२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । काठमाडौंका नागार्जुन नगरपालिका-८ भिमढुंगाबाट हुन्डी तथा अभौतिक मुद्राको कारोबारमा संलग्न २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले उनीहरूलाई १ करोड १६ लाख नगदसहित पक्राउ गरेको हो ।
अभौतिक मुद्राको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा परिसरबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नागार्जुन नगरपालिका-८ का २८ वर्षीय सागर गिरी र सोही ठाउँका २८ वर्षीय प्रमोद प्रसाद धिताल रहेको प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट विभिन्न बैंकको विभिन्न व्यक्तिको नाममा रहेको चेक, व्यक्तिको नाममा काटेको २७ लाख ३० हजार रुपैयाँको चेक, एटीएम, नागरिकता, २ थान चारपाङ्ग्रे सवारी, दुई पाङ्ग्रे सवारी १ थान, सवारी दर्ता किताब ३ थान, विभिन्न कम्पनीका ६ वटा मोबाइल, ३१ थान सिमकार्ड, १ थान कम्प्युटर लगायतका जिन्सि सामग्री पनि प्रहरीले बरामद गरेको छ ।
उनीहरूलाई जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij