Logo

२०८२ फाल्गुण १९ गते मंगलवार

२०८२ फाल्गुण १९ गते मंगलवार

आज दिनभरको २९ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्

आज दिनभरको २९ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्


  • 323
    Shares

    आज दिनभरको २९ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्

    १. सामाजिक सञ्जालको दुरुपयोग रोक्न आयोगका दुई रणनीति

    निर्वाचनको मौन अवधि शुरु भएसँगै निर्वाचन आयोगले आचारसंहिता पालना र सामाजिक सञ्जालको प्रयोगमा कडा निगरानी बढाएको छ । जिल्ला आचारसंहिता अनुगमन समिति र अनुगमनकर्ताहरु मार्फत निरन्तर रिपोर्टिङ लिने काम भइरहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनु भयो । पहिलो रणनीति अन्तर्गत, कुनैपनि सूचना लाइक, शेयर वा कमेन्ट गर्नुअघि त्यो सत्य र आधिकारिक हो वा होइन भनी यकिन गर्न सार्वजनिक रुपमा अपिल गरिएको गरेको बताउनु भयो । यसका लागि आयोगले प्रवद्र्धनात्मक तरिकाले सम्झाउने र बुझाउने काम गरिरहेको छ । दोस्रो रणनीति अन्तर्गत कसैले सामाजिक सञ्जालमार्फत गालीगलौज गर्ने, अपमान गर्ने वा भ्रामक सूचना फैलाउने जस्ता कानुन विपरीतका कार्य गरेमा कडा कारबाही गरिने स्पष्ट पार्नुभयो । यसका लागि आयोगमा ‘सूचना सदाचार प्रवद्र्धन इकाई’ गठन गरिएको छ । जसले यस्ता गतिविधिहरुको सुक्ष्म निगरानी गरिरहेको छ ।

    २. सकियो मिथिला मध्यमिकी परिक्रमाः आस्था, इतिहास र आध्यात्मिक जागरणको महाकुम्भ

    मिथिलाको मुटु जनकपुरधाम यतिबेला भक्ति र श्रद्धाको केन्द्र बनेको छ । जानकीजीको जन्मस्थल सीतामढी नजिकैको पुण्डरी ऋषिको आश्रमदेखि शुरु हुने माध्यमिकी यात्रा केवल शारीरिक पदयात्रा मात्र नभई एक गहिरो आध्यात्मिक अनुभव पनि हो । श्रद्धालु भक्तजनहरूकाअनुसार यो परिक्रमाले जीवनमा सफलता र मानसिक शान्ति प्रदान गर्दछ । परिक्रमाको इतिहास केलाउँदा अयोध्या र वृन्दावनको परिक्रमाको परिकल्पनालाई पछ्याउँदै यसको शुरुवात गरिएको पाइन्छ । विशेषगरी २०१६ सालमा अयोध्याबाट आएका मौनी बाबाले यसलाई व्यवस्थित बनाएका थिए । अहिले यो एक ऐतिहासिक र सांस्कृतिक धरोहरको रूपमा स्थापित भइसकेको छ ।

    ३. यात्रा प्रतिवन्धका कारण अबुधाबीमा रोकिएका पर्यटकहरूको सम्पूर्ण होटल खर्च सरकारले व्यहोर्ने

    यात्रा प्रतिवन्धका कारण अबुधाबीमा अलपत्र परेका पर्यटक तथा आगन्तुकहरूको लागि अबुधाबीको संस्कृति तथा पर्यटन विभागले रोकिएर बस्ने सबैको खर्च व्यहोर्ने भएको छ । विभागले ५ दिनअघि नै निर्णय गरिएको एक परिपत्र जारी गर्दै, आबुधावी क्षेत्रमा काबु बाहिरको परिस्थिति परिस्थितिले गर्दा आफ्नो देश फर्कन नसकेका र भिसा वा होटलको चेक–आउट मिति सकिएका पाहुनाहरूको बसाइ अवधि लम्ब्याउन त्यहाँका सबै होटलहरूलाई निर्देशन दिएको छ । विभागले होटलका महाप्रवन्धकहरूलाई पठाएको पत्रमा स्पष्ट पारेको छ कि चेक–आउट मिति पुगे पनि काबु बाहिरको परिस्थितिका कारण यात्रा गर्न नसक्ने पाहुनाहरूलाई, उनीहरू प्रस्थान गर्न सक्षम नभएसम्म होटलमै बस्ने व्यवस्था मिलाउनुपर्नेछ । 

    ४. मुग्लिङ–पोखरा सडकः पूर्वी खण्डको काम ९५ प्रतिशत सम्पन्न

    पृथ्वी राजमार्ग अन्तर्गत आँबुखैरेनी–जामुने सडकको स्तरोन्नतिको काम ९५ प्रतिशत सकिएको छ । एशियाली विकास बैंकको ऋण सहयोगमा निर्माण भइरहेको यो सडक खण्डको लागत ६ अर्ब ३१ करोड रहेको छ । पूवी खण्ड अन्तर्गत आबुखैरेनीदेखि जामुनेसम्मको क्षेत्रफल पर्छ । ४१ किलोमिटर लम्बाइ रहेको सडक खण्डको बजार क्षेत्रमा ६ लेन विस्तार गरिएको छ । मुग्लिङ– पोखरा सडकको पूर्वी खण्डको काम चिनियाँ निर्माण कम्पनी चाइना कम्युनिकेशन कम्पनी लिमिटेडले गरिरहेको छ । 

    ५. मतदान गर्न जाँदा के–के कागजात लैजाने ? यस्तो छ मतदान गर्ने सही तरिका

    मतदान गर्न जाँदा मतदाताले आफ्नो मतदाता परिचयपत्र अनिवार्य रुपमा लैजानुपर्ने निर्वाचन आयोगले बताएको छ । मंगलवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले  मतदाताहरुको सहजताका लागि मतदान प्रक्रिया र आवश्यक कागजातहरुको बारेमा स्पष्ट जानकारी गराउनुभएको हो । मतदाता शिक्षा कार्यक्रम अन्तर्गत डिजिटल माध्यम र स्वयं सेवकहरुमार्फत घर–टोलमै पुगेर शिक्षा प्रदान गरिएको प्रवक्ता चट्टराईले बताउनु भयो । मतदान गर्न जाँदा मतदाताले आफ्नो मतदाता परिचयपत्र अनिवार्य रुपमा लैजानुपर्नेछ । यदि कुनै कारणवश मतदाता परिचयपत्र हराएको, नासिएको वा नष्ट भएको खण्डमा मतदाताले आफ्नो नेपाली नागरिकताको प्रमाणपत्र, राहदानी (पासपोर्ट), राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) वा जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) को सक्कल प्रति देखाएर पनि मतदान गर्न पाउने व्यवस्था आयोगले गरेको छ । मतदान केन्द्रमा पुगेपछि मतदाता नामावलीमा नाम रुजु गराइनेछ । त्यसपछि मतदातालाई पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फको मतपत्र दिइनेछ । गोप्य मतदान कक्षमा गएर आफूलाई मन परेको उम्मेदवारको चुनाव चिन्हमा छाप लगाई प्रत्यक्षतर्फको मतपेटिकामा खसाल्नुपर्नेछ ।

    ६. पुल्चोकस्थित दाउरा थकालीमा आगलागी

    पुल्चोकस्थित दाउरा थकालीमा आगलागी भएको छ । हाल भने आगलागी नियन्त्रणमा आइसकेको बताइएको छ । दमकल र सुरक्षाकर्मीहरूको सहयोगमा आगो नियन्त्रणमा आएको हो । आठौं तलामा रहेको दाउरा थकाली भने आगलागीबाट पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले बताएको छ । 

    ७. निर्वाचनमा तीन तहको सुरक्षा व्यवस्था, निर्धक्क भएर मतदान गर्न आयोगको आग्रह

    निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि भरपर्दो र सुदृढ सुरक्षा प्रवन्ध मिलाइएको स्पष्ट पारेको छ । विगतका अभ्यासहरुलाई समेत मध्यनजर गर्दै प्रत्येक मतदान केन्द्रमा तीन तहको सुरक्षा रणनीति अपनाइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनु भयो । सामाजिक सञ्जाल र कतिपय सञ्चारमाध्यममा सुरक्षा चुनौतीका विषयमा आएका अतिरञ्जित र भ्रामक सूचनाहरुप्रति ध्यानाकर्षण गर्दै आयोगले त्यस्ता हल्लाहरुमा सत्यता नरहेको प्रष्ट पारेको छ । सबै सुरक्षा निकायहरुलाई समन्वयात्मक रुपमा परिचालन गरिएको र सुरक्षा मन्त्रालयहरुमार्फत भरपर्दो व्यवस्था मिलाइएकोले मतदाताहरु त्रसित हुनुपर्ने कुनै अवस्था नरहेको प्रवक्ता भट्टराईले बताउनु भयो । आयोगले मतदाताहरुलाई कुनै पनि डर, त्रास, दबाब वा प्रभावमा नपरी निर्धक्क भएर आफूलाई तोकिएको मतदान केन्द्रमा जान र आफूलाई मन परेको उम्मेदवार तथा राजनीतिक दललाई मतदान गर्न अपिल गरेको छ । 

    ८. निर्वाचन पर्यवेक्षणका लागि विदेशी पाहुना र कुटनीतिज्ञ नेपालमा, ४२ संस्थालाई अनुमति

    आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न विभिन्न देशका प्रतिनिधि र कुटनीतिज्ञहरु नेपाल आइपुगेका छन् । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईकाअनुसार १० वटा देशका निर्वाचन आयोगका प्रमुख तथा प्रतिनिधिहरुलाई पर्यवेक्षणका लागि आमन्त्रण गरिएको छ । यसका साथै, दक्षिण एशियाली निर्वाचन व्यवस्थापन निकायहरुको मञ्च (फेम्बोसा) का सदस्य राष्ट्रहरुका प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरु पनि पर्यवेक्षणमा सहभागी हुँदैछन् । नेपालले विगतमा अन्य देशको निर्वाचनमा गरेको अवलोकनको आधारमा (रेसिप्रोसिटी) उनीहरुलाई आमन्त्रण गरिएको हो । नेपालमा रहेका विभिन्न कुटनैतिक नियोगका प्रतिनिधिहरु र नेपाललाई हेर्नेगरी छिमेकी मुलुकमा रहेका राजदुतहरुलाई पनि पर्यवेक्षणका लागि बोलाइएको छ । उहाँहरु नेपाल आइसकेको र पर्यवेक्षणको तयारी गरिरहेको आयोगले जनाएको छ । 

    ९.निर्वाचन ऐतिहासिक र भयरहित हुने राष्ट्रिय पर्यवेक्षकहरूको निष्कर्ष

    राष्ट्रिय पर्यवेक्षकहरूले प्रतिनिधि सभा सदस्य निर्वाचन विगतको तुलनामा शान्तिपूर्ण, भयरहित र मर्यादित हुने निष्कर्ष निकालेका छन् । निर्वाचन प्रचारप्रसारका क्रममा कुनैपनि ठूला झडप वा आचारसंहिताको गम्भीर उल्लङ्घन नभएको र उम्मेदवारहरू स्वयं अनुशासित देखिएकाले मतदान स्वच्छ र ऐतिहासिक हुने उनीहरूको विश्वास छ । नेपाल कानून समाज र आम निर्वाचन पर्यवेक्षण समिति (जिओक)ले देशभरका निर्वाचन क्षेत्रहरुमा गरेको अनुगमन र अवलोकनपछि बोल्दै पर्यवेक्षकहरुले मतदाताहरू सचेत रहेको र निर्वाचन आयोगको तयारी सन्तोषजनक रहेको समेत उल्लेख गरेका छन् । निर्वाचन पूर्वतयारी र प्रचारप्रसारको समग्र अवधिलाई सुक्ष्म रूपमा नियाल्दा राजनीतिक दल र उम्मेदवारहरूबीच कुनैपनि किसिमको भौतिक झडप वा गम्भीर विवाद नदेखिनुलाई पर्यवेक्षकहरूले सकारात्मक उपलब्धिका रूपमा लिएका छन् ।

    १०. निर्वाचन आयोगको सम्पूर्ण तयारी पूरा, २३ हजार ११२ मतदान केन्द्रमा पुगे कर्मचारी

    निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि गर्नुपर्ने सम्पूर्ण तयारीहरु पूरा गरेको जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईकाअनुसार केन्द्रिय तहमा हुनुपर्ने सम्पूर्ण तयारीहरु सम्पन्न भइसकेका छन् । आयोगको टोली माघ २ गतेदेखि नै सबै निर्वाचन क्षेत्रमा पुगेर मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको कार्यालय स्थापना गरिसकेको बताउनु भयो । पछिल्लो जानकारीअनुसार निर्वाचन आयोगका कर्मचारी तथा सुरक्षाकर्मीहरु देशभरका २३ हजार १ सय १२ वटै मतदान केन्द्रमा पुगिसकेका छन् । मतदान केन्द्रमा पुगेका मतदान अधिकृतहरुले सूचना टाँस गर्नेदेखि लिएर आवश्यक सबै प्रशासनिक तयारीहरु गरिरहेका छन् । स्थानीय स्तरमा राजनीतिक दलहरु र उम्मेदवारहरुसँग सर्वदलीय बैठक बसेर मतदानको विषयमा साझा बुझाइ तयार गर्ने काम भइरहेको बताउनु भयो । 

    ११. काठमाडौंबाट मतदानका लागि गाउँ फर्किंदै नागरिक

    प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न र आफ्नो गाउँ–ठाउँको प्रतिनिधि छनोट गर्न काठमाडौं उपत्यकाबाट बाहिरिने सर्वसाधारणको संख्यामा वृद्धि भएको छ । निर्वाचनको मिति नजिकिँदै गर्दा संघीय राजधानीका प्रमुख नाका र बसपार्कहरूमा गाउँ फर्किनेहरूको लर्को लागेको छ । जसले मुलुकमा चुनावी माहोल उत्कर्षमा पुगेको संकेत गर्दछ । नयाँ बसपार्क (गोंगबु) र कलंकी क्षेत्रमा बिहानैदेखि यात्रुहरूको बाक्लो उपस्थिति देखिएको छ । विशेषगरी सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र मधेस प्रदेश जाने यात्रुहरूको संख्या उल्लेख्य रहेको छ । निर्वाचनलाई लोकतन्त्रको महापर्वको रूपमा लिँदै मतदाताहरूले आफ्नो व्यस्ततालाई थाँती राखेर गाउँ जाने बाटो रोजेका छन् । 

    १२. ‘आफ्नो मत आफ्नै गाउँमा’ (फोटो फिचर)

    ‘आफ्नो गाउँ, आफ्नै ठाउँ, आफैँले चुनेको प्रतिनिधि’– यही भावना बोकेर अहिले हजारौँको सङ्ख्यामा मानिसहरू काठमाडौं उपत्यका छाडेर आफ्नो थाँतथलोतिर लागिरहेका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिएसँगै काठमाडौंका नाकाहरूमा गाउँ फर्किने मतदाताहरूको उत्साह देखिएको छ । शहरका व्यस्त गल्लीहरू सुनसान बन्दै जाँदा गाउँघरमा भने निर्वाचनको रौनकले छुट्टै उल्लास थपेको छ । निर्वाचन केवल प्रक्रिया मात्र होइन, यो त जनताको शक्तिको प्रदर्शन पनि हो । कोटेश्वर, कलङ्की र जडिबुटी जस्ता प्रमुख नाकाहरूमा भेटिएका यात्रुहरूको आँखामा एउटा फरक चमक देखिन्छ । आफ्नो भविष्य आफैँले कोर्ने अवसरलाई सदुपयोग गर्न उनीहरू कतिपय कष्टकर यात्रालाई पनि सहजै स्वीकारिरहेका छन् । तस्बिरहरूमा देखिएझैँ सार्वजनिक सवारी साधनका छतहरू झोला, पोका–पुन्तरा र गुन्टाले भरिएका छन् । 

    १३. अमेरिका–इजरायलको आक्रमणको विरोधमा यमनको सानामा विशाल ¥याली

    क्षेत्रीय तनाव बढेसँगै प्रदर्शनकारीहरूले यमनको राजधानी सानाका सडकहरूलाई प्रतिरोधको मञ्चमा परिणत गरेका छन् । हुथी समूहका नेताको आह्वानमा गरिएको यो प्रदर्शन इरानमाथि भएका हालैका आक्रमणहरूको प्रत्यक्ष प्रतिक्रिया हो । जसले आगामी कुनैपनि घटनाक्रमका लागि पूर्ण तयारी देखाउँछ । आज यमनी राजधानीबाट आएको सन्देश अटल ऐक्वबद्धताको हो । आईतवार यमनको राजधानी सानामा लाखौं मानिसहरूले इरानप्रति ऐक्यवद्धता जनाउन र देशमाथि भएको संयुक्त अमेरिका–इजरायल आक्रमणको निन्दा गर्न ¥याली निकालेका छन् । हुथी नेता अब्दुल मलिक अल–हुथीद्वारा शुरु गरिएको यो प्रदर्शनको उद्देश्य गतिशील क्षेत्रीय अवस्थाका लागि समूहको तयारी देखाउनु थियो । प्रदर्शनकारीहरूले इरानी झण्डा फहराएका थिए र आयतोल्लाह अली खामेनीका तस्बिरहरू बोकेका थिए । उनीहरूले हवाई आक्रमणको निन्दा गर्दै नारा लगाएका थिए, जसलाई हुथी नेताले ‘अमेरिका र इजरायलको स्पष्ट आक्रामकता’ भनेका छन् । 

    १४. अमेरिकी सेन्ट्रल कमाण्डः इरान कारबाहीमा ६ जनाको मृत्यु

    अमेरिकी सेन्ट्रल कमाण्डले सोमबार इरानविरुद्धको आक्रमणमा थप दुई अमेरिकी सैनिकको मृत्यु भएको घोषणा गरेको छ । जससँगै मृतकको कुल संख्या ६ पुगेको छ । मार्च २, दिउँसो ४ बजे (ईटी) सम्म, ६ अमेरिकी सैनिकहरू कारबाहीका क्रममा मारिएका छन् । अमेरिकी सेनाले हालै यस क्षेत्रमा इरानको प्रारम्भिक आक्रमणको क्रममा प्रहार गरिएको एक सुविधा (फ्यासिलिटी) बाट पहिले बेपत्ता भएका दुई सैनिकहरूको अवशेष फेला पारेको बताएको छ । सोही दिनको अघिल्लो पोस्टमा, कमाण्डले अमेरिकी सेनाले ओमानको खाडीमा सञ्चालित ११ इरानी नौसेनाका जहाजहरू डुबाइदिएको बताएको छ । 

    १५. इरानबाट १८ चिनियाँ नागरिकको उद्धार

    इरान र संयुक्त राज्य अमेरिका तथा इजरायलबीचको द्वन्द्व जारी रहेका बेला १८ चिनियाँ नागरिकलाई इरानबाट अजरबैजान उद्धार गरिएको छ । इरानसँगको सिमानामा रहेको दक्षिणी अजरबैजानको अस्टारा चेकपोइन्टमा उद्धार गरिएका व्यक्तिहरू देश प्रवेश गरेको बताइएको छ । अजरबैजानस्थित चिनियाँ दुतावासले व्यवस्था गरेको एउटा बसले पहिलो समूहलाई लिएर चेकपोइन्ट छोडेको थियो । दुतावासकाअनुसार उद्धार गरिएकाहरूलाई अजरबैजानको राजधानी बाकुमा सारिनेछ । अजरबैजानस्थित चिनियाँ दुतावासले फेब्रुअरी २८ मा कन्सुलर अलर्ट जारी गर्दै अजरबैजान प्रवेश गर्ने वा देश हुँदै स्वदेश फर्कने चिनियाँ नागरिकहरूलाई आवश्यक सहयोग उपलब्ध गराउने बताएको थियो ।

    १६. इरानमा युद्धविरामका लागि टर्कीले कुटनीतिक पहल गर्ने

    टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले सोमवार इरानमा युद्धविराम नभएसम्म टर्कीले सबै तहमा कुटनीतिक प्रयासलाई तिब्र पार्ने बताउनुभएको छ । उहाँले लामो समयसम्म द्वन्द्व जारी रहेमा यसले क्षेत्रीय र विश्वव्यापी रूपमा अशान्ति निम्त्याउने चेतावनी समेत दिनुभएको छ । अंकारामा आफ्नो सत्तारुढ ‘जस्टिस एन्ड डेभलपमेन्ट पार्टी’ (एके पार्टी) का सदस्यहरूसँगको इफ्तार भोजका क्रममा एर्दोगानले इरानमा युद्धविराम नभएसम्म र शान्ति स्थापना नभएसम्म टर्की सबै तहमा सम्पर्कलाई तिब्र पार्न दृढ रहेको बताउनु भयो । एर्दोगानले इरान द्वन्द्वको निरन्तरताले यस क्षेत्रको सीमानाभन्दा बाहिर पनि गम्भीर जोखिम निम्त्याउने सचेत गराउँदै यस्तो बोझ कसैले पनि थाम्न नसक्ने कुरामा जोड दिनुभयो । इरानी जनताप्रति ऐक्यवद्धता प्रकट गर्दै टर्कीका नेताले छिमेकी इरानमाथि भएका आक्रमणलाई ‘अन्तर्राष्ट्रिय कानुनको स्पष्ट उल्लंघन’ भन्दै निन्दा गर्नुभयो  ।

    १७. कुवेतस्थित अमेरिकी दुतावास नजिकै हवाई आक्रमणको साइरन

    कुवेतभर हवाई आक्रमणको साइरन बजेको छ । कुवेतस्थित अमेरिकी दुतावास नजिकैको क्षेत्रबाट धुवाँ उडिरहेको देखिएको बताइएको छ । स्थानीय सञ्चारमाध्यमकाअनुसार धुवाँको कारणबारे तत्काल कुनै विवरण प्राप्त भएको छैन र अधिकारीहरूले अहिलेसम्म आधिकारिक वक्तव्य जारी गरेका छैनन् । यसैबीच दुतावासले सामाजिक सञ्जालमा पोस्ट गरेको एक विज्ञप्तिमा कुवेतमाथि क्षेप्यास्त्र र मानवरहित हवाई सवारी साधन (ड्रोन) आक्रमणको निरन्तर खतरा रहेको चेतावनी दिँदै अमेरिकी नागरिकहरूलाई दुतावास नजिक नजान आग्रह गरेको छ । दुतावासले कुवेतमा रहेका अमेरिकी नागरिकहरूलाई सुरक्षित स्थानमै रहन, आक्रमण भएको खण्डमा सुरक्षा योजनाहरूको समीक्षा गर्न र सम्भावित भविष्यका आक्रमणहरूका लागि सतर्क रहन पनि आग्रह गरेको छ । दुतावासका कर्मचारीहरू पनि सुरक्षित स्थानमै बसिरहेको विज्ञप्तिमा थपिएको छ ।

    १८. टर्कीद्वारा इरानसँगको सीमानाका अस्थायी रूपमा बन्द

    टर्कीले इरानसँगको आफ्नो सीमानामा यात्रु आवागमनलाई अस्थायी रूपमा स्थगित गरेको छ । यद्यपि व्यापारिक कारोबार र आधिकारिक प्रवेश सहज रूपमा जारी रहने सुनिश्चित गरिएको अधिकारीहरूले जनाएका छन् । टर्कीको व्यापार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै तीन प्रमुख स्थलमार्गका सीमा नाकाहरूमा यात्रु आवागमनलाई सावधानीका उपायका रूपमा आपसी सहमतिमा स्थगित गरिएको जनाएको छ । मन्त्रालयले सीमा नाकाहरूमा कुनै असाधारण अवस्था नरहेको र दुई देशहरूबीच व्यापारिक मालसामानको आवागमन नियन्त्रित र व्यवस्थित ढङ्गले जारी रहेकोमा जोड दिएको छ । मन्त्रालयले इरानले आफ्ना नागरिकहरूलाई टर्की हुँदै आफ्नै भूमिमा प्रवेश गर्न अनुमति दिइरहेको र टर्कीले पनि आफ्ना नागरिकहरूका साथै इरानबाट आउने तेस्रो मुलुकका नागरिकहरूलाई प्रवेशमा रोक नलगाएको स्पष्ट पारेको छ । आफ्नो तयारीको अवस्थामा रहेको जनाउँदै मन्त्रालयले सबै सम्बन्धित एकाइहरूलाई उच्च शतर्कतामा राखिएको र थप कर्मचारी तथा नियन्त्रण पूर्वाधारलाई सुदृढ पारिएको बताएको छ ।

    १९. ट्रम्पद्वारा अमेरिकी सेनाले इरानका ९ युद्धपोत डुबाएको दाबी

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी सेनाले इरानका ९ वटा युद्धपोतहरू डुबाएको र इरानी नौसेनाको मुख्यालयलाई ठूलो मात्रामा ध्वस्त पारेको बताउनुभएको छ । यसअघि आईतवार ट्रम्पले फक्स न्युजलाई बताएअनुसार इरानमाथि गरिएको अमेरिकी–इजरायली आक्रमणमा ४८ वरिष्ठ इरानी अधिकारीहरू मारिएका छन् । अमेरिकी सेन्ट्रल कमान्डले जानकारी दिएअनुसार ‘अपरेसन एपिक फ्युरी’ नाम दिइएको सैन्य अभियानको सुरुवातमै अमेरिकी सेनाले इरानी ‘जामरान–क्लास कोर्पेट’ (एक प्रकारको युद्धपोत) माथि आक्रमण गरेको थियो । शनिवारबाट शुरु भएको यस अभियानका क्रममा अमेरिकी सेनाले हालसम्म इरानको ‘इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स’ को मुख्यालयसहित १ हजार भन्दा बढी इरानी लक्ष्यहरूमा आक्रमण गरिसकेको कमाण्डले जनाएको छ ।

    २०. बुल्गेरियाको राजधानी सोफियामा ‘सोफिया लाइट्स’ महोत्सव

    बुल्गेरियाको राजधानी सोफियास्थित जी. एस. राकोभ्स्की सैन्य एकेडेमी पार्कमा ‘सोफिया लाइट्स’ महोत्सव शुरु भएको छ । यो महोत्सवको पाँचौं संस्करण हो । सोफिया नगरपालिकाको आधिकारिक सांस्कृतिक क्यालेण्डरमा समेत सूचीकृत छ । यो प्रकाश उत्सव आगामी मार्च २२ सम्म सञ्चालन हुनेछ ।

    २१. सिरियाद्वारा हवाई क्षेत्र बन्दको अवधि थप, दमास्कस नजिकै मिसाइलको टुक्रा खस्दा चार जना घाइते

    इरानमाथि अमेरिका र इजरायलको संयुक्त आक्रमणपछि क्षेत्रीय तनाव चरम बिन्दुमा पुगेका बेला सिरियाले सोमवार मध्यरातदेखि लागू हुनेगरी थप २४ घण्टाका लागि आफ्नो सम्पूर्ण हवाई क्षेत्र पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ । यस निर्णयसँगै सिरियाका सबै विमानस्थलहरूमा उडान र अवतरण सेवा स्थगित रहनेछन् । सिरियाली नागरिक उड्डयन प्राधिकरणले क्षेत्रीय सुरक्षाको बदलिँदो अवस्था र हवाई उड्डयनको सुरक्षा सुनिश्चित गर्न यो कदम चालिएको बताएको छ । प्राधिकरणले स्थितिको सुक्ष्म अनुगमन भइरहेको र थप निर्णयहरू आधिकारिक सञ्चार माध्यमबाट सार्वजनिक गरिने जानकारी दिएको छ । यसैबीच आईतवार इजरायल र इरानले सिरियाली आकाशमा एक–अर्कामाथि क्षेप्यास्त्र प्रहार गर्दा राजधानी दमास्कस नजिकै क्षेप्यास्त्रका अवशेषहरू खसेर चार जना घाइते भएका छन्। 

    २२. हिजबुल्लाहद्वारा इरानमाथिको आक्रमणको निन्दा

    अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणको असर फैलन सक्ने डरका बीच लेबनानका राष्ट्रपति जोसेफ आउनले युद्ध वा शान्तिको निर्णय गर्ने अधिकार पूर्ण रूपमा सरकारमा निहित रहेको कुरामा जोड दिनुभएको छ । लेबनानको राष्ट्रिय समाचार एजेन्सीकाअनुसार उच्च रक्षा परिषद्को बैठकमा आउनले युद्ध र शान्तिको निर्णय गर्ने विशेष अधिकार लेबनानका संवैधानिक संस्थाहरूमा रहेको बताउनु भयो । परिषद्ले यस संवेदनशील अवधिमा सबै पक्षलाई राष्ट्रिय जिम्मेवारी निर्वाह गर्न आग्रह गरेको छ । जनतालाई पर्याप्त अत्यावश्यक आपूर्तिहरूको आश्वासन दिएको छ । 

    २३. ६ किसिमका परिचयपत्रमार्फत मतदान गर्न पाइन्छ

    अशक्त, गर्भवती र सुत्केरी महिलाले मतदानको लागि लाइन बस्नुपर्दैनः आयोग 
    बिहीवार देशभर प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदैछ । निर्वाचन आयोगले तोकेका मतदान केन्द्रहरूमा देशभर बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको कार्य हुनेछ । मतदान गर्न जाँदा मतदाताहरुले परिचयपत्र खुल्ने कागजात बोकेर जानुपर्नेछ । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भएमा विभिन्न ६ किसिमका परिचयपत्रमार्फत मतदान गर्न दिने व्यवस्था गरेको आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिनुभयो । उहाँकाअनुसार निर्वाचन आयोगले उपलब्ध गराएको मतदाता परिचयपत्र भए सोही कागजात प्रयोग गर्नुपर्नेछ । उक्त परिचयपत्र नभएको अवस्थामा नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) मध्ये कुनै एक कागजात साथमा लिएर मतदान गर्न सकिने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले मतदातालाई आफ्नो परिचय खुल्ने काजजात लिएर निर्धारित समयमा आफ्नै मतदान केन्द्रमा उपस्थित भई मतदान गर्न आग्रह गर्नुभयो । 

    २४. पहाडी क्षेत्रमा आंशिक बादल, साताभरी पर्नेछैन पानी

    देशभर आगामी शनिवारसम्म मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मंगलवार मुलुकका केही पहाडी भू–भागमा आंशिक बदली देखिए पनि वर्षाको कुनै सम्भावना नरहेको विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले बताउनु भयो । उहाँकाअनुसार कोशी प्रदेशका ताप्लेजुङ र संखुवासभासहित गण्डकी प्रदेशको कास्की जिल्लाका एक–दुई स्थानमा भने छिटपुट वर्षाको सम्भावना रहेको छ । तर यी क्षेत्रका सबै भूभागमा वर्षा हुने अवस्था नरहेको उहाँले बताउनु भयो । उहाँले मंगलवारको तुलनामा बुधवारको मौसम केही खुल्ने अनुमान गरिएको समेत बताउनु भयो । बुधवार पनि मुलुकका केही पहाडी क्षेत्रमा हल्का बादल लागेपनि उल्लेखनीय मौसमी जोखिम नदेखिएको पौडेलको भनाइ छ । उहाँले गर्मीयाम शुरु हुँदै जाँदा दिउँसो तापक्रम बढ्ने र बेलुकातिर पहाडी क्षेत्रमा बादल विकसित भई छिटपुट वर्षा हुने मौसमी प्रवृत्ति देखिनसक्ने भएपनि यस साताभरि वर्षा तथा हिमपातको कुनै सम्भावना नरहेको बताउनु भयो । 

    २५. मध्यपूर्वमा तनावः नेपाली नागरिकको सुरक्षाका लागि ‘इमरजेन्सी रेस्पोन्स टिम’ गठन

    मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै सरकारले ‘इमरजेन्सी रेस्पोन्स टिम’ गठन गरेको छ । मध्यपूर्वमा रहेका नेपाली नागरिकको सुरक्षा, समन्वय र आवश्यक परे उद्धार व्यवस्थापनका लागि परराष्ट्र सचिव अमृतबहादुर राईको संयोजकत्वमा ‘इमरजेन्सी रेस्पोन्स टिम’ मध्य एशिया, पश्चिम एशिया र अफ्रिका महाशाखा प्रमुख एवं सहसचिव रामकाजी खड्काले जानकारी दिनुभयो । मंगलवार बसेको मन्त्रीस्तरीय बैठकबाट उक्त निर्णय गरिएको ख्डकाले जानकारी दिनुभयो । उहाँकाअनुसार उक्त टिमले मध्यपूर्वमा भइरहेका पछिल्ला घटनाक्रमको निरन्तर अनुगमन गर्ने, अन्तरनिकाय समन्वय सुदृढ गर्ने तथा आवश्यक परे उद्धारका लागि उपयुक्त कदम चाल्न सरकारलाई सुझाव दिनेछ । उहाँले मित्र राष्ट्रहरू तथा अन्तर्राष्ट्रिय संस्थासँग आवश्यक कुटनीतिक समन्वयसमेत तीव्र पारिएको जानकारी दिनुभयो ।

    २६. युएईमा इरानको आक्रमणमा परी मृत्यु भएका श्रेष्ठको शव नेपाल ल्याउने प्रक्रिया शुरु

    इरानले युएईलाई लक्षित गरी गरेको हवाई आक्रमणमा परी मृत्यु भएका गोरखाका दिवस श्रेष्ठको शव नेपाल ल्याउने प्रक्रिया शुरु गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मंगलवार मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले सो जानकारी गराउनुभएको हो । संयुक्त अरब इमिरेट्सको अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा मिडिल इस्ट कम्पनीमा सेक्युरिटी गार्डको रुपमा कार्यरत २९ वर्षीय श्रेष्ठको निधन भएको थियो । क्षेत्रीले अहिले खाडी मुलुकहरुमा रहेका सबै नेपाली नागरिकहरु तथा ट्रान्जिटमा फस्नुभएका नागरिक समेत सुरक्षित रहेको रहेको त्यहाँस्थित नियोगहरुले जानकारी गराएको बताउनु भयो । उहाँले खाडी क्षेत्रमा रहेका १० वटै नियोग तथा सरकारी निकायहरुबाट पछिल्लो घटनाक्रमबारे निरन्तर रुपमा प्रतिवेदन प्राप्त भइरहेको समेत जानकारी गराउनु भयो । उहाँले मध्यपूर्वमा बढ्दो समस्याको कारण नेपाली नागरिकको सुरक्षासँग सम्बन्धीत समस्याको हल गर्न परराष्ट्र सचिव अमृतबहादुर राईको संयोजकत्वमा इमरजेन्सी रेस्पोन्स टिम गठन गरिएको समेत जानकारी गराउनुभयो । 

    २७. धनुषामा निर्वाचन अवधिसम्मका लागि भारतीय सीमा नाका सिल गरियो

    निर्वाचनको मौन अवधि शुरु भएसँगै धनुषामा रहेका भारतीय सीमा नाकाहरु सिल गरिएको छ । प्रहरी नायव उपरीक्षक गणेशबहादुर बमले निर्वाचनमा अवाञ्छित गतिविधि हुन नदिने सुरक्षा योजनाअनुसार धनुषा जिल्लाका जटहीलगायतका सीमा नाका बन्द गरिएको जानकारी दिनुभएको हो । गत रातिबाट नाका बन्द गरिएको सो नाका फागुन २१ गते निर्वाचनको मतदान कार्य सम्पन्न भएपछि मात्रै संचालनमा आउनेछ । प्रहरी नायव उपरीक्षक बमले सीमा नाकाहरुबाट निर्वाचनमा हुने सुरक्षा चुनौतिलाई ध्यानमा राखेर सवारी साधनलगायतका चेकजाँचमा पनि कठाई गरिएको बताउनु भयो । 

    २८. दैनिक ५ हजार लाइसेन्सको माग, कसरी भइरहेको छ वितरण ?

    दैनिक ५ हजार सबारी लाइसेन्सको माग हुने गरेको छ । यातायात व्यवस्था विभागकाअनुसार यसअघि आवेदन दिइसकेका २५ लाख सेवाग्राहीलाई लाइसेन्स दिन बाँकी रहेको छ । अहिले अत्यावश्यक भएकालाई प्राथमिकतामा राखेर तत्काल लाइसेन्स उपलब्ध गराउने गरिएको विभागका महानिर्देशक राजीव पोखरेलले बताउनु भयो । उहाँकाअनुसार विभागमा दैनिक करिब ६ सय जनाले इमरजेन्सी भन्दै लाइसेन्स लिन आउने गरेका छन् र सोही अनुपातमा वितरण भइरहेको छ । अनलाइन वा भौतिक रूपमा आवेदन दिएपछि लाइसेन्ससम्बन्धी डेटा सेक्युरिटी प्रिन्टिङ प्रेसमा पठाइन्छ । त्यहाँबाट ५ देखि ७ दिनभित्र लाइसेन्स प्रिन्ट भएर आउने र त्यसपछि वितरण गरिने व्यवस्था गरिएको विभागका महानिर्देशक पोखरेलले बताउनु भयो । उहाँकाअनुसार लाइसेन्सको समस्या समाधान गर्न विभागले विभिन्न उपाय अवलम्वन गरेको छ । 

    २९. पेट्रोल पम्पमा उपभोक्ताको भीड

    उपत्याकाका पेट्रोल पम्पहरुमा भीड देखिन थालेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्वसाधारणहरु गाउँ फर्कने क्रम बढेसँगै र मध्यपूर्वमा इरान–इजरायल युद्धको सम्भावनाले पेट्रोलियम पदार्थको अभाव हुनसक्ने त्रासका कारण काठमाडौंका पेट्रोल पम्पहरूमा भीड देखिन लागेको हो । आईतवार, सोमवार पम्पहरुमा इन्धन भर्नेहरुको भीड रह्यो । इन्धन भर्न केही समय सवारीहरु लाइनमा बस्नुपरेको थियो । पम्पहरूमा लाइन बढेसँगै ट्राफिक व्यवस्थापनमा समेत चुनौती थपिएको छ । केही म्यादी प्रहरीहरुले व्यवस्थापन गरेका थिए । पछिल्लो समय बढ्दो मध्यपूर्वको तनावले उपभोक्तामा त्रास बढेको छ । समयमै नेपालमा इन्धन नआउँदा अभाव झेल्नुपर्ने हो की भन्ने चिन्ता इन्धन भर्न लाइनमा बसेकाहरुमा रहेको छ । –न्युज एजेन्सी नेपाल

    प्रकाशित मिति :फाल्गुण १९ २०८२ मंगलवार - १९:३६:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij