Logo

२०८२ फाल्गुण ११ गते सोमवार

२०८२ फाल्गुण ११ गते सोमवार

आज दिनभरको २३ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्

आज दिनभरको २३ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्


  • 442
    Shares

    आज दिनभरको २३ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्

    १. सरकारलाई सचेत गराउँदै काँग्रेसले भन्यो–‘निष्पक्षतामा दायाँबायाँ गर्ने छुट छैन’

    नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले शासनको वैधताको एक मात्र स्रोत जनताको मताधिकार भएको भन्दै निर्वाचनको कुनै विकल्प नरहेको स्पष्ट पार्नुभएको छ । पार्टीद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता चालिसेले निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र निष्पक्ष बनाउने सम्पूर्ण दायित्व सरकारको भएको स्मरण गराउनुभएको हो । पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो वक्तव्यदेखि लिएर काँग्रेसमा भइरहेको अन्य दलका नेताहरूको प्रवेशसम्मका विषयमा उहाँले पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्नुभयो । सरकारलाई सचेत गराउँदै काँग्रेसः ‘निष्पक्षतामा दायाँबायाँ गर्ने छुट छैन’ स्वतन्त्र र भयरहित वातावरणमा मतदान गर्न पाउनु जनताको नैसर्गिक अधिकार भएको कुरामा जोड दिँदै प्रवक्ता चालिसेले सरकारलाई आफ्नो कर्तव्यप्रति सचेत गराउनु भयो । 

    २. भोट भनेको शक्ति हो, आफ्नो शक्ति हस्तान्तरण गर्दा हजारचोटि सोच्नुस्ः राजेन्द्र लिङदेन

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले मतदाताहरूलाई आफ्नो भोटको शक्ति बुझ्न र मतदान गर्नुअघि गम्भीरतापूर्वक सोच्न आग्रह गर्नुभएको छ । बुटवलमा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै उहाँले भोट भनेको शक्ति भएको र यसलाई हस्तान्तरण गर्दा हजारचोटि विचार गर्नुपर्ने बताउनुभएको हो । लिङदेनले विगतमा मतदाताहरू झुटो आश्वासन, केही लिटर पेट्रोल, केही सय रुपैयाँ, वा माछामासु र मादकपदार्थको प्रलोभनमा परेर मतदान गर्दै आएको टिप्पणी गर्नुभयो । सत्तामा बस्ने नेताहरूले नयाँ समझदारी नगरे र आफ्ना गल्ती नसच्याए देश दुर्घटनामा जाने लिङदेनको चेतावनी छ । अध्यक्ष लिङदेनले राजा, राजनीतिक दल र युवा पुस्ताबीच नयाँ समझदारीको आवश्यकता औंल्याउनु भयो । निषेधको राजनीति अन्त्य गरी देशले जित्ने वातावरण बनाउनुपर्ने उहाँको तर्क छ । उहाँले राप्रपालाई संसदमा बलियो शक्तिको रूपमा पु¥याउन मतदातासँग सहयोग माग्नुभयो । राप्रपासँग देश बनाउने स्पष्ट योजना रहेको दाबी गर्दै लिङदेनले भ्रष्टाचारमुक्त ढंगले काम गरे ५–६ वर्षभित्रै देशको मुहार फेरिने बताउनु भयो । 

    ३. निर्वाचनको विकल्प छैन, कुनैपनि हालतमा रोकिँदैनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी

    निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी निर्वाचन मुलुकको सुशासन र संविधानको रक्षाका लागि निर्विकल्प रहेको बताउनुभएको छ । गोरखापत्र संस्थानद्वारा आयोजित ‘निर्वाचन समाचार अभिमुखीकरण’ कार्यक्रममा बोल्दै उहाँले निर्वाचनको मिति तोकिएपछि विभिन्न संशय र हल्ला फैलाइए पनि मतदान प्रक्रिया कुनैपनि हालतमा नरोकिने दृढता व्यक्त गर्नुभयो । निर्वाचनको विकल्प निर्वाचन नै भएको उहाँको भनाइ छ । केही कुण्ठित तत्वहरूले निर्वाचन रोकिन्छ कि भन्ने भ्रम फैलाउन खोजेको उहाँको आरोप छ । ‘निर्वाचनको विकल्प निर्वाचन नै हो ।’ भण्डारीले भन्नुभयो, ‘केही कुण्ठित तत्वहरूले निर्वाचन रोकिन्छ कि भन्ने भ्रम फैलाउन खोजेका छन्, तर नेपाली जनता कसैको कुण्ठा पूर्ति गर्ने साक्षी बस्दैनन् । २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान भएरै छाड्छ ।’

    ४. निर्वाचन आउन ११ दिन बाँकी, ६ हजार ७४३ वडामा मतदाता शिक्षा कार्यक्रम जारी

    आगामी निर्वाचनका लागि अब मात्र ११ दिन बाँकी रहँदा निर्वाचन आयोगले आफ्नो तयारीलाई तिब्र बनाएको छ । मतदाताहरूलाई मतदान गर्ने सही तरिका सिकाउन र बदर मतको सङ्ख्या न्युनिकरण गर्न आयोगले देशका सबै ६ हजार ७४३ वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ । निर्वाचन आयोगकाअनुसार प्रत्येक वडामा कम्तीमा एक जना स्वास्थ्य स्वयंसेविका वा स्थानीय शिक्षकलाई मतदाता शिक्षाका लागि खटाइएको छ । उनीहरूले घर–दैलो कार्यक्रम मार्फत मतदातालाई मतपत्रमा छाप लगाउने तरिका, मतपत्र पट्याउने विधि र मतदान केन्द्रमा पालना गर्नुपर्ने नियमहरूका बारेमा जानकारी दिइरहेका छन् । विगतका निर्वाचनहरूमा बदर मतको प्रतिशत उच्च देखिएकाले यसपटक आयोगले विशेष शतर्कता अपनाएको छ । विशेषगरी ग्रामीण भेग र ज्येष्ठ नागरिकहरूलाई लक्षित गरी नमूना मतदान कार्यक्रमहरू पनि आयोजना भइरहेका छन् । आयोगले रेडियो, टेलिभिजन र सामाजिक सञ्जालमार्फत पनि विभिन्न भाषाहरूमा चेतनामूलक सामग्रीहरू प्रसारण गरिरहेको छ । 

    ५. अर्बौं खर्च भइसकेकाले अब चुनाव हुनु नै राम्रो छ, हामी विजयको तयारीमा छौंः अध्यक्ष ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्यको अर्बौं रुपैयाँ खर्च भइसकेकाले अब निर्धारित समयमै निर्वाचन हुनुपर्ने बताउनुभएको छ । चुनाव स्थगित गर्न अझै पनि विभिन्न प्रयासहरू भइरहेको दाबी गर्दै उहाँले एमाले भने कुनै अल्मलमा नपरी चुनाव जित्ने तयारीमा लागिसकेको स्पष्ट पार्नुभएको हो । अध्यक्ष ओलीले निर्वाचनको तयारीमा राज्य र उम्मेदवारहरूको ठूलो धनराशि खर्च भइसकेकोतर्फ ध्यानाकर्षण गराउनु भयो । उहाँले विगत ६ महिनासम्म आफूहरूले कोशिस गर्दा कसैले चासो नदिएको तर अहिले अन्तिम समयमा आएर चुनाव हुँदैन भन्नु गलत भएको बताउनु भयो । निर्वाचन स्थगित हुने हल्ला चले पनि एमाले नअल्मलिईकन अगाडि बढ्ने र चुनाव जित्नैपर्ने उहाँको भनाइ छ । अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै कुनै आधार नभएको ‘जोडजामवाला पार्टी’ सानो भाँडोमा चर्को आगो बालेर उमालेको दुधजस्तै उम्लिएको टिप्पणी गर्नुभयो । 

    ६. ६० वर्षे राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार गरिनँ, देशको माया गर्दा चौतर्फी प्रहार भयोः अध्यक्ष ओली

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूले देश र जनताको पक्षमा काम गर्दा चौतर्फी प्रहार र घेराबन्दीको निशानामा परेको बताउनुभएको छ । आफ्नो ६० वर्षे लामो राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार नगरेको र कमिसनको खेलमा नलागेको दाबी गर्दै उहाँले देशको विकास र राष्ट्रियताको पक्षमा उभिएकै कारण आफूमाथि आक्रमण भइरहेको जिकिर गर्नुभएको हो । झापामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो नेतृत्वमा मिचिएको भूभाग फिर्ता ल्याउनेदेखि उत्तरतिरको नाका खोल्ने र दक्षिणमा हुलाकी राजमार्ग निर्माण गरेर मधेसको अर्थतन्त्र उकास्ने काम भएको स्मरण गराउनु भयो । अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहप्रति लक्षित गर्दै एउटा पालिका चलाउन असफल भएकाहरूलाई देश चलाउने जिम्मा दिन नसकिने बताउनु भयो ।  देश कुनै प्रयोगशाला वा मजाक गर्ने ठाउँ नभएको भन्दै उहाँले देश बनाउने सफल र सक्षम शक्तिलाई छाडेर असफल भइसकेका र चिन्दै नचिनेकालाई भोट दिनुपर्ने भाष्य निर्माण गर्न खोजिएकोमा असन्तुष्टि व्यक्त गर्नुभयो । 

    ७. ‘देश बनाउने र जलाउनेबीचको लडाईंमा एमालेको जित अनिवार्य छ’ः अध्यक्ष ओली

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनलाई ‘देश बनाउने र देश जलाउने’ शक्तिहरूबीचको लडाईंको रूपमा चित्रण गर्नुभएको छ । झापामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले देशको सार्वभौमसत्ता, विकास र समृद्धिका लागि एमालेले जित्नैपर्ने दाबी गर्नुभयो । आफ्ना पुराना राजनीतिक सहयात्रीहरू माननीय हरिवंश सिवाकोटी र डा. केआर खम्बु लगायतका पुराना नेताहरूको योगदानको स्मरण गर्दै ओलीले एमाले ५०–६० वर्षदेखि निरन्तर आन्दोलनमा रहेको र देशको भविष्य यसै पार्टीसँग सुरक्षित रहेको बताउनु भयो । अध्यक्ष ओलीले निर्वाचन रोक्ने र बिथोल्ने प्रयासहरू भइरहेको भन्दै आपत्ति जनाउनु भयो । ‘अहिले पनि निर्वाचन रोक्ने प्रयास भइरहेका छन्, तर हामी नअल्मलीकन विजयको तयारीमा लाग्छौं ।’ उहाँले भन्नुभयो । विपक्षी दलहरूले एमालेको झण्डा जलाउने र अवाञ्छित क्रियाकलाप गरेर निर्वाचनको वातावरण बिगार्न खोजेको आरोप लगाउँदै उहाँले झण्डाको अपमान गर्नु निर्वाचन विरुद्धको अपराध भएको बताउनु भयो । 

    ८. क्यामरुनमा चिनियाँ गीत प्रतियोगिता सम्पन्न

    क्यामरुनस्थित याउण्डे विश्वविद्यालयको सोआ क्याम्पसमा १२ औं संस्करणको भ्वाइस अफ क्यामरुन चिनियाँ गीत प्रतियोगिताको फाइनल सम्पन्न भएको छ । याउन्डे विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युटद्वारा आयोजित यो प्रतियोगिता चिनियाँ संगीतका विद्यार्थी तथा उत्साहीहरूका लागि आदान–प्रदानको महत्वपूर्ण मञ्च बनेको छ । पछिल्लो एक दशकमा सयौं स्थानीय चिनियाँ भाषा सिक्नेहरूले यो प्रतियोगितामा भाग लिएका छन् । यो प्रतियोगिताले क्यामरुनमा चिनियाँ भाषा र संस्कृतिको प्रचारमा महत्वपूर्ण भुमिका खेलिरहेको छ ।

    ९.चीन बन्दै विश्वमा स्थिरताको नयाँ स्रोतः विशेषज्ञहरू

    विश्वमा अनिश्चितता र अशान्तिको बीचमा स्थिरता र सहयोगको खोजी बढ्दो छ । विशेषज्ञहरूकाअनुसार अन्तर्राष्ट्रिय मामिलामा चीन ‘निश्चितता’को स्रोतको रूपमा उभिरहेको छ । मार्क बीसन (अस्ट्रेलिया–चीन सम्बन्ध संस्थान, युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीका एडजङ्क्ट प्रोफेसर) ले यदि कुनै महाशक्तिले स्थिरता प्रवद्र्धन गर्न केही गरिरहेको छ भने त्यो अमेरिकाभन्दा चीन बढी सम्भावित रहेको बताउनु भयो । चीनको अर्थतन्त्र यति ठूलो छ कि अन्तर्राष्ट्रिय मामिलामा यसको भूमिका ठूलो हुनु अपरिहार्य रहेको उहाँको बुझाइ छ । केही देशहरूले चीनसँग कूटनीतिक सम्बन्ध सुधार्न थालेका छन् । जसले परिवर्तनशील अन्तर्राष्ट्रिय परिदृश्यलाई देखाएको उहाँले बताउनु भयो । युनाइटेड किंगडम जस्ता देशहरूले चीनसँग सम्बन्ध सुधार्न विशेष प्रयास गरिरहेका बताउनु भयो । 

    १०. ट्रम्पले नयाँ विश्वव्यापी भन्सार शुल्क १० प्रतिशतबाट बढाएर १५ प्रतिशत पु¥याए

    ट्रम्पले विश्वव्यापी ट्यारिफ १० प्रतिशतबाट बढाएर १५ प्रतिशत पु¥याउने घोषणा गर्नुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिवार सामाजिक सञ्जालमा पोस्ट गर्दै नयाँ विश्वव्यापी ट्यारिफलाई १५ प्रतिशत पु¥याउने घोषणा गर्नुभएको हो । यो घोषणा सर्वोच्च अदालतको फैसलाको एक दिनपछि आएको हो । जसले उहाँको पुरानो ट्यारिफ नीतिलाई अवैध ठहर गरेको थियो । उहाँले धेरै देशहरूले दशकौंदेखि अमेरिकालाई ‘ठगिरहेको’ आरोप लगाउँदै यो कदम चालेको बताउनुभएको छ । यसअघि शुक्रवार सर्वोच्च अदालतले ६–३ मतले ट्रम्पको अन्तर्राष्ट्रिय आपतकालीन आर्थिक शक्ति ऐन अन्तर्गत लगाइएको ट्यारिफ अवैध ठहर गरेको थियो । अदालतको फैसलापछि ट्रम्पले तुरुन्तै १० प्रतिशत विश्वव्यापी आयात शुल्क लगाउने आदेशमा हस्ताक्षर गर्नुभएको थियो । 

    ११. पर्ल रमजान बजार दोहामा फर्कियो

    दोहा, कतारको पर्ल आइल्याण्डमा चौथो संस्करणको पर्ल रमजान बजार सम्पन्न भएको छ । यो बजारले रमजानको जीवन्त वातावरण प्रदान गर्दै परिवार तथा आगन्तुकहरूका लागि विविध खानेकुरा र अनौठो किनमेलको अनुभव दिएको छ । यो बजारमा अन्तर्राष्ट्रिय कियोस्कहरू छन् जसले परम्परागत उत्पादनहरू जस्तै अरबी महिलाहरूको लुगा, सुगन्धित सामग्री, गहना तथा अन्य वस्तुहरू बिक्री गरिरहेका छन् । यहाँ आगन्तुकहरूले खजूर, मह, विभिन्न प्रकारका नट्स जस्ता प्रतिष्ठित खानेकुराहरू पनि अनुभव गर्न सक्छन् । किनमेलका साथै, यो कार्यक्रममा परिवारमैत्री गतिविधिहरू पनि छन् जसमा लाइभ उद र कानुन संगीत प्रदर्शन, सांस्कृतिक प्रवचन, बालबालिकाका लागि कला कार्यशाला तथा भित्ते चित्र कोर्ने सत्रहरू समावेश छन् । पर्ल आइल्याण्ड आफ्नो विलासी वाटरफ्रन्ट सेटिङ र विशिष्ट वास्तुकलाका लागि प्रसिद्ध छ र यो कतारको सबैभन्दा लोकप्रिय गन्तव्यहरू मध्ये एक हो । 

    १२. बंगलादेशले मनायो अन्तर्राष्ट्रिय मातृभाषा दिवस

    बंगलादेशले अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाएको छ । बंगलादेशको राजधानी ढाकामा तथा देशका अन्य भागहरूमा शनिवार मानिसहरूले १९५२ को भाषा आन्दोलनमा आफ्नो जीवन बलिदान गर्नेहरूको सम्मानमा श्रद्धाञ्जली अर्पण गरेका हुन् । विशेष दिवसको लागि मध्यरात्रीको एक मिनेटपछि बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दिन र प्रधानमन्त्री तारिक रहमानले ढाकाको केन्द्रिय शहीद मीनारमा माल्यार्पण गरेका थिए । यो शहीद मीनार एक पवित्र र प्रतिष्ठित स्मारक हो । स्थानीय तथा विदेशी व्यक्तित्वहरूले माल्यार्पण गरेपछि यो स्मारक सर्वसाधारणका लागि खुला गरियो । जीवनका सबै क्षेत्रका लाखौं मानिसहरू त्यहाँ पुगेर माल्यार्पण र फूलहरू चढाएर १९५२ मा तत्कालीन पूर्वी पाकिस्तानमा बंगालाई राज्य भाषा बनाउन जीवन बलिदान गर्नेहरूप्रति गहिरो सम्मान व्यक्त गरे । 

    १३. निर्वाचन पर्यवेक्षणको नाममा अवाञ्छित गतिविधि हुनसक्छन्, सचेत रहुनपर्छः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

    निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन पर्यवेक्षण गर्न आउने संस्था तथा व्यक्तिहरुले निहित स्वार्थपूर्तिका गतिविधि गर्नसक्ने बताउनुभएको छ । गोरखापत्र संस्थानले आईतवार आयोजना गरेको कार्यक्रममा उहाँले आयोगबाट अनुमति लिएर निर्वाचन पर्यवेक्षणमा खटिएका व्यक्तिहरूको गतिविधिमाथि निगरानी गरिदिन संचारमाध्यामलाई आग्रह गर्नुभयो । उहाँकाअनुसार विदेशी तथा स्वदेशी दुवै संस्थाका प्रतिनिधिहरू निर्वाचन पर्यवेक्षणमा सहभागी हुनेछन् । विदेशी संस्थाबाट उच्च पदस्थ व्यक्तिहरू, साथै विभिन्न देशका निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरू समेत नेपाल आउने उहाँले जानकारी दिनुभयो । उच्च पदस्थ व्यक्तिबाट अनुचित गतिविधि नहुने भएपनि अन्य व्यक्तिहरूप्रति भने सचेत रहनुपर्नेमा जोड दिनुभयो । केही व्यक्तिहरूले पर्यवेक्षणको नाममा मतदान स्थलमा पुगेर मतदान अधिकृतसँग अनावश्यक प्रश्न सोध्ने, मतदान प्रक्रियामा क्षणिक अवरोध सिर्जना गर्ने वा निर्वाचनलाई प्रभावित पार्ने प्रयास गर्नसक्ने बताउनु भयो । यदि कसैले पर्यवेक्षणका नाममा मतदान प्रक्रियामा असर पार्ने प्रयास गरेको देखिएमा तत्काल त्यस विषयमा समाचार संप्रेषण गरिदिन उहाँले सञ्चारकर्मीहरूलाई आग्रह गर्नुभयो । उहाँले विगतमा भएको निर्वाचनमा केही विदेशी संघ–संस्थाले पर्यवेक्षणको आवरणमा मतदातालाई विशेष चुनाव चिन्हमा मतदान गर्न वा नगर्न प्रचार गरेको तीतो अनुभव रहेको सुनाउनु भयो । 

    १४. निर्वाचनको वातावरण विथोलिने अवस्था बन्दैनः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

    निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तोकिएकै समयमा निर्वाचन हुने भएकोले ढुक्क भएर तयारीमा लाग्न आग्रह गर्नुभएको छ । गोरखापत्र संस्थानले आईतवार आयोजना गरेको कार्यक्रममा उहाँले केही तत्वहरुले निर्वाचन बिथोल्ने प्रयास गरेपनि त्यो प्रयास सफल नहुने बताउनुभएको हो । उहाँले तोकिएकै मिति र समयमा निर्वाचन सम्पन्न हुने उल्लेख गर्नुभयो । अझै पनि केही उम्मेद्वारहरुले आफूलाई निर्वाचनको वारेमा संशय राखेर फोन गर्ने गरेको उल्लेख गर्नुहुँदै भ्रममा नपरि निर्वाचनको प्रचारप्रसारमा लाग्न सुझाव दिनुभयो । उहाँले केही कुण्ठित व्यक्तिहरूले निश्चित उद्देश्य पूरा गर्न अनावश्यक हल्ला फैलाउने प्रयास गर्नसक्ने उल्लेख गर्नुभयो । अब नेपाली जनता त्यस्ता प्रायोजित हल्लाका साक्षी बस्न नसक्ने उहाँको भनाई छ । निर्वाचनको विकल्प निर्वाचन नै भएको दोहो¥याउँदै उहाँले निर्वाचनको वातावरण विथोलिने अवस्था अब नबन्ने जिकिर गर्नुभयो । राजनीतिक दल, उम्मेदवार र तिनका कार्यकर्ताहरू निर्वाचन प्रचार–प्रसारमा सक्रिय रहेको र उनीहरूले पनि निर्वाचन बाहेक अर्को विकल्प नदेखेको उहाँको भनाइ छ । नयाँ पुराना सबै शक्तिहरुले समेत निर्वाचनलाई नै मार्गका रूपमा स्वीकार गरेको उहाँको दाबी छ ।

    १५. काठमाडौं–४ का नेकपा उम्मेदवार भुसालको घोषणाः शिक्षा निःशुल्क र स्वास्थ्य सर्वसुलभ बनाउँछु

    नेपाली कम्युनिष्ट पार्टी नेकपाको तर्फबाट काठमाडौं निर्वाचन–क्षेत्र नं ४ का उम्मेदवार इन्द्र भुसालले आफू निर्वाचित भएमा हरेक नागरिकले प्रत्यक्ष रूपमा सुशासनको अनुभुति गर्ने वातावरण निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाँले यस्तो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । मुलुकमा सुशासन कायम गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको उहाँको भनाइ छ । उहाँले सडक यातायात व्यवस्थापन, खानेपानी, कृषि, शिक्षा, स्वास्थ्य, महिला उद्यमशीलता, खेलकुद तथा पर्यटनलाई प्राथमिकतामा राखेर काम गर्ने दाबी गर्नुभयो । उहाँले सडक ट्राफिक व्यवस्थापनलाई दीर्घकालीन रूपमा समाधान गर्ने, हरेक घरको धारामा स्वच्छ खानेपानी पु¥याउने र कृषि क्षेत्रलाई वैज्ञानिक तथा आधुनिक बनाउने योजना सार्वजनिक गर्नुभयो । शिक्षा सबैका लागि निःशुल्क र अनिवार्य बनाउने तथा स्वास्थ्य सेवालाई सर्वसुलभ र पहुँचयोग्य बनाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । 

    १६. पूर्वराजाबाट नभई राष्ट्रिय स्वतन्त्र पार्टीबाट लोकतन्त्र खतरामा छः एमाले

    नेकपा (एमाले)का केन्द्रिय सदस्य समिक बडालले पूर्वराजा ज्ञानेन्द्र शाहबाट नभई अराजकताको नेतृत्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीबाट लोकतन्त्र खतरामा रहेको टिप्पणी गर्नुभएको छ । आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै बडालले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा दिएको अभिव्यक्तिकै आधारमा लोकतान्त्रिक व्यवस्था खतरामा रहेको भाष्य निर्माण गरिनु नहुने जिकिर गर्नुभयो । उहाँले डिस्कोर्डबाट गठित सरकारले जेन–जी आयोगको अनुसन्धान प्रतिवेदन समयमै सार्वजनिक नगरेर एमालेलाई आरोपित गर्ने प्रयास गरिरहेकोप्रति आपत्ति बजनाउनु भयो । 

    १७. दुर्गा प्रसाईंको रिहाइको माग गर्दै मोटरसाईकल ¥याली

    दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै काठमाडौंमा मोटरसाईकल ¥याली निकालिएको छ । आईतवार काठमाडौंको माईतीघर मण्डलामा भेला भएका राजावादीहरुले प्रसार्ईंको तत्काल रिहा गर्न सरकारसँग माग गर्दै सो ¥याली निकालेका हुन् । उनीहरुले प्रसाईंलाई पक्राउ गरेको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी समेत गरेका थिए । प्रसाईंलाई  यही फागुन ४ गते सोमबार भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ गरिएको थियो । सोही पक्राउको विरोधमा हिन्दुराज्य नेपाल कायम गरौं भन्ने मूल नारासहित ¥यालीमा सहभागी भएकाहरुले गणतन्त्र विरोधी नारा पनि लगाएका थिए । माईतीघर मण्डलाबाट शुरु भएको सो ¥याली भद्रकालीमा पुगेर समापन भएको थियो ।

    १८. पार्टीको झण्डा जलाउने लगायतका गतिविधि निन्दनीय छ, तत्काल बन्द गरियोस्ः काँग्रेस

    नेपाली काँग्रेसले निर्वाचन प्रचारको क्रममा पार्टीको झण्डा जलाउनेलगायतका गतिविधिप्रति आपत्ति जनाउँदै तत्काल बन्द गर्नुपर्ने जनाएको छ । आईतवार पार्टी मुख्यालय सानेपामा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै पार्टीका प्रवक्ता देवराज चालिसेले दाङमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले एमालेको झण्डा जलाएकोप्रति लक्षित गर्दै त्यस्ता खालका कार्य निन्दनीय भएको उल्लेख गर्दै तत्काल बन्द हुनुपर्ने प्रतिक्रिया दिनुभएको हो । त्यसैगरी काँग्रेसले देशका विभिन्न ठाउँमा सामाजिक सदभाव तथा धार्मिक सहिष्णुतामा असर पु¥याउने काम भईरहेको भन्दै त्यस्ता खालका गतिविधिहरु कहीँ कतैबाट पनि हुन नहुने भनेको छ । प्रवक्ता चालिसेले  सामाजिक विद्वेष फैल्याउने, घृणायुक्त अभिव्यक्ति दिनेकुरा कुनैपनि पार्टीले गर्न नहुने बताउनु भयो । 

    १९. सरकारले आसन्न निर्वाचन निष्पक्ष रुपमा सम्पन्न हुने वातावरण सुनिश्चित गर्नुपर्छः काँग्रेस

    नेपाली काँग्रेसले आसन्न निर्वाचन निष्पक्ष रुपमा सम्पन्न हुने वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । आईतवार पार्टी मुख्यालय सानेपामा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै सो पार्टीका प्रवक्ता देवराज चालिसेले सो माग गर्नुभएको हो । उहाँले निर्वाचनमा निष्पक्षताका साथ भयरहित वातावरणमा मतदान गर्न पाउने जनताको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै त्यस्तो वातावरणको सुनिश्चित गर्ने कर्तव्यप्रति सरकारलाई सचेत रहन पनि आग्रह गर्नुभयो । काँग्रेसले जनताको मताधिकार गर्ने अधिकार दायाँवायाँ गर्ने छुट सरकार नभएको पनि सरकारलाई भनेको छ । प्रवक्ता चालिसेले भन्नुभयो,‘निर्वाचनको निष्पक्षतासाथ भयरहित, शान्तिपूर्ण र जनताले स्वतन्त्र रुपमा मतदान गर्न पाउने जनताको नैसर्गिक अधिकार हो । हामीले बारम्वार भनेका छौ कि शासनको वैधताको स्रोत जनताको मताधिकार हो । यसमा दायाबाँया गर्ने छुट सरकारलाई छैन । हामी निर्वाचनलाई निष्पक्ष गराउने जिम्मा लिएको सरकार निष्पक्ष हुने वातावरण सुनिश्चित गर्न फेरी पनि म तपाईहरुमार्फत अनुरोध गर्न चाहन्छु । नेपाली काँग्रेसले अहिलेसम्म शंका गरिसकेका छैन । तर निष्पक्षताको वातावरण निर्माण गर्ने सरकारको कर्तव्य हो भन्ने कुरामा ऊ सचेत हुन जरुरी छ ।’

    २०. ‘इथानोल पेट्रोलियम पदार्थमा मिसाउने सरकारी निर्णय कार्यान्वयनबाट पछि हट्दैनौँ’

    नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले इथानोल पेट्रोलियम पदार्थमा मिसाउने सरकारी निर्णय कार्यान्वयनबाट पछि नहट्ने बताउनुभएको छ । आर्थिक पत्रकार समाजले आईतवार राजधानीमा गरेको कार्यक्रममा लामो समयदेखि तयारी गरिएको कार्यक्रम अब कार्यान्वयनको चरणमा पुगेको बताउँदै इथानोल पेट्रोलियम पदार्थमा मिसाउने सरकारी निर्णय कार्यान्वयनबाट पछि नहट्ने बताउनुभएको हो । उहाँकाअनुसार २० वर्षदेखि तयारी गरिएको कार्यक्रम अहिले लागू गर्न लागिएको हो । कार्यक्रम पूर्ण कार्यान्वयनमा आउन एकदेखि डेढ वर्षसम्म लाग्नसक्छ । इथानोलको गुणस्तर मापदण्ड तय गर्नुपर्ने भएकाले त्यसको तयारी भइरहेको उहाँले बताउनु भयो । 

    २१. १० प्रतिशत इथानोल मिश्रण गर्दा वार्षिक ६ अर्ब बराबर बचाउन सकिन्छः उद्योगमन्त्री सिन्हा

    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले पेट्रोलियम पदार्थमा १० प्रतिशत इथानोल मिश्रण गर्दा नेपालबाट वार्षिक करिव ६ अर्ब बराबरको पेट्रोलियम आयात घटाउन सकिने बताउनुभएको छ । आईतवार नेपाल आर्थिक पत्रकार समाजले राजधानीमा आयोजना गरेको कार्यक्रममा उहाँले पेट्रोलमा इथानोल मिसाउने निर्णय लामो अध्ययन र छलफलपछि कार्यान्वयनको चरणमा पुगेको बताउनुभएको हो । यसले नेपालबाट वार्षिक करिव ६ अर्ब बराबरको पेट्रोलियम आयात घटाउन सकिने दाबी गर्नुभयो । यसबाट व्यापार घाटा कम गर्न सहयोग पुग्ने उहाँको भनाइ छ । इथानोल मिश्रणसम्बन्धी अध्ययन दुई दशकदेखि हुँदै आएको उल्लेख गर्दै उहाँले हाल पेट्रोलमा इथानोल मिसाउने आदेश २०८२ स्वीकृत भइसकेको र उक्त नीति राजपत्रमा प्रकाशित भएर कार्यान्वयनमा जाने चरणमा रहेको बताउनु भयो । मन्त्री सिन्हाले पेट्रोलमा इथानोल मिसाउनु स्वच्छ ऊर्जातर्फको महत्वपूर्ण कदम भएको समेत उहाँले बताउनु भयो । 

    २२. काठमाडौं महानगरपालिकामा जग्गासम्बन्धि भू–सेवा केन्द्र र भू–सूचना प्रणाली सञ्चालनमा

    काठमाडौं महानगरपालिकामा जग्गासम्बन्धि भू–सेवा केन्द्र र भू–सूचना प्रणाली सञ्चालनमा ल्याइएको छ । आईतवार एक कार्यक्रमका बीच भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रा. डा. कुमार इङ्नामले काठमाडौं महानगरपालिकामा भू–सेवा केन्द्र सँचालनको शुभारम्भ गर्नुभएको हो । उहाँले संविधानमा सिंहदरबारको अधिकार तल्लो तहसम्म लैजानुपर्ने व्यवस्था गरेअनुसार भूसेवालाई काठमाडौं महानगरमा समेत लागू गरिएको बताउनु भयो । सिंहदरबारमा पाइने सम्पूर्ण सुविधाहरु स्थानीय तहमा लैजान सकिएमात्रै गाउँगाउँमा सिंहदरबार गएको मान्न सकिने मन्त्री इङ्नामले बताउनु भयो । इङ्नामले भन्नुभयो– ‘सिंहदरबार स्थानीय तहमा लैजाने विधि भनेको सिंहदरबारमा पाइने सुविधा तल्लो तहमा पुर्याउनु नै हो । आम नागरिकको सरोकार भनेको जग्गा जमिन हो । काठमाडौं उपत्यकामा अलि फरक छ । ९५ प्रतिशत व्यक्तिको सरोकार जग्गा जमिनसँगै छ । 

    २३. सरकारी सेवा प्रभावकारी नभएका कारण नेपालीहरू विदेश पलायन हुनुप¥योः मन्त्री इङ्नाम

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रा. डा. कुमार इङ्नामले सरकारी सेवा प्रभावकारी नभएका कारण नेपाली नागरिकहरू विदेश पलायन भइरहेको बताउनुभएको छ । उहाँले भूमि, मालपोत र नापी जस्ता क्षेत्रहरू आम सर्वसाधारणको मुख्य सरोकारको विषय भएकोले यी क्षेत्रमा सुशासन कायम गर्नसके सकारात्मक सन्देश जाने र राजश्व पनि वृद्धि हुने धारणा राख्नुभएको हो । आईतवार काठमाडौं महानगरपालिकाले आयोजना गरेको एक कार्यक्रममा मन्त्री इङ्नामले विदेशमा नागरिक पलायन हुनुको कारक यहाँको सरकारी सेवा प्रभावकारी नहुनु पनि एक रहेको बताउनु भयो । भूमि, मालपोत, नापीमा सर्वसाधरणको सरोकार भएको ठाउँ भएको र ती अड्डाहरुमा घुसको लेनदेन हुँदा आम सर्वसाधरण निराश बनिररहेको उहाँको भनँइ छ । उहाँले भूमि, मालपोत, नापीमा सुशासन कायम राख्न जरुरी रहेको बताउनु भयो  । मन्त्री इङ्नामले भूमि मन्त्रालयले हालै जारी गरेको सर्कुलरको बारेमा पनि उल्लेख गर्दै यसले राजश्वमा करिव ५० अर्ब रुपैयाँको फरक पार्ने बताउनु भयो । मन्त्री इङ्नामकाअनुसार जग्गा खरिद विक्री गर्दा गर्ने रियल कारोबारको रकम र मालपोतमा गरिने कारोबारको रकम हेर्दा अधिकांश राजश्व छल्ने राजश्व मारा नै देखिएका छन् । उहाँकाअनुसार भूमि मन्त्रालयले भर्खरै एउटा सर्कुलर जारी गरेको छ । त्यसले राजस्वमा ५० अर्ब वृद्धि हुनेछ । जग्गा खरिदविक्रीमा हुने राजश्व छलीको विषयमा बोल्दै मन्त्री इङ्नामले वडामा दर्ता भएको तमसुक (लिखत) लाई आधार मानेर राजश्व असुल गर्न निर्देशन दिइएको स्पष्ट पार्नुभयो ।–न्युज एजेन्सी नेपाल

    प्रकाशित मिति :फाल्गुण १० २०८२ आइतवार - २०:२३:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij