२०८२ फाल्गुण २५ गते सोमवार
काठमाडौं । जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले तत्कालीन आईजीपी चन्द्रकुबेर खापुङलाई पनि फौजदारी मुद्दा चलाउन सिफारिस गरेको छ । भदौ २३ र २४ मा भएको प्रदर्शन र उच्छृङ्खल गतिविधिबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले आइतबार प्रतिवेदन बुझाउँदै खापुङलाई पनि फौजदारी कानुन अनुसार अनुसन्धान गरेर अभियोजन गर्नुपर्ने राय दिएको हो ।
काठमाडौंको नयाँ बानेश्वरमा किशोरहरूको ज्यान जानेगरी प्रहरीले गोली चलाउँदा खापुङ प्रहरी महानिरीक्षक थिए । लेथल हतियार प्रयोग गरेर अधिक बल प्रयोग गर्ने आदेश आईजीपी चन्द्रकुबेर खापुङले दिएको फिल्डमा खटिएका अधिकृतहरू बताउँछन् ।
अघिल्लो दिन अधिक बल प्रयोग भएसँगै आक्रोशित प्रदर्शनकारीले भोलिपल्टको विध्वंस मच्चाएको विश्लेषण गरिएको छ । आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र काठमाडौंका तत्कालीन प्रजिअ छविलाल रिजाललाई फौजदारी कानुन अनुसार मुद्दा चलाउन सिफारिस गरेको छ ।
गृह मन्त्रालयको तथ्यांकअनुसार भदौ २३ र २४ मा गोली लागेर देशभर ३९ जना प्रदर्शनकारीले ज्यान गुमाएका थिए । प्रदर्शनमा कुल ७६ जनाको मृत्यु भएको छ । गोली लागेर ज्यान गुमाएका ३४ जनाको त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरिएको थियो ।
भदौ २३ मा करिब १ बजेतिर आईजीपी खापुङले प्रहरी सञ्चार सेट ९वाकीटकी० बाट गोली चलाउन आदेश गरेका हुन् । प्रदर्शनकारी संसद् भवनमा केन्द्रित भएपछि खापुङले गोली चलाउन आदेश दिएको फिल्डमा खटिएका अधिकृतहरू बताउँछन् । खापुङको भनाइ उद्धृत गर्दै एक जना अधिकृतले भने– ‘संसद् भवन घेरिसकेका छन्, के हेरेको रु गोली चलाउ ।’
जाँचबुझ आयोगले जिल्ला सुरक्षा समिति काठमाडौँका पदाधिकारीहरूलाई विभागीय कारबाही गर्न सिफारिस गरेको आयोगका एक जना सदस्यले रातोपाटीलाई बताए । उनले भने– ‘जिल्ला सुरक्षा समितिका अध्यक्षलाई फौजदारी मुद्दा र अरूलाई विभागीय कारबाही गर्न सिफारिस गरिएको छ ।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij