२०८२ फाल्गुण २५ गते सोमवार
१. सामाजिक सञ्जाल र एआईबाट हुने महिला हिंसाप्रति कार्यवाहक प्रमुख डंगोलको गुनासो
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला समानता कुनै उपहार वा टोकन नभई नैसर्गिक मानव अधिकार भएको बताउनुभएको छ । समाजमा अझै पनि महिलाको क्षमतामाथि प्रश्न उठाउने विभेदपूर्ण मानसिकता कायम रहेको भन्दै उहाँले त्यस्तो सोचको अन्त्य हुनुपर्नेमा जोड दिनुभएको हो । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै डंगोलले समाजको दोहोरो मापदण्डप्रति गुनासो गर्नुभयो । सोही क्रममा उहाँले प्रविधिको विकाससँगै महिलाहरुमाथि हुने हिंसाको स्वरुप फेरिएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । विशेषगरी सामाजिक सञ्जाल र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दुरुपयोग गर्दै महिलाहरुमाथि ‘नदेखिने हिंसा’ भइरहेको उहाँले बताउनु भयो ।
२. शान्तिपूर्ण निर्वाचन सम्पन्न गरेकोमा अर्थमन्त्री खनालद्वारा निर्वाचन आयोगको प्रशंसा
अर्थ, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वर खनालले अनिश्चयर र चुनौतिका बीच प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गरेकोमा निर्वाचन आयोगलाई धन्यवाद दिनुभएको छ । मन्त्री खनाालले आईतवार निर्वाचन आयोगको कार्यालय पुगेर आयोगका पदाधिकारीलाई भेटी धन्यवाद प्रकट गर्नुभएको हो । निर्वाचन हुनुभन्दा दुई दिन अघिसम्म पनि चुनाव हुन्छ कि हुँदैन भन्ने अनिश्चय र जोखिमपूर्ण वातावरण रहेको स्मरण गर्दे उहाँले जटिल अवस्थामा पनि निर्वाचन आयोग कार्यतालिका भित्रै कार्य सम्पन्न गर्नेमा कटिवद्ध रहनुले निर्वाचनको सम्पूर्ण श्रेय आयोगलाई जाने बताउनु भयो । उहाँले जोखिमपूर्ण घडीमा आयोगले निर्वाह गरेको नेतृत्वदायी भुमिकाको उच्च प्रशंसा गर्नुभयो ।
३. मुचुल्का र मतपेटिकाको मतसंख्या फरक परे ‘मतपेटिकाकै मत’ आधिकारिक मानिनेः निर्वाचन आयोग
निर्वाचनका क्रममा मतदान अधिकृतले तयार पारेको मुचुल्का प्रतिवेदन र मतपेटिकाभित्र भेटिएको प्रत्यक्ष मतसंख्या बीच केही स्थानमा फरक परेको पाइएपछि निर्वाचन आयोगले त्यसमा स्पष्ट कानूनी व्यवस्था अनुरूप अघि बढ्न निर्देशन दिएको छ । ओखलढुंगा लगायतका केही जिल्लामा यस्तो समस्या देखिएपछि आयोगले देशभरका लागि एकरूपता हुनेगरी निर्णय कार्यान्वयन गराएको हो । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रकाश भट्टराईले यस्तो मानवीय त्रुटिका कारण मतदान अधिकृतले दिएको प्रतिवेदन (मुचुल्का) र मतपेटिका खोल्दा निस्किएको मतसंख्या बीच तलमाथि पर्नसक्ने अवस्थालाई मध्यनजर गर्दै आयोगले मतगणना निर्देशिकामा नै स्पष्ट व्यवस्था गरेको छ । यस स्पष्ट व्यवस्थाले गर्दा मतगणना स्थलमा हुनसक्ने सम्भावित विवादहरू समाधान गर्न र मतगणना कार्यलाई सुचारु राख्न मद्दत पुगेको आयोगको भनाइ छ ।
४. महिलाको सहभागिता मात्र होइन, अब अर्थपूर्ण र गुणस्तरीय उपस्थिति आवश्यक छः प्रधानमन्त्री सुशीला कार्की
अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले राज्यका हरेक निकायमा महिलाको सहभागिता बढाएर मात्र नपुग्ने बताउनुभएको छ । ११६औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आईतवार सिंहदरबारमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अब अर्थपूर्ण र गुणस्तरीय सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री कार्कीले हिजो चुलाचौकामा सिमित विभेदको स्वरूप आज कार्यस्थलमा सरेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । पछिल्ला दशकमा राज्यका विभिन्न संरचनादेखि स्थानीय तह र संघीय संसदसम्म महिलाको प्रतिनिधित्व बढेको र शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका क्षेत्रमा पहुँच विस्तार भएपनि पर्याप्त नभएको उहाँको भनाइ छ । विशेषगरी दलित, कर्णाली, मधेस तथा सीमान्तकृत समुदायका महिलाहरूको आवाज राज्यको नीति निर्माणमा अझ स्पष्ट रूपमा प्रतिविम्वित हुन आवश्यक रहेको बताउनु भयो ।
५. महिलाको नाममा नक्शा पास गर्दा दस्तुर छुट दिने काठमाडौं महानगरको तयारी, महिला उद्यमीलाई विशेष सुविधा दिइने
काठमाडौं महानगरपालिकाले महिलाहरुको आर्थिक सशक्तीकरणलाई बढावा दिन घरको नक्शा पास गर्दा दस्तुरमा छुट दिने तयारी गरेको छ । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आगामी नगरसभामा महिलाको नाममा नक्शा पास गर्दा दस्तुर छुट दिने प्रश्ताव पेश गरिने घोषणा गर्नुभएको हो । ११६ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित ‘पावर इन एक्सन, हर टाइम इज नाउ’ सशर्षकको कार्यक्रमलाई सम्बोधन गर्दै डंगोलले महिलाहरु आर्थिक रुपमा सबल नभएसम्म महिला सशक्तीकरणको कुरा नारामा मात्र सिमित हुने बताउनु भयो । महानगरपालिकाले ‘एक वडा, एक नमूना कार्यक्रम’ सञ्चालन गरिरहेको समेत जानकारी दिनुभयो । कार्यस्थलमा हुने हिंसा न्युनिकरण गर्न महानगरपालिका कठोर रुपमा प्रश्तुत हुने संकेत उहाँले गर्नुभयो । हाल रहेका ६ वटा कानूनका अतिरिक्त कार्यस्थलमा हुने हिंसालाई विशेष जोड दिएर आगामी दिनमा नयाँ कानून बनाइने र त्यसको कडा परिपालना गराइने डंगोलले बताउनु भयो ।
६. प्रत्यक्षतर्फको सम्पूर्ण नतिजा भोलिसम्ममा आइसक्ने, समानुपातिकतर्फ ४० लाख मत गणना सम्पन्न
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना कार्य अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगकाअनुसार प्रत्यक्षतर्फका अधिकांश निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ भने समानुपातिकतर्फको मतगणना पनि तिब्र गतिमा अघि बढिरहेको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रकाश भट्टराईले दिनुभएको पछिल्लो जानकारीअनुसार प्रत्यक्षतर्फ कुल १ सय ६५ सिटमध्ये १ सय ५५ सिटको अन्तिम नतिजा घोषणा भइसकेको छ । अब बाँकी रहेका १० वटा निर्वाचन क्षेत्रमा मात्र मतगणना जारी रहेको र त्यहाँको काम पनि द्रुत गतिमा भइरहेको छ । मतगणनामा कुनैपनि प्रकारको प्राविधिक वा अन्य अवरोध नआएको खण्डमा आज रातिसम्म वा ढिलोमा भोलिसम्ममा प्रत्यक्षतर्फको सम्पूर्ण नतिजा सार्वजनिक भइसक्ने आयोगको भनाइ छ ।
७. निर्वाचन शान्तिपूर्ण तर आचारसंहिता कार्यान्वयन र चुनावी खर्चमा व्यापक कमजोरी रहेको एन्फरेलको निष्कर्ष
एशियाली स्वतन्त्र निर्वाचन सञ्जाल (एन्फरेल) ले नेपालको प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण र व्यवस्थित भएको निष्कर्ष निकालेको छ । एन्फरेलले आईतवार पत्रकार सम्मेलन गर्दै निर्वाचन शान्तिपूर्ण र व्यवस्थित भएको निष्कर्ष निकालेको हो । राजनीतिक अस्थिरताका बाबजुद जनताको उत्साहजनक सहभागिता देखिए पनि संस्थाले निर्वाचन आचारसंहिताको फितलो कार्यान्वयन, चुनावी खर्चको अपारदर्शिता र समावेशी सहभागितामा रहेका संरचनागत बाधाहरूप्रति भने चिन्ता व्यक्त गरेको छ । गत भदौ २३ र २४ को राजनीतिक उथलपुथलपछि ध्रुवीकृत र सङ्क्रमणकालीन वातावरणमा यो निर्वाचन सम्पन्न भएको थियो । एन्फरेलले खटाएको अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षण नियोगको प्रारम्भिक प्रतिवेदनअनुसार छोटो समय र अपूर्ण पदाधिकारीका बाबजुद नेपालको निर्वाचन आयोगले गरेको प्राविधिक तयारी सन्तोषजनक रहेको छ । निर्वाचन आयोगप्रति सरोकारवालाहरूको विश्वास उच्च देखिए पनि, विशेषगरी दुर्गम क्षेत्रहरूमा मतदाता शिक्षा र निर्वाचनसम्बन्धी सूचनाको पहुँचमा भने कमी रहेको औंल्याइएको छ ।
८. जेन–जी प्रदर्शन जाँचबुझ प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो, कारबाहीको सिफारिस
जेन–जी प्रदर्शनका क्रममा भएका घटनाहरूको जाँचबुझ गर्न गठित आयोगले प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको छ । आयोगले विशेषगरी २३ र २४ गते भएका घटनाहरूको विस्तृत अध्ययन तथा तथ्य अन्वेषण गरी तयार पारेको प्रतिवेदन प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको हो । आयोगका सदस्य तथा पूर्व एआईजी विज्ञानराज शर्माकाअनुसार प्रतिवेदनमा घटनाका आधारमा आवश्यक कारबाही र राम्रो काम गर्नेलाई पुरस्कृत गर्न सिफारिस गरिएको छ । आयोगले तयार पारेको मुख्य प्रतिवेदन करिव ९ सय भन्दा बढी पृष्ठको रहेको छ । अनुसूची र अन्य प्रमाणसहित सम्पूर्ण दस्ताबेज करिव ८ देखि १० हजार पृष्ठको रहेको शर्माले जानकारी दिनुभयो । उहाँकाअनुसार प्रतिवेदनमा २३ र २४ गतेका घटनाहरूलाई मसिनो रूपले विश्लेषण गरिएको छ । जाँचबुझका क्रममा आयोगले २ सय भन्दा बढी व्यक्तिहरूसँग सोधपुछ गरेको थियो । यसका साथै विभिन्न व्यक्तिहरूको बयान कागज गराइएको, साक्षी, पीडित र विशेषज्ञहरूसँग राय सुझाव लिएर विस्तृत रूपमा काम गरिएको आयोगले जनाएको छ ।
९.जेन–जी आन्दोलन जाँचबुझ प्रतिवेदन कार्यान्वयन नगरे फेरि अर्को आन्दोलन हुनसक्छः गौरीबहादुर कार्की
जेन–जी प्रदर्शनका क्रममा भएका घटनाहरूको जाँचबुझ गर्न गठित आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । आयोगका संयोजक गौरीबहादुर कार्कीले प्रतिवेदन तत्काल सार्वजनिक गरी कार्यान्वयनमा नलगे युवाहरूको अर्को आन्दोलन उठ्नसक्ने भन्दै सरकारलाई चेतावनी दिनुभएको हो । मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री र मन्त्रीहरूकै अगाडि आफूले प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरेको संयोजक कार्कीले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘प्रतिवेदन कार्यान्वयनमा गएन र सार्वजनिक गरिएन भने जेन–जीका युवाहरूको फेरि अर्को आन्दोलन आउन सक्छ । त्यसकारण त्यो सामना गर्न तयार हुनुहोस् र यो सार्वजनिक गर्नुहोस् भनेर मैले भनिदिएको छु ।’
गोली हान्ने र हान्न लगाउने सबैलाई कारबाहीको सिफारिस
आयोगले प्रदर्शनका क्रममा २३ र २४ गते भएका घटनाको सुक्ष्म छानबिन गरेको जनाएको छ । २३ गते किशोरहरूको ज्यान जाने गरी भएको घटनामा संलग्न सबैलाई कानूनी कारबाहीको दायरामा ल्याउन सिफारिस गरिएको कार्कीले जानकारी दिनुभयो । दोषीहरूको नाम भने प्रतिवेदन सार्वजनिक भएपछि मात्रै खुल्ने उहाँले बताउनु भयो ।
‘हाम्रा किशोरहरूको मृत्यु हुन गयो, उनीहरूलाई शहीद बनाउनेहरूलाई कानूनी कारबाही गर भनेर हामीले सिफारिस गरेका छौँ ।’ कार्कीले भन्नुभयो, ‘त्यो सिफारिसमा गोली हान्ने, हान्न लगाउने र गोली नरोक्ने सबै परेका छन् । जो–जो जिम्मेवार छन्, सबैलाई कारबाही गर्न भनेका छौँ ।’
१०. जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वय प्रक्रिया अघि बढ्छः अर्थमन्त्री खनाल
अर्थ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रामेश्वर खनालले जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयनका लागि सरकारले प्रक्रिया अघि बढाउने बताउनुभएको छ । वर्तमान सरकारसँग कार्यान्वयनका लागि पर्याप्त समय नभए पनि जेनजीसँग भएको समझदारी बमोजिम मन्त्रिपरिषद्मा छलफल गरेर आवश्यकताअनुसार अघि बढाउने प्रधानमन्त्रीको तयारी रहेको जानकारी उहाँले दिनुभएको हो । सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिदै उहाँले भन्नुभयो ‘निर्वाचन आयोगले आफूले प्रतिवेदन समाप्त गर्न चाहे अनुसारको समय सरकारले दियो र आज भर्खरै उहाँहरूले प्रतिवेदन सम्माननीय प्रधानमन्त्रीलाई बुझाउनुभएको छ । सम्माननीय प्रधानमन्त्रीले त्यो बुझ्ने बेलामा ‘यो सरकारले नै कार्यान्वयन गर्नको निमित्त समय बाँकी छैन, तर यो प्रतिवेदन जेन्जीहरूसँग गरिएको एउटा समझदारी बमोजिम, युवाहरूले जुन आवाज उठाएका थिए, त्यो बमोजिम हामी यो प्रतिवेदनलाई मन्त्रिपरिषद्मा लिएर गएर छलफल गरेर सार्वजनिक गर्ने प्रयत्न गर्छौँ ।’
११. जाँचबुझ आयोगको टोली प्रतिवेदन बुझाउन प्रधानमन्त्री कार्यालयमा
जेन–जी आन्दोलन जाँचबुझ आयोगको टोली प्रतिवेदन बुझाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेको छ । आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्य विज्ञानराज शर्मा र कानूनविज्ञ विश्वेश्वर भण्डारीसहितको टोली प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाउन पुगेको हो । आयोगका कर्मचारीले प्रतिवेदन र कागजातहरु बोकेर कार्यालयभित्र छिरेका छन् । उनीहरुले प्रतिवेदन बुझाएपछि पत्रकार सम्मेलन गर्ने बताइएको छ । गत भदौ २३ र २४ गते जेन–जी पुस्ताले भ्रष्टाचारको विरोध र सुशासनको पक्षमा आन्दोलन गरेको थियो । जस क्रममा सरकारले उनीहरुमाथि दमन गरेको र भदौ २४ गते आन्दोलनकारीहरुले विध्वंश मच्चाएको बारेमा अनुसन्धान गर्न आयोग गठन गरिएको थियो ।
१२. काठमाडौं महानगरद्वारा १९ महिनामा ८० हजारभन्दा बढीलाई निःशुल्क कानूनी सेवा
काठमाडौं महानगरपालिकाले स्थानीय स्तरमा न्याय सम्पादन र कानूनी सहायतालाई प्रभावकारी बनाउँदै लगेको छ । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले पछिल्लो १९ महिनाको अवधिमा मात्रै ८० हजारभन्दा बढी नागरिकलाई निःशुल्क कानूनी सेवा प्रदान गरिएको जानकारी दिनुभएको हो । ११६ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा काठमाडौं महानगरपालिकाले आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख डंगोलले महानगरपालिकाले लैङ्गिकमैत्री र समतामा आधारित शहरी व्यवस्थापनका लागि ६ वटा महत्वपूर्ण स्थानीय कानूनहरु तर्जुमा गरी राजपत्रमा समेत प्रकाशन गरिसकेको बताउनु भयो । जसमा विवाद निरुपण कार्यविधि २०७५, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण कार्यविधि, २०७८, वडा महिला सञ्जाल कार्यविधि, २०७९, लैङ्गिक हिंसा निवारण कोष सञ्चालन कार्यविधि, २०७८, मेलमिलाप केन्द्र सञ्चालन निर्देशिका, २०७९ र कानूनी सहायता कार्यविधि, २०८० रहेका छन् । महानगरले विवाद निरुपणमा ‘संवेदनशील न्याय र समयमा न्याय’ को सिद्धान्तलाई आत्मसाथ गरेको उहाँले बताउनु भयो ।
१३. ‘जनादेश सधैँका लागि स्थायी हुँदैन, शक्तिको दम्भ देखाउने प्रवृत्ति लोकतन्त्र होइन’ः प्रधानमन्त्री कार्की
अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूलाई शक्तिको दम्भ नदेखाउन चेतावनी दिनुभएको छ । आईतवार सिंहदरबारमा आयोजित ११६ औँ अन्तर्राष्ट्रिय महिला दिवसको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री कार्कीले लोकतन्त्रमा नागरिकको आत्मसम्मान नै सर्वोपरि हुने बताउनुभएको हो । उहाँले एकपटक प्राप्त गरेको जनादेश सधैँका लागि स्थायी नहुने पनि स्पष्ट पार्नुभयो । देशको विशेष र जटिल अवस्थामा सम्पन्न भएको निर्वाचनले शान्तिपूर्ण, लोकतान्त्रिक र संवैधानिक निकास दिएको भन्दै उहाँले यसलाई नेपाली जनता, नेपाल राष्ट्र र संविधानको ठूलो विजय भएको बताउनु भयो । लोकतन्त्रमा कुनैपनि शक्तिको वैधता नागरिकको आत्मसम्मानको जगमा उभिएको हुने उहाँको भनाइ छ ।
१४. आर्थिक गणनाले लगानीकर्ताको विश्वास बढाउँछः अध्यक्ष पाण्डे
नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले आर्थिक गणना केवल तथ्याङ्क संकलन मात्र नभई देशको आर्थिक भविष्य निर्माण गर्ने आधारभुत राष्ट्रिय अभियान भएको बताउनुभएको छ । राष्ट्रिय आर्थिक गणना २०८२ को तयारीका क्रममा आयोजित जिल्ला आर्थिक गणना तथा सहायक आर्थिक गणना अधिकारी तालिम कार्यक्रममा उहाँले विश्व प्रतिष्पर्धात्मक अर्थतन्त्रको युगमा तथ्याङ्क नै सबैभन्दा ठूलो शक्ति रहेको बताउनुभएको हो । विश्वसनीय तथ्याङ्कले प्रमाणमा आधारित आर्थिक तथा औद्योगिक नीति निर्माणमा सहयोग गर्ने उहाँको भनाई छ । उहाँले आर्थिक गणनाले निजी क्षेत्रका सुधार कार्यक्रमलाई सही दिशामा लैजाने, लगानीकर्ताको विश्वास बढाउने तथा रोजगारी र उत्पादकत्व वृद्धिका रणनीति बनाउन आधार प्रदान गर्ने बताउनु भयो । उहाँले आर्थिक गणनाको लागी सहकार्य गर्न परिसंघले तथ्याङ्क कार्यलयसँग सम्झौता नै गरेको जानकारी दिनुभयो ।
१५. महिलाले चुनाव जित्दैनन भन्ने मान्यतालाई यो निर्वाचनले तोडिदियोः अध्यक्ष पराजुली
राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला कुमारी पराजुलीले हालै भएको निर्वाचनमा उल्लेख्य संख्यामा महिलाहरू प्रत्यक्ष निर्वाचित भएर आएकोले यसले समाज र राजनीतिमा सकारात्मक सन्देश दिएको बताउनुभएको छ ।
११६ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आईतवार सिंहदरबारमा आयोजित कार्यक्रममा उहाँले महिलाले चुनाव जित्दैनन् भन्ने मान्यतालाई यो निर्वाचनले तोडिदिएको बताउनुभएको हो । उहाँले प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सामान्य तथा सार्वजनिक जीवनमा धेरै पहिचान नबनाएका महिलाहरूले ‘हेभीवेट’ भनिएका पुरुष उम्मेदवारलाई पराजित गरेको बताउनु भयो । अध्यक्ष पराजुलीकाअनुसार राजनीतिक दलहरूले लामो समयदेखि महिलाले चुनाव लड्न सक्दैनन्, जित्न सक्दैनन् र उनीहरूमा नेतृत्व क्षमता छैन भन्ने धारणा राख्दै आएका थिए ।
१६. समाजमा महिलामाथी हुने विभेद र असमानता अझै अन्त्य हुन सकेको छैनः अध्यक्ष मगर
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले समाजमा महिलामाथी हुने विभेद र असमानता अझै पूर्णरूपमा अन्त्य हुन नसकेको बताउनुभएको छ । ११६ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आईतवार सिंहदरबारमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । महिला अधिकारसम्बन्धी धेरै कानुनहरु बनेपनि कार्यान्वयनको अवस्था पनि नाजुक रहेको उहाँले बताउनु भयो । उहाँले नयाँ बन्ने सरकारले महिला अधिकारका क्षेत्रमा कानूनी सुधारसँगै त्यसको कार्यान्वयन गर्ने उहाँको विश्वास छ । उहाँले आयोगले द्वन्द्वकालदेखि अहिलेसम्म महिला हिंसासम्बन्धी परेका उजुरीहरूको अध्ययन गरी सरकारलाई कारबाहीका लागि सिफारिस गरिएको भएपनि त्यसको कार्यन्वयन हुन नसकेको बताउनु भयो । आयोगमा परेका महिला हिंसासम्बन्धी उजुरीहरूमा अनुसन्धान गरी आवश्यक कारबाही तथा पीडित महिलालाई क्षतिपूर्ति र राहत उपलब्ध गराउन आयोगले सरकारलाई सिफारिस गरेको उहाँको भनाई छ । तर ती सिफारिसहरूको प्रभावकारी कार्यान्वयन हुन नसकेको उहाँको गुनासो छ । उहाँले आयोगले गरेका सिफारिसहरू कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
१७. इरानी नौसैनिक जहाजबाट २०४ जनालाई सुरक्षित रूपमा उद्धार गरी कोलम्बो बन्दरगाह लगियो
इरानी नौसैनिक जहाज ’आइआरआइएस बुशेरबाट कुल २०४ जनालाई कोलम्बो बन्दरगाहमा ल्याइएको श्रीलङ्काको नौसेनाले जनाएको छ । आइआरआइएस बुशेर एक इरानी नौसैनिक जहाज हो । जसले आइआरआइएस डेनासँगै भारतमा आयोजित एक सहयोगात्मक सामुन्द्रिक अभ्यास २०२६ इन्टरनेसनल फ्लिट रिभ्युमा भाग लिएको थियो । आइआरआइएस डेना भने गत बुधवार अमेरिकी पनडुब्बीको आक्रमणपछि टापुको दक्षिणी तटमा डुबेको थियो । उक्त जहाजले केही दिनअघि श्रीलङ्का प्रवेशका लागि अनुमति मागेको थियो र राष्ट्रपति अनुरा कुमारा दिसानायकेले सरकारले मानवीय आधारमा प्रवेश अनुमति दिने निर्णय गरेको बताए ।
१८. केन्यामा हात्ती संरक्षणमा जोड
केन्याको शेल्ड्रिक वाइल्डलाइफ ट्रस्ट टुहुरा जनावरहरूको पुनस्र्थापना गर्ने विश्वकै अग्रणी संस्था हो । जो हाल ऐतिहासिक बेबी बुम (बच्चाहरूको जन्मदरमा उल्लेख्य वृद्धि) को साक्षी बनिरहेको छ । यस वर्षको शकककुरुमा, ट्रस्टले एउटा उल्लेखनीय कोशेढुङ्गा मनायो । तेस्रो पुस्ताका छावाहरूको आगमन भएको छ । ट्रस्टका प्रमुख रक्षक (हेड किपर) एडविन लुसिचीले पछिल्लो दुई महिनाको बेबी बुमको सफलताको कथा महत्वपूर्ण रहेको बताउनु भयो । उद्धार गरिएका टुहुरा हात्तीहरू अन्ततः फर्केर जङ्गली बथानमा सामेल हुनसक्ने बताउनु भयो ।
१९. पूर्वी लेबनानमा इजरायली आक्रमण र झडपपछि मृत्यु हुनेको संख्या ४१ पुग्यो
पूर्वी लेबनानको नबी चित गाउँमा इजरायली हवाई आक्रमण र झडपमा परी मृत्यु हुनेको संख्या ४१ पुगेको छ । अन्य ४० जना घाइते भएका लेबनानका अधिकारीहरूले बताएका छन् । सार्वजनिक स्वास्थ्य मन्त्रालयको जनस्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले एक विज्ञप्तिमा बालबेक जिल्लाको नबी चित र वरपरका शहरहरूलाई लक्षित गरी इजरायलले गरेको श्रृंखलावद्ध आक्रमण भएको थियो । हिजबुल्लाहले आफ्ना सदस्यहरूले हेलिकप्टरहरू देखेको र पछि अगाडि बढिरहेको इजरायली पैदल सेनासँग गोली हानाहान गरेको बताएको छ । नोभेम्बर २७, २०२४ मा युद्धविराम लागू भएपछि हिजबुल्लाहले सोमवार बिहान लेबनानबाट इजरायलतर्फ रकेट प्रहार गरेपछि यो तनाव बढेको हो । जुन समूहको पहिलो यस्तो आक्रमण थियो । त्यसयता इजरायलले हिजबुल्लाह विरुद्ध आक्रामक सैन्य अभियान भन्दै भारी हवाई आक्रमणका साथै सीमामा स्थलगत घुसपैठ र लिटानी नदीको दक्षिण र बेरुतको दक्षिणी उपनगरका क्षेत्रहरूका लागि खाली गर्न चेतावनीहरू जारी गरेको छ ।
२०. आमाहरू कमजोर भएको अवस्थामा कुनै पनि राष्ट्र सफल हुन सक्दैनः वरिष्ठतम न्यायाधीश मल्ल
सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले नेपालमा महिला स्वास्थ्य र समानताको क्षेत्रमा चुनौती कायमै रहेको बताउनुभएको छ । आईतवार अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा काठमाडौं महानगरपालिकाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा अझै पनि ४१ प्रतिशत महिलाहरू रक्तअल्पताबाट ग्रसित रहेको प्रश्तुत गर्दै कुपोषण नेपाली समाजको मौन संकटका रूपमा रहेको उल्लेख गर्नुभयो । उहाँले आमाहरू कमजोर भएको अवस्थामा कुनैपनि राष्ट्र सफल हुन नसक्ने बताउनु भयो । उहाँले लामो समयको संघर्षपछि महिलाको पहिचान, नागरिकता र प्रजनन स्वास्थ्यका अधिकारका सम्बन्धमा केही उपलब्धी प्राप्त गर्न सकेपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउनु भयो । उहाँले आमाको नामबाट नागरिकता दिने व्यवस्था स्थापित भए पनि व्यवहारमा अझै धेरै अवरोध रहेको बताउनु भयो । प्रजनन स्वास्थ्यसम्बन्धी अधिकारलाई संविधानले मान्यता दिएको र सुरक्षित मातृत्वका विषयमा कानूनी व्यवस्था भएपनि कार्यान्वयनमा चुनौती रहेको उहाँको भनाइ छ ।
२१. महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला
पूर्वमुख्यसचिव लिलादेवी गड्तौलले राज्यको माथिल्लो तहसम्मै महिलामाथि हुने विभेद कायमै रहेको बताउनुभएको छ । आईतवार अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा काठमाडौं महानगरपालिकाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मुलुकको जुनसुकै क्षेत्रमा समेत महिलामाथि अन्याय र असमान व्यवहार हुने गरेको उहाँको भनाइ छ । उहाँले महिला आयोगले समेत महिला अधिकार उत्थानका सम्बन्धमा पुरुषसँगै छलफल गर्नुपर्ने बाध्यता दुःखद् भएको बताउनुभयो । उहाँले सार्वजनिक पद धारणा गरेका महिलाले गर्ने सकारात्मक कामको जस अरुले नै लिने र अपजस मात्र महिला पात्रको टाउको थुपार्ने प्रवृत्ति रहेको पनि बताउनु भयो ।
२२. अब बन्ने रास्वपाको दुई तिहाइ बहुमत नजिकको सरकारसँग सहकार्य गर्न निजी आतुर
नेपालको संसदीय इतिहासमै बिरलै पाइने जनादेश राष्ट्रिय स्वतन्त्र पार्टीले पाएसँगै निजी क्षेत्र समेत उत्साहित देखिएको छ । पछिल्ला वर्षहरुमा कुनैपनि दलले चुनावमा एकल बहुमत नपाउँदा गठबन्धनको सरकार बन्ने र अनेकाँै स्वार्थले ती सरकार छोटो समयमै भंग हुँदा राजनीतिक अस्थीरताको मारमा निजी क्षेत्र पर्दै आएको थियो । हालै सुशीला कार्की नेतृत्वको अन्तरीम सरकारले गराएको चुनावमा दुई वर्ष अघि खुलेको राष्ट्रिय स्वतन्त्र पार्टीले दुइ तिहाइ नजिकको बहुमत प्राप्त गर्ने निश्चित भएसँगै अब पाँच वर्षसम्म स्थिर सरकार बन्ने भएपछि निजी क्षेत्र निकै उत्साहित देखिएको छ । छिटो मतगणना सकेर अब पूर्ण कार्यकालको सरकार बनाउन लागिहाल्नुपर्ने र अब बन्ने दुई तिहाइ नजिकको रास्वपा सरकारसँग मिलर अघि बढ्न तयार रहेको निजी क्षेत्रका अगुवाहरुले बताउनुभएको छ ।
२३. छैटौं जितसँगै राष्ट्रिय लिगमा दबाब बनाउँदै मच्छिन्द्र
जोनाथन इडवार्डोको दुई गोल प्रेरणामा मच्छिन्द्र क्लवले राष्ट्रिय लिगमा छैटौं जित निकाल्दै अंकतालिकाको शीर्षतामा दबदबामा बनाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आईतवार भएको खेलमा मच्छिन्द्रले जावलाखेल युथ क्लबमाथि २–० को जित निकाल्दै अंकतालिकाको दोस्रो स्थानमा पुगेको छ । जावलाखेलको जितमा जोनाथनले दुई गोल गरे । आठौं खेलमा मच्छिन्द्रको छैटौं जित हो । मच्छिन्द्र १९ अंक बटुल्दै अंकतालिकाको दोस्रो स्थानका लागि अंक बराबरी गरेको छ । दुवै हाफमा समान एक गोल भएको हो । खेलको ३३औं मिनेटमा इडवार्डोको गोलबाट मच्छिन्द्रले अग्रता लियो । प्रदीप बुढाथोकीको कट ब्याकमा इडवार्डोले जावलाखेलका दुई डिफेन्डर बीचबाट वान टचमार्पmत बलललाई जाली चुमाएका हुन् । त्यसपछि पहिलो हाफमा थप अवसर सिर्जना भए । जोनाथनकै गोलले अफसाइड मान्यता पायो ।
२४. एन्फा निर्वाचन नजिकिँदै गर्दा खेलाडीले लगाए ताला
आगामी चैत १३ गते निर्वाचन घोषणा भएको अखिल नेपाल फुटबल संघ (एन्फा) मा नेपाल फुटबल खेलाडी संघले आइतबार ताला लगाएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा खेलाडीहरूले तीन बुँदे माग राख्दै ताला लगाएका हुन् । एन्फा निर्वाचन समितिले आगामी चैत १३ गते झापामा निर्वाचन हुने घोषणा गरिसकेको छ । उक्त निर्वाचनमा मातदान गर्ने ८७ जनामध्ये एक नेपाल फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामा पनि हुन् । लामाकै नेतृत्वमा लामो समयदेखि शीर्ष डिभिजन लिग आयोजना गर्न भन्दै आन्दोलनसमेत हुँदै आएको छ । आईतवार पनि लामाको नेतृत्वमा तीन दर्जन हाराहारीका खेलाडीको टोली तीन बुँदे माग राख्दै एन्फा मुख्यालयमा ताला लगाएका छन् । छलफलका लागि एन्फा नेतृत्व अनुपस्थित भएपछि खेलाडीले तालाबन्दीको विकल्प रोजेका छन् । —न्युज एजेन्सी नेपाल
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij