२०८२ फाल्गुण ९ गते शनिवार
काठमाडौं । बिहान उच्च रहेको काठमाडौं उपत्यकाको वायुप्रदूषण घटिरहेको छ । आज दिउँसो वायुप्रदूषण घटेर वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) ८७ पुगेको छ ।
गत मङ्गलबार उपत्यकाको एक्युआइ १९१ पुगेको थियो भने बुधबार सोही समयमा घटेर ११४ मा झरेको थियो । हावा चल्ने दर बढेसँगै वायुप्रदूषण पनि घटेको वातावरण विभागले जनाएको छ ।
एक्युआइका अनुसार मङ्गलबार काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहरका रूपमा सूचीकृत भएकामा आज २८औँ स्थानमा झरेको छ । हाल पाकिस्तानको लाहोर पहिलो र भारतको कोलकात्ता दोस्रो स्थानमा छ ।
वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले सुक्खा मौसममा वायुप्रदूषण बढ्ने र वर्षा हुँदा तथा हावा चल्दा वायुप्रदूषण घट्ने जानकारी दिए ।
वातावरणविद् भुषण तुलाधारले समयमै पूर्वतयारी, पातपतिङ्गर व्यवस्थापन, डढेलो नियन्त्रण तथा सवारीसाधनको धुवाँ परीक्षण र मापदण्डको कडाइका साथ कार्यान्वयन आवश्यक रहेको सुझाव दिए ।
एक्युआइको मापदण्डअनुसार शून्यदेखि ५० सम्म ‘राम्रो’ (हरियो सङ्केत), ५१ देखि १०० सम्म ‘सचेत रहनुपर्ने’ (पहेंलो संकेत), १०१ देखि १५० सम्म ‘अस्वस्थ’ श्रेणीमा पर्छ, जसले विशेषगरी श्वासप्रश्वास र मुटु रोगीलाई असर गर्नसक्ने जानकारहरू बताउँछन् । १५१ देखि २०० ‘सबैका लागि अस्वस्थ’, २०१ देखि ३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिने वातावरणविद् तुलाधरले बताए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij