इरान द्वन्द्व १८ औं दिनमा पनि जारी रहेको छ ।  अमेरिकी र इजरायली अधिकारीहरूले इरानविरुद्ध लामो समयसम्म आक्रमण गरिरहने वाचा गरेका छन् भने तेहरानले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको हत्या गर्ने चेतावनी दिएको छ । इजरायली विदेशमन्त्री गिदोन सारले आफूहरुको लक्ष्य पूरा नभएसम्म इरानविरुद्धको लडाइँ जारी राख्न इजरायल र अमेरिकाको साझा संकल्प रहेको बताउनुभएको छ । इजरायली सेनाले एक विज्ञप्ति जारी गर्दै पश्चिमी र मध्य इरानका २०० भन्दा बढी लक्ष्यहरूमा आक्रमण गरेको जनाएको छ । 

    ६. चीनद्वारा नयाँ रिमोट सेन्सिङ उपग्रह प्रक्षेपण

    चीनले उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट सफलतापूर्वक एउटा रिमोट सेन्सिङ उपग्रह प्रक्षेपण गरेको छ । याओगान–५० ०२ (थ्बयनबल–५० ०२) उपग्रहलाई परिमार्जित लङ मार्च–६ क्यारियर रकेटमार्फत राति ९ः२२ बजे प्रक्षेपण गरिएको थियो । यो आफ्नो निर्धारित कक्षमा प्रवेश गरिसकेको छ । यो प्रक्षेपण अभियान पूर्ण रूपमा सफल भएको छ । यस उपग्रहको मुख्य प्रयोग भूमि सर्वेक्षण, बाली उत्पादनको अनुमान, र प्रकोप रोकथाम तथा राहत कार्यका लागि गरिनेछ । यो प्रक्षेपण लङ मार्च क्यारियर रकेट श्रृङ्खलाको ६३३ औं उडान अभियान थियो । 

    ७. ट्रम्पको मागः सात देशले हर्मुज जलडमरुमा जहाजहरूलाई सुरक्षा दिऊन्

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वको तेलमा अत्यमधिक निर्भर रहेका करिव सात देशहरूसँग हर्मुज जलडमरु हुँदै जाने पानीजहाजहरूलाई सुरक्षा दिन एउटा गठबन्धनमा सामेल हुन माग गरेको बताउनुभएको छ ।  यो जलडमरु विश्वको करिव २० प्रतिशत तेल ओसारपसार हुने प्रमुख जलमार्ग हो । ट्रम्पले ह्वाइट हाउसले वार्ता गरिरहेका ती देशहरूको नाम भने खुलाउनुभएन । तर ती देशहरू यस क्षेत्रको तेलमा अत्यधिक निर्भर रहेको बताउनु भयो । सोही दिन फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा अमेरिकी राष्ट्रपतिले नेटो सदस्य राष्ट्रहरूले हर्मुज जलडमरु खुलाउन युद्धपोतहरू पठाउनुपर्ने बताउनु भयो । अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै वाल स्ट्रिट जर्नलले जनाएअनुसार ह्वाइट हाउसले यसै साता बहुराष्ट्रिय गठबन्धनको घोषणा गर्ने योजना बनाएको छ । 

    ८. पूर्वी भारतको अस्पतालमा आगलागी हुँदा १० जनाको मृत्यु

    भारतको पूर्वी राज्य ओडिसाको एक सरकारी अस्पतालमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन् । राज्यको कटक जिल्लामा रहेको एससीबी मेडिकल कलेज तथा अस्पतालको सघन उपचार कक्ष (आईसीयू) भित्र आगलागी भएको हो । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको बताइएको छ । अधिकांश पीडितहरू उक्त दुर्भाग्यपूर्ण अस्पतालको आईसीयूमा भर्ना भएका बिरामीहरू थिए । प्रारम्भिक रिपोर्टहरूले आगलागीको कारण सर्ट सर्किट भएको बताएका छन् । 

    ९.यु खिन यी म्यानमारको तल्लो सदनको नयाँ सभामुखमा निर्वाचित

    राज्यको स्वामित्वमा रहेको म्यानमार रेडियो एण्ड टेलिभिजनकाअनुसार युनियन सोलिडारिटी एण्ड डेभलपमेन्ट पार्टीका सांसद यु खिन यी सोमवार नेप्यिडोमा आयोजित संसद अधिवेशनमा म्यानमारको पिथु हलुटाव (तल्लो सदन) को नयाँ सभामुखमा निर्वाचित हुनुभएको छ । यु खिन यी म्यानमारको तेस्रो पिथु हलुटावको पहिलो अधिवेशनमा निर्वाचित हुनुभएको हो । युएसडीपीका अध्यक्ष यु खिन यी जेयाथिरी टाउनशिप निर्वाचन क्षेत्रबाट आम निर्वाचन जितेर सांसद बन्नुभएको थियो । एमआरटीभीका अनुसार तेस्रो पिथु हलुटावको पहिलो नियमित अधिवेशनको पहिलो दिनमा सबै ३७३ सांसदहरूको पूर्ण उपस्थिति रहेको थियो । अम्योथा हलुटाव (माथिल्लो सदन) को नयाँ सभामुख बुधवार निर्वाचित हुनेछन् । 

    १०. रुसको प्रोग्रेस एमएस–३१ कार्गो अन्तरिक्ष यानले आफ्नो मिसन पूरा ग¥यो

    रुसको कार्गो अन्तरिक्ष यान प्रोग्रेस एमएस–३१ ले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा आफ्नो आठ महिना लामो मिसन पूरा गरेपछि त्यसलाई कक्षबाट हटाइएको छ । यसका बाँकी टुक्राहरू प्रशान्त महासागरको गैर–नेभिगेसनल क्षेत्रमा खसेको रुसको राज्य अन्तरिक्ष निगम रोस्कोसमोसले सोमवार जनाएको छ । उक्त अन्तरिक्ष यान सोमवार आइएसएसबाट छुट्टिएको थियो । यो अन्तरिक्ष यान ६ जुलाई २०२५ मा आइएसएसको रुसी खण्डको पोइस्क मोड्युलसँग जोडिएको थियो । मिसनको क्रममा, यसले स्टेशनमा इन्धन भर्नको लागि प्रोपेलेन्ट, अनबोर्ड वायुमण्डल भर्न नाइट्रोजन, पिउने पानी, खाना, लत्ताकपडा, सरसफाई र चिकित्सा सामग्रीहरू, साथै स्टेशन अपग्रेड र वैज्ञानिक प्रयोगहरूको लागि ५ सय किलोग्राम भन्दा बढी उपकरण र उपभोग्य वस्तुहरू पु¥याएको थियो । 

    ११. सीमा द्वन्द्वले पुनर्वासमा बाधा पु¥याएपछि अफगानिस्तान फर्किएकाहरू शान्तिको पर्खाइमा

    एक समय अफगानिस्तान र पाकिस्तानलाई जोड्ने व्यस्त सीमावर्ती शहर तोर्खाम, सीमामा भएको झडपपछि विगत पाँच महिनादेखि बन्द छ ।  अफगानिस्तानमा पुनर्वास गरेका पूर्वशरणार्थी जार गुल एतमानजाईले तोर्खामका तीनवटा बजारमा रहेका दर्जनौं पसल र सम्पतीमा क्षति पुगेको बताए । करिव ३० करोड अफगानी (करिव ४८ लाख अमेरिकी डलर) बराबरको नोक्शान भएको अनुमान गरिएको छ । युद्धको परिणाम मानिसहरूको विस्थापन बाहेक अरू केही नभएको उनको भनाइ छ । सर्वसाधारणहरू युद्धको शिकार मात्रै भएको उनी बताउँछन् । 

    १२. अर्को निर्वाचनमा प्रतिपक्षीविहिन हुनेगरि काम गर्नुपर्नेछः उपसभापति अर्याल

    राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले अर्को निर्वाचनमा जनताले रास्वपालाई मात्रै मतदान गर्नेगरी काम गर्नुपर्ने बताउनुभएको छ । रास्वपाले आयोजना गरेको सांसदहरुको अभिमुखिकरण कार्यक्रममा उहाँले आगामी पाँच वर्ष पार्टीले प्रतिपक्षविहीन बनाउने गरी काम गर्नुपर्ने बताउनुभएको हो । उहाँले आगामी निर्वाचनसम्म पुग्दा नेपाली जनताले प्रतिपक्ष नै नहुनेगरी पार्टीलाई मत दिने अवस्था सिर्जना गर्नुपर्ने बताउनु भयो । उक्त लक्ष्य हासिल गर्नको लागि भाषण वा सिमित नेताहरूको प्रयासबाट मात्रै सम्भव नहुने भन्दै उहाँले सबैले आफ्नो स्थानबाट जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताउनु भयो । उहाँले अब बन्ने सरकारले सुशासन कायम गर्ने, प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्ने र भ्रष्टाचार अन्त्य गर्नेगरी काम गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले निर्वाचनमा पार्टीले जित हासिल गरेपनि देश र जनताले जित्न बाँकी रहेको बताउनु भयो ।

    १३. जनताले भरोसा गरेका छन्, यसलाई जोगाउन जिम्मेवार बनौँः उपसभापति वाग्ले

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीलाई जनताले गरेको ऐतिहासिक विश्वासलाई जोगाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ । रास्वपाले आयोजना गरेको सांसदहरुको अभिमुखिकरण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले जनताले अत्याधिक भरोसा गरेर अत्यन्तै बलियो वैधता दिएको बताउनु भयो । रास्वपाप्रति जनतामा अत्याधिक आशा रहेकोले त्यसलाई कार्यान्वयनमार्फत न्याय गर्नुपर्ने उहाँको भनाई छ । उहाँले जनतामा विकास निर्माण र सुशासनको ठूलो हुटहुटी रहेको बताउनु भयो । त्यसलाई पूरा गर्न रास्वपालाई स्पष्ट म्याण्डेड दिएर पठाएको उहाँको भनाई छ । अब जनताको आकांक्षा र भरोसाबाट भाग्ने छुट पार्टिलाई नभएको उहाँले बताउनु भयो । 

    १४. राष्ट्रिय स्वतन्त्र पार्टीको अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रम शुरु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरेको अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रम शुरु भएको छ । दुई दिने अभिमुखीकरण कार्यक्रल ललितपुरमा मंगलवारदेखि शुरु भएको हो । अभिमुखीकरण कार्यक्रमको पार्टीका उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्ले घण्टी बजाएर उद्घाटन गर्नुभएको छ । कार्यक्रममा नवनिर्वाचित प्रत्यक्ष तथा समानुपातिकतर्फका सांसदहरु सहभागी रहेका छन् । रास्वपाले प्रतिनिधि सभा सदस्यको निर्वाचनमा १ सय ८२ सीट जितेको थियो । आफ्ना अधिकांश सांसद नयाँ भएकाले संसदीय अभ्यास र आचारसंहिता लगायत विषयमा अभिमुखीकरण र प्रशिक्षणका दिनको लागी रास्वपाले २ दिने कार्यशाला आयोजना गरेको जनाएको छ । अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारी, पार्टीले अवलम्वन गर्नुपर्ने नीति लगायतमा प्रशिक्षित दिइने जनाइएको छ ।

    १५. यातायात क्षेत्रसम्बन्धी सर्वोच्चका आदेशहरू कार्यान्वयन सम्बन्धमा गठित जाँचबुझ आयोगले बुझायो प्रतिवेदन

    यातायात क्षेत्रसम्बन्धी सर्वोच्च अदालतका आदेशहरू कार्यान्वयन सम्बन्धमा गठित जाँचबुझ आयोगले गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष प्रतिवेदन बुझाएको छ । आयोगका सदस्यहरुले मंगलवार सिंहदरबारस्थित मन्त्रालयमा पुगेर गृहमन्त्री अर्यालसमक्ष प्रतिवेदन बुझाएको हो । सरकारले गत २२ मंसिरमा यातायात क्षेत्रसम्बन्धी सर्वोच्च अदालतका आदेशहरू कार्यान्वयन सम्बन्धमा दीपक सुवेदीको अध्यक्षतामा शरद अधिकारी र योगेन्द्रनाथ कर्माचार्य सदस्य रहनेगरी  जाँचबुझ आयोग गठन गरेको थियो । प्रतिवेदन बुझाइसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै आयोगका अध्यक्ष दीपक सुवेदीले प्रतिवेदनमा सर्वोच्च अदालतका फैसलाहरू कार्यान्वयन गर्न तत्काल गर्नुपर्ने कामहरू, साथै कानून संशोधन वा नयाँ कानून निर्माणमार्फत गर्नुपर्ने विषयहरू समेटिएको बताउनुभयो । उहाँका अनुसार प्रतिवेदनले यातायात क्षेत्रमा देखिएका विगतका कानूनी, संस्थागत तथा प्रक्रियागत समस्याहरू समाधान गर्ने गरी विस्तृत कार्ययोजना पनि प्रश्ताव छ । 

    १६. उपभोक्ताहरु भन्छन्ः आधा सिलिण्डर ग्याँस वितरण गर्दा पनि राहत महशुस गरेका छौँ

    उपभोक्ताहरुले आधार सिलिण्डर एलपी (खाना पकाउने) ग्याँस विक्रीवितरण गर्दा आफूहरुले राहत पाएको बताएका छन् । मंगलवार काठमाडौंको टेकुस्थित नेपाल आयल निगमको केन्द्रिय कार्यालयमा ग्यास लिन पुगेका उपभोक्ताहरुले संकटमा राहत पाएको भन्दै आयल निगमप्रति आभार समेत व्यक्त गरेका छन् । गाह्रो भइरहेको बेला आधा सिलिण्डर भएपनि ग्याँस पाउँदा खुशी लागेको उनीहरुको प्रतिक्रिया थियो । 
    एक उपभोक्ताले भन्नुभयो, ‘ग्याँसहरु कतै नपाएर यहाँ त्रिपुरेश्वरतिर लिन आएको छु । अब यहाँ पनि आधी नै पाईराखेको छ । ९५५ प्राईज भईहाल्यो । यस्तै हो । गाह्रो भईराखेको छ सबैलाई । त्यही भएर आधी पाए पनि खुशी नै हो । काम चलाउन पुगिराखेको छ । पछि के हुन्छ । सबैले मिलेर समस्या समाधान गरौला । समय अनुसार सबै कुरा ठिकै हुन्छ भनेर भन्छु ।’

    १७. जीडीपीमा ऋणको हिस्सा ४७.१३ प्रतिशत पुग्यो, आठ महिनामै सरकारले लियो २ खर्ब भन्दा बढी ऋण

    कुल गार्हस्थ्य उपात्दन (जीडीपी) मा कुल सावर्जनिक ऋणको हिस्सा ४७ दशमलव १३ प्रतिशत पुगेको छ । 
    चालु आर्थिक वर्षको फागुन मशान्त सम्ममा सरकारले सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब लिएसँगै जिडिपिमा ऋणको हिस्सा समेत बढेको हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयकाअनुसार चालु आर्थिक वर्षको शुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रहेकोमा फाल्गुन मसान्तसम्ममा सार्वजनिक ऋण दायित्व २८ खर्ब ७८ अर्ब २९ करोड पुगेको छ । जुन कुल गार्हस्थ्य उत्पादनको ४७.१३ प्रतिशत हुन आउँछ । कुल सार्वजनिक ऋणमा फाल्गुन मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५३.१६ प्रतिशत तथा आन्तरिक ऋणको हिस्सा ४६.८४ प्रतिशत रहेको छ । कार्यलयकाअनुसार चालु आवको आठ महिनामै सरकारले २ खर्ब ४ अर्ब २४ करोड सार्वजनिक ऋण लिएको छ ।

    १८. जेन—जी आन्दोलनका कारण निजी क्षेत्र थप संकटमा परेको सरकारको निष्कर्ष

    सरकारले जेन–जी आन्दोलनका कारण निजी क्षेत्र थप संकटमा परेको निष्कर्ष निकालेको छ । 
    ०८२ भदौ २३ र २४ गतेको आन्दोलनबाट भएको व्यापक भौतिक क्षतिपछि सरकारले तयार गरेको पुनर्निर्माण र पुनव्र्यवस्थापनका लागि विस्तृत कार्ययोजनामा उक्त निष्कर्ष निकालिएको हो । कार्ययोजना प्रतिवेदनअनुसार कोभिड–१९ पछिको कमजोर अर्थतन्त्र र बाह्य आर्थिक दबाबले पहिले नै प्रभावित निजी क्षेत्र आन्दोलनका कारण थप संकटमा परेको सरकारको निष्कर्ष छ । यस्तो अवस्थामा निजी सम्पती र व्यवसायको सुरक्षा राज्यको प्रमुख दायित्व भएको उल्लेख गर्दै सरकारले पुनर्निर्माणमा सहजीकरण गर्ने नीति कार्ययोजनाबाट लिएको छ । कार्ययोजनाअनुसार स्थानीय तहलाई क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि नक्सापास शुल्कमा छुट दिन अनुरोध गरिनेछ । साथै, क्षतिको आधारमा निजी व्यवसायलाई तीन वर्षसम्म सम्पती कर छुट दिन पनि आग्रह गरिने भएको छ । 
    बीमा भएका संरचनाको बीमा रकम तत्काल भुक्तानी गर्ने व्यवस्था मिलाइनेछ । यदि बीमा कम्पनीहरूमा तरलता अभाव भएमा नेपाल राष्ट्र बैंक, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषमार्फत सहुलियत ब्याजदरमा अल्पकालीन कर्जा उपलब्ध गराउने व्यवस्था गरिनेछ ।

    १९. झन्झटिलो जग्गा प्राप्ति र सुस्त बजेट खर्चले आयोजनाहरू अलपत्रः विश्व बैंक

    नेपालको पूर्वाधार विकासको गति सुस्त हुँदा त्यसले मुलुकको समग्र आर्थिक वृद्धि र रोजगारी सिर्जनामा गम्भीर धक्का पु¥याएको एक अध्ययनले देखाएको छ । विश्व बैंकले सार्वजनिक गरेको नेपाल क्यापिटल एक्सपेडिचरसम्बन्धि अध्ययनमा आयोजना छनोटदेखि कार्यान्वयनसम्मका संरचनागत समस्याका कारण नेपालको पुँजीगत खर्च निरन्तर ओरालो लागिरहेको पाइएको हो । विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालमा सडक, जलविद्युत र सिंचाई जस्ता ठूला पूर्वाधार निर्माणमा सबैभन्दा ठूलो अवरोध जग्गा प्राप्ति र रुख कटानमा देखिएको छ । विश्व बैंकले उदाहरण दिँदै भनेको छ, राजधानी जोड्ने मुख्य नाका नागढुङ्गा–नौबिसे–मुग्लिङ सडक खण्डको जग्गा अधिग्रहण प्रक्रिया मात्रै ३५ महिना लागेको थियो, जुन प्रारम्भिक योजनाभन्दा १५० प्रतिशत बढी समय हो ।
    सामान्यतया, नेपालमा एउटा पूर्वाधार आयोजनाका लागि रुख कटानको अनुमति लिन औसत २ वर्ष र जग्गा प्राप्तिका लागि २ देखि ३ वर्ष लाग्ने गरेको छ । यसले गर्दा आयोजनाको लागत बढ्ने र समयमा प्रतिफल नपाउने समस्या देखिएको विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ ।

    २०. निर्माण सामग्री अभाव र मूल्यवृद्धिले निर्माण क्षेत्र संकटमा, ‘निर्माण होलिडे’ घोषणा गर्न माग

    निर्माण सामग्री, इन्धन र ग्यासको अभाव तथा अत्यधिक मूल्यवृद्धिले निर्माण क्षेत्र गम्भीर रूपमा प्रभावित भएको छ । पछिल्लो दुई महिनादेखि देशभित्र भएको निर्वाचन र अन्तर्राष्ट्रिय स्तरमा बढेको द्वन्द्वका कारण महँगी बढेको र काम समेत प्रभावित बनेको निर्माण व्यवसायीहरुको बुझाइ छ । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले पछिल्लो समय आन्तरिक र वाह्य कारण निर्माण क्षेत्र प्रभावित बन्दै गएको बताउनु भयो । 

    २१. सभापति लामिछानेको मुद्दा संशोधन गर्ने निर्णय विरूद्धको रिट हेर्दाहेर्दैमा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सम्पती शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दाको अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता विरुद्धको रिट मंगलवार पनि हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्च अदालतकी न्यायाधीश शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा पेसी रहेको मुद्दामा एक जनाको बहस बाँकी रहेपछि हेर्दाहेर्दैमा राखिएको हो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आफूले जवाफी बहस गर्न बाँकी रहेको भन्दै बिहीवार आफ्नो बहस सकिएपछि आदेश आउने बताउनु भयो । अदालतले निर्णय सुनाउन अर्को मिति नतोकेको खण्डमा बिहीवार नै फैसला आउने सम्भावना रहेको त्रिपाठीको भनाइ छ । 
    उहाँले भन्नुभयो, ‘भोलि सार्वजनिक बिदा छ, पर्सि फेरि बेन्च बस्छ । 

    २२. महिला फुटबलमा एपिएफको चुनौती थपिँदै

    घरेलु प्रतियोगितामा लामो समयदेखि दबदबा बनाउँदै आएको एपिएफलाई अन्य दुई विभागीयसँगै संकटा क्लवले एन्फा शहीद स्मारक महिला लिग २०८२ मा चुनौती दिने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा एन्फा शहीद स्मारक महिला लिग २०८२ बुधवारदेखि ललितपुरस्थित च्यासल रंगशालामा शुरु हुँदैछ । उक्त लिगमा तीन विभागीय टोलीसहित कुल ९ क्लवले प्रतिष्पर्धा गर्दैछन् । घरेलु प्रतियोगितामा एपिएफ सबैभन्दा बलियो दाबेदार रहँदै आएको छ । विपक्षमाथि पूर्ण हाबी हुँदै एपिएफले घरेलु प्रतियोगिताको उपाधिमा वर्चश्व राख्दै आएको छ । यद्यपि, पछिल्ला समय एपिएफले अन्य दुई विभागीय टोलीले चुनौती दिन थालेको छ । त्यसमा यसपल्ट संकटा पनि थपिने संकेत देखिएको छ । संकटाले चार जना विदेशी खेलाडी अनुवन्ध गर्दै उपाधि जित्ने दाबेदारी प्रस्तुत गरेको छ ।
    प्रतियोगिताअगाडि मंगलवार भएको पत्रकार सम्मेलनमा चार टोलीका प्रशिक्षक र कप्तानले राम्रो फुटबल खेल्दै उपाधि जित्ने लक्ष्य देखाएका छन् । एपिएफका प्रशिक्षक जीवेशकुमार पाण्डेले टोली मानसिक र शारीरिक रूपमा तयार रहेको बताए । यद्यपि, सविता रानामगरसहित केही खेलाडी घाइते रहेको उनले जानकारी दिए । तर पनि आफूहरू राम्रो फुटबल खेल्दै उपाधि जित्नेगरी खेल्न तयार रहेको उनले बताएका छन् । जहिल्यै पनि प्रतिस्पर्धात्मक विपक्षी अपेक्षा गर्ने गरेको र यसपल्ट राम्रा प्रतिद्वन्द्वी मिल्ने उनको आशा छ । –न्युज एजेन्सी नेपाल

     

    प्रकाशित मिति :चैत्र ३ २०८२ मंगलवार - २१:२०:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij