२०८२ फाल्गुण १८ गते सोमवार
१. सरकारमा फर्किएपछि संग्रहालयको ३ करोड बजेट जुटाउँछुः केपी ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी घरदैलोका क्रममा धिमाल सांस्कृतिक संग्रहालयको अवलोकन गर्नुभएको छ । अवलोकनका क्रममा स्थानीय बासिन्दा र संग्रहालय व्यवस्थापन समितिसँग कुरा गर्दै ओलीले संग्रहालयको विकासका लागि आफ्नो प्रतिवद्धता व्यक्त गर्नुभयो । ओलीले आफू सरकारमा हुँदा संग्रहालयका लागि विनियोजन गरेको बजेट वर्तमान सरकारले कटौती गरेकोमा असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘म फेरि सरकार बनाएर आएपछि म यसलाई जुटाउनेछु । यस क्षेत्रको विकास गरिनेछ र यो संग्रहालयको विकास गरिनेछ । यो पार्टी भनेको विनाश गर्ने पार्टी होइन देश बनाउने पार्टी हो । त्यसकारण सबैको सल्लाह र सुझाव आवश्यक छ ।’
२. शुन्य समयमा कुनैपनि दल वा उम्मेदवारको पक्ष वा विपक्षमा समाचार संप्रेषण नगर्नूः प्रमुख निर्वाचन आयुक्त भण्डारी
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शुन्य समयमा कुनैपनि दल वा उम्मेदवारको पक्ष वा विपक्षमा समाचार संप्रेषण नगर्न आग्रह गर्नुभएको छ । प्रेस काउन्सिल नेपालद्वारा आयोजित ‘मौन अवधि र मिडिया’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले उक्त आह्वान गर्नुभएको हो । निर्वाचन सम्बन्धी ऐन नियममा ‘मौन अवधि’ भन्ने शब्द कतै पनि प्रयुक्त नभएकाले यसलाई ‘शुन्य समय’ वा ‘स्थिर समय’ भन्नु नै कानूनसम्मत हुने बताउनुभएको छ । शब्दावलीको प्रयोगमा स्पष्टता हुनुपर्नेमा जोड दिनुभएको हो । कार्यवाहक प्रमुख आयुक्त भण्डारीले १८ गते राति १२ बजेदेखि शुन्य समय शुरु हुने बताउनु भयो । उहाँले यो संवेदनशील समयमा कुनैपनि दल वा उम्मेदवारको पक्ष वा विपक्षमा समाचार संप्रेषण नगर्न र समाजलाई सही दिशामा डो¥याउन आग्रह गर्नुभयो ।
३. मतदाता शिक्षा प्रभावकारी रह्योः निर्वाचन आयुक्त डा. तुलाधर
घरदैलो मतदाता शिक्षा अभियान आज सकिँदै
फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि सञ्चालन गरिएको घरदैलो मतदाता शिक्षा अभियान आईतवार (आज)देखि सकिँदैछ । निर्वाचन आयोगले ७ सय ५३ वटै स्थानीय तहमा स्वास्थ्य स्वयंसेविकाहरुमार्फत फागुन ३ गतेदेखि घरदैलो मतदाता शिक्षा अभियान सञ्चालन गरेको थियो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै निर्वाचन आयुक्त डाक्टर जानकीकुमारी तुलाधरले मतदाता शिक्षा प्रभावकारी रहेको बताउनु भयो । आवश्यकताअनुसार स्वयंसेविकाहरूले स्थानीय मातृभाषामा नै मतदाता शिक्षा दिइएको पनि उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘मतदाता शिक्षा र सूचना संप्रेषणलाई चुस्त दुरुस्त बनाउन हामीले सूचना संप्रेषण समन्वय केन्द्र स्थापना गरेका छौँ । सूचना सदाचार केन्द्र, प्रेस अफिस र मतदाता शिक्षा जस्ता निकायले मतदाता शिक्षाका लागि आवश्यक सामग्री निर्माण तथा सूचना संप्रेषण गर्ने गर्दछ । यही फागुन ३ गतेदेखि १७ गते सम्म स्वयंसेविका महिलाले घरदैलोमा गएर मतदाता शिक्षा दिइरहनुभएको छ । उहाँहरुले विभिन्न स्थानीय मातृभाषामा पनि मतदाता शिक्षा दिनुभएको छ । घरघरमा मतदाता शिक्षा पुगेको छ । यसकारण पनि अहिले मतदाता शिक्षा प्रभावकारी भएकोमा आयोग विश्वस्त छ ।’
४. पहिलो पटक ‘हरित निर्वाचन’ को अवधारणाः डिजिटल माध्यमबाट प्रचारप्रसार
निर्वाचन आयोगले पर्यावरण संरक्षणका लागि यसपटक ‘हरित निर्वाचन’ को नीति अवलम्वन गरेको छ । जैविक रुपले नष्ट नहुने वा वातावरणमा हानी पुर्याउने कागज, प्लाष्टिक, इन्धन जस्ता सामाग्रीको न्युनतम प्रयोग गर्दे दिगो, प्रदुषणमुक्त रुपमा सम्पन्न गरिने निर्वाचनलाई ‘हरित निर्वाचन’ भन्ने गरिन्छ । निर्वाचन प्रचारका लागि प्रयोग हुने सामाग्रीहरु वातावरणमैत्री हुनुपर्छ भन्ने अवधारणा यसले बोकेको हुन्छ । सोहीअनुसार आयोगले कागजको प्रयोग कम गरी डिजिटल माध्यमबाट प्रचारप्रसार गर्न दलहरूलाई निर्देशन दिएको थियो । निर्वाचन आयोगले यसपटकको निर्वाचनमा पहिलो पटक ‘हरित निर्वाचन’ को अवधारणा अगाडि सारेको निर्वाचन आयुक्त डा.जानकीकुमारी तुलाधरले बताउनु भयो । न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उहाँले पर्यावरण प्रदुषण कम गर्न र कागजको प्रयोग घटाउन डिजिटल माध्यमबाट प्रचारप्रसार गर्ने कुरालाई आयोगले आचारसंहितामा नै अनिवार्य गरेको बताउनु भयो ।
५. पत्रकारका लागि छुट्टै पास नचाहिने, प्रेस काउन्सिलकै परिचयपत्र मान्य हुने
निर्वाचनको दिन सञ्चारकर्मीहरूको आवागमनलाई सहज बनाउन निर्वाचन आयोगले छुट्टै पास वितरण नगर्ने निर्णय गरेको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रेस काउन्सिल नेपालले जारी गरेको परिचयपत्रकै आधारमा पत्रकारहरूले देशभर आवागमन गर्न पाउने जानकारी दिनुभएको हो । उहाँले ७९ सालको निर्वाचनमा प्रेस काउन्सिल र आयोगबीच केही तिक्तता भएपनि अहिले ०८२ सालमा ाम्रो समन्वय रहेको बताउनु भयो । साथै, मतदान स्थलको ३ सय मिटर वरिपरि कुनै पनि दलको प्रचार सामग्री भएमा त्यसलाई हटाउन र आचारसंहिता पालनामा सघाउन उहाँले पत्रकारहरूलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘सञ्चार क्षेत्रमा काम गर्ने व्यक्तिहरूले निर्वाचनमा आवागमन गर्दा आयोगबाट छुट्टै पास लिनुपर्दैन । प्रेस काउन्सिलले जारी गरेको पास नै मान्य हुनेछ । ‘आवागमनमा कतै समस्या प¥यो भने आयोगमा तुरुन्त खबर गर्नुहोस्, हामी सहजीकरण गर्छौं ’
६. निर्वाचनको सम्पूर्ण तयारी पूरा, हिमाली भेगका दुर्गम बस्तीसम्म पुग्यो सामग्री
प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सम्पूर्ण व्यवस्थापकीय र प्राविधिक तयारी पूरा भएको बताउनुभएको छ । आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँका अनुसार मुलुकका उच्च पहाडी र हिमाली जिल्लाका साथै हिमाल पारिका दुर्गम बस्तीहरूमा समेत निर्वाचन सामग्री पुगिसकेका छन् । उहाँले निर्वाचनको मिति घोषणा भएदेखि नै सञ्चार जगतले सकारात्मक भुमिका खेलेका कारण निर्वाचनको माहोल देउरालीसम्म आइपुगेको र २१ गते भञ्ज्याङमा पुगेर भारी बिसाउने (निर्वाचन सम्पन्न हुने) विश्वास व्यक्त गर्नुभयो ।
७. निर्वाचनको दिन अत्यावश्यक सेवा र विशेष अवस्थाका मतदातालाई सवारी पास नचाहिने
निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदानका दिन अत्यावश्यक सेवा र विशेष परिस्थितिमा रहेका मतदाताहरूका लागि सवारी पास आवश्यक नपर्ने गरी विशेष व्यवस्था गरेको छ ।
आयोगको फागुन १६ गते बसेको बैठकले मतदानको दिन सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइए पनि निश्चित क्षेत्र र व्यक्तिहरूका लागि सवारी आवागमनमा सहजता प्रदान गर्ने निर्णय गरेको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईकाअनुसार मतदानको दिन अन्तर्राष्ट्रिय र आन्तरिक हवाई उडान सुचारु रहने सन्दर्भमा विमानस्थलसम्म पुग्नुपर्ने यात्रुहरूको सुविधा र निर्वाचन परिचालनमा खटिने सवारी साधनको संवेदनशीलतालाई मध्यनजर गर्दै यस्तो निर्णय लिइएको हो । आयोगले गरेको सिफारिसअनुसार दमकल, एम्बुलेन्स, शव वाहन, खानेपानीका ट्याङ्कर, दुध, फलफूल, तरकारी, माछा–मासु र पेट्रोलियम पदार्थ बोकेका सवारी साधनहरूलाई सवारी पास बिना नै सञ्चालन हुन दिइनेछ ।
८. तराईका जिल्लामा ‘निर्वाचनमैत्री होली’ मनाइने, मतदानमा असर नपर्ने
तराईका जिल्लाहरूमा निर्वाचनको समयमा होली पर्व परे पनि यसले मतदान प्रक्रियामा कुनै नकारात्मक असर नपर्ने निर्वाचन आयोगले स्पष्ट पारेको छ । आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मोरङ, रौतहट, बारा, पर्सा लगायतका तराईका जिल्लाहरूको भ्रमणपछि त्यहाँका मतदाताहरू ‘निर्वाचन मैत्री होली’ मनाउन तयार रहेको जानकारी दिनुभएको हो । उहाँका अनुसार तराईका मतदाताहरू निर्वाचनप्रति सचेत र उत्साहित छन् । होलीको उल्लाससँगै निर्वाचनको महाकुम्भमा सहभागी हुन मतदाताहरू आतुर रहेको र यसले मतदानको वातावरणलाई अझ उल्लासमय बनाउने उहाँको विश्वास छ ।
उहाँले भन्नुभयो, ‘हामीले यहाँबाट विश्लेषण गर्दा होलीले असर गर्छ कि भन्ने सोचेका थियौँ । तर त्यहाँका मतदाताहरूले स्वतःस्फूर्त रूपमा अहिले हामीले मनाउने होली निर्वाचनमैत्री हुन्छ र यसले मतदान प्रक्रियालाई केही असर गर्दैन भन्नुभएको छ ।’
९.आचारसंहिता उल्लंघनमा शुन्य सहनशीलताः उम्मेदवारी खारेज र ६ वर्षको प्रतिवन्धको चेतावनी
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालनामा शुन्य सहनशीलता’ को नीति अपनाउने चेतावनी दिएको छ । आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शुन्य समयमा नगद चलखेल वा आचारसंहिताको उल्लंघन भए उम्मेदवार विजयी भइसकेको अवस्थामा पनि उम्मेदवारी खारेज गरिने स्पष्ट पार्नुभएको हो । हालसम्म देशभरबाट आचारसंहिता उल्लंघनका करिव १ हजार १ सय उजुरी परेको बताउनु भयो । तीमध्ये धेरैको स्थानीय स्तरमै फस्र्योट भइसकेको उहाँले बताउनु भयो । आयोगले २५–३० वटा गम्भीर प्रकृतिका उजुरीमाथि केन्द्रिय स्तरबाटै कारबाहीको निर्णय गरिसकेको र केही विषयहरू अदालतमा समेत पुगेको उहाँले बताउनु भयो ।
१०. अबको ५ वर्ष सरकार बनाउने धन्दा होइन, परिणाम दिने समय हुनुपर्छः गगन थापा
नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले मुलुकको राजनीति अब सरकार बनाउने र टिकाउने फोहोरी खेलबाट बाहिर निस्कनुपर्ने बताउनुभएको छ । काठमाडौंमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै थापाले आगामी ५ वर्षको समयलाई ‘परिणामको समय’ बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले राजनीतिक नेतृत्वको सम्पती छानबिनदेखि मध्यम वर्गलाई आर्थिक राहत दिनेसम्मका महत्वाकांक्षी योजनाहरू सार्वजनिक गर्दै काँग्रेसले अबको निर्वाचनपछि सुशासनको नयाँ मानक स्थापित गर्ने दाबी गर्नुभयो । थापाले विगतका वर्षहरूमा सरकार बनाउने र टिकाउने धन्दामा सबै दलहरू अल्झिएको स्वीकार गर्दै अबको संसदले जनताको वास्तविक समस्या सम्बोधन गर्नुपर्ने बताउनु भयो ।
११. अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लामा राति १२ बजेदेखि नाका बन्द हुने
अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लामा आईतवार राती १२ बजेदेखि सीमा नाका बन्द हुने भएको छ । विहीवार हुने प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न गराउने उद्देश्यले अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लाहरूमा सीमा नाका बन्द गर्न लागिएको हो । निर्वाचन सुरक्षा निर्देशिकामा निर्वाचन हुनुभन्दा ७२ घण्टा अगाडी सीमानाका बन्द गर्नुपर्ने प्रावधान छ । सोही प्रावधानअनुसार सीमानाका बन्द गर्न आयोगले सिफारिस गरेको सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिनुभयो । सोहीअनुसार नै आईतवार राती १२ बजेदेखि मतदान सम्पन्न नहुन्जेलसम्मको लािग अन्तर्राष्ट्रिय सीमानाका बन्द गर्न लागिएको हो । उहाँले भन्नुभयो, ‘निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र बनाउने उद्देश्यले निर्वाचन आयोगले तयार गरेको निर्वाचन सुरक्षा निर्देशिका बमोजिम आज राती १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लाहरुमा अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्नको लागि निर्वाचन आयोगले नेपाल सरकारलाई सिफारिस गरे बमोजिम सीमा नाकाहरु बन्द रहनेछन् । सोही बमोजिमको व्यवस्था गर्न÷गराउनको लागि सम्बन्धित निकायलाई निर्वाचन आयोगले अनुरोध गर्दछ ।’
१२. अधुरा काम पूरा गर्न र जनकपुरलाई ‘वेडिङ हव’ बनाउन मेरो उम्मेदवारीः जुलीकुमारी महतो
नेकपा एमालेकी नेतृ एवं धनुषा निर्वाचन क्षेत्र नम्बर ३ की उम्मेदवार जुलीकुमारी महतोले आफ्नो अधुरा सपना र शुरु गरिएका विकास निर्माणका कामहरूलाई पूर्णता दिन पुनः उम्मेदवारी दिएको बताउनुभएको छ । चुनावी प्रचारप्रसारका क्रममा आफ्नो क्षेत्रका ३८ वटै वडाका मतदाताहरूसँग भेटघाट गर्दै उहाँले अघिल्लो कार्यकालमा शुरु भएका ठूला आयोजनाहरूलाई तार्किक निष्कर्षमा पु¥याउनु नै आफ्नो मुख्य लक्ष्य रहेको स्पष्ट पार्नुभएको हो । उम्मेदवार महतोले आफ्नो कार्यकालको सबैभन्दा ठूलो उपलब्धिका रूपमा जनकपुरधाम चक्रपथ (रिङ रोड) लाई अगाडि सार्नुभयो । त्यस्तै, माता सीता र भगवान रामको स्वयम्वर भएको पवित्र भूमिलाई विश्वकै प्रमुख ‘म्यारिज हव’ (विवाह गन्तव्य) का रूपमा विकास गर्ने योजना उहाँले सुनाउनु भयो । यसका लागि नीति तथा कार्यक्रममा समेत समावेश भइसकेको र अब प्रभावकारी कार्यान्वयनको खाँचो रहेको उनको भनाइ छ ।
१३. अतिवादलाई परास्त गर्दै स्थिरता र समन्वयको बाटो रोज्न मतदातालाई प्रदीप पौडेलको आह्वान
नेपाली काँग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार प्रदीप पौडेलले अतिवादलाई अनुमोदन नगर्न मतदातासँग आह्वान गर्नुभएको छ । आईतवार काठमाडौंमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो आह्वान गर्नुभएको हो । निर्वाचनको चार दिनअघि मतदातालाई सम्बोधन गर्दै पौडेलले यो निर्वाचन अतिवादको बाटोमा जाने कि सबैलाई समन्वय गरेर देश अगाडि बढाउने भन्ने जनमत संग्रह भएको दाबी गर्नुभयो । आगामी निर्वाचनले नेपाललाई स्थिरता, शान्ति र संविधान कार्यान्वयनको बाटोमा लैजाने कि अस्थिरता र थप संकटतिर धकेल्ने भन्ने गम्भीर फैसला गर्ने उहाँको भनाइ छ । उहाँले नेपाली काँग्रेसले नेपालमा अतिवादलाई संस्थागत हुन नदिने र लोकतन्त्रको पैरवी गर्दै नागरिकको अधिकारका लागि लामो समयदेखि लड्दै आएको स्मरण गराउनु भयो ।
१४. १ करोड ८९ लाख मतदाताका लागि २३ हजार मतदान केन्द्रमा विशेष व्यवस्था
फागुन २१ गते हुने निर्वाचनमा कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन् । यसका लागि निर्वाचन आयोगले देशभर १० हजार ९ सय ६७ मतदान स्थल र २३ हजार १ सय १२ वटा मतदान केन्द्रहरूको व्यवस्था गरेको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान प्रक्रियालाई सहज र छिटो बनाउन विशेष प्रवन्ध मिलाइएको जानकारी दिनुभयो । उहाँकाअनुसार आयोगले महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरेको छ भने वृद्धवृद्धा, सुत्केरी, अशक्त र अपाङ्गता भएका व्यक्तिहरूका लागि लाइनमा बस्न नपर्ने गरी प्राथमिकताको व्यवस्था गरेको छ । उहाँले भन्नुभयो, ‘एक मतदातालाई मतदान गर्न १ देखि २ मिनेट मात्र लाग्नेछ । कुनैपनि मतदान केन्द्रमा १ हजार भन्दा बढी मतदाता छैनन्, त्यसैले लाइनमा धेरै कुर्नु पर्दैन ।’
१५. अमेरिकी सेनाले इरानमा ‘ठूलो र निरन्तर आक्रमण’ शुरु गरेको छः ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनाले इरानमा ठूलो र निरन्तर आक्रमण जारी राखेको बताउनुभएको छ । यसको उद्देश्य इरानको मिसाइलहरू नष्ट गर्नु र मिसाइल उद्योगलाई पूर्ण रूपमा ध्वस्त पार्नु रहेको उल्लेख गर्नुभएको छ । यो घोषणा इरान र अमेरिका–इजरायलबीचको तनाव चर्किएको समयमा आएको हो । विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूकाअनुसार अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमा ठूलो आक्रमण गरेका छन् । जसमा इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको पुष्टि गरिएको छ । इरानले प्रतिकारमा इजरायल र क्षेत्रीय अमेरिकी आधारहरूमा मिसाइल तथा ड्रोन आक्रमण गरेको छ । यो घटनाले मध्यपूर्वमा ठूलो युद्धको सम्भावना बढाएको छ र अन्तर्राष्ट्रिय समुदायमा चिन्ता बढेको छ ।
१६. ट्रम्पले भनेः इरानका सर्वोच्च नेताको मृत्यु
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मृत भएको घोषणा गर्नुभएको छ । यो घोषणा अमेरिका र इजरायलले इरानमाथि संयुक्त रूपमा गरेको ठूलो सैन्य हमलापछि आएको हो । ट्रम्पले इरानविरुद्धको यो ठूलो सैन्य अभियान जारी रहने बताउनु भयो । इरानी सरकारी सञ्चारमाध्यमहरूले पनि खामेनीको मृत्युको पुष्टि गरेको विभिन्न अन्तर्राष्ट्रिय समाचार स्रोतहरूले जनाएका छन् । खामेनीको मृत्यु तेहरानस्थित उनको कम्पाउण्डमा भएको हमलामा भएको बताइएको छ । यो घटनाले इरानमा नेतृत्वको ठूलो शून्यता सिर्जना गरेको छ र क्षेत्रीय तनाव अझ बढाएको छ । इरानले यस हमलाको जवाफमा इजरायल र अमेरिकी आधारहरूमा प्रतिकारात्मक हमला गरेको छ । जसले मध्यपूर्वको स्थिति झन् जटिल बनेको छ ।
१७. दक्षिणी सिरियामा इरानी मिसाइल आक्रमणः ४ जनाको मृत्यु
दक्षिणी सिरियाको स्वीडा शहरको औद्योगिक क्षेत्रमा शनिवार इरानी मिसाइलले एक भवनमा आक्रमण गर्दा कम्तीमा ४ जनाको मृत्यु भएको छ । अन्य धेरै जना घाइते भएको सिरियाली सरकारी समाचार एजेन्सीले जनाएको छ । घटनामा अन्य मिसाइलका टुक्राहरू कुनैत्रा शहर र दाराको यर्मुक बेसिन क्षेत्रमा पनि खसेको प्रत्यक्षदर्शी तथा भिडियोहरूले देखाएका छन् । यो घटना क्षेत्रीय तनावको बीचमा भएको हो । जसमा इरानसँग सम्बन्धित मिसाइलको भूमिका रहेको बताइएको छ । सिरियाली मिडियाकाअनुसार मिसाइलले औद्योगिक जिल्लामा रहेको भवनलाई लक्षित गरेको थियो । घाइतेहरूलाई उपचारका लागि अस्पताल पु¥याइएको छ ।
१८. पाकिस्तानी हवाई हमलामा कन्धारमा ३ जना मारिए, ७ घाइते
दक्षिणी अफगानिस्तानको कन्धार प्रान्तमा शनिवार पाकिस्तानी सेनाले अस्थायी फर्किएका व्यक्तिहरूको शिविरमा हवाई हमला गर्दा तीन अफगानी फर्किएका व्यक्तिको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । अफगानिस्तान सरकारका उपप्रवक्ता हम्दुल्लाह फित्रतले यो जानकारी दिएका हुन् । फित्रतले सामाजिक सञ्जाल एक्समा प्रकाशित वक्तव्यमा भनेका छन् कि पाकिस्तानी सेनाले शनिवार बिहान स्थानीय समयअनुसार ८ः३० बजे कन्धारमा फर्किएका व्यक्तिहरूको अस्थायी शिविरमा हवाई हमला तथा बमबारी गरेको थियो । यसैबीच सम्बन्धित घटनामा, एक अफगान अधिकारीले पाकिस्तानबाट पठाइएको ड्रोन (पाइलटविहीन विमान) ले अफगानिस्तानको पूर्वी खोस्त प्रान्तमा आक्रमण गर्न खोज्दा शनिबार क्र्यास भएको दाबी गरेका छन् ।
१९. भारतको जीडीपी ७.८ प्रतिशतले बढ्यो
भारतको अर्थतन्त्रले अक्टोबर–डिसेम्बर अवधिमा ७.८ प्रतिशतको वृद्धि देखाएको छ । सरकारले जारी गरेको तथ्यांकअनुसार यो वृद्धि नयाँ जीडीपी शृंखलामा आधारित छ । जसले आधार वर्षलाई २०११–१२ बाट २०२२–२३ मा परिवर्तन गरेको छ । अघिल्लो त्रैमासिक (जुलाई–सेप्टेम्बर) मा अर्थतन्त्र ८.४ प्रतिशतले बढेको थियो । यो तथ्यांक नयाँ जीडीपी शृंखलामा आधारित पहिलो रिलिज हो । यसअनुसार उत्पादन (म्यानुफ्याक्चरिङ) क्षेत्रले अर्थतन्त्रको उत्कृष्ट प्रदर्शनमा प्रमुख भूमिका खेलेको छ यो मजबुत वृद्धिले भारतलाई प्रमुख अर्थतन्त्रहरू मध्ये सबैभन्दा छिटो बढ्ने मुलुकको रूपमा कायम राखेको छ । जसले घरेलु माग, सेवा क्षेत्र र उत्पादनको लचिलोपनलाई प्रतिबिम्बित गर्दछ ।
२०. भारतमा सडक दुर्घटनाः ६ जनाको मृत्यु, ९ घाइते
भारतको राजस्थान राज्यको बालोतरा जिल्लामा निजी स्लीपर बस ट्रेलरसँग ठोक्किँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । स्थानीय प्रहरीले यो जानकारी पुष्टि गरेको छ । दुर्घटना राष्ट्रिय राजमार्गमा सरवडी गाउँ नजिकै भएको थियो । घाइतेहरूलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ । बसका चालकले दुईवटा सवारी साधनलाई ओभरटेक गर्ने क्रममा बसको ड्राइभर साइड ट्रेलरसँग ठोक्किएको थियो । दुर्घटनाको कारण ओभरटेक गर्ने प्रयासलाई मानिएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । मृतकहरूमा दुई जना बालबालिका पनि रहेका छन् । यो दुर्घटनाले सडक सुरक्षा र सवारी चालकहरूको सतर्कताको विषयलाई फेरि चर्चामा ल्याएको छ ।
२१. अमेरिका र इजरायलको पक्षमा उभिनु नेपालको दीर्घकालीन हित हुन्छः अरुणकुमार सुवेदी
भूराजनीतिक विश्लेषक अरुणकुमार सुवेदीले हाल मध्यपूर्वमा भइरहेको तनावमा नेपाल अमेरिका र इजरायलको पक्षमा उभिनुपर्ने बताउनुभएको छ । न्युज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा उहाँले नेपालको दीर्घकालिन हितको लागि पनि अमेरिका, भारत र ईजरायलको विपक्षमा जान नहुने बताउनु भयो । उहाँले नेपालले आफ्नो राष्ट्रिय स्वार्थलाई केन्द्रमा राख्दै अमेरिका, इजरायल र भारतसँग समन्वय गरेर स्पष्ट नीति अवलम्वन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाल सरकारले ढिलाइ नगरी आफ्नो औपचारिक धारणा स्पष्ट गर्नुपर्ने र खाडी क्षेत्रमा शान्ति स्थापना हुने पक्षमा कुटनीतिक रूपमा उभिनुपर्ने बताउनु भयो । नेपालको ऊर्जा सुरक्षा, व्यापारिक सुरक्षा र वैदेशिक रोजगारीको स्थायित्व प्रत्यक्ष रूपमा खाडी क्षेत्रसँग जोडिएको हुँदा त्यहाँको अस्थिरताले नेपाललाई गम्भीर असर पार्नसक्ने उहाँको भनाई छ । उहाँले इरानले प्रहार गरेको मिसाइल आक्रमण नेपालको हितविपरित भएको उल्लेख गर्दै त्यसको खुलेर विरोध गर्नुपर्ने बताउनु भयो । खाडी क्षेत्रमा कार्यरत लाखौं नेपाली कामदारहरूको सुरक्षा जोखिममा पर्नसक्ने भएकाले त्यस क्षेत्रमा तत्काल शान्ति स्थापना हुन आवश्यक रहेको उहाँको भनाई छ । इरानको वर्तमान शासन पतन भएर गल्फ क्षेत्रमा तत्काल शान्ति स्थापना हुनु नै नेपालको हितमा हुने उहाँले बताउनु भयो ।
२२. मध्यपूर्वमा १७ लाखभन्दा बढी नेपाली–उद्धारको लागि ‘पर्ख र हेर’को रणनीतिमा सरकार
परराष्ट्र मन्त्रालयले मध्यपूर्वका विभिन्न देशमा १७ लाखभन्दा बढी नेपाली रहेका जनाएको छ । मन्त्रालयका सहसचिव एवं मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काले करिव १७ लाख २९ हजार २ सय ८८ नेपाली नागरिक मध्यपूर्वमा रहेको जानकारी दिनुभयो । मन्त्रालयले आईतवार मध्यपूर्व क्षेत्रमा विकसित पछिल्ला घटनाक्रमको बारेमा जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहेको बताउनु भयो । मन्त्रालयले ती देशका लागि ट्राभल एड्भाइजरी जारी गर्दै सुरक्षित रहन आग्रह गरेको छ । साथै, सम्बन्धित देशमा रहेका नेपाली नियोग प्रमुखहरूसँग समन्वयका लागि ह्वाट्सएप समूह गठन गरिएको उहाँले जानकारी दिनुभयो । जहाँ स्थानीय गतिविधि र नेपालीहरूले भोगेका समस्याबारे नियमित अपडेट भइरहेको छ । खड्काले उद्धार तथा नागरिकको अवस्थाबारे तथ्यांक संकलन गर्न कन्सुलर सेवा विभाग मार्फत अनलाइन दर्ता प्लेटफर्म विकासको काम शुरु गरेको जानकारी दिनुभयो । दर्ता प्लेटफम सबै नियोगहरूको वेबसाइटमा उपलब्ध गराइनेछ ।
२३. मध्यपूर्वमा रहेका सबै नेपाली नागरिक सुरक्षित छन्ः सरकार
दुतावासहरूलाई उच्च शतर्क रहन र नागरिकको अवस्था निरन्तर अनुगमन गर्न सरकारको निर्देशन
मध्यपूर्वमा बढ्दै गएको तनावलाई मध्यनजर गर्दै सरकारले सम्बन्धित देशका नेपाली दुतावासहरूलाई उच्च शतर्कतामा रहन र नागरिकको अवस्था निरन्तर अनुगमन गर्न निर्देशन दिएको छ । आईतवार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको परराष्ट्रमन्त्री बालानन्द शर्माले जानकारी दिनुभएको हो । उहाँकाअनुसार बैठकमा मन्त्रीहरुले खाडी मुलुकमा तनाव बढ्दा नेपालको विमानस्थलमा देखिएका समस्या समाधान भइसकेको ब्रिफिङ गर्नुभएको छ । उहाँले प्रभावित क्षेत्रका लागि आधिकारिक ट्राभल एडभाइजरी जारी गरिएको जानकारी समेत जानकारी समेत गराउनु भयो । ट्रान्जिटमा परेका नेपाली कामदार तथा उपचारका लागि गएका बिरामीहरूलाई परेको असुविधा सम्बन्धित देशस्थित नेपाली राजदुतावासहरूसँग समन्वय गरी उनीहरूलाई गन्तव्यसम्म पु¥याउने व्यवस्था मिलाइएको समेत मन्त्री शर्माले जानकारी दिनुभयो ।
२४. काँग्रेसले आगामी ५ वर्ष मुलुकको सुशासन र विकासका लागि सदुपयोग गर्ने प्रतिज्ञा लिएको छः गगन थापा
नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले आफ्नो सरकारको नेतृत्व पाए आगामी ५ वर्ष मुलुकको सुशासन र विकासका लागि सदुपयोग गर्ने बताउनुभएको छ । आईतवार काठमाडौंमा आयोजित पार्टीको चुनावी सभामा बोल्दै उहाँले आगामी ५ वर्षको अवधि मुलुकलाई विकास र सुशासनमा परिणाम दिने गरी हरेक क्षणको सदुपयोग गर्ने प्रतिज्ञासहित अघि बढेको जिकिर गर्नुभएको हो । सभापति थापाले विगत केही समय यता सबै दलहरु सरकार बनाउने र टिकाउने धन्दामा लागेकाले अब परिणाम आउने गरी काम गर्नुपर्ने बेला आएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘अबको पाँच वर्षको अवधि सरकार बनाउने र टिकाउनेमा जाने होइन । अबको अवधि परिणाम दिने ठाउँमा जानु पर्दछ । त्यसैले नेपाली काँग्रेस पार्टीको तर्फबाट हामी एउटा प्रतिज्ञा लिएर उभिएका छौ–हामी यो ५ वर्षको प्रत्येक दिनको प्रत्येक क्षण नेपालको सुशासन र विकासका लागि सदुपयोग गर्न चाहन्छौ एक क्षण पनि खेर नफाली । त्यसका निम्ति एउटा सोचका साथमा, संकल्पका साथमा र योजनाका साथमा हामी आएका छौँ ।‘
२५. निर्वाचनमा नगद चलखेल गर्नेहरुको उम्मेदवारी खारेज हुन्छः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
भएको प्रमाणित कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनमा नगद चलखेल भएको पाईए कडा कारबाही हुने चेतावनी दिनुभएको छ । आईतवार नेपाल प्रेस काउन्सिलले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले मौन अवधिमा निर्वाचन सामग्री र नगद एकैठाउँमा बरामद भए त्यस्ता उम्मेदवारको उम्मेदवारीनै खारेज हुने चेतावनी दिनु भएको हो । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचनमा नगद चलखेल भए आगामी ६ वर्षसम्म त्यस्ता उम्मेदवारहरुले निर्वाचनको कुनैपनि प्रक्रिया भाग लिन नपाउने व्यवस्था गरिएकोतर्फ पनि सचेत गराउनु भयो । उहाँले नगद चलखेल गर्ने उम्मेदवार विजयी भएको घोषणा भएपनि उनीहरुको उम्मेदवारी खारेज हुने पनि स्पष्ट पार्नुभयो ।
२६. निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउने काममा सरकार शतप्रतिशत लागेको छः मन्त्री इङनाम
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा. कुमार इङनामले सरकारले निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउनका लागि सम्पूर्ण शक्ति परिचालन गरिरहेको बताउनुभएको छ । आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सरकारले आफूले पाएको म्यान्डेट अनुसार निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गराउनका लागि सतप्रतिशत प्रयास गरिरहेको बताउनुभएको हो । मन्त्री इङनामले सरकारले भ्रष्टाचार नियन्त्रण गर्ने काममा भने अपेक्षित उपलब्धि हासिल गर्न नसकेको स्विकार समेत गर्नुभयो । भ्रष्टाचार नियन्त्रणका लागि सफलता हासिल गर्न नसक्नुमा विभिन्न पक्षहरु रहेको उल्लेख गर्दै मन्त्री इङनामले त्यसले विश्लेषण गरेर बस्ने अवस्था अहिले नभएको पनि बताउनु भयो ।
२७. ११० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले (आज) आईतवार ११० अर्ब निक्षेप खिच्दैछ ।
अधिक तरलता कायमै रहेपछि ८७ दिनका लागि राष्ट्र बैंकले आज फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७७ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ । निक्षेप चुलिँदा आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८३ जेठ १३ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ । –न्युज एजेन्सी नेपाल
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij