२०८२ चैत्र ३ गते मंगलवार
काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिका–४ मा सञ्चालनमा रहेको सिताराम डेरी उद्योगमा उत्पादन गरिएको प्रशोधित दूधमा सरकारी मापदण्डअनुसार चिल्लो पदार्थ (फ्याट) नपाइएपछि ५१९ क्यारेट दूध सिलबन्दी गरेर बिक्री वितरण रोक्का गरिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको नियमित अनुगमनका क्रममा उद्योग परिसरमै प्याकिङ गरी बिक्रीका लागि तयारी अवस्थामा रहेको २०८२ चैत २ गते उत्पादन मिति र ब्याच नम्बर २८६१ भएको दूध परीक्षण गर्दा तोकिएको न्यूनतम गुणस्तर मापदण्ड अनुसार फ्याटको मात्रा नदेखिएको विभागले जनाएको छ ।
विभागका अनुसार उद्योगकै प्रयोगशालामा गरिएको प्रारम्भिक परीक्षण तथा उद्योगको लकबुक अभिलेख दुवैमा उक्त ब्याचको दूध मापदण्डअनुसार नदेखिएपछि ५१९ क्यारेट दूध (प्रति क्यारेट २० पोका, ५०० मिलिलिटर) तत्काल बिक्री वितरण रोक्का गरिएको हो ।
नेपाल सरकारले तोकेको मापदण्डअनुसार स्ट्याण्डर्ड दूधमा कम्तीमा ३ प्रतिशत फ्याट हुनुपर्ने व्यवस्था छ । तर प्रारम्भिक परीक्षणमा उक्त दूधमा लेबलमा उल्लेखित भन्दा करिब आधा (१.४ प्रतिशत) मात्रै फ्याट भेटिएको जनाएको छ ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३३ बमोजिम उक्त दूधलाई अर्को आदेश नभएसम्म उद्योगकै जिम्मामा रहने गरी उद्योगकै कोल्डस्टोरमा सिलबन्दी गरेर राखिएको विभागले जनाएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग तथा काठमाडौँ डिभिजन कार्यालयको संयुक्त टोलीले उद्योगमा स्थलगत अनुगमन गरी उक्त दूध सिलबन्दी गरेको हो । टोलीमा सतिष मण्डल, सरोज पौडेल र खगेन्द्र प्रसाद खतिवडा तथा प्रहरी वृत्त कृतिपुरका प्रहरी नायव निरीक्षक अशोक श्रेष्ठ रहेका थिए । सिताराम गोकुल मिल्क्स प्रा.ली.का प्रमुख कार्यकारी अधिकृत ब्रज मोहन झा, उत्पादन उपप्रमुख प्रविन पौडेल तथा उद्योगकै प्रयोगशाला सहायक शिखा गिरीको रोहवरमा उक्त उद्योगको दूध भण्डार गर्ने स्टोर सिलबन्दी गरिएको हो ।
खाद्य निरीक्षक सरोज पौडेलका अनुसार अनुगमनका क्रममा उद्योगमा बजार पठाउन तयारी अवस्थामा दूध प्याकेजिङ भइरहेको भेटिएको थियो। “अनुगमनका क्रममा हामी जाँदा बजारमा जाने दूध प्याक भइरहेको अवस्थामा थियो। प्याकेटमा भरिँदै गरेको दूधको त्यहीँ उद्योगकै प्रयोगशालामा प्रारम्भिक परीक्षण गर्यौँ। परीक्षण गर्दा नतिजा नेपाल सरकारले तोकेको न्यूनतम गुणस्तर मापदण्डअनुसार आएन,” पौडेलले भने ।
उनका अनुसार उद्योगले आफ्नै प्रयोगशालामा परीक्षण गरी राखेको अभिलेखसमेत सरकारी मापदण्डभन्दा कम देखिएको थियो। “उद्योगले लगबुकमा राखेको परीक्षण अभिलेख पनि हामीले हेर्यौँ। उद्योगकै स्टाफले परीक्षण गरेर राखेको त्यो रेकर्डमा समेत फ्याटको मात्रा सरकारी न्यूनतम मापदण्डभन्दा कम देखिएको थियो। उद्योगको प्रयोगशाला परीक्षण र उनीहरूले राखेको अभिलेख दुवैबाट पुष्टि भएपछि स्टकमा रहेको दूध तत्काल रोक्का राखिएको हो,”उनले बताए।
पौडेलका अनुसार थप प्रमाणीकरणका लागि दूधको नमुना संकलन गरिएको छ। “फर्दर भेरिफिकेसनका लागि हामीले नमुना पनि संकलन गरेका छौँ। उक्त नमुना विभागको प्रयोगशालामा थप परीक्षण हुनेछ,” उनले भने । प्रशासन विशेष स्रोतका अनुसार सिताराम डेरीले दैनिक करिब २० हजार लिटर दूध उत्पादन गर्दै आएको छ। विभागले उक्त डेरीको दूधमा गुणस्तर सम्बन्धी कैफियत हुन सक्ने आशंकामा केही दिनदेखि निरन्तर सर्भेलेन्स गर्दै आएको थियो ।
विभागका अनुसार उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित खाद्यवस्तुमा निरन्तर अनुगमन, सचेतना र कानुनी कारबाहीलाई अझ तीव्र पारिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij