२०८२ फाल्गुण २८ गते बिहिवार
काठमाडौं । निर्वाचन प्रचारप्रसारका क्रममा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का उम्मेदवार राजु हरिजनमाथि दुर्व्यवहार र हातपात गरेको आरोपमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार फागुन ५ गते साँझ बर्दघाट नगरपालिका वडा नं. १२ जमुनियामा चुनावी अभियानमा रहेका उम्मेदवार हरिजनमाथि अपरिचित व्यक्तिहरूको समूहले हातपात गरी फरार भएका थिए। उक्त घटनाको प्रारम्भिक सूचना र खोजीका आधारमा इलाका प्रहरी कार्यालय बर्दघाट र अस्थायी प्रहरी पोस्ट भटौलियाको संयुक्त टोलीले फरार अभियुक्तहरूलाई उनीहरूकै घरबाट नियन्त्रणमा लिएको छ।
प्रहरीले फागुन ६ गते राति ११ बजेको समयमा बर्दघाट नगरपालिका वडा नं. १३ धनेवा बस्ने २२ वर्षीय दिपिन थापा, १९ वर्षीय आयुष राना मगर र १८ वर्षीय राज विसीलाई पक्राउ गरेको सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक वीर दत्त पन्तले जानकारी दिएका छन्।
पक्राउ परेका तीनै जनालाई हाल इलाका प्रहरी कार्यालय बर्दघाटको हिरासतमा राखेर थप अनुसन्धान अगाडि बढाइएको छ। यसअघि बर्दघाट-१३ धनेवाका ३१ वर्षीय अजय गौतमलाई प्रहरीले पक्राउ गरेको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij