२०८२ फाल्गुण १६ गते शनिवार
संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–५ र २ जोड्ने बेलीब्रिज भाँचिएको छ । मकालु–५, नुम र २ को सेदुवा जोड्ने अरुण नदीमाथिको बेलीब्रिज भाँचिएको हो ।
शनिबार (फागुन १६) बिहान ९ बजे सिमेन्ट बोकेको ट्रक पार गर्ने क्रममा बेलीब्रिज भाँचिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी कुमारप्रसाद मैनालीले जानकारी दिए ।
बेलीब्रिज भाचिँदा प्रदेश–०३–००१ क २९२० नम्बर ट्रक अरुण नदीमा खसेको छ । ट्रक नदीमा खसेर दुर्घटनामा हुँदा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ का ४० वर्षीय अर्जुन श्रेष्ठ गम्भीर घाइते भएका डीएसपी मैनालीले बताए ।
घाइते चालकलाई प्राथमिक स्वास्थ्य केन्द्र नुममा उपचारपश्चात् काठमाडौं लैजाने तयारी भइरहेको छ ।
निर्माणाधीन कासुवा हाइड्रोपावर कम्पनीको निर्माण सामग्री लिएर गएको ट्रक पुल भाँचिएपछि अरुण नदीमा खसेको हो । बेलीब्रिज भाँचिएपछि नुम–सेदुवा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । आवतजावत ठप्प बनेको छ ।
यो मार्ग हुँदै मकालु बेसक्याम्प जाने आउने गरिन्छ । पुल भाँचिँदा स्थानीय, पर्यटक र दैनिक उपभोग्य सामग्री ढुवानीमा प्रत्यक्ष असर परेको छ । पुल मर्मत तथा वैकल्पिक व्यवस्था मिलाउन समन्वय भइरहेको छ । विशेष गरी कासुवा हाइड्रोपावरसँग मर्मतसम्भारका विषयमा छलफल भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij