Logo

२०८२ फाल्गुण १३ गते बुधवार

२०८२ फाल्गुण १३ गते बुधवार

आज दिनभरको ३० खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्

आज दिनभरको ३० खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्


  • 295
    Shares

    आज दिनभरको ३० खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्

    १. होली शुरुः हनुमानढोकामा तीनतले चीर ठड्याइयो

    काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारमा तीनतले चीर ठड्याइएको छ । वसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ मंगलवार (आज) तीनतले चीर ठड्याएपछि देशभर फागु (होली) पर्व शुरु भएको मान्ने गरिन्छ । शुभ साईतमा मानन्धर समुदायले रङ्गीचङ्गी ध्वजासहितको चीर ठड्याएर र एकअर्कालाई अबिर दलेर होली पर्व शुरु भएको जनाउ दिएका हुन् । आज पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर प्राङ्गणमा पनि रङ्गीचङ्गी कपडा झुन्ड्याएर होली शुरु भएको जनाउ दिने गरिन्छ । असत्यमाथि सत्यको जितको रुपमा चीर ठड्याइएको स्थानीहरु बताउँछन् । 
    यस वर्षको होली पर्वको मुख्य दिन फागुन १८ र १९ गते परेको छ । १८ गते हिमाली तथा पहाडी जिल्लामा र १९ गते तराई जिल्लामा होलीको सार्वजनिक बिदा दिइएको छ ।

    २. सरकारले निषेधाज्ञा र कफ्र्यू लगाएर त्रास सिर्जना ग¥यो, फागुन २१ मै चुनाव हुनुपर्छः एमाले

    नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको ९ दिनअघि देशका विभिन्न भागमा सरकारले निषेधाज्ञा र कफ्र्यू लगाएर मतदातामा डर र त्रास सिर्जना गरेको आरोप लगाएको छ । सर्वसाधारण जनताको शान्ति सुरक्षाका नाममा निषेधाज्ञा र कफ्र्यू जारी गर्नु सुरक्षा व्यवस्थापनको कमजोरी भएको बताएको हो । पत्रकार सम्मेलनका क्रममा पार्टीका प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले यसले मतदाताको मनमा भय सिर्जना गरी स्वतन्त्र मतदानको अधिकार कुण्ठित गरिरहेको बताउनु भयो । एमाले प्रचार विभाग प्रमुख शाहीले मधेस–तराईका विभिन्न जिल्लामा लगाइएको कफ्र्यूले आम मतदातालाई मतदान केन्द्रसम्म पुग्न अवरोध पु¥याउने काम गरिएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । सरकारको यो रवैयाले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने मात्र नभई लोकतान्त्रिक मूल्य–मान्यतामाथि नै प्रश्न उठाएको एमालेको ठहर छ । 

    ३. संक्रमणकालीन न्याय र निष्पक्ष निर्वाचन नेपालको प्राथमिकताः प्रधानमन्त्री कार्की

    नेपालको अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले नेपालको मानव अधिकारप्रतिको प्रतिवद्धता अटल रहेको बताउनुभएको छ । संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सन् २०२६ का लागि परिषद्को अध्यक्षमा निर्वाचित व्यक्तित्वलाई बधाई दिँदै उहाँले विश्वले सामना गरिरहेका जलवायु परिवर्तन, द्वन्द्व र विपद् जस्ता जटिल संकटहरूका बीच मानव अधिकारको विश्वव्यापीकरणलाई कायम राख्नुपर्नेमा जोड दिनुभयो । सरकारको प्राथमिकता मानव अधिकारलाई संस्थागत गर्नु र यसलाई एक संस्कृतिको रूपमा विकास गर्नु भएको उहाँको भनाइ छ । प्रधानमन्त्री कार्कीले नेपालले संक्रमणकालीन न्याय प्रक्रियालाई पीडितमैत्री र विश्वसनीय ढंगले टुङ्ग्याउन सरकार प्रतिवद्ध रहेको स्पष्ट पार्नुभयो । 

    ४. मतदान सकिएको २४ घण्टाभित्रै मतपरिणाम सार्वजनिक गर्छौंः कार्यवाहक प्रमुख आयुक्त भण्डारी

    निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम मतपेटिका सङ्कलन भएको २४ घण्टाभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । मतदान सम्पन्न भएलगत्तै मतपेटिका सङ्कलन गरी गणना कार्यलाई द्रुत गतिमा अघि बढाउने योजना आयोगले बनाएको छ । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधि सभाको मात्रै निर्वाचन भएकाले यसपटक परिणाम आउन समय नलाग्ने बताउनुभएको हो । मतपरिणामको समयसीमाबारे स्पष्ट पार्दै कार्यवाहक प्रमुख आयुक्त भण्डारीले समानुपातिकको एक–दुई दिन लागे पनि प्रत्यक्षतर्फको परिणाम मतपेटिका संकलन भएको २४ घण्टा भित्र घोषणा गर्ने  गरी आयोगले तयारी गरेको बताउनु भयो । 

    ५. निर्वाचनलाई सभ्य र भव्य तरिकाबाट सम्पन्न गराउन सरकार पूर्ण प्रतिवद्धः मन्त्री श्रेष्ठ

    अन्तरिम सरकारका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनलाई सभ्य र भव्य तरिकाबाट सम्पन्न गराउन सरकार पूर्ण प्रतिवद्ध रहेको बताउनुभएको छ । समाज कल्याण परिषद्को डिजिटल सेवा प्रवाह प्रणालीको शुभारम्भ गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले निर्वाचनमा सबैको समर्थन र सहभागिताको अपेक्षा सरकारले गरेको पनि बताउनु भयो । मन्त्री श्रेष्ठले परिषद्लाई प्रविधिमैत्री बनाउँदै कागजी झन्झट मुक्त गर्ने घोषणा गर्नुभयो । मन्त्री श्रेष्ठले भदौ २३ र २४ गतेको ‘जेन–जी’ आन्दोलन पश्चात विषम परिस्थितिमा बनेको अन्तरिम सरकारले स्वास्थ्य, शिक्षा र प्रशासन लगायत सामाजिक विकासको क्षेत्रमा दूरगामी महत्वका नीतिगत सुधारहरू गरेको बताउनु भयो । विशेष गरी दर्ता भए पश्चात कुनै फाइल अघि बढ्ने र कुनै नबढ्ने जुन स्वेच्छाचारी अधिकारको समस्या रहेको र यस प्रणालीले त्यस्ता समस्यालाई अन्त्य गरी सुशासन कायम गर्न पहिलो पाइला चाल्ने मन्त्रीको दाबी छ । 

    ६. निर्वाचन सुरक्षा समितिको बैठक जारीः रौतहट र वीरगञ्जको झडपपछि सुरक्षा व्यवस्था थप मजबुत पारिँदै

    आगामी निर्वाचनको सुरक्षा तयारी र देशका विभिन्न भागमा देखिएका अशान्तिका घटनाहरूबारे सुक्ष्म विश्लेषण गर्न निर्वाचन आयोगमा उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक बसिरहेको छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीको अध्यक्षतामा बसेको बैठकमा गृह सचिवका साथै चारवटै सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको छ । बैठकले देशभरिको समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै संवेदनशील मानिएका क्षेत्रमा थप सुरक्षा बन्दोबस्ती मिलाउने लगायतका महत्वपूर्ण निर्णयहरू गर्ने तयारी गरेको छ । विशेष गरी मधेस प्रदेशका रौतहट र वीरगञ्ज लगायतका स्थानमा पछिल्ला दिनमा भएका झगडा तथा झडपका घटनाहरूलाई आयोगले गम्भीरतापूर्वक लिएको छ । रौतहटमा विभिन्न समूहबीच उत्पन्न विवादले हिंसात्मक रूप लिएको र वीरगन्जमा समेत ढुङ्गामुढा र प्रदर्शनका कारण स्थिति तनावपूर्ण बनेपछि निर्वाचन सुरक्षामा नयाँ चुनौती थपिएको विश्लेषण गरिएको छ । 

    ७. कप्तान सावित्रा भण्डारीको उपचार निःशुल्क गर्ने काठमाडौं मेडिकल कलेजको घोषणा

    नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) को घुँडाको उपचार काठमाडौं मेडिकल कलेज (केएमसी) ले निःशुल्क गर्ने भएको छ । महँगो उपचार खर्चका कारण समस्यामा परेको भन्दै साम्बाले सहयोगको अपिल गरे लगत्तै केएमसीले यस्तो घोषणा गरेको हो । कतारको अस्पेटार अस्पतालमा गरिएको अघिल्लो शल्यक्रियाको ग्राफ्ट र एमसिएलमा गम्भीर समस्या देखिएपछि साम्बालाई पुनः शल्यक्रिया गर्नुपर्ने भएको छ । सोमवार मात्रै उनले सामाजिक सञ्जालमार्फत आफ्नो उपचारका लागि करिव ८० हजार अमेरिकी डलर खर्च लाग्ने भन्दै सहयोगको याचना गरेकी थिइन् । साम्बाको उक्त अपिल सार्वजनिक भएपछि केएमसीका प्रशासन प्रमुख नारायणप्रसाद दाहालले यदि साम्बा नेपालमै उपचार गर्न तयार भए अस्पतालले सम्पूर्ण खर्च व्यहोर्ने प्रतिवद्धता जनाउनु भयो । 

    ८. आचारसंहिता उल्लंघनमा निर्वाचन आयोगको मौनताप्रति एमालेको आपत्ति

    नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन कुनैपनि बहानामा सार्न नहुने स्पष्ट पारेको छ । एमालेका केन्द्रिय प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले मंगलवार आयोजित नियमित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै निर्वाचन सार्ने गरी भइरहेका विभिन्न भ्रामक हल्ला र षडयन्त्रप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको हो । निर्वाचनको मिति आउन अब ९ दिन मात्र बाँकी रहँदा मुलुक निर्वाचनमय भइसकेको अवस्थामा निर्वाचन सार्ने कुरा एमालेका लागि स्वीकार्य नहुने उहाँले चेतावनी दिनुभयो ।

    ९.आकाश छुने चीर, मन छुने रङ 

    चीर ठड्याएसँगै काठमाडौं उपत्यकाभरि ‘फागु’ को रौनक छाएको छ । अबको एक हप्तासम्म यो शहर रङहरूमा झुम्नेछ, गीतहरूमा गुञ्जिनेछ र प्रेमको भाषा बोल्नेछ । यो उत्सवले हामीलाई सिकाउँछ कि रङहरू केवल बाहिर मात्र होइन, भित्र पनि हुनुपर्छ । जब वसन्तको सुगन्धले काठमाडौंका गल्लीहरूलाई छुन्छ, तब हनुमानढोकाको गद्दी बैठक अगाडि एउटा विशेष चहलपहल शुरु हुन्छ । यो चहलपहल हो—होलीको विधिवत सुरुवातको । यो केवल एउटा काठको खम्बा होइन, यो त जनसहभागिता र सामूहिक शक्तिको प्रतीक हो । स्थानीय गुठियार र सुरक्षाकर्मीहरूको संयुक्त प्रयासमा ठड्याइने यो चीरले शहरलाई रङ्गीन बनाउने सङ्केत दिन्छ । धार्मिक मान्यताअनुसार यो चीर ठड्याउनु भनेको असत्य माथि सत्यको विजयको प्रतीक हो । पौराणिक कथाअनुसार भगवान विष्णुका परम भक्त प्रह्लादलाई मार्न खोज्ने होलिका आफैँ भष्म भएको खुसियालीमा यो उत्सव मनाउन थालिएको हो । होली केवल रङहरूको खेल मात्र होइन, यो त मनका तुषहरू पखाल्ने र आत्मीयता साट्ने माध्यम हो ।

    १०. आईजिन निर्देशिका कार्यान्वयनमा ‘अदृश्य शक्ति’ को अवरोध, सुटुक्क शेयर मिसाएर अर्बौंको चलखेल गर्ने खेल रोक्छौंः सीडीएससी

    सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका (आईजिन निर्देशिका) लागू गर्न खोज्दा ठूलो दबाब र अवरोध खेप्नुपरेको बताएको छ । पुँजी बजारको पारदर्शिता र लगानीकर्ताको सुरक्षाका लागि ल्याउन लागिएको यो निर्देशिका रोक्न ‘अदृश्य शक्ति’ हरु सक्रिय रहेको सीडीएससीले दाबी गरेको हो । सीडीएस एण्ड क्लियरिङ लिमिटेडले आयोजना गरेको ‘धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका, २०८२’ सम्बन्धी छलफलमा बोल्दै संस्थाकी प्रमुख कार्यकारी निर्देशक प्रविन पन्दाकले १५ वर्षअघि नै कानूनमा रहेको व्यवस्था कार्यान्वयन गर्न खोज्दा हप्काई, दप्काई र कानूनी लडाईं समेत भोग्नुपरेको बताउनु भयो । 

    ११. ‘डबल आईएसआईएन’ ले पुँजी बजारमा विकृति ल्यायो, एकीकृत बजार सिद्धान्त अपनाउनुपर्छः कमलेश अग्रवाल

    नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले नेपालको पुँजी बजारमा विद्यमान ‘डबल आईएसआईएन’ प्रणालीले बजारलाई अविश्वसनीय र विकृत बनाएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय अभ्यासअनुसार एउटै कम्पनीको शेयरको एउटै आईएसआईएन हुनुपर्नेमा उहाँको जोड छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडले आयोजना गरेको ‘धितोपत्र अभौतिकीकरण कार्य संचालन निर्देशिका, २०८२’ सम्बन्धी छलफलमा बोल्दै अध्यक्ष अग्रवालले विगतमा बैंक, बीमा तथा वित्तीय संस्थाहरुको संस्थापक र सर्वसाधारण शेयरका लागि अलग–अलग आईएसआईएन नम्बर दिने नीति नै अहिलेको समस्याको जड भएको बताउनु भयो । अध्यक्ष अग्रवालकाअनुसार एउटै कम्पनीको शेयरमा दुईवटा मूल्य (ड्यूअल प्राइस) हुनुले बजारमा ‘स्पेकुलेसन’ (अनुमानित कारोबार) लाई बढावा दिएको छ । 

    १२. अमेरिकाको कुनैपनि गतिविधिलाई ‘आक्रमणको कार्य’ मान्ने इरानको चेतावनी

    इरानले अमेरिकाको कुनैपनि गतिविधिलाई ‘आक्रमणको कार्य’ मान्ने चेतावनी दिएको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले सोमवार तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा अमेरिकाले इरानमाथि जुनसुकै स्तर वा आकारको आक्रमण गरे पनि त्यसलाई आक्रमणको कार्य ठानिनेछ र यसको परिणाम भोग्नुपर्ने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, ‘यदि इरान र अमेरिकाबीच भइरहेको अप्रत्यक्ष आणविक वार्ताले युद्धमा परिणत भएमा इरानी सशस्त्र सेनाले उचित जवाफ दिनेछन्। इरानी सेना सधैं शतर्क छ र देशको रक्षा गर्न २४ घण्टा तयार रहेको छ ।’ बघाईले इरानी सशस्त्र सेनाले कुटनीतिक वार्तासँगै घटनाक्रमको निगरानी गरिरहेको बताउनु भयो । इरान कुटनीतिक मार्गलाई गम्भीरतापूर्वक पछ्याउन प्रतिवद्ध छ र आगामी दिनमा अमेरिकासँग नयाँ चरणको वार्ता गर्ने आशा गरेको छ । 

    १३. अमेरिकी सेना सिरियाको कासरक आधारबाट फिर्ता हुँदै

    अमेरिकी सेनाले सिरियाको हसकाह प्रान्तमा रहेको कासरक सैन्य आधारबाट फिर्ता हुन थालेको छ । तिनीहरूलाई इराकतर्फ पुनः तैनाथ गरिएको छ । सिरिया टीभीले सोमवार यो खबर रिपोर्ट गरेको छ । तर थप विवरण भने उपलब्ध गराएको छैन । यो कदम सिरियामा अमेरिकी नेतृत्वको गठबन्धन सेनाहरूको केही भागबाट फिर्ता हुने अर्को चरण हो । यस महिनाको शुरुमा सिरियाको अन्तरिम प्राधिकरणले अमेरिकासँगको समन्वयमा हसकाह प्रान्तको शद्दादी सैन्य आधार र सिरिया–इराक–जोर्डन सीमामा रहेको तानफ आधार नियन्त्रणमा लिएको बताएको थियो । यसैबीच, अमेरिकी मिडियाले वाशिंगटनले सिरियाबाट आफ्ना लगभग १ हजार सैनिकहरूलाई पूर्ण रूपमा फिर्ता लैजाँदै गरेको रिपोर्ट गरेको छ । बाँकी अमेरिकी सेनाहरू आगामी दुई महिनाभित्र देश छोड्ने अपेक्षा गरिएको छ । जसले दशक लामो अमेरिकी सैन्य उपस्थितिको अन्त्य गर्नेछ ।अमेरिकी सेनाहरू सन् २०१४ मा इस्लामिक स्टेट (आईएस) लाई परास्त गर्नका लागि सिरियामा पहिलो पटक तैनाथ भएका थिए ।

    १४. ईरानद्वारा अमेरिकासँग अन्तरिम आणविक सम्झौतामा सहमत हुने अनुमान अस्वीकार

    ईरानले अमेरिकासँग अप्रत्यक्ष आणविक वार्तामा अन्तरिम (अस्थायी) सम्झौता गर्ने सम्भावनाबारे फैलिएका हल्ला र अटकलहरूलाई पूर्ण रूपमा अस्वीकार गरेको छ । ईरानको परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले सोमवार तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा यस्ता अटकलहरूको कुनै आधार नभएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘अन्तरिम सम्झौताबारेका अटकलहरू निराधार छन् । कुनैपनि वार्ताको विवरण वार्ताको टेबलमा नै छलफल हुन्छ ।’ बघाईले ईरानको स्थिति स्पष्ट रहेको उल्लेख गर्दै भन्नुभयो, ‘हामी अमेरिकी ‘क्रूर’ प्रतिवन्धहरू अन्त्य गर्ने र आणविक मुद्दामा आफ्नो स्पष्ट अडान राख्छौं । हामीलाई अमेरिकी पक्षको दृष्टिकोण पनि राम्ररी थाहा छ ।’ उहाँले दुवै पक्षले सद्भावना देखाएमा ‘आगामी दुई–तीन दिनभित्र अर्को चरणको वार्ता गर्न सकिने आशा रहेको’ बताउनु भयो । ईरान कुटनीतिक मार्गबाट अघि बढ्न प्रतिवद्ध रहेको तर आफ्ना वैधानिक अधिकारहरूबाट कहिल्यै पछि नहट्ने उनको जोड थियो ।

    १५. क्यारिबियन सागरमा कथित लागुऔषध तस्करीको डुंगा माथि अमेरिकी सेनाको आक्रमणः ३ जनाको मृत्यु

    अमेरिकी सेनाले क्यारिबियन सागरमा कथित लागूऔषध बोकेको डुंगा माथि आक्रमण गर्दा तीन जनाको मृत्यु भएको छ । यूएस साउदर्न कमान्डले सोमवार यो जानकारी दिएको हो । कमान्डले एक्स (पूर्व ट्विटर) मा पोस्ट गर्दै भनेको छ, ‘खुफिया जानकारीका आधारमा यो डुंगा क्यारिबियनमा लागुऔषध तस्करीका ज्ञात रुटहरू प्रयोग गर्दै तस्करी कार्यमा संलग्न थियो ।’ यो कारबाहीमा तीन जना पुरुष ‘नार्को–टेररिस्ट’ हरू मारिएका छन् । अमेरिकी सेनाका कुनैपनि जवानलाई क्षति पुगेको छैन । यो घटना ट्रम्प प्रशासनले सेप्टेम्बरबाट शुरु गरेको अभियानको हिस्सा हो । जसमा क्यारिबियन र पूर्वी प्रशान्त महासागरमा कथित लागूऔषध तस्करीका डुंगाहरू माथि ४४ वटा आक्रमण गरिसकिएको छ । यी आक्रमणहरूमा कम्तीमा १५० जनाको मृत्यु भएको दाबी गरिएको छ । 

    १६. मानव अधिकार उल्लङ्घनले दुई–राज्य समाधानलाई खोस्दै लगेको छः संयुक्त राष्ट्रका महासचिव

    संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्यालेस्टाइन–इजरायल द्वन्द्व प्रभावित क्षेत्रहरूमा मानव अधिकार, मानव मर्यादा तथा अन्तर्राष्ट्रिय कानूनको खुलमखुल्ला उल्लङ्घन भइरहेको बताउनुभएको छ । जेनेभामा मानव अधिकार परिषद्को ६१ औँ सत्रको उद्घाटनमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । गुटेरेसले वर्तमान दिशा अत्यन्त स्पष्ट, कठोर र उद्देश्यपूर्ण रहेको बताउनु भयो । दुई–राज्य समाधानलाई खुला रूपमा नै खोस्दै लगिएको उल्लेख गर्नुभयो । उहाँले यस महिनाको शुरुमा प्यालेस्टाइनी जनताको अविभाज्य अधिकार सम्बन्धी समितिमा गरेको सम्बोधनलाई सन्दर्भ गर्दै कब्जा गरिएका प्यालेस्टाइनी क्षेत्रहरूमा मानव अधिकार तथा अन्तर्राष्ट्रिय कानूनको ठूलो उल्लङ्घन भएको उल्लेख गर्नुभयो । उहाँले विश्वव्यापी रूपमा कानूनको शासनलाई बलको शासनले प्रतिस्थापन गर्दै लगेको बताउँदै मानव अधिकारमाथि पूर्ण आक्रमण भइरहेको बताउनु भयो ।

    १७. रुसको बैकाल विमानको प्रोटोटाइपले पहिलो उडान पूरा ग¥यो

    रुसको उद्योग तथा व्यापार मन्त्रालयले सोमवार जानकारी दिएको छ कि रुसको एलएमएस–९०१ बैकाल हल्का बहुउद्देश्यीय विमानको पाँचौं प्रोटोटाइपले आफ्नो पहिलो परीक्षण उडान सफलतापूर्वक पूरा गरेको छ । यो कार्यक्रममा यो तेस्रो उडान–योग्य मोडेल हो । उक्त उडान करिव १० मिनेटसम्म चलेको थियो । जसमा विमानले ३०० मिटर उचाइमा पुगेर १९० किलोमिटर प्रति घण्टाको गतिमा उडान गरेको थियो । ‘प्रोटोटाइपले ग्राउन्ड टेस्ट सफलतापूर्वक पास गरेको थियो र पहिलो उडान पूरा ग¥यो । विमानले एयरफिल्डमाथि पूर्ण सर्कल बनायो र सामान्य अवतरण ग¥यो ।’ मन्त्रालयले भनेको छ । एलएमएस–९०१ बैकाल विमान सोभियतकालीन एएन–२ बहुउद्देश्यीय विमानको स्थान लिन डिजाइन गरिएको छ । यो नौ सिट क्षमताको उपयोगिता विमान हो । 

    १८. उद्योग खोल्न नेतालाई गुहार्नुपर्ने र खोलेपछि चन्दा दिनुपर्ने व्यवस्था अन्त्य गर्छौंः बालेन्द्र साह

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहले उद्योग स्थापना गर्न नेताहरूकोमा धाउनुपर्ने र सञ्चालनपछि चन्दा दिनुपर्ने अवस्थाको अन्त्य गर्ने बताउनुभएको छ । मंगलवार इटहरीमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले रास्वपाले उद्योगमैत्री वातावरण निर्माण गर्ने बताउनुभएको हो । पूर्वी क्षेत्र देशकै पहिलो उद्योग–कलकारखाना स्थापना भएको बताउनु भयो । खानेतेलदेखि मरमसलासम्मका उद्योग यहाँ भएपनि नयाँ उद्योगहरु भने खुल्न नसकेको उहाँको भनाई छ । नयाँ उद्योग खोल्नका लागि राजनीतिक र प्रशासनिक झन्झट व्यहोर्नुपर्ने अवस्था रहेको उहाँले बताउनु भयो । उहाँकाअनुसार हाल नयाँ फ्याक्ट्री खोल्नुप¥यो भने १० वटा नेतालाई ढोग्नुपर्छ, १० वटा कर्मचारीलाई फकाउनुपर्छ । बल्ल–बल्ल फ्याक्ट्री खुलिहालेपनि चलाउन थालेपछि चन्दा आतंक शुरु हुने गरेको उहाँले बताउनु भयो । 

    १९. गगनलाई रविको कटाक्षः ‘सुध्रिन मन भए पाँच वर्ष प्रतिपक्ष बनेर आउनु’

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली काँग्रेसका सभापति गगन थापालाई पाँच वर्ष प्रतिपक्ष बन्न सुझाव दिनुभएको छ । मंगलवार इटहरीमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले थापालाई कटाक्ष गर्दै सुध्रिन वा बदलिन चाहे पाँच वर्षपछिको विकल्प बन्न सुझाव दिनुभएको हो । उहाँले यो पाँच वर्ष सरकार रास्वपाले चलाउने दाबी गर्नुभयो । उहाँले समानुपातिक र प्रत्यक्षमा फरक फरक चिन्हमा मतदान गर्नको लागी मतदातालाई भ्रममा पार्न खोजिएको आरोप लगाउनु भयो । उहाँले दुवैतर्फ रास्वपालाई मतदान गरेर बहुमत दिन आग्रह गर्नुभयो । उहाँले फागुन २१ गतेलाई इतिहासको पन्नामा सुनौलो अक्षरमा लेखिने पनि दाबी गर्नुभयो । 
    उहाँले भन्नभुयो, ‘यहाँ कसै कसैले तपाईलाई झुक्याउलान्, समानुपातिकमा एउटा भोट, प्रत्यक्षमा अर्को भनेर । बहुमतको सरकार प्राप्त गर्नको लागि प्रत्यक्ष र समानुपातिक दुवैतिर घण्टी । कुनै दललाई सप्रिन, सुध्रिन मन छ भने पाँच वर्ष सडकको प्रतिपक्ष बनेर सप्रिएर आउन्, हामीले खराब ग¥यौँ भने तिनि विकल्प बनेर आउन् ।

    २०. निर्माण व्यवसायीलाई रविको जवाफः ‘डोरीले होइन,कानूनले बाँध्ने भनेको हो’

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्माण व्यवसायीहरुलाई विज्ञप्ति निकालेर प्रतिक्रिया जनाउनुभन्दा विकास निर्माणका काममा केन्द्रित हुन आग्रह गर्नुभएको छ । मंगलवार ईटहरीमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीले आफ्ना धारणा सार्वजनिक गर्दा केही पक्ष आत्तिएको टिप्पणी गर्दै अब देश विकास निर्माणको बाटोमा अघि बढिसकेको दाबी गर्नुभयो । उहाँले निर्माण व्यवसायीहरुलाई दुई–तीन सिफ्टमा, रातदिन काम गर्नेगरी तयारी गर्न आग्रह गर्दै आवश्यक उपकरण पर्याप्त नभए नयाँ उपकरण खरिदको तयारी गर्न सुझाव दिनुभयो । सभापति लामिछानेले अब कानूनअनुसार काम हुने स्पष्ट पार्दै कसैलाई ‘डोरीले बाँध्ने’ नभई कानूनले नै बाँधेर काम गराइने बताउनु भयो ।

    २१. निर्वाचित भए काठमाडौंका खोला–नदी ढलमुक्त बनाउँछुः कृष्ण सबुज बानियाँ

    नेपाली काँग्रेस काठमाडौंका सभापति एवं काठमाडौं क्षेत्र नम्बर ६ का काँग्रेस उमेदवार कृष्ण सबुज बानियाँले सबुज कृष्ण बानियाँले आफू निर्वाचित भए काठमाडौंका खोला–नदीलाई र ढलमुक्त बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । मंगलवार यहाँ आयोजित चुनावी सभालाई सम्बोधन गर्दै बानियाँले काठमाडौंलाई प्रदुषणमुक्त र ढलमुक्त बनाउने प्रतिज्ञा गर्नुभएको हो । उहाँले सिंगो काठमाडौंको वातावरणीय सुधार आफ्नो प्राथमिक एजेण्डा रहेको उल्लेख गर्नुभयो । उहाँले काठमाडौंका विभिन्न क्षेत्रबाट निर्वाचित हुने जुनसुकै दलका जनप्रतिनिधिसँग समन्वय गरेर खोलामा मिसिएको ढल व्यवस्थापन र प्रदुषण नियन्त्रणका लागि अग्रसर हुने दाबी गर्नुभयो । बानियाँले सांस्कृतिक सम्पदाको संरक्षणलाई पनि उत्तिकै महत्व दिएको उल्लेख गर्दै परापूर्वकालदेखि रहेका सम्पदाको यथोचित व्यवस्थापन र प्रवद्र्धन गरिने बताउनु भयो । काठमाडौं उपत्यकाको ऐतिहासिक तथा सांस्कृतिक पहिचान जोगाउन समन्वित पहल आवश्यक रहेको उहाँको भनाइ छ । उहाँले शिक्षा क्षेत्र सुधार आफ्नो अर्को प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै सामुदायिक विद्यालयको गुणस्तर उकास्न विशेष कार्यक्रम ल्याउने प्रतिवद्धता जनाउनु भयो ।

    २२. कुनैपनि बहानामा निर्वाचनको मिति सार्ने काम गर्नु हुन्नः एमाले

    नेकपा (एमाले) ले निर्वाचनको मिति सार्ने षड्यन्त्र भइरहेको भन्दै आपत्ति जनाएको छ । मंगलवार पार्टी मुख्यालय च्यासलमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै पार्टीका प्रचार विभाग संयोजक मीनबहादुर शाहीले निर्वाचनको मिति पार्ने हल्ला फिँजाइएको भन्दै त्यसबारे स्पष्ट पार्न पनि सरकारसँग माग गर्नुभयो । उहाँले निर्वाचनको मिति कुनै पनि बहानामा सार्न नहुने कुरामा एमाले दृढ रहेको पनि बताउनु भयो । एमालेले निर्भयताका साथ निर्वाचनमा मतदान गर्ने वातावरण सुनिश्चित गर्न पनि सरकारलाई सचेत गराएको छ । प्रचार संयोजक शाहीले भन्नुभयो, ‘फागुन २१ गतेको निर्वाचन कुनै पनि बहानामा कुनैपनि विषय अगाडि सारेर निर्वाचन सार्ने जे हल्ला पिटाइँदैछ बजारमा । त्यो तपाईहरुले पनि सुन्नुभएको छ । त्यसकारण हामीले के भनेको हौ भने–फागुन २१ गते कुनैपनि बहानामा निर्वाचन सर्नु हुँदैन । फागुन २१ मा नै निर्वाचन हुनुपर्छ भनेर भनेका हौँ । निर्वाचनको मिति सछै भन्ने एमालेलाई शंका छैन । तर जे हल्ला पिटाइएको छ । तपाईहरु सबैलाई निर्वाचन हुन्छ र भन्ने शंका छ । 

    २३. गैरसरकारी संस्थाहरुले नेपालको राष्ट्रिय प्राथमिकताअनुसार काम गर्नुपर्छः प्रधानमन्त्री कार्की

    प्रधानमन्त्री सुशील कार्कीले गैरसरकारी संघ, संस्थाहरुले नेपालको राष्ट्रिय प्राथमिकता र जनताको आवश्यक्ता अनुसार स्रोत, साधन परिचालन गर्नुपर्ने बताउनुभएको छ । मंगलवार समाज कल्याण परिषद्को डिजिटल सेवा शुभारम्भ गर्दै उहाँले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री कार्कीले राज्यको नीतिअनुसार सामाजिक तथा नागरिक संस्थाहरु सक्रिय हुनु लोकतन्त्रको सवल पक्ष भएको पनि उल्लेख गर्नुभयो । उहाँले नेपालमा सामाजिक संघ, संस्थाहरुले विपद्मा खेलेको भुमिका प्रशंशनीय रहेको पनि बताउनु भयो । जनसहभागिता, दिगोपना, मितव्ययिता, लक्षित वर्गमुखि कार्यक्रम र स्वयमसेवी भावनालाई आत्मासात गर्दै अघि बढे गैरसरकारी संस्थाहरुको सान्दर्भिकता अझै बढेर जाने प्रधानमन्त्री कार्कीको विश्वास छ । 

    २४. जेन–जी परिषद् गठन गर्ने सरकारको निर्णय

    सरकारले जेन–जी परिषद् गठन गर्ने भएको छ । मंगलवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद बैठकले सो निर्णय गरेको हो । जेन–जी आन्दोलनको बलमा गठन भएको वर्तमान सरकारमाथि उनीहरुको माग सम्बोधनका लागि ठोस निर्णय लिन नसकेको भन्दै आलोचना हुँदै आएको छ । त्यसैगरी सरकारले विमा ऐन, २०७९ को दफा १४० बमोजिमको कसुर सम्बन्धि मुद्दाको कारबाही र किनारा लगाउने जिम्मेवारी जिल्ला अदालतलाई दिने निर्णय पनि गरेको सरकार प्रवक्ता समेत रहनुभएका गृहमन्त्री ओमप्रकाश अर्यालले बताउनु भयो ।

    २५. फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

    सरकारले यही फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने भएको छ । मंगलवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले फागुन २१ गते हुने निर्वाचनका लागि ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सार्वजनिक विदा दिने निर्णय गरिएको सरकारका प्रवक्ता समेत रहनुभएका गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो । त्यसैगरी निर्वाचनका लागि चीन सरकारले अनुदान सहायताको रुपमा लिन लागेको ४ मिलियन अमेरिकी डलर करिव ५४ करोड नेपाली रुपँयाँ स्वीकार गर्ने निर्णय पनि गरिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश डा. दिवाकर भट्टलाई काठमाडौं जिल्ला अदालतको काम समेत हेर्ने गरी उपभोक्ता अदालत काठमाडौंको अध्यक्ष तोक्ने, विमा ऐन २०७९ को दफा १४० बमोजिमको कसुर सम्बन्धि मुद्दाको कारबाही र किनारा गर्न जिल्ला अदालतलाई तोक्ने निर्णय पनि सरकारले गरेको छ ।

    २६. उत्पादनमुखी अर्थतन्त्र निर्माण मेरो मुख्य एजेण्डा होः वरिष्ठ उपाध्यक्षका प्रत्यासी ढकाल

    नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै हेमराज ढकालले उत्पादनमुखी अर्थतन्त्र निर्माणलाई आफ्नो मुख्य एजेण्डा बनाएको बताउनुभएको छ । हाल वस्तुगत उपाध्यक्ष रहनुभएका ढकालले आफूले प्रतिकूल परिस्थितिमा समेत उल्लेखनीय काम गर्न सफल भएको दाबी गर्दै उत्पादनमुखी अर्थतन्त्र र व्यवसायीको मनोबल बढाउनु नै आफ्नो पहिलो प्राथमिकता हुने बताउनुभएको हो । निजी क्षेत्रका समस्या समाधान नै आफ्नो मुख्य दायित्व रहेको बताउँदै उहाँले आफू निर्वाचित भए सरकारसँग राख्नुपर्ने विषय स्पष्ट रूपमा राख्ने र आवश्यक परे सरकारी निकायका ढोका ढक्ढक्याउने बताउनु भयो । राजधानीमा भएको उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै उहाँले अघिल्लो कार्यकालमा नीतिगत स्थिरता कायम गर्न तथा विभिन्न कानून संशोधन गर्न पहल गरिएको बताउनु भयो ।

    २७. उद्योग वाणिज्य महासंघको अग्रसरतामा १० अर्बको कम्पनी खडा गरेका छौँः ढकाल

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशभरका उद्योगी÷व्यवसायीसहितको संलग्नतामा आफ्नो कार्यकालमा १० अर्ब बराबरको पुँजी भएको नेपाल डेभलपमेण्ट पब्लिक लिमिटेड (एनडीपी) कम्पनी सञ्चालनमा ल्याउन सफल भएको बताउनुभएको छ । राजधानीमा भएको एक कार्यक्रममा ढकालले उद्योगी, व्यवसायी, गैरआवसिय नेपाली संघ (एनआरएन) सहितको सहभागितमा १० अर्ब एनडीपी कम्पनी संचालनमा ल्याइएको बताउँदै उक्त कम्पनीबाट ७७ जिल्लाका रहेको उद्यमी, नवप्रवर्तकहरुले पुँजी लिनसक्ने बताउनुभएको छ । उहाँका अनुसार नवप्रवर्तनलाई प्रवद्र्धन गर्नकै लागि कम्पनी सञ्चालनमा ल्याइएको बताउँदै यसबाट देशमा उद्योग व्यवसाय फस्टाउन सघाउ पुग्नेछ । 

    २८. निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका कामहरू नै मेरो मुख्य चुनावी एजेण्डा हुन्ः सुनिल शर्मा

    नेपाली काँग्रेसका नेता एवं मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. सुनिल शर्माले आफ्नो निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका कामहरू नै आफ्नो मुख्य चुनावी एजेण्डा भएको बताउनुभएको छ । पथरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै डा. शर्माले ‘काँग्रेस बोल्छ कम, काम बढी गर्छ’ भन्ने गिरिजाप्रसाद कोईरालाको मान्यतालाई आफूले व्यवहारमा उतारेको दाबी गर्नुभएको हो । उहाँले पथरीमा निर्माण भएको ३५ करोडको खानेपानी ट्याङ्की र ३० वर्षदेखि अलपत्र रहेको पथरी–डायनिया–सिक्टी व्यापारिक मार्गको निर्माण कार्यलाई आफ्नो प्रमुख उपलब्धिको रूपमा प्रश्तुत गर्नुभयो । डा. शर्माले गत ३५ वर्षदेखि सुकुम्वासीहरूले भोग्दै आएको धनीपुर्जा सम्बन्धी समस्या समाधानका लागि आफूले ठोस पहल गरेको बताउनु भयो । शिक्षा र स्वास्थ्य क्षेत्रमा आफ्नो विशेष रुचि रहेको बताउँदै डा. शर्माले २५ वर्षदेखि रोकिएको पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज सञ्चालनको निर्णय गराउन सफल भएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले आगामी दुई हप्ताभित्र डाक्टर पढ्ने विद्यार्थी आउने र ५ वर्षभित्र ५०० शैय्याको अत्याधुनिक टिचिङ अस्पताल निर्माण हुने घोषणा गर्नुभयो । 

    २९. राष्ट्रिय लिगमा चर्च ब्वाइजको चौथो जित, चित्लाङको चौथो बराबरी 

    रोहन कार्कीको उत्कृष्ट प्रदर्शनमा चर्च ब्वाइज युनाइटेडले जारी एन्फा राष्ट्रिय लिगमा चौथो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलवार भएको खेलमा चर्च ब्वाइजले विभागीय टोली त्रिभूवन आर्मी क्लवमाथि २–१० को संघर्षपूर्ण जित आत्मसात ग¥यो । चर्च ब्वाइजको जितमा रोहन र एबाओमी ओलुवासेनले समान एक गोल गरे । १–० ले पछाडि परेको अवस्थामा नवयुग श्रेष्ठले आर्मीलाई बराबरीमा ल्याएका थिए । तर त्यो बराबरी आर्मीले जोगाउन सकेन । जितसँगै ६ खेलमा १३ अंक जोड्दै चर्च ब्वाइज अंकतालिकाको पाँचौं स्थानमा स्थानमा उक्लिएको छ । प्लानिङ ब्वाइजको पनि १३ अंक नै छ । तर गोलअन्तरको आधारमा चर्च ब्वाइज पाँचौं स्थानमा उक्लियो । आर्मीको यो दोस्रो हार हो । समान खेलमा ११ अंक जोड्दै आर्मी सातौं स्थानमा छ ।

    ३०. काँग्रेस उपसभापति शर्मा भन्छन्ः देश जिम्मा लगाउने कुरा तरकारीको स्वाद फेरेजस्तो होइन

    नेपाली काँगेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुक जिम्मा लगाउने कुरा तरकारीको स्वाद फेरेजस्तो विषय नभएको भन्दै आवेगको आधारमा निर्णय नगर्न मतदातालाई आग्रह गर्नुभएको छ । मंगलवार मोरङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले चुनावी प्रतिष्पर्धालाई मर्यादित बनाउन समेत सबै दलहरुलाई आग्रह गर्नुभयो । चुनावमा जाँदा विपक्षी दलमाथि गाली–गलौज नगरी शान्त र सभ्य ढंगले अघि बढ्नुपर्ने उहाँको धारणा छ । उहाँले कतिपय राजनीतिक दलहरुले चुनावलाई युद्धसँग तुलना गर्ने गरेको उल्लेख गर्दै त्यस्तो मानसिकताले मुलुकको भलो हुन नसक्ने टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘चुनावमा जाँदै गर्दा विपक्षीलाई गाली नगरिकन जानुपर्छ । चुनाव भनेको युद्धको मैदान होइन । कतिपयहरुले हामी युद्धमा छौँ भन्नुहुन्छ । यहाँ आवेगको कुरा छ, झोकको कुरा छ, रिसको कुरा छ, देखाउँला भन्ने कुरा छ ।

    प्रकाशित मिति :फाल्गुण १२ २०८२ मंगलवार - २०:४३:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij