२०८२ फाल्गुण ५ गते मंगलवार
काठमाडौं । नेपाल राष्ट्र बैंकले जाली नोट मुद्रण, ओसारपसार र कारोबार गर्नु गैरकानुनी भएको बताएको छ । केन्द्रीय बैंकले वित्तीय चेतनाका लागि एक सन्देश जारी गर्दै जाली नोट सम्बन्धमा जानकारी दिएको हो ।
केन्द्रीय बैंकले आर्थिक लेनदेन र कारोबार गर्दा बैंक नोट शङ्कास्पद लागेमा नजिकैको प्रहरी कार्यालय, बैंक तथा वित्तीय संस्था वा नेपाल राष्ट्र बैंकमा लगेर त्यस्तो शङ्कास्पद नोट प्राप्त भएको स्रोतको बारेमा जानकारी गराउनुपर्ने बताएको छ ।
बैंक नोट छाम्दा साधारण कागजजस्तो चिप्लो लागेमा, बैंक नोटको रङ फिक्काजस्तो लागेमा वा सुरक्षण धागो रङले पोतेको, बाहिरबाट टाँसेको र सामान्यभन्दा फरक देखिएमा वा उठ्नुपर्ने भागहरु चिप्लो र सम्म भएकोजस्तो लागेमा हेरेर, छामेर र ढल्काएर थप परीक्षण गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।
हेरेर थाहा हुने
नोटलाई प्रकाशतर्फ पारेर हेर्दा लालीगुँरास र ‘‘१०००’’ को पानी छाप (वाटमार्क) देखिन्छ। नोटलाई प्रकाशतर्फ पारेर हेर्दा पूर्ण रु. १००० बनेको देखिन्छ।
छामेर थाहा हुने
नोट छाम्दा खस्रो हुन्छ र प्रिन्ट गरिएका भागहरु छाम्दा उठेको महसुस हुन्छ। दृष्टिविहीनहरुका निम्ति नोट पहिचान सहजताका लागि अंग्रेजी वर्ण ‘एम’ रहेको हुन्छ। जुन छाम्दा उठेको हुन्छ।
ढल्काएर थाहा हुने
नोट ढल्काएर हेर्दा सुरक्षण धागो चलेको जस्तो देखिन्छ। नोटलाई ढल्काएर हेर्दा नोटमा रहेको भगवतीको आकृति सिल्भर रङको देखिन्छ। नोटलाई ढल्काएर हेर्दा नोटमा प्रयोग गरिएको आइरिडिसेन्ट इंक सुनौलो रङमा प्रस्ट रुपमा देखिन्छ।
मेसिनबाट थाहा हुने
अल्ट्रा भ्वाइलेट (यूभी) लाइटमा सगरमाथाको आकृति टल्किन्छ। अल्ट्रा भ्वाइलेट (यूभी) लाइटमा गभर्नरको सही तथा नोटका नम्बरहरु टल्किन्छ।
५०० को नोटको सम्बन्धमा
हेरेर थाहा हुने
नोटलाई प्रकाशतर्फ पारेर हेर्दा लालीगुँरास पानी छाप (वाटमार्क) देखिन्छ। नोटलाई प्रकाशतर्फ पारेर हेर्दा पूर्ण अंग्रेजी अक्षरमा एनआरबी बनेको देखिन्छ। नोटमा सुरक्षण धागो रहेको हुन्छ। कागजमा बुनिएको सुरक्षण धागोलाई प्रकाशतर्फ हेर्दा पूर्ण रुपमा देखिन्छ र उक्त धागोमा अंग्रेजीमा एनआरबी ५०० र बाघको आकृति देखिन्छ।
छामेर थाहा हुने
नोट छाम्दा खस्रो हुन्छ र प्रिन्ट गरिएका भागहरु छाम्दा उठेको महसुस हुन्छ। दृष्टिविहीनहरुका निम्ति नोट पहिचान सहजताका लागि दुईवटा थोप्ला रहेको हुन्छ। जुन छाम्दा उठेको हुन्छ।
ढल्काएर थाहा हुने
नोट ढल्काएर हेर्दा सुरक्षण धागोको रङ परिवर्तन (रातोबाट हरियो) हुन्छ। नोटलाई ढल्काएर हेर्दा नोटमा रहेको कुबेरको आकृति सुनौलोबाट हरियो रङको हुन्छ।
मेसिनबाट थाहा हुने
अल्ट्रा भ्वाइलेट (यूभी) लाइटमा सगरमाथाको आकृति टल्किन्छ। अल्ट्रा भ्वाइलेट (यूभी) लाइटमा गभर्नरको सही तथा नोटका नम्बरहरु टल्किन्छ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij