२०८२ फाल्गुण ६ गते बुधवार
सिरहा । सिरहाको एक पेट्रोल पम्पमाथि डिजेलमा पानी मिसाएर बेचेको आरोप लागेको छ । गोलबजार नगरपालिका-८ मा रहेको गणपति बाबा ट्रेडमाथि डिजेलमा पानी मिसाएर बेचेको आरोप लागेको हो ।
चुनावी प्रचारमा खटिएको गाडीमा डिजेल भरेपछि समस्या देखिँदा मिसावटको आरोप लागेको छ । बा १८ च २९२५ नम्बरको स्कार्पियो गाडीमा मंगलबार दिउँसो त्यही पम्पबाट डिजेल भरेको चालक सुशील यादवले बताए । उनकाअनुसार पम्पबाट ३० लिटर डिजेल भरेर निस्किएपछि केही समयमै गाडी भकभकाउन थालेको थियो ।
‘इन्जिन अस्वाभाविक आवाज निकाल्दै बन्द हुन खोज्यो । शंका लागेर गाडी पम्पमा फर्काएर ट्यांकी जाँच गर्दा डिजेलमा पानी मिसिएको देखियो,’ चालक यादवले भने । त्यसपछि पहिला भरेको तेल निकालेर अर्को डिजेल उपलब्ध गराउने सहमति भएर निस्किएको उनले बताए ।
घटनापछि स्थानीयवासीले चासो र आक्रोश देखाइरहेका छन् । ‘यसरी मिसावट देखिनु सामान्य त्रुटि होइन, गम्भीर लापरबाही वा ठगी हुनसक्छ । सम्बन्धित निकायले तुरुन्त नमुना परीक्षण गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्छ,’ स्थानीय आरडी यादवले भने ।
सिरहामा यसअघि पनि पेट्रोल तथा डिजेलमा मिसावट गरी उपभोक्ता ठगीको घटना सार्वजनिक भइसकेको छ । पछिल्लो घटनाले अनुगमन प्रणाली र गुणस्तर परीक्षणको प्रभावकारितामा प्रश्न उठाएको छ । पम्पका लेखापालले आफूहरूले डिजेलमा मिसावट नगरेको दाबी गरे । ‘आजसम्म यस्तो समस्या आएको थिएन । पहिलो पटक यस्तो कुरा आयो,’ उनले भने, ‘के कारणले यस्तो भयो भन्नेबारे बुझ्ने प्रयास गरिरहेका छौँ ।’
जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले सम्बन्धित व्यक्तिबाट उजुरी आएको खण्डमा अनुगमन गरिने बताए । ‘डिजेलमा मिसावट पुष्टि भए पम्प सिल गरेर कानुन बमोजिम कारबाही गरिनेछ,’ उनले भने ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij