२०८२ फाल्गुण २९ गते शुक्रवार
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह ले २०४६ सालपछि भएका सबै भ्रष्टाचारका घटनाको छानबिन हुनुपर्ने बताएका छन्।
घोडाघोडी सामुदायिक माध्यमिक विद्यालयको नयाँ भवनको शिलान्यास कार्यक्रममा बोल्दै उनले भ्रष्टाचारको विषयमा कसैले खुट्टा नकमाउन आग्रह गर्दै सरकारले छानबिनको प्रक्रिया अघि बढाउनुपर्ने बताए।
‘२०४६ सालदेखिका सबै भ्रष्टाचारका मुद्दा छानबिन हुनुपर्छ। कसैले खुट्टा नकमाउनुहोस्, हामी साथमा छौँ,’ उनले भने।
मुख्यमन्त्री शाहले मुलुक स्थिर सरकारतर्फ अघि बढिरहेको बताउँदै अब देश विकास र समृद्धिको बाटोमा अघि बढ्ने विश्वास व्यक्त गरे। उनले संविधान संशोधनको विषय पनि अगाडि बढ्न सक्ने बताउँदै त्यसका लागि शुभकामना व्यक्त गरे।
उनले युवाहरू विदेश पलायन भइरहेका विषयमा चिन्ता व्यक्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनावका बेला दिएका आश्वासन पूरा गर्नुपर्ने बताए। “हिजो प्रश्न गर्ने ठाउँमा रहेका नेताहरू अहिले उत्तर दिने ठाउँमा पुगेका छन्। अब बोलेका कुरा व्यवहारमा लागू गर्नुपर्छ, युवाहरू कहिलेबाट विदेश जान रोकिन्छन् , विदेशमा भएकाहरू कहिलेदेखि फर्किन थाल्छन् ” उनले सोधे ।
प्रदेश संरचना र गणतन्त्रजस्ता विषयमा पनि रास्वपाले स्पष्ट धारणा ल्याउनुपर्ने उनको भनाइ थियो। ‘प्रदेश संरचना भत्काउने हो भने स्पष्ट भन्नुपर्छ, अधिकार दिन्छु भनेपछि दिनुपर्छ,’ उनले बताए।
देश विकासका लागि निश्चित समयभित्र स्पष्ट रोडम्याप र कार्यतालिका ल्याउनुपर्नेमा उनले जोड दिए। साथै वर्तमान समयअनुसार शिक्षा प्रणालीमा सुधार र गुणस्तर वृद्धि आवश्यक रहेको पनि उनले बताए।
कार्यक्रममा सामाजिक विकास मन्त्री मेघराज खड्का ले आगामी संघीय सरकारलाई शुभकामना दिँदै पाँच वर्ष स्थिर रूपमा काम गर्न आग्रह गरे। विदेश गएका नेपालीहरू स्वदेश फर्कने वातावरण बनाउनुपर्ने उनले बताए।
कैलाली क्षेत्र नम्बर ३ मा रास्वपाबाट नवनिर्वाचित सांसद जगत जोशी ले शिक्षामा परिवर्तन नगरी समाज परिवर्तन सम्भव नहुने भन्दै मुलुकमा नैतिक शिक्षाको आवश्यकता औँल्याए।
घोडाघोडी बहुमुखी क्याम्पसका अध्यक्ष लक्ष्मण न्युरेले प्रदेश सरकारको सहयोगले शिक्षाको विकासमा ठूलो टेवा पुगेको बताए। घोडाघोडी नगरपालिकाका मेयर खडक रावत ले तीनै तहका सरकारबीच समन्वय भए घोडाघोडीको विकास सम्भव हुने बताए।
प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. जीवन राना ले शिक्षाको सुधारका लागि आयोग सधैं साथमा रहने बताइन्।
क्याम्पस प्रमुख लक्ष्मीप्रसाद भट्टराई ले मुख्यमन्त्री शाहको सहयोगका कारण घोडाघोडी क्षेत्रमा धेरै विकास भएको बताए।
उनले थप बिकासको लागी ज्ञापन पत्र बुझाएका थिए । कार्यक्रमको अध्यक्षता ग्रहण गरेका घोडाघोडी सामुदायिक माध्यमिक विद्यालयका अध्यक्ष बिष्णु सापकोटाले शैक्षिक गुणस्तरको प्रयोग गरिने बताएका थिए । प्राबिधिक शिक्षालाई जोड दिदै नमुना सामुदायिक बिद्यालयको नीति लिएर अघि बढ्ने उनले बताएका थिए ।
प्रदेश सरकारको करिब १० करोड रुपैयाँ बजेटमा निर्माण हुन लागेको घोडाघोडी सामुदायिक माध्यमिक विद्यालयको भवन तीन चरणमा निर्माण सम्पन्न गरिने बताइएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij