२०८२ फाल्गुण १६ गते शनिवार
१. रुकुम पश्चिमलाई देशकै नमूना बनाउने जनार्दन शर्माको उद्घोष–‘आँखा’ चिन्हमा मतदान गर्न आह्वान
प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता एवं रुकुम पश्चिमबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार जनार्दन शर्माले रुकुमलाई विकास, सुशासन र समृद्धिको एउटा राष्ट्रिय नमूना बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
रुकुम पश्चिममा उज्यालो नेपाल पार्टीका उम्मेदवार नरेन्द्र केसीले आफूलाई समर्थन गर्न आयोजित पत्रकार सम्मेलनका क्रममा उहाँले यस्तो बताउनुभएको हो । शुक्रवार बिहान पत्रकार सम्मेलन गर्दै केसीले शर्मालाई समर्थन गरेको घोषणा गर्नुभयो । रुकुमको समग्र विकासमा टेवा पु¥याउन समर्थन गरेको उहाँको दाबी छ । एमालेले पनि शर्मालाई समर्थन गरिसकेको छ । प्रलोपाका शर्मा, नेपाली काँग्रेसका राजु केसी, नेपाली कम्युनिष्ट पार्टीका गोपाल शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टीका मानबहादुर शाही निर्वाचनको मैदानमा हुनुहुन्छ । नेता शर्माले जिल्लाको सर्वाङ्गीण विकासका लागि आफू स्पष्ट खाकासहित निर्वाचनमा होमिएको बताउनु भयो । आफ्नो चुनावी एजेण्डाबारे प्रष्ट पार्दै शर्माले रुकुम पश्चिमलाई गरिबी र बेरोजगारीबाट मुक्त गराउने संकल्प दोहो¥याउनु भयो । उहाँले आम मतदाताहरूलाई सम्बोधन गर्दै विकास र समृद्धिको पक्षमा उभिन आग्रह गर्नुभयो ।
२. मतदानको दिन देशभर मौसम सफा रहने, अहिलेको हिमपातले असर नपर्ने
जल तथा मौसम विज्ञान विभागले बताएअनुसार मतदानको दिन देशभर मौसम सफा रहने निर्वाचन आयोगले बताएको छ । निर्वाचनको दिन मौसमले कस्तो प्रभाव पार्छ भन्ने आम चासोका बीच निर्वाचन आयोगले जल तथा मौसम विज्ञान विभागसँग निरन्तर समन्वय गरिरहेको शुक्रवार आयोगमा आयोजित पत्रकार सम्मेलनका क्रममा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभएको हो । विभागका महानिर्देशकसँगको छलफलपछि आयोगले मतदानको दिन (फागुन २१ गते) देशभर मौसम सफा रहने बताएको छ । विगत ३० वर्षको तथ्याङ्कमा आधारित पूर्वानुमानलाई परिमार्जन गर्दै विभागले अहिले एक हप्तासम्मको यथार्थपरक पूर्वानुमान गर्न थालेको छ । हाल देशका विभिन्न भागमा, विशेषगरी सङ्खुवासभा लगायतका हिमाली जिल्लाहरूमा छिटपुट हिमपात भइरहे पनि यसले मतदान प्रक्रियालाई अवरुद्ध नगर्ने आयोगको निष्कर्ष छ । संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेईओसी) मार्फत आयोगले दिनभरको मौसम अपडेट लिइरहेको प्रवक्ता भट्टराईले बताउनु भयो । जमेको हिउँमाथि थपिएको नयाँ हिउँले मतदान केन्द्रसम्म पुग्न मतदातालाई खासै समस्या नपार्ने प्रवक्ता भट्टराईले बताउनु भयो ।
३. मतदानकै दिन साँझदेखि मतगणना शुरु हुनेः नतिजा छिटो सार्वजनिक गर्ने आयोगको लक्ष्य
निर्वाचन आयोगले यस पटक मतपेटिका सङ्कलनको समय घटाउने र मतदानकै दिन साँझबाट मतगणना शुरु गर्ने योजना बनाएको छ । मतदाताको प्रतीक्षाको समय छोट्याउन आयोगले यस्तो रणनीति लिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभएको हो । निर्वाचन आयोगले मतदान सम्पन्न भएलगत्तै छिटोभन्दा छिटो नतिजा सार्वजनिक गर्नेगरी तयारी तिब्र पारेको उहाँले बताउनु भयो । प्रवक्ता भट्टराईकाअनुसार विगतका अनुभवहरूलाई ध्यानमा राख्दै यो पटक मतपेटिका सङ्कलन गर्ने समयलाई उल्लेख्य रूपमा घटाइनेछ । आयोगको योजनाअनुसार मतदान सकिएकै दिन साँझबाट मतगणना शुरु गर्ने कार्यलाई प्राथमिकता दिइनेछ । यसका लागि राजनीतिक दलहरूसँगको समन्वयमा मतदान हुनुपूर्व नै मतगणना स्थल र आवश्यक व्यवस्थापन मिलाइसकिने उहाँले बताउनु भयो । मतदाताहरूको नतिजा सुन्ने व्यग्रतालाई सम्बोधन गर्न आयोगले यो ‘गुड इन्टेन्सन’ राखेको प्रवक्ता भट्टराईले स्पष्ट पार्नुभयो ।
४. मतदानका दिन सवारी साधन नियमनः कसलाई पास चाहिन्छ, कसलाई चाहिँदैन ?
मतदानका दिन सवारी साधन सञ्चालन र नियमन सम्बन्धी निर्वाचन आयोगको विशेष व्यवस्था
निर्वाचन आयोगले मतदानको दिनलाई व्यवस्थित र मर्यादित बनाउन सवारी साधनको आवागमन र नियमन सम्बन्धी विशेष कार्यविधि कार्यान्वयनमा ल्याएको छ । आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीकाअनुसार मतदानका दिन अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइनेछ । विशिष्ट परिस्थिति र सेवाका लागि सवारी पासको व्यवस्था गरिएको छ । शुक्रवारदेखि नै आयोगले यस्ता पासहरूको वितरण प्रक्रिया शुरु गरिसकेको छ । उहाँकाअनुसार आयोगले सवारी साधनलाई दुई मुख्य श्रेणीमा वर्गीकरण गरेको छ । पहिलो श्रेणीमा त्यस्ता सवारी साधनहरू छन्, जसले अनिवार्य रूपमा सवारी पास लिनुपर्ने हुन्छ । यस अन्तर्गत सम्बन्धित निर्वाचन क्षेत्रका उम्मेदवार र उनीहरूका प्रतिनिधिहरू पर्दछन् । कार्यविधिको दफा ५ मा उल्लेख भए बमोजिम प्रत्यक्षतर्फका उम्मेदवार र निजका प्रतिनिधिले आयोग वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त गर्नुपर्नेछ ।
५. पत्रकारको सहज आवागमनका लागि प्रदेशस्तरीय प्रेस पासलाई पनि मान्यता दिने आयोगको तयारी
प्रदेशबाट जारी भएका प्रेस पासलाई पनि निर्वाचनको समयमा मान्यता दिने विषयमा आयोगले छलफल शुरु गरेको छ । निर्वाचन आयोगको नियमित पत्रकार भेटघाटका क्रममा शुक्रवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले यस्तो बताउनुभएको हो । उहाँले पत्रकारहरूको मुभमेन्टलाई सहज बनाउन आयोग प्रतिवद्ध रहेको बताउनु भयो । प्रवक्ता भट्टराईले कानूनमा शुरुदेखि नै सूचना तथा प्रशारण विभागको पासलाई मात्र चिनिएको भएपनि व्यावहारिक कठिनाइलाई मध्यनजर गर्दै प्रदेशको पासलाई पनि सम्बोधन गर्न सकिने बताउनु भयो । पत्रकारहरू निर्वाचनको समयमा जति धेरै ठाउँमा पुग्न सक्छन्, त्यति नै सत्य–तथ्य समाचार सङ्कलन हुने र त्यसले निर्वाचनको निष्पक्षतामा सकारात्मक प्रभाव पार्ने आयोगको ठम्याइ छ । यद्यपि, सवारी साधन प्रयोगको हकमा भने छुट्टै अनुमति आवश्यक पर्ने प्रवक्ताले स्पष्ट पार्नुभयो ।
६. निर्वाचनमा ‘डिप फेक’ र भ्रामक सूचनाको चुनौतिः ५४ प्रतिशत सामग्री एआई जेनेरेटेड
निर्वाचन प्रचारप्रसारका क्रममा प्रवाह हुने भ्रामक सूचनामध्ये ५४ प्रतिशत ‘डिप फेक’ र एआई जेनेरेटेड रहेको पाइएको छ । निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलनका क्रममा शुक्रवार आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन प्रचारप्रसारका क्रममा प्रवाह हुने भ्रामक सूचनामध्ये ५४ प्रतिशत ‘डिप फेक’ र एआई जेनेरेटेड रहेको पाइएको बताउनुभएको हो । उहाँकाअनुसार आयोगले सामाजिक सञ्जाल कम्पनीहरूसँग मिलेर यस्ता सामग्री नियन्त्रण गर्न ‘इलेक्सन डेक्स’ स्थापना गरेको छ । निर्वाचन आयोगका लागि यो पटक प्रविधिजन्य भ्रामक सूचना, विशेषगरी ‘डिप फेक’ ठूलो चुनौतीका रूपमा देखिएको छ । प्रवक्ता भट्टराईकाअनुसार हाल प्रवाह भइरहेका टक्सिक र भ्रामक सूचनाहरूमध्ये ५४ प्रतिशत सामग्री आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट सिर्जना गरिएको पाइएको छ ।
७. निर्वाचनको सरगर्मीः सुनसान सिंहदरबार
मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार यतिबेला सुनसान छ । प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै गएपछि मन्त्री, सांसद र राजनीतिक दलका शिर्ष नेताहरू निर्वाचन प्रयोजनका लागि आ–आफ्नो जिल्ला र निर्वाचन क्षेत्रमा फर्किएसँगै सिंहदरबारको चहलपहल घटेको हो । निर्वाचन आउन अब मात्र ५ दिन बाँकी छ । आगामी निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न नेताहरू यतिबेला घरदैलो अभियान र चुनावी सभाहरूमा व्यस्त छन् । काठमाडौंका ठूला होटलदेखि चिया पसलसम्म चुनावी चर्चा चुलिएको भएपनि नीति निर्माणको थलो सिंहदरबार भने कर्मचारीहरूको नियमित उपस्थितिमा मात्र सिमित भएको छ । सिंहदरबारभित्रका विभिन्न मन्त्रालयहरूमा सर्वसाधारणको उपस्थिति नगन्य छ । मन्त्रीहरू पनि चुनावी सुरक्षा लगायतका प्रवन्ध र व्यवस्थापनको सुनिश्चितताका लागि विभिन्न जिल्लामा पुगेका छन् ।
८. निर्वाचन सुरक्षाका लागि ३ लाख बढी सुरक्षाकर्मी परिचालन
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ३ लाख बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । स्वच्छ, स्वतन्त्र र निश्पक्ष तथा भयरहित वातावरणमा मतदान कार्य सम्पन्न गर्ने उद्देश्यका साथ निर्वाचन सुरक्षा तथा जोखिम व्यवस्थापन समितिको निर्णयमा सरकारले म्यादी प्रहरीसहित ३ लाख ४१ हजार १ सय ११ जना सुरक्षाकर्मी परिचालन गरेको हो । नेपाली सेनाबाट ७९ हजार ७ सय २७, शसस्त्र प्रहरी बलबाट ३४ हजार ५ सय ७६, नेपाल प्रहरीबाट ७५ हजार ७ सय ९७, राष्टिय अनुसन्धानबाट १ हजार ९ सय २१ र निर्वाचन प्रहरी(म्यादी) बाट १ लाख ४९ हजार ९० जना परिचाल गरिएको छ । निर्वाचन सुरक्षा तथा जोखिम व्यवस्थापन समितिका संयोजक समेत रहेका आयुक्त सगुन शमशेर जबराले अहिले सम्म मुलुकभरको शान्ति सुरक्षाको अवस्थामा कुनै शंका गर्नुपर्ने अवस्था नगरेको बताउनु भयो । उहाँले आयोगले समय समयमा सुरक्षा निकायका प्रमुखसँग देशभरको सुरक्षा अवस्थाको बारेमा जानकारी लिइरहेको उल्लेख गर्दै कुनैपनि सुरक्षा चुनौतीको रिपोटिङ्ग नभएको पनि जानकारी दिनुभयो ।
९.निर्वाचन खर्च पारदर्शी बनाउन दल र उम्मेदवारको सक्रियताः ४० प्रतिशतले खोले बैंक खाता
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्ने राजनीतिक दल र उम्मेदवारहरूको सङ्ख्या ४० प्रतिशत पुगेको बताउनुभएको छ । शुरुवाती चरणमा जम्मा ५ प्रतिशतले मात्र खाता खोलेकोमा हाल यो दर बढेर ४० प्रतिशतभन्दा माथि पुगेको बताउनुभएको हो । प्रवक्ता भट्टराईले यसलाई सकारात्मक प्रवृत्तिका रूपमा लिँदै ‘गिलास आधा भरिएको छ’ भन्ने दृष्टिकोणबाट हेर्नुपर्ने बताउनु भयो । आयोगको नीतिलाई अनुशरण गर्दै खाता खोल्ने दल र उम्मेदवारहरूलाई उहाँले धन्यवाद समेत दिनुभयो । प्रदेश स्तरीय अन्तरक्रियाका क्रममा केही उम्मेदवारहरूले ‘बिना पैसा चुनाव लड्ने र खाता खोल्ने पैसा समेत नभएको’ गुनासो गरेपनि साँच्चै खर्च नगर्नेहरूको नियतमाथि आयोगले शङ्का नगर्ने स्पष्ट पारेको छ । यद्यपि, खाता नखोलिकन बाहिरबाट जथाभावी खर्च गरेको पाइएमा आयोगले कडा कदम चाल्ने चेतावनी दिएको छ ।
१०. धनुषा ३ मा प्रसूति अस्पताल, रङ्गशाला र मल कारखाना बनाउने विमलेन्द्र निधीको प्रतिवद्धता
नेपाली काँग्रेसका नेता तथा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवार विमलेन्द्र निधीले आफ्नो क्षेत्रको विकासका लागि स्वास्थ्य, कृषि र खेलकुदलाई मुख्य प्राथमिकतामा राखेर योजनाहरू सार्वजनिक गर्नुभएको छ । चुनावी अभियानका क्रममा बोल्दै नेता निधीले जनकपुर उपमहानगरपालिका बाहेकका अन्य तीन वटा पालिकाहरूमा महिला तथा बालबालिकाका लागि विशेष स्वास्थ्य सेवा विस्तार गर्ने घोषणा गर्नुभयो । जनकपुरमा धेरै अस्पतालहरू खुलेका तर जनकपुर भन्दा दक्षिणका तीनवटा पालिकाहरूमा आफूले तीनवटा प्रसूति र तीनवटा बाल अस्पताल निर्माण गर्न चाहेको बताउनु भयो । मधेस प्रदेश कृषि प्रधान क्षेत्र भएपनि किसानले सधैं मलको अभाव झेल्नुपरेको उल्लेख गर्दै निधीले नेपालमै मल कारखाना खोल्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँकाअनुसार यसबाट किसानले समयमै मल पाउने मात्र नभई स्थानीय युवाहरूले ठूलो संख्यामा रोजगारी समेत प्राप्त गर्नेछन् । जनकपुरमा ‘राम जानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशाला’ निर्माणको प्रक्रिया अघि बढेको जानकारी दिँदै उहाँले यसलाई ‘स्पोट्र्स इकोनोमी’ (खेलकुद अर्थतन्त्र) सँग जोड्नुभयो ।
११. डलरमा भएको खर्च पनि निर्वाचन खर्चको सीमाभित्रै गणना हुने
निर्वाचन प्रचारप्रसारका क्रममा उम्मेदवारहरूले विदेशी मुद्रा (डलर) मा गरेको खर्चलाई पनि निर्वाचन आयोगले नजिकबाट ट्रयाक गरिरहेको बताएको छ । शुक्रवार आयोगमा आयोजित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता भट्टराईले नेपाली रुपैयाँमा होस् वा डलरमा, उम्मेदवारले गरेको सम्पूर्ण खर्च निर्वाचन खर्चको तोकिएको सीमाभित्रै गणना हुने बताउनुभएको हो । यसका साथै, डलर खर्चको सन्दर्भमा वैदेशिक सटही सुविधासम्बन्धी प्रचलित कानूनहरू पनि आकर्षित हुने र सोहीअनुसार कारबाही अगाडि बढ्नसक्ने आयोगले जनाएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘डलर खर्च गर्ने उम्मेदवारको लिस्ट निर्वाचन आयोगसँग छ कि छैन भन्नुभएको छ । निर्वाचन आयोगले त्यसको ट्रयाकिङ गरिराखेको छ । त्यसकारणले गर्दाखेरि त्यो उहाँहरूले गरेको चाहे नेपाली पैसामा खर्च गर्नुहोस् चाहे डलरमा खर्च गर्नुहोस् उहाँहरूको निर्वाचन खर्चको सीमाभित्र त्यो काउन्ट हुन्छ । यद्यपि डलरको सन्दर्भमा वैदेशिक सटही सुविधा सम्बन्धी कानूनहरूले पनि त्यो विषयलाई निर्देशित गर्छन् । त्यसकारणले ती तत्तद् प्रचलित कानूनहरू आकर्षित हुने विषयमा हुने नै छन् ।
१२. जय ट्रफीको उपाधिका लागि आर्मी र पुलिस भिड्ने
विभागीय टोली त्रिभूवन आर्मी र नेपाल पुलिस क्लवले जय ट्रफी मेन्स इलाइट कपको दोस्रो संस्करणमा पनि उपाधिका लागि प्रतिष्पर्धा गर्ने भएका छन् । चार टोली सहभागी जय ट्रफीको लिगमा शिर्ष दुई स्थानमा रहँदै आर्मी र नेपाल पुलिसले लगातार दोस्रो संस्करण उपाधि भिडन्त तय गरेका हुन् । शुक्रवार भएको लिगको तेस्रो तथा अन्तिम खेलमा पुलिसले वागमती प्रदेशलाई आठ विकेटले हराउँदै लिगको दोस्रो स्थानमा उक्लियो । दिनको अर्को खेलमा आर्मी र एपिएफ क्लबबीच भने ‘ड्र’ भयो । फाइनल आगामी आईतवार त्रिवि क्रिकेट स्टेडियममा हुनेछ । लिगचरण दुई दिवसीय फरम्याटमा भएको थियो । तर फाइनल भने तीन दिवसीय फरम्याटमा हुनेछ । पहिलो संस्करणमा पुलिसले आर्मीले हराउँदै उपाधि उचालेको थियो । यसपल्ट पनि यी दुई टोली नै फाइनलमा पुगेका छन् ।
१३. उम्मेदवारका एकाघरका परिवारको बैंक खातामा आयोगको निगरानी
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवारका एकाघरका परिवारको बैंक खाता निगरानी शुरु गरेको छ । निर्वाचन सम्बन्धी सम्पूर्ण खर्च बैंकिङ्ग प्रणालीमार्फत गर्नेगरी बैंक खाता खोल्न राजनीतिक दल र उम्मेदवारलाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि अधिकांश उम्मेदवारले बैंकिङ कारोबार भन्दा बाहिर खर्च गरेकाले आयोगले परिवार सहितको खातामा निगरानी बढाएको हो । चुनावी खर्चलाई पारदर्शी बनाउन आयोगले आचारसंहितामा नै बैक खातामार्फत चुनावी खर्च गर्नुपर्ने व्यवस्था गरेको थियो । बैंक खातामार्फत निर्वाचन खर्च गर्नुपर्ने प्रावधानको पालन नभएपछि आयोगले निर्वाचन प्रचारप्रसारको समयमा उम्मेदवारसहित परिवारका सदस्यहरुको बैंक खाताको कारोवारमा निगरानी बढाएको हो । शुक्रवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै केन्द्रिय निर्वाचन आचारसंहिता तथा अनुगमन समितिका संयोजक समेत रहनुभएका आयुक्त सगुन शमशेर जबराले बैंक खातामार्फत निर्वाचन खर्च नगर्ने उम्मेदवारलाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको आधारमा प्रचलित कानूनअनुसार आयोगले कारबाहीको निर्णय गर्ने बताउनु भयो ।
१४. आयोगको निमन्त्रणामा १५ जना विदेशी पाहुना निर्वाचन पर्यवेक्षण गर्न आउँदै
अन्तर्राष्ट्रिय ३ सहित ४३ संस्थाले निर्वाचनको पर्यवक्षेण गर्ने
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको ४३ वटा संस्थाले पर्यवेक्षण गर्ने भएका छन् । निर्वाचन आयोगले ३ वटा अन्तर्राष्ट्रिय र ४० वटा राष्ट्रिय गरी ४३ संस्थालाई पर्यवक्षेणको लागि अनुमति दिएको हो । आयोगले ४० वटा राष्ट्रिय पर्यवेक्षण संस्थालाई प्रशिक्षण पनि दिइसकेको छ । आचारसंहिता अनुगमन तथा पर्यवेक्षण समितिका संयोजक समेत रहेका आयुक्त सगुन शमशेर जबराले तोकिएको आधार र प्रक्रिया पूरा गरेका ३ अन्तर्राष्ट्रिय र ४० वटा राष्ट्रिय संस्थाहरुले निर्वाचनको पर्यवेक्षण गर्ने जानकारी दिनुभयो । त्यसैगरी आयोगको निमन्त्रणामा विभिन्न मुलुकका निर्वाचन आयुक्तसहित १५ जना विदेशी पाहुना पनि निर्वाचन पर्यवेक्षणको लागि आउने भएका छन् ।
१५. आचारसंहिता उल्लङ्घन गर्ने मिडियामाथि निगरानीः कारबाहीका लागि प्रेस काउन्सिललाई पत्राचार
निर्वाचनको स्वच्छता र निष्पक्षता कायम राख्न निर्वाचन आयोगले सञ्चार माध्यमहरूको भुमिकामाथि पनि निगरानी बढाएको छ । निर्वाचन आचारसंहिताविपरीत मत सर्वेक्षण गर्ने र निर्वाचनलाई प्रत्यक्ष असर पार्ने अडियो तथा भिडियो सामग्री प्रशारण गर्ने मिडियाहरूलाई कारबाहीको दायरामा ल्याउन आयोगले प्रेस काउन्सिल नेपाललाई पत्राचार गरेको हो । शुक्रवार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोग प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिवद्ध रहेको र यसमा कुनै सम्झौता नहुने स्पष्ट पार्नुभयो । तर निर्वाचन आयोग ऐनले दिएको अधिकार प्रयोग गरी जारी गरिएको आचारसंहिताको पालना गराउनु आयोगको दायित्व भएको उहाँले बताउनु भयो । सञ्चार जगतलाई नजिकबाट बुझ्ने र विज्ञता राख्ने निकाय भएकाले प्रेस काउन्सिलले आफ्नो अधिकार क्षेत्रभित्र रहेर आवश्यक कदम चाल्नेमा आयोग विश्वस्त रहेको बताउनु भयो ।
१६. अफगानिस्तानको राजधानी काबुलमा विस्फोट
शुक्रवार बिहान अफगानिस्तानको राजधानी काबुलमा विष्फोट भएको छ । बासिन्दाहरूले शहरभर विमानहरूको आवाज र ठूला विस्फोटका आवाजहरू सुनेका बताएका छन् । यो घटना पाकिस्तान र अफगानिस्तान (तालिबान सरकार) बीच सीमा क्षेत्रमा जारी तनाव र आक्रमणहरूको क्रममा भएको हो । स्थानीय बासिन्दा तथा अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूकाअनुसार बिहान करिव १ः५० बजे (स्थानीय समय) देखि शहरमा एकपछि अर्को गरी कम्तीमा ३ देखि ८ वटा सम्म शक्तिशाली विस्फोटका आवाजहरू सुनिएका थिए । विमानहरू उडिरहेको आवाज पनि स्पष्ट रूपमा सुनिएको थियो । जसलाई पाकिस्तानी हवाई हमलासँग जोडेर हेरिएको छ । विस्फोटपछि केही क्षेत्रमा गोली चलाउने आवाज पनि सुनिएको बताइएको छ । पाकिस्तानले तालिबानका सैन्य स्थलहरू (काबुल, कन्दहार र पक्तिया प्रान्तमा) लाई निशाना बनाएर हवाई हमला गरेको दाबी गरेको छ । जबकि अफगानिस्तानले यसलाई पाकिस्तानी आक्रमणको रूपमा व्याख्या गरेको छ ।
१७. अफगानिस्तानले सौर्य ऊर्जामार्फत ऊर्जा आत्मनिर्भरताको बाटो खोज्दै
अफगानिस्तानमा लाखौं मानिसहरू विश्वसनीय विद्युत आपूर्तिबाट वञ्चित छन् । धेरैले घरमा मट्टितेलको बत्ती बाल्छन्, व्यवसायलाई महँगो जनरेटरबाट चलाउँछन् वा अन्धकारमा बस्न बाध्य हुन्छन् । काबुलका बासिन्दा रोहुल्लाहले ठूलो जनसंख्या भएपनि विद्युत आपूर्ति निकै अपर्याप्त रहेको बताउनु यो । यी चुनौतीहरूका बीचमा निजी कम्पनीहरूले सौर्य ऊर्जामा लगानी गर्न थालेका छन् र नतिजा उत्साहजनक देखिएको छ । काबुलको सुरोबी जिल्लामा सञ्चालित एक यस्तो सुविधा विगत एक वर्षदेखि कार्यरत छ । जसले सूर्यको प्रशस्त प्रकाश भएको यो देशमा नवीकरणीय ऊर्जाको सम्भावना देखाएको छ । योसुफीकाअनुसार परियोजनाका सबै उपकरणहरू चीनबाट प्रतिष्पर्धी मूल्यमा उच्च गुणस्तरका साथ ल्याइएका छन् । अधिकारीहरूले राष्ट्रव्यापी रूपमा सौर्य ऊर्जा उत्पादनमा बढी ध्यान दिन थालिएको बताएका छन् । जसले निकट भविष्यमा ऊर्जा आत्मनिर्भरता हासिल गर्ने लक्ष्य राखिएको छ । यी प्रयासहरूले अफगानिस्तानलाई सौर्य ऊर्जामार्फत ऊर्जा संकट समाधान गर्दै आत्मनिर्भर बन्ने दिशामा अघि बढाइरहेका छन् ।
१८. अमेरिकासँगको वार्ता राम्रो भयोः इरान
इरानका विदेश मन्त्री सैयद अब्बास अराघचीले जेनेभामा भएको अमेरिकासँगको अप्रत्यक्ष आणविक वार्ताको तेस्रो चरणमा राम्रो प्रगति भएको बताउनुभएको छ । उहाँले आगामी सोमवार भियनामा प्राविधिक वार्ता हुनेछ । इरानको विदेश मन्त्री सैयद अब्बास अराघचीले राज्य सञ्चालित टेलिभिजनसँगको अन्तर्वार्तामा तेहरान र वाशिंगटनबीच जेनेभामा भएको अप्रत्यक्ष आणविक वार्ताको तेस्रो चरणमा राम्रो प्रगति भएको र चाँडै चौथो चरणको वार्ता हुने बताउनु भयो । अराघचीकाअनुसार वार्तालाई मुख्य रूपमा ओमानका विदेश मन्त्री सय्यिद बद्र बिन हमाद बिन हमूद अल्बुसैदीले मध्यस्थता गर्नुभएको थियो । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका महानिर्देशक राफेल ग्रोसीले पनि केही क्षेत्रमा प्राविधिक योगदान दिए । जसलाई फाइदाजनक ठानिएको छ ।
१९. कुवेतले राष्ट्रिय दिवस र मुक्ति दिवस मनायो
कुवेतले यो हप्ता विभिन्न उत्सवहरू आयोजना गरी राष्ट्रिय दिवस र मुक्ति दिवसको सम्झना गरेको छ । नागरिकहरूले हवाई प्रदर्शन, स्काइडाइभिङ शो तथा सैन्य प्रदर्शनी जस्ता क्रियाकलापहरूमा भाग लिएका थिए । हरेक वर्ष कुवेतीहरूले फेब्रुअरी २५ मा राष्ट्रिय दिवस र फेब्रुअरी २६ मा मुक्ति दिवस मनाउँछन् । यो वर्ष २०२६ मा राष्ट्रिय दिवसको ६५ औं र मुक्ति दिवसको ३५औं वार्षिकोत्सव मनाइएको छ । राष्ट्रिय दिवसले १९६१ मा ब्रिटिश संरक्षणबाट स्वतन्त्रता प्राप्तिको सम्झना गर्छ भने मुक्ति दिवसले १९९१ मा इराकी कब्जाबाट मुक्ति प्राप्तिको उत्सव हो । उत्सवहरूमा कुवेत शहरमाथि युरोफाइटर टाइफुन विमानको उडान, स्काइडाइभरहरूको प्रदर्शन र कुवेत वायुसेनाका विमानहरूको हवाई शो प्रमुख आकर्षण बनेका थिए । यी उत्सवहरू शेख मिशाल अल–अहमद अल–जाबेर अल–सबाहको संरक्षणमा सम्पन्न भएका थिए । यी दुई दिवसहरूका कारण सार्वजनिक बिदा घोषणा गरिएकोले नागरिकहरूले लामो सप्ताहन्तको मजा लिएका छन् ।
२०. जर्मन चान्सलर फ्रेडरिक मर्जद्वारा हाङ्जाउको भ्रमण
जर्मन चान्सलर फ्रेडरिक मर्ज चीनको पूर्वी झेजियाङ प्रान्तको हाङ्जाउ शहर भ्रमण गर्नुभएको छ । यो उहाँको चीनको दुईदिने आधिकारिक भ्रमणको दोस्रो चरण हो । जसको शुरुवात बुधवार बेइजिङबाट भएको थियो । हाङ्जाउमा उहाँले युनिट्री रोबोटिक्स कम्पनीको भ्रमण गर्नुभयो । जहाँ उहाँले ह्युमनोइड रोबोटहरूले विभिन्न कार्यहरू गर्दै गरेको प्रदर्शन हेर्नुभएको छ । रोबोटहरूको प्रभावशाली गतिविधिले उहाँलाई प्रभावित पारेको बताइएको छ । यसैगरी, उहाँले सिमेन्स हाई भोल्टेज सर्किट ब्रेकर कम्पनी लिमिटेड, हाङ्जाउको पनि भ्रमण गर्नुभयो । जहाँ चीनमा जर्मन लगानी भएका उद्यमहरूको विकासबारे जानकारी लिनुभयो ।
२१. पाकिस्तानले अफगान तालिबानका सुविधाहरूमा हवाई हमला गरेको छ— सुरक्षा स्रोत
पाकिस्तानले अफगानिस्तानमा तालिबानका सुविधाहरूमा हवाई हमला गरेको छ । जसमा नंगरहार प्रान्तमा रहेको एक प्रमुख गोला बारुद डिपोसहित महत्वपूर्ण लक्ष्यहरू ध्वस्त पारेको छ । यो जानकारी एक सुरक्षा स्रोतले दिएको छ । स्रोतकाअनुसार पाकिस्तानले यो हवाई हमला अपरेशन घजब लिल हक (न्यायको क्रोध) को भागको रूपमा गरेको हो । यो अपरेशन अफगान तालिबानले बिहीवार साँझ पाकिस्तानी सीमा पोस्टहरूमा आक्रमण गरेपछि शुरु गरिएको थियो ।एक प्रमुख गोला बारुद डिपो, तीन अफगान बटालियनहरू र एक सेक्टर मुख्यालय पूर्ण रूपमा ध्वस्त भएका छन् ।
२२. हङकङको नयाँ बजेटः नवप्रवर्तन र उच्च गुणस्तरको आर्थिक वृद्धिलाई प्रोत्साहन दिने
हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारका वित्तीय सचिव पॉल चानले २०२६–२७ को बजेट प्रश्तुत गर्दै हङकङले आर्थिक विस्तारको बलियो गतिलाई निरन्तरता दिँदै विज्ञान तथा प्रविधि नवप्रवर्तनलाई नयाँ वृद्धिको इन्जिन बनाउने बताउनुभएको छ । २०२५–२६ आर्थिक वर्षमा कर राजश्व बढेसँगै अर्थतन्त्र र पूँजी बजारको उछालका कारण सञ्चालन खातामा फेरि सरप्लस आएको छ । मजबुत वित्तीय एकीकरण कार्यक्रमले सरकारी कोषलाई पुनः भरिएको उहाँको भनाइ छ । यो वर्ष चीनको १५ औँ पञ्चवर्षीय योजना (२०२६–२०३०) को शुरुवात भएको उल्लेख गर्दै चानले हङकङले राष्ट्रिय विकासमा एकीकृत हुँदै नयाँ गुणस्तरीय उत्पादक शक्ति विकास गर्ने र उद्यमहरूलाई नयाँ बजार खोज्न सहयोग गर्ने बताउनु भयो ।
२३. उज्यालो नेपाल पार्टीले शनिवार खुला मञ्चमा उज्यालो प्रतिवद्धता सभा गर्ने
कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले शनिवार काठमाडौंको खुला मञ्चमा उज्यालो प्रतिवद्धता सभा आयोजना गर्ने भएको छ । पार्टीले शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्वाचनलक्षित प्रतिवद्धता सभा गर्न लागिएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै पार्टीका प्रचारप्रसार समितिका संयोजक तथा काठमाडौं क्षेत्र नम्बर–५ का उम्मेदवार श्रीराम गुरुङले पार्टीका प्रतिवद्धताहरुलाई जनतालाई बुझाउनको लागि सभा गर्न लागिएको जानकारी दिनुभयो । सभामार्फत मुलुकको विकासको स्पष्ट रोडम्याप सार्वजनिक गरिने दाबी गर्नुभयो । मुलुकलाई भाषण नभई परिणाम चाहिएको गुरुङको भनाइ छ । अध्यक्ष घिसिङको प्रमुख आतिथ्यमा हुने सभामा ऊर्जा विस्तार, आर्थिक रूपान्तरण, रोजगारी सिर्जना र राष्ट्रिय विकासका ठोस योजना सार्वजनिक गरिने गुरुङले जानकारी दिनुभयो ।
२४. गगन थापाप्रति रविको कटाक्ष– ‘प्रमाण छ भनेको ६ सय ५८ दिन भइसकेछ’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानले सहकारी वचत रकम अपचलन प्रकरणमा आफू विरुद्ध प्रमाण छ भनेको ६ सय ५८ दिन भइसकेको भन्दै नेपाली काँग्रेसका सभापति गगन थापाप्रति कटाक्ष गर्नुभएको छ । शुक्रवार चितवनमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो कटाक्ष गर्नुभएको हो । उहाँले आफूलाई अन्तिम इच्छा सोधिएको पनि निकै भइसकेको भन्दै आफ्नो अन्तिम इच्छा फागुन २१ मा मतपत्रमार्फत देखाइदिन मतदालाई आग्रह गर्नुभयो । उहाँले नेपाललाई मागिखाने नभई गरी खाने देश बनाउने प्रतिवद्धता समेत गर्नुभयो ।
२५. देश हेटौँडा सिमेन्ट कारखाना जस्तै भयो, काँग्रेसको ‘वाइवाइ’ फ्याक्ट्री जस्तै चल्नुप¥योः बालेन्द्र साह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहले मुलुक हेटौँडा सिमेन्ट कारखानाजस्तै बन्द अवस्थामा पुगेको भन्दै अब चलाउनुपर्ने टिप्पणी गर्नुभएको छ । शुक्रवार चितवनमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै नेता साहले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले दक्ष जनशक्ति, खानि र आवश्यक औजार हुँदाहुँदै पनि हेटौँडा सिमेन्ट उद्योग बन्द गरिएको भन्दै उहाँले नेपाली काँग्रेसको ‘वाईवाई’ फ्याक्ट्री जस्तै चल्नुपर्ने टिप्पणी गर्नुभयो । उहाँले बन्द रहेका सबै कारखाना सञ्चालन तथा नयाँ उद्योग स्थापना गर्ने पार्टीको योजना रहेको भन्दै घण्टि चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो ।
२६. रास्वपा उपसभापति वाग्लेको आरोप– ‘पुराना राजनीतिक दलहरुले दलीय संरचनालाई भ्रातृ संगठनका नाममा राज्य दोहनको ‘मेसिन’ बनाए’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले पुराना राजनीतिक दलहरुले दलीय संरचनालाई भ्रातृ संगठनका नाममा राज्य दोहनको मेसिन बनाएको आरोप लगाउनुभएको छ । शुक्रवार चितवनमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । पुराना दलहरूमाथि राज्य संयन्त्र कब्जा गरी दोहन गरेको आरोप लगाउँदै वाग्लेले दलीय सिण्डिकेट अन्त्य नगरीकन मुलुकमा विद्यमान समस्या समाधान गर्न नसकिने जिकिर गर्नुभयो । उहाँले विश्वविद्यालयहरू, अस्पताल, संघसंस्थादेखि राज्यका हरेक निकाय निकम्मा दलीय छायामा रहेको भन्दै उहाँले रास्वपा सबै प्रकारका दलीय हस्तक्षेप अन्त्य गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
२७. संयोजक दाहालको दाबीः काँग्रेस–एमाले रक्षात्मक बन्दा नेकपाप्रति जनताको विश्वास बढ्दै गएको छ
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले दुई पुराना दलहरु काँग्रेस–एमाले रक्षात्मक अवस्थामा पुग्दा नेकपा प्रति जनताको विश्वास बढ्दै गएको दाबी गर्नुभएको छ । शुक्रवार नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितिद्वारा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बाोधन गर्दै संयोजक दाहालले यस्तो दाबी गर्नुभएको हो । अन्य पुराना राजनीतिक दलहरु रक्षात्मक अवस्थामा पुग्दा नेकपा मात्रै आक्रामक रुपमा अघि बढेको कारण जनताको विश्वास बढ्दै गएको उहाँको जिकिर छ । उहाँले नेकपाले अघि सारेका नीति, योजना र कार्यक्रमले मात्र मुलुकको स्वाधिनताको रक्षा र जनहितको पक्षमा काम गर्नसक्ने जिकिर पनि गर्नुभयो । उहाँले अबको पाँच दिन जनताको घरघरमा पुगेर सम्झाउन सके नेकपा मुलुककै पहिलो राजनीतिक दल बन्ने दाबी गर्नुभयो ।
२८. अपाङ्गतामैत्री सेवा प्रवाहमा बजेटको नै अभाव देखियो
अपाङ्गता भएका युवाहरूका लागि यौन तथा प्रजनन स्वास्थ्यमा समान, सुरक्षित र सम्मानजनक पहुँच सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । ललितपुरमा आयोजित एक कार्यक्रममा सरोकारवालाहरूले उनीहरुको अधिकार सुनिश्चित गर्नका लागि नीतिगत सुधार, सेवा प्रदायकको क्षमता विकास र संरचनागत सुधार गर्नुपर्नेमा जोड दिएका हुन । स्वास्थ तथा जनसंख्या मन्त्रालय अन्तर्गत परिवार कल्याण महाशाखाकी प्रतिनिधि सर्मिला दाहाल पौडेलले अपाङ्गतामैत्री सेवा प्रवाहका लागि बजेट वृद्धि, क्षमता विकास र सरोकारवालाबीच समन्वय आवश्यक रहेको बताउनु भयो । उहाँले स्वास्थ्य सम्बन्धि संरचनाहरूलाई क्रमशः अपाङ्गतामैत्री बनाउने काम भइरहेको बताउनु भयो ।
२९. आसन्न निर्वाचनमा एमाले मुलुकको निर्णायक शक्तिको रुपमा उदाउनुपर्छः ईश्वर पोखरेल
नेकपा (एमाले) का नेता ईश्वर पोखरेलले आसन्न निर्वाचनमा एमाले मुलुकको निर्णायक शक्तिको रुपमा उदाउनुपर्ने बताउनु भएको छ । काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवारसमेत रहनुभएका उहाँले शुक्रवार सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सो जिकिर गर्नुभएको हो । आसन्न निर्वाचनलाई देश बनाउने र विगार्नेहरुबीचको जनमत संग्रहको रुपमा चित्रण गर्दै नेता पोखरेलले एमाले देश बनाउने शक्ति भएकाले निर्णायक राष्ट्रिय शक्तिको रुपमा स्थापित गराउन लागि परेको समेत बताउनु भयो । उहाँले केही शक्तिहरुले मुलुकलाई अस्तव्यस्त बनाएर आफूले लाभ प्राप्त गर्ने कोशिस गरिरहेको पनि बताउनु भयो ।
नेता पोखरेलले भन्नुभयो,‘यो निर्वाचनलाई नेपाली जनताले एउटा महत्वपूर्ण जनमत संग्रहको रुपमा लिनुपर्छ जस्तो लाग्छ ।
३०. काँग्रेसले सरकारको नेतृत्व लिए सबैभन्दा पहिला देउवाको सम्पती छानविन गर्छः गगन थापा
नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले आफ्नो पार्टीले सरकार बनाएर निःवर्तमान सभापति शेरबहादुर देउवाको सम्पत्ति सबैभन्दा पहिले छानविन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । शुक्रवार पोखरामा आयोजित चुनावी सभामा बोल्दै उहाँले आफ्नो पार्टीले सरकार बनाए सबैभन्दा पहिला प्रधानमन्त्री भएका देउवा र मन्त्री भईसकेको आफ्नो सम्पत्ति छानविन गर्ने बताउनुभएको हो । सभापति थापाले भ्रष्टाचार छानविनका लागि शक्तिशाली आयोग बनाउने र मुलुकमा फेरि कसैले पनि भ्रष्टाचार गर्न नसक्ने गरी काम गर्ने काँग्रेसको संकल्प रहेको जिकिर गर्नुभयो । सभापति थापाले मुलुकमा शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, उद्योग क्षेत्रमा प्रत्येक क्षेत्रमा ५ वर्ष भित्र क्रान्तिकारी रुपातरण ल्याउने गरी काँग्रेसले सरकार बनाएर काम गर्ने आश्वासन समेत दिनुभयो ।
३१. नेपाली काँग्रेसले देशलाई बदल्न चाहेको छः विश्वप्रकाश शर्मा
नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आफ्नो पार्टीले देशलाई बदल्न चाहेको बताउनुभएको छ । शुक्रवार पोखरामा आयोजित चुनावी सभामा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । उपसभापति शर्माले चुनावीमा मैदानमा प्रतिस्पर्धामा रहेका कुनैपनि दलहरुलाई दुश्मनीको रुपमा लिन नहुने समेत बताउनु भयो । निर्वाचनपछि सबै दलहरुले सत्ता पक्ष र प्रतिपक्षमा रहेर मिलेर देशका लागि काम गर्नुपर्ने भएकाले उनीहरुले निर्वाचनको मैदानमा दुश्मनको व्यवहार गर्न नहुने उहाँको भनाई थियो । उपसभापति शर्माले मुलुकलाई निकास दिने विषयलाई निर्वाचनको बेला बहस विषय बनाउनुपर्नेमा पनि जोड दिनुभयो ।
३२. सामाजिक सञ्जालमा भिड्ने काम नगराँै, मुलुकमा घृणा फैल्याउँछः गगनकुमार थापा
नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता, कार्यकर्तालाई सामाजिक सञ्जालमा भिडेर बस्ने काम नगर्न निर्देशन दिनुभएको छ । शुक्रवार पोखरामा आयोजित चुनावी सभामा बोल्दै उहाँले सामाजिक सञ्जालले घृणा फैल्याउने काम गर्ने भएकाले त्यसको भर नपरी घरघरमा गएर प्रचार अभियानमा जुट्न सिंगो पार्टी पंक्तिलाई आह्वान गर्नुभएको हो । सभापति थापाले मुलुक एक्लै नबन्ने भएकाले आफूले सबै दललाई सँगै लिएर अघि बढ्ने बाटो तय गरेको समेत बताउनु भयो । आफूले प्रधानमन्त्री हुने मौका पाए सबै दलहरुलाई साथ लिएर अघि बढ्ने सभापति थापाको भनाई थियो । देश एक्लै नबन्ने उल्लेख गर्दै उहाँले एमाले, रास्वपालगायतका सबै दलसँग सहकार्य गरेर अघि बढ्नु नै मुलुकको हितमा हुने समेत बताउनु भयो ।
३३. नेपालमा आएर काम गर्ने विदेशीको संख्या प्रत्येक वर्ष बढ्दो
नेपालको निर्माणदेखि हस्पिटलसम्ममा विदेशी नागरिकहरु कार्यरत
नेपालमा आएर काम गर्ने विदेशीको संख्या प्रत्येक वर्ष बढेर गएको छ । श्रम, रोजगार तथा व्यवसायजन्य सुरक्षा विभागकाअनुसार चीन, भारत, अमेरिका, बेलायत, क्यानडासहित ७४ देशका नागरिकले श्रम इजाजत लिएर निर्माण, स्वास्थ्य, हबाइ उडानसहितका क्षेत्रमा काम गरिरहेका छन् । विभागकाअनुसार गत आर्थिक वर्ष २०८१÷८२ मा ८ सय ९२ जना विदेशीले नयाँ श्रम स्वीकृति लिएका थिए भने १ हजार ६ सय ६७ जनाले श्रम नविकरण गराएका थिए । यसरी कुल २ हजार ५ सय ५९ जना विदेशी श्रम इजाजत लिएर नेपालमा कार्यरत छन् । चालु आर्थिक वर्षको माघ मसान्तसम्म ३ सय ७३ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् भने ७ सय ९३ जनाले नविकरण गराएका छन् । यस अवधिमा १ हजार १ सय ६६ जना विदेशीले श्रम इजाजत प्राप्त गरेका छन् ।
३४. राष्ट्रिय लिगमा लालीगुराँसले गुमायो अवसर
अग्रता जोगाउन नसक्दा लालीगुराँस एसोसिएसनले जारी एन्फा राष्ट्रिय लिगमा अंकतालिकाको सशर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रवार भएको दोस्रो खेलमा लालीगुराँसले फ्रेन्ड्स क्लबसँग १–१ को बराबरीको नतिजा सामना ग¥यो । लालीगुराँसले अग्रता जोगाउन नसक्दा अंक बाँडेको हो । लालीगुराँसका लागि सरोज गुरुङले गोल गरेका थिए । तर फ्रेन्ड्सका जेनिस प्रजापतिले गोल फर्काए । लालीगुराँसले १४औं स्थानको फ्रेण्ड्स क्लबविरुद्ध धेरै चुनौती दिए पनि जित निकाल्न सकेन । दोस्रो स्थानको लालिगुराँस लिगमा अपराजित छ । फ्रेण्ड्सलाई हराए लालीगुराँस शीर्ष स्थानमा उक्लिन सक्थ्यो । तर अंक बाँडेपछि दोस्रो स्थानमा नै सीमित भयो । सात खेलबाट पुसिल १९ अंकसहित शीर्ष स्थानमा छ भने आठ खेलबाट लालीगुराँसले १८ अंक जोड्यो । सरोज गुरुङले करिब १८ यार्डबाट दोस्रो बार च्याप्दै उत्कृष्ट गोल गरे । —न्युज एजेन्सी नेपाल
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij