२०८२ फाल्गुण १६ गते शनिवार
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सामान्य निर्वाचनका रूपमा लिन नहुने बताएका छन् ।
शुक्रबार काठमाडौंमा भएको नेकपा नुवाकोट–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले मुलुकमा अहिले दुई किसिमका अतिवाद रहेको भन्दै त्यसका विरुद्ध लड्न नेपाली कम्युनिस्ट पार्टी खडा भएको पनि बताए ।
‘भदौ २३ गते युवाहरूलाई दमन गर्ने र २४ गते विध्वंस गर्ने दुवै अतिवादका विरुद्ध नेपाली कम्युनिस्ट पार्टी खडा छ’, प्रचण्डले भने, ‘त्यसकारण यो निर्वाचनलाई कसैले पनि सामान्य रूपमा लिनुहुँदैन ।’
पूर्वप्रधानमन्त्री प्रचण्डले अहिलेको निर्वाचन लोकतन्त्र र गणतन्त्र बचाउने तथा लामो सङ्घर्ष र बलिदानबाट प्राप्त महिला, दलित, जनजाति, मधेसी मुस्लिमलगायतको अधिकारको रक्षा गर्ने सवालमा पनि फागुन २१ को निर्वाचनको महत्त्व रहेको बताए ।
उनले मुलुकमा अहिले देखिएका दुई अतिवादका विरुद्ध सङ्घर्षको आवश्यकता महसुस गरेर नै जेनजी आन्दोलनबाट उत्पन्न परिस्थितिलाई समाधान दिने उद्देश्यले नेपाली कम्युनिस्ट पार्टी गठन गरिएको दाबी पनि गरे ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij