२०८२ चैत्र १ गते आइतवार
काठमाडौं । पहिरो गएपछि धनकुटा र पाँचथर जोड्ने भेडेटार–रवि–राँके सडक अवरुद्ध भएको छ । उक्त सडक अन्तर्गत साँगुरीगढी गाउँपालिका–३ नाम्जे नजिक शुक्रबार बिहानदेखि पहिरो खसिरहेको छ । प्रहरीका अनुसार करिब ३ सय मिटर क्षेत्रमा माटोढुंगा थुप्रिएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।
सडक निर्माणको जिम्मा लिएको एप्को इन्फ्राटेच निर्माण कम्पनीले एक्स्काभेटर तथा जेसीभीलगायतका उपकरण प्रयोग गरेर पहिरो हटाउने प्रयास गरिरहेको छ । लगातार ढुंगा खसिरहेकाले पहिरो पन्छाउने काम असहज भएको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईले बताएका छन् ।
उक्त स्थानमा खटिएका इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रमेश प्रधानका अनुसार सडक माथिल्लो भागबाट ढुंगा, माटो तथा रुख समेत झर्न थालेपछि यातायात पूर्ण रूपमा बन्द गरिएको हो ।
सडक अवरुद्ध भएपछि रोकिएका सवारी साधनलाई वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाउने व्यवस्था मिलाइएको छ ।
भेडेटार–रवि–राँके सडक हुँदै धरान र धनकुटाबाट चौबिसे क्षेत्र तथा पाँचथरसम्म नियमित रूपमा यातायात सञ्चालन हुने गरेको भए पनि पहिरोका कारण दुई दिनदेखि सम्पूर्ण सवारी साधन ठप्प भएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij