Logo

२०८२ फाल्गुण ५ गते मंगलवार

२०८२ फाल्गुण ५ गते मंगलवार

काठमाडौंमा बढ्दै छ वायु प्रदूषण, सचेत रहन आग्रह

काठमाडौंमा बढ्दै छ वायु प्रदूषण, सचेत रहन आग्रह


  • 176
    Shares

    काठमाडौंमा बढ्दै छ वायु प्रदूषण, सचेत रहन आग्रह

    काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेको छ । सोमबार मध्याह्नमा १७८ रहेको वायु गुणस्तर सूचकाङ्क (एक्युआई) आज मध्याह्नसम्म १९१ पुगेको छ । 

    यो स्तर ‘सबैका लागि अस्वस्थ’ श्रेणीमा पर्छ, जसले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वास र मुटुरोगीलाई बढी असर पार्न सक्छ ।

    योससँगै आज काठमाडौं उपत्यकाको वायु प्रदूषण अस्वस्थ तहमा पुगिसकेको छ । ‘एयर क्वालिटी इन्डेक्स अनुसार आज काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहरका रुपमा सूचीकृत भएको छ । भारतको दिल्ली २२९ एक्युआईसहित पहिलो र पाकिस्तानको लाहोर २०३ एक्युआईसहित दोस्रो स्थानमा सूचीकृत भएको छ ।

    वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले वर्षा नभए आगामी दिनमा प्रदूषण अझै बढ्न सक्ने बताए । वर्षाले हावामा रहेको धुलो तथा कणलाई जमिनमा झार्न मद्दत गर्ने भएकाले लामो समयसम्म सुक्खा मौसम रहँदा प्रदूषणको मात्रा उच्च हुने उनको भनाइ छ । दिगो तथा वातावरणमैत्री विकासका उपाय प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायलाई सुझाव दिइएको महानिर्देशक सुवेदीले जानकारी दिए ।

    वातावरण अभियन्ता वर्षा पराजुलीका अनुसार उपत्यकामा सवारी साधनको तीव्र वृद्धि, डिजेल तथा पेट्रोलबाट निस्कने धुवाँ, निर्माणाधीन सडक तथा पूर्वाधार परियोजनाबाट उड्ने धुलो, साथै वन डढेलो र लामो समयसम्मको सुक्खा मौसमले वायु प्रदूषण बढाएको छ ।

    त्यसैगरी, १०१ देखि १५० एक्युआई अस्वस्थ मानिन्छ, जसले श्वासप्रश्वास र मुटुरोगी बिरामीलाई असर गर्छ । यस्तै १५१ देखि २०० एक्युआई सबैका लागि अस्वस्थ, २०१ देखि ३०० एक्युआई धेरै अस्वस्थ तथा ३०० भन्दा माथि पुगेको अवस्था अत्यन्तै खतरनाक मानिन्छ ।


    काठमाडौं उपत्यकाको लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ अनुसार नेपाल सरकारले एक्युआई ३०० भन्दा बढी पुगेको अवस्थालाई विपद् मान्ने व्यवस्था गरेको छ । 

    यस्तो विपद् न्यूनीकरणका लागि फोहोर बाल्ने कार्य रोक्ने, सडक सफाइका लागि ‘ब्रुमर’ तथा ‘भ्याकुम’को प्रयोग बढाउने, बालबालिका, ज्येष्ठ नागरिक र बिरामीलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्ने व्यवस्था कार्ययोजनामा उल्लेख छ ।

    राष्ट्रिय वातावरण नीति, २०७६ अनुसार वायु प्रदूषण न्यूनीकरणका लागि जल, वायु, माटो, ध्वनि, विद्युत्–चुम्बकीय तरङ्ग, रेडियोधर्मी विकिरण तथा जोखिमपूर्ण रासायनिक प्रदूषण रोकथामसम्बन्धी राष्ट्रिय मापदण्ड तयार गरी कार्यान्वयन गर्ने सरकारी रणनीति छ । 

    साथै प्रमुख सहर, औद्योगिक क्षेत्र तथा प्रदूषणको जोखिम रहेका स्थानमा गुणस्तर मापन केन्द्र स्थापना गरी वायु, जल र ध्वनि गुणस्तरको नक्साङ्कन गरिने उल्लेख गरिएको छ । 

     

    प्रकाशित मिति :फाल्गुण ५ २०८२ मंगलवार - १३:३५:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij