२०८२ फाल्गुण ३ गते आइतवार
१. शासकीय असफलता र दुई तिहाइको दम्भले मुलुक संकटमा, अब संविधान पुनर्लेखन अपरिहार्यः उपेन्द्र यादव
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकको विद्यमान राजनीतिक अस्थिरता, आर्थिक जर्जरता र सामाजिक विभेदको मुख्य कारण वर्तमान शासकीय स्वरूप र निर्वाचन प्रणाली रहेको बताउनुभएको छ । दुई तिहाइ बहुमतको दम्भ बोकेका ठूला दलहरूको अकर्मण्यता र डिजिटल युगको पदचाप बुझ्न नसक्ने अनुदारवादी सोचका कारण मुलुक गम्भीर संकटमा फसेको टिप्पणी गर्नुभयो । उहाँले अब संविधानको परिमार्जन मात्र नभई पुनर्लेखन नै गरेर ‘इन्द्रेणी राष्ट्रवाद’का आधारमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
२. यो कोलाहल कसलाई चाहिएको छ ?
‘नेपालमा नियन्त्रित अस्थिरताको राजनीति’
हामी बस्ने यो समाज, वा भनौँ हाम्रो वर्तमान ‘वास्तविकता’, जसलाई हामीले दैनिक जीवनमा अनुभव गर्छौं, त्यसको सतहमुनि एउटा गहिरो र भयावह सत्य लुकेको छ । फागुन महिना शुरु हुँदासम्म पनि गत भदौमा भएको ‘जेन–जी’को विद्रोहका अवशेषहरू अझै सेलाएका छैनन् । सडक, संसद र सामाजिक सञ्जालहरूमा देखिने हरेक गतिविधि, हरेक वादविवाद र हरेक हल्लाले एउटा कठिन प्रश्न हामीसामु तेस्र्याउँछ– के हामी साँच्चै स्वतन्त्र छौँ ? कि हामी एउटा यस्तो अदृश्य कोलाहलको पिँजडामा कैद छौँ, जसको चाबी अर्कै कुनै शक्तिको हातमा छ ? ‘कोलाहलको साम्राज्य’ भनिएको यो भाष्य केवल तर्क मात्र होइन, यो हाम्रो समयको सबैभन्दा ठूलो राजनीतिक र समाजशास्त्रीय चुनौती पनि हो ।
नेपालमा सरकार फेरिइरहन्छन्, तर कोलाहल मच्चाउने १० वटा स्थायी ‘खम्बा’हरू कहिल्यै फेरिँदैनन् । यी शक्तिहरू एक–अर्कासँग जेलिएका छन्ः
(१) भू–राजनीतिक गुप्तचर संयन्त्रहरू, जसलाई नेपाल अस्थिर भइराखोस् भन्ने चाहना छ।
(२) दलाल पुँजीपति वर्ग, जसलाई नीति किन्नका लागि अस्थिरता चाहिन्छ ।
(३) डोनर र आईएनजीओ सञ्जाल, जसको जागिर नै नेपालको समस्यामा अडिएको छ।
(४) कर्पोरेट मिडिया हाउस, जसले कोलाहल बेचेर टीआरपी कमाउँछन्।
(५) धार्मिक अतिवादी समूह, जो भित्रभित्रै आगो सल्काउँदै छन्।
(६) म्यानपावर व्यवसायी, जसलाई देश असफल भएर युवा विदेशिएको हेर्नु छ।
(७) सुन र हुन्डी तस्कर, जसलाई कमजोर सुरक्षा संयन्त्र चाहिन्छ।
(८) भ्रष्ट उच्च कर्मचारीतन्त्र, जसले हरेक परिवर्तनलाई फाइलमा अल्झाउँछ।
(९) डिजिटल आर्मी र साइबर गिरोह, जो पैसा लिएर भ्रम छर्छन्।
(१०) प्राकृतिक स्रोतका माफिया, जसले नदी र खानी कब्जा गर्न राजनीतिक झगडा गराउँछन्।
३. मुस्ताङका दुई कुमारी हिमालमा ऐतिहासिक सफलताः केक्याप री र ज्याङ्लातुन्पूको पहिलो सफल आरोहण
नेपालको पर्वतारोहण इतिहासमा अर्को एउटा महत्वपूर्ण अध्याय थपिएको छ । सेभेन समिट ट्रेक्स र पेलियटको संयुक्त सहकार्यमा मुस्ताङ हिमाल श्रृङ्खलामा रहेका दुईवटा कुमारी चुचुराहरूको पहिलो ऐतिहासिक आरोहण सफलतापूर्वक सम्पन्न भएको हो । आरोही ही जिङको नेतृत्वमा रहेको आरोहण दलले गत फेब्रुअरी ९, २०२६ का दिन मुस्ताङमा अवस्थित ६,१८७ मिटर उचाईको ‘केक्याप री’ र ६,०६२ मिटर उचाइको ‘ज्याङ्लातुन्पू’ हिमालको सफल आरोहण गरेको हो । यसअघि यी हिमालको शिखरमा कुनैपनि मानव पाइला नपुगेकाले यसलाई विश्व पर्वतारोहण जगतमा निकै उत्साहजनक र ठूलो उपलब्धिको रूपमा हेरिएको छ । पर्वतारोहणको क्षेत्रमा ‘कुमारी हिमाल’ भन्नाले अहिलेसम्म कसैले पनि विजय प्राप्त नगरेको शिखर बुझिन्छ । मुस्ताङका यी दुर्गम र चुनौतीपूर्ण चुचुराहरूमा पहिलो पटक मानव पाइला राखेर ही जिङ र उनको टोलीले नेपालको साहसिक पर्यटनमा नयाँ गन्तव्यको ढोका खोलेका छन् । सेभेन समिट ट्रेक्स र पेलियटको यो संयुक्त प्रयासले नेपाली हिमालहरूको प्रचार–प्रसारमा थप टेवा पुग्ने विश्वास लिइएको छ ।
४. महाशिवरात्रीः पशुपतिनाथ र साधुहरूको रहस्यमयी संसार
‘काठमाडौंको पूर्वी भेगमा अवस्थित पाशुपत क्षेत्र, जहाँ वागमतीको पवित्र जलसँगै आस्थाको अनन्त सागर बग्छ । महाशिवरात्रीको आगमनसँगै यो क्षेत्र एक अलौकिक उर्जाले भरिन्छ । भारत र नेपालका कुना–कन्दराबाट आएका हजारौँ साधु, सन्त र नागा बाबाहरूको उपस्थितिले पशुपतिलाई ‘शिवपुरी’ मा परिणत गरिदिन्छ । महाशिवरात्री नजिकिँदै गर्दा पशुपतिनाथ परिसरले नयाँ काँचुली फेर्दैछ । बाँसका खटहरू ठडिँदै छन् । र भक्तजनहरूको लर्को लाग्न थालेको छ । यो केवल ढुङ्गा र माटोको संरचना मात्र होइन यो करोडौँ हिन्दुहरूको आस्थाको केन्द्रबिन्दु हो, जहाँ शिव स्वयं किराँतेश्वर रूपमा विराजमान छन् । हिमालयका कन्दराहरूदेखि भारतका अखाडाहरूबाट लामो यात्रा तय गरेर यहाँ आइपुगेका छन् बाबाजीहरु । कसैका जटाहरू भुइँ छुने लामा छन्, त कोही मौन तपस्यामा लिन छन् ।
५. भ्यालेन्टाइन डेः ‘बन्दीपुर–जहाँ ढुङ्गाहरूले पनि प्रेमको कथा सुनाउँछन्’
तनहुँको पहाडी काखमा सुस्ताइरहेको एउटा शहर—बन्दिपुर । यहाँका ढुङ्गा छापिएका गल्लीहरूमा हिँड्दा लाग्छ, समय कतै थामिएको छ । यो केवल एउटा पर्यटकीय गन्तव्य मात्र होइन, यो त एउटा जीवित सङ्ग्रहालय हो, जहाँ नेवारी वास्तुकला र पहाडी शुन्यताले एकअर्कालाई अङ्गालेका छन् । १४ फेब्रुअरी अर्थात भ्यालेन्टाइन डेको यो विशेष अवसरमा बन्दिपुरको हावामा एउटा छुट्टै प्रेमिल सुगन्ध छ । यहाँको प्रेम केवल जोडीहरूमा मात्र सिमित छैन; यो यहाँका वृद्धवृद्धाको श्रद्धामा, बालबालिकाको मुस्कानमा, कलात्मक झ्यालका बुट्टाहरूमा र पुस्तौनी संस्कारमा पनि झल्किन्छ । परम्परागत हाकुपटासी र दौरा–सुरुवालमा सजिएका यी जोडीलाई हेर्दा लाग्छ, आधुनिक प्रेमले आफ्नो जरा फेरि एकपटक बन्दिपुरको पुरानो बजारमा गाडेको छ । ढुङ्गाको बाटोमा ठोक्किएका पदचापहरूले एउटै लय गुन गुनाइरहेछन् । माया भनेको केवल युवावस्थाको चञ्चलता मात्र कहाँ हो र ? उमेरको उत्तराद्र्धमा पनि हात समातेर थानीमाईको मन्दिरतिर लाग्नु नै त वास्तविक प्रेम हो । जहाँ खुट्टा थकित भएपनि एउटाको साथले अर्कोको यात्रा सहज बनाउँछ । बन्दिपुरको टुँडिखेलमा जब मादल र बाँसुरीको धुन गुञ्जिन्छ, तब परम्पराले नृत्य गर्न थाल्छ ।
६. नेपाली क्रिकेटले धेरै माया पाएको छ, निराशामा बदल्न दिनु हुँदैनः पारस खड्का
प्रश्नः इङ्ल्याण्डसँगको उत्कृष्ट प्रदर्शनपछि नै इटालीविरुद्ध फरक र निरासाजनक नतिजाबारे तपाईंको धारणा के छ ?
जवाफः हाम्रो क्रिकेटको इतिहास नै अप एण्ड डाउन नै छ । सन्तुलित प्रदर्शन हुन सकेको छैन । इङ्ल्याण्डसँग खेलपछि सबैमा आशा ह्वात्तै बढेको छ । त्यो खेलबारे विश्व क्रिकेटले नै नेपालबारे प्रंसशा ग¥यो । वानखेडेमा खेल भएकाले नेपाली क्रिकेटप्रति सबैको नजर छ । दोस्रो खेल इटालीसँग जस्तो प्रदर्शन भयो त्यसले सबै निराश हुनुहुन्छ । अप एण्ड डाउनको अवस्था त्यो खेलमा पनि देखियो । खेल हो, जित हार हुन्छ । तर पहिलो खेलमा जसरी खेल्यो र दोस्रो खेलमा जस्तो हार भयो । त्यो पक्कै पनि सहज थिएन । इटालीको क्रिकेटको इतिहास ठूलो छैन । तर त्यहाँ राम्रा खेलाडी र कोचिङ हुनुहुन्छ । उहाँहरूले राम्रो काम गर्नुभयो । नेपाली क्रिकेटको समर्थक हुन सहज छैन । अहिले म पनि समर्थककै रूपमा हेरिरहेको छु । मलाई पनि सहज थिएन । मुम्बईमा समर्थकले नेपाली टोलीप्रति धेरै माया देखाउनुभएको छ । हरेक रेस्टुरेण्टमा जाँदा अहिले नेपालीहरू भेटिनुहुन्छ । यो नेपाली क्रिकेटले कमाएको माया हो । नतिजा खराब आउँदा निराश हुनु स्वभाविक हो । तर पनि यसलाई बिर्सेर अगाडि बढ्नुपर्छ । अनफिल्ड प्रदर्शनले नै नेपाली क्रिकेटले धेरै माया पाएको छ । त्यो मायालाई निराशा हुन दिनु हुँदैन । हाम्रा खेलाडी पनि निराशा छन् । अहिलेका लागि हामीले धैर्यता राखौं ।
प्रश्नः नेपाली क्रिकेटको पदर्शनमा सन्तुलन किन हुन सकेको छैन ?
जवाफः खेलाडी उत्पादन हुने नेपाल क्रिकेटको संरचना धेरै राम्रो छैन । सन् १९९६ र २०२६ सम्म नेपालको अन्तर्राष्ट्रिय क्रिकेट ३० वर्ष भएको छ । यो अवधि हेर्ने हो भने राम्रो खेलाडी आए र प्रशिक्षकहरू राम्रो आउनुभयो । केही राम्रा व्यवस्थापक पनि आउनुभयो । सबैको संयुक्त इफोर्टले यहाँसम्म आइपुगेका हौं । खेलाडीहरूले मिहेनत गरेको छ, फोकस छन् । राम्रो प्रदर्शनलाई स्थिरतामा राख्न हाम्रो जनरल पर्सनालिटीले व्यवस्थापन गर्नुपर्छ । सबै एउटै माटोमा हुर्किरहेका छौं । कहिले कहीँ सामाजिक सञ्जालमा आउने प्रतिक्रियाहरूले पनि खेलाडीहरूलाई असर पर्ने गरेको सम्भावना छ । यसले प्रदर्शनलाई स्थिरता बनाउन सकेको छैन । तर यो एक्सक्युज होइन । हाम्रा खेलाडीलाई मानसिक रूपमा विकास गर्न आवश्यक छ । खेलाडी भएपछि कसले माया गर्छ या गर्दैन भनेर हेर्नु हुँदैन । खेलाडीको मानसिकता बलियो नै हुनुपर्छ । अहिले खेलाडी मेहनती छन् । अब पर्सनालिटी बढाउन पनि काम गर्ने हो भने नेपाली क्रिकेट अभैm सन्तुलनमा बन्नसक्छ ।
प्रश्नः पूर्वकप्तानका रूपमा इटालीसँगको हार सहज कतिको गाह्रो हुन्छ ।
जवाफः एउटा खेलाडीको रूपमा हरेक हार सहज हुँदैन । म खेल्दा सबैभन्दा विशेष क्षण के थियो भनेर सोध्नुभयो जित हुँदा खुशी र हार हुँदा निराश नै हुन्छ । देशको लागि खेल्नु गर्वको क्षण हो । पहिलेको जनेरेसनको क्रिकेट र अहिलेमा धेरै परिर्वतन भइसकेको छ । अहिले नेपाली क्रिकेट हार्न नै हुँदैन भन्ने भावना पैदा भइरहेको छ । मुम्बईमा पनि टियुको जस्तो वातावरण सिर्जना भएको छ । तर यो माया हो । मैले पनि समर्थकको रूपमा नै हेरिरहेको छु । इटालीसँग १२४ रनको सानो लक्ष्य हुँदा पनि जित्छौं भन्ने विश्वास थियो । इङ्ल्याण्डविरुद्धको त्यो प्रदर्शनपछि लगत्तै यस्तो नतिजा आउँदा सहज थिएन । त्यसले सबलाई निराशा बनाएको छ । पहिलो र दोस्रो खेल जितेको भए माहोल फरक हुन्थ्यो । यो स्थानसम्म आउनु पनि ठूलो पक्ष हो । हाम्रो संरचनाअनुरूप यहाँसम्म आउनु सुखद् पक्ष हो । प्रदर्शनमा मात्र सन्तुलन हुन सकिरहेको छैन । दुई खेल सकिसकेको छ ।
त्यसलाई बिर्सनुपर्छ । आगामी दुई खेलबारे सोच्नुपर्छ । ती खेलमा राम्रो गर्नुपर्छ । समर्थकहरू अहिले अब नतिजा चाहिन्छ भन्नेमा पुग्नु भइसकेको छ । पहिलो खेलको प्रदर्शन दोहो¥याउने हो भने अझ राम्रो नतिजा आउँछ । अकंगणीतिय रूपमा हाम्रो अझै सम्भावना बाँकी छ । फेब्रुअरी महिना र नेपाली क्रिकेटबारे सुखद् संयोग छ । आशामा अगाडि बढ्नुुपर्छ र आशा छ, यो टिमले आगामी खेलमा राम्रो गर्छ । हामी पनि नेपाली क्रिकेटलाई बलियो बनाउन लागेको छौं ।
७. नीतिगत बहस आर्थिक वृद्धिमा सिमित हुँदा वितरण र पुनःवितरणको सवाल ओझेलमाः मुख्यसचिव अर्याल
सरकारका मुख्यसचिव सुमनराज अर्यालले मुलुकको आर्थिक सुधारको पहिलो चरणमा वितरण र पुनर्वितरणको सवाल ओझेलमा परेको बताउनुभएको छ । एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले २०८० को दशकलाई आर्थिक सुधारको प्रारम्भिक बिन्दुका रूपमा लिएपनि नीतिगत बहस आर्थिक वृद्धिमा मात्र सिमित भएको बताउनु भयो । उहाँले उत्पादन र आर्थिक वृद्धि तत्कालिन अवस्थामा महत्वपूर्ण विषय भएको कारण समेत त्यससँग जोडिएका अन्य महत्वपूर्ण विषयमा पर्याप्त ध्यान दिन नसकिएको उहाँको बुझाइ छ । उहाँले आर्थिक वृद्धिसँगै वितरण र पुनर्वितरणको विषयमा अहिले पनि स्पष्ट धारणा बनाउन नसकिएको तर्क गर्नुभयो । उहाँले औद्योगिक रूपान्तरणसम्बन्धी परम्परागत दृष्टिकोणलाई नीति मन्त्रझैँ अंगिकार गरिएको पनि उल्लेख गर्नुभयो ।
८. निर्वाचन आयोगद्वारा ५१ प्रकारका सामग्रीको ढुवानी शुरु, कर्णालीका लागि मतपत्र पठाइयो
निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक ५१ प्रकारका निर्वाचन सामग्रीहरूको ढुवानी प्रक्रिया तिब्रताका साथ अगाडि बढाएको छ । मतदान कार्यका लागि पूर्वनिर्धारित ५२ प्रकारका सामग्रीमध्ये रबर म्याटलाई हटाएर ५१ प्रकारका सामग्रीहरू मात्र जिल्ला जिल्लामा पठाउन शुरु गरिएको हो । आयोगले हाल मतदाता नामावली, मतपत्र, नउड्ने मसीको मार्कर, स्वस्तिक छाप, स्ट्याम्प प्याड र मसी लगायतका आवश्यक सामग्रीहरू खरिद गरी ढुवानी कार्य शुरु गरेको आयोगका सूचना अधिकारी सुमन घिमिरेले बताउनु भयो । उहाँकाअनुसार कर्णाली प्रदेशका केही जिल्लाहरूमा यी सामग्रीहरू पठाइसकिएको र केही पुग्ने क्रममा रहेको छ । साथै कोशी प्रदेश र अन्य जिल्लाहरूका लागि पनि सामग्रीहरू पठाउने तयारी भइरहेको छ ।
९.देवेन्द्र गौतम पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई
देवेन्द्र गौतम पत्रकारिता पुरस्कार जनआस्था साप्ताहिकका प्रधान सम्पादक वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रदान गरिएको छ । नेपाली पत्रकारितामा पु¥याएको दीर्घकालीन र विशिष्ट योगदानको कदर गर्दै देवेन्द्र गौतम पत्रकारिता पुरस्कार–२०२६ वरिष्ठ पत्रकार श्रेष्ठलाई प्रदान गरिएको हो । भक्तपुरमा एक कार्यक्रमका बीच पुरस्कार प्रदान गरिएको हो । सम्मानपत्रसहित यो पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ । कार्यक्रममा वक्ताहरूले देवेन्द्र गौतम निर्भीक पत्रकार भएको स्मरण गर्दै सबै पत्रकारले उहाँले देखाएको बाटोमा हिँड्नुपर्नेमा जोड दिए ।
१०. औद्योगिक विकास र कानूनी सुधारमार्फत १० वर्षमा १०० अर्ब डलरको अर्थतन्त्र बनाउने परिसंघको संकल्प
नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकको अर्थतन्त्रलाई आगामी एक दशकभित्र १०० अर्ब डलरको आकारमा पु¥याउने महत्वाकांक्षी लक्ष्य सार्वजनिक गर्नुभएको छ । हालको करिव ४५ अर्ब डलरको अर्थतन्त्रलाई गुणात्मक फड्को मार्न औद्योगिक उत्पादन, निर्यात प्रवद्र्धन र कानूनी अड्चनको अन्त्य अनिवार्य रहेको उहाँले बताउनुभएको हो । परिसंघले आयोजना गरेको स्वदेशी नेपालः मिट एण्ड ग्रेट, २०२६ कार्यक्रममा बोल्दै उहाँले परिसंघले यस विषयमा विस्तृत अध्ययन गरिरहेको समेत जानकारी दिनुभयो । अध्यक्ष पाण्डेले औद्योगिक विकास र रोजगारी सिर्जनाका लागि लगानीमैत्री वातावरण बनाउन सरकारसँग माग गर्नुभयो । अर्थतन्त्रको विकासका वाधक बनिरहेका कानूनहरु संशोधन गर्ने गृहकार्य सुस्त रहेको उहाँको गुनासो छ ।
११. इजरायली सेना प्रमुखद्वारा गाजाको पूर्ण निःशस्त्रीकरणको प्रतिवद्धता
इजरायली सेनाका प्रमुख इयाल जामिरले इजरायल गाजा पट्टीको पूर्ण निःशस्त्रीकरण र हमासको निःशस्त्रीकरणप्रति प्रतिवद्ध रहेको बताउनुभएको छ । इजरायल रक्षा बल (आईडीएफ) द्वारा जारी विज्ञप्तिअनुसार जामिरले दक्षिणी गाजाको रफाह शहरको भ्रमणका क्रममा आफूहरु युद्धको लक्ष्य – गाजा पट्टीको पूर्ण निःशस्त्रीकरण र हमासको निःशस्त्रीकरणबाट पछि नहटेको बताउनु भयो । वरिष्ठ कमाण्डरहरूसँगै उहाँले त्यस क्षेत्रमा सुरुङ सञ्जालहरू नष्ट गर्ने कार्यमा केन्द्रित हुँदै क्लियरिङ अपरेशनहरू तीव्र पार्न सेनालाई निर्देशन दिनुभयो । सेना प्रमुखले सेनाहरू ‘पहेंलो रेखा’ मा तैनाथ रहेको र जसले युद्धविराम अन्तर्गत इजरायली नियन्त्रित क्षेत्रहरूलाई सीमांकन गरेको बताउनु भयो ।
१२. ग्रिकका किसानद्वारा एथेन्समा ट्याक्टर ¥यालीः उत्पादन लागत घटाउन र राहतको माग
बढ्दो उत्पादन लागत र आम्दानीमा भएको घाटाको विरोध गर्दै ग्रीसभरका किसानले राजधानी एथेन्समा ट्याक्टरसहित प्रदर्शन गरेका छन् । ग्रिकभरका किसान शुक्रवार राजधानी एथेन्समा राष्ट्रव्यापी आन्दोलनका लागि भेला भएका थिए । ग्रिकको राष्ट्रिय प्रसारक इआरटीकाअनुसार करिव ७० वटा ट्याक्टर र कृषि सवारी साधनहरू सिन्टाग्मा स्क्वायरमा पुगेर संसद भवन अगाडि पार्क गरिएका थिए । यो प्रदर्शनले ग्रिकको कृषि क्षेत्रमा व्याप्त असन्तुष्टिलाई उजागर गरेको छ । किसान प्रतिनिधिहरूले राजमार्ग अवरोधपछि अब आन्दोलनलाई शहरी केन्द्रहरूमा केन्द्रित गरिएको बताएका छन् । उनीहरूले कृषि उत्पादन लागत घटाउन, घटेको आम्दानीको क्षतिपूर्ति दिन र भेडामा लाग्ने ‘शिप पक्स’ रोगका कारण पशुपालनमा परेको असरलाई सम्बोधन गर्न लक्षित सहयोग नीति ल्याउन सरकारसँग माग गरेका छन् ।
१३. जापानी मोटर कम्पनी निसानद्वारा आर्थिक वर्ष २०२५ मा ६५० अर्ब येन घाटा हुने प्रक्षेपण
जापानको निसान मोटर कम्पनीले बिहीबार आगामी महिना समाप्त हुने आर्थिक वर्ष २०२५ का लागि ६५० अर्ब येन (करिब ४.२५ अर्ब अमेरिकी डलर) को खुद घाटा हुने प्रक्षेपण गरेको छ । यो निसानका लागि लगातार दोस्रो वर्षको घाटा हुनेछ । अघिल्लो आर्थिक वर्षमा ६७०.९ अर्ब येनको खुद घाटा बेहोरेको यस गाडी निर्माताले उच्च अमेरिकी भन्सार महसुलका साथै जापान र संयुक्त राज्य अमेरिकामा जारी कमजोर विक्रीलाई यसको कारण बताएको छ । डिसेम्बरसम्मको नौ महिनाको अवधिमा कम्पनीले २५०.२ अर्ब येनको खुद घाटा रिपोर्ट गरेको छ । जबकि अघिल्लो वर्ष सोही अवधिमा ५.१ अर्ब येन नाफा भएको थियो । त्यसैगरी, अघिल्लो वर्ष ६४.०१ अर्ब येन सञ्चालन नाफा भएकोमा यस पटक १०.११ अर्ब येन सञ्चालन घाटा भएको छ । आफ्नो नाफा पुनः प्राप्त गर्ने प्रयासमा निसानले व्यापक सुदृढीकरण अभियान चलाइरहेको छ ।
१४. जुन्या ओगावा जापानको मुख्य विपक्षी दल ‘सेन्ट्रिस्ट रिफर्म एलायन्स’ को नेतामा निर्वाचित
जापानको मुख्य विपक्षी शक्ति सेन्ट्रिस्ट रिफर्म एलायन्सले जुन्या ओगावालाई आफ्नो नयाँ नेताको रूपमा चयन गरेको छ । हालैको आम निर्वाचनमा पार्टीले व्यहोरेको ठूलो क्षतिपछि ओगावाले पार्टी एकता र जनसमर्थन पुनर्गठन गर्ने लक्ष्य राख्नुभएको छ । जापानको मुख्य विपक्षी शक्ति, सेन्ट्रिस्ट रिफर्म एलायन्सको नयाँ नेताका रूपमा जुन्या ओगावा शुक्रवार निर्वाचित हुनुभयो । कन्स्टिच्युसनल डेमोक्रेटिक पार्टी अफ जापानका पूर्व महासचिव ओगावाले पार्टीका ४९ तल्लो सदनका सांसदहरूको मतदानमा साधारण बहुमत प्राप्त गर्दै जित हासिल गर्नुभएको हो । उहाँले सिडिपिजेका पूर्व कार्यवाहक नीति प्रमुख ताकेशी शिनालाई पराजित गर्नुभयो ।
१५. दक्षिण अफ्रिकामा अपराध नियन्त्रणका लागि सेना परिचालन गरिने
दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले संगठित अपराध नियन्त्रणमा सहयोग पु¥याउन सेना परिचालन गर्ने निर्णयको घोषणा गर्नुभएको छ । उहाँले यसलाई देशले सामना गरिरहेको सबैभन्दा गम्भीर खतराको रूपमा वर्णन गर्नुभयो । केप टाउन सिटी हलमा संसदका दुवै सदनको संयुक्त बैठकमा ‘स्टेट अफ द नेसन’ (राष्ट्रका नाममा सम्बोधन) प्रश्तुत गर्ने क्रममा उहाँले सो घोषणा गर्नुभयो । उहाँले यस वर्ष सरकारको मुख्य प्राथमिकता प्रविधि, गुप्तचरी र एकीकृत कानून कार्यान्वयनका माध्यमबाट संगठित अपराध र आपराधिक गिरोहहरू विरुद्धको लडाइँलाई तिब्र्रता दिने रहेको कुरामा जोड दिनुभयो । अपराधको मूल्य गुमेको ज्यान र अन्धकार भविष्यका रूपमा चुकाउनु परिरहेको भन्दै उहाँले प्रहरीलाई सहयोग गर्न दक्षिण अफ्रिकी राष्ट्रिय रक्षा बल परिचालन गर्न लागेको बताउनु भयो ।
१६. बंगलादेशमा फेब्रुअरी १९ अघि नै नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्ने तयारी
बंगलादेशमा सम्पन्न आम निर्वाचनमा तारिक रहमानको नेतृत्वमा रहेको बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) ले संसदको २९९ सिटमध्ये २०९ सिटमा जित हासिल गर्दै स्पष्ट बहुमत प्राप्त गरेको छ । निर्वाचन आयोगका वरिष्ठ सचिव अख्तर अहमदले सार्वजनिक गरेको विवरणअनुसार ६८ सिटसहित बंगलादेश जमात–ए–इस्लामी दोस्रो स्थानमा रहेको छ भने बाँकी २० सिट स्वतन्त्र र अन्य साना दलले जितेका छन् । यस निर्वाचनमा ५९.४४ प्रतिशत मतदान भएको थियो र आगामी फेब्रुअरी १९ (रमजान) भन्दा अगाडि नै नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्ने तयारी गरिएको छ ।
१७. भारतको खुद्रा मुद्रास्फीति २.७५ प्रतिशत पुग्यो, आधार वर्ष परिवर्तन
सरकारी तथ्याङ्कअनुसार संशोधित नयाँ आधार वर्ष २०२४ का आधारमा यस वर्षको जनवरीमा भारतको खुद्रा मुद्रास्फीति २.७५ प्रतिशत पुगेको छ । अधिकारीहरूकाअनुसार २०२३–२४ को घरायसी उपभोग खर्च सर्वेक्षणको प्रयोग गर्दै आधार वर्षलाई २०१२ बाट परिवर्तन गरेर २०२४ कायम गरिएको हो । तथ्याङ्क र कार्यक्रम कार्यान्वयन मन्त्रालयले मुद्रास्फीति मापनको दायरा र प्रतिनिधित्वलाई थप प्रभावकारी बनाउन २०२४ को आधार वर्ष सहितको उपभोक्ता मूल्य सूचकाङ्क जारी गरेको जनाएको छ । मन्त्रालयको तथ्याङ्कअनुसार, जनवरी २०२६ मा सीपीआईमा आधारित मुद्रास्फीति २.७५ प्रतिशत रहेको छ । यस अवधिमा ग्रामीण र सहरी क्षेत्रको मुद्रास्फीति दर क्रमशः २.७३ प्रतिशत र २.७७ प्रतिशत रहेको छ भने नयाँ श्रृंखलाअनुसार खाद्य मुद्रास्फीति २.१३ प्रतिशत पुगेको छ । मूल्य सम्बन्धी तथ्याङ्क संकलनका लागि फिल्ड कर्मचारीहरूले सबै राज्यका १ हजार ४ सय ७ शहरी बजारहरू र १ हजार ४ सय ६५ गाउँहरूको स्थलगत भ्रमण गरेका थिए ।
१८. भारतद्वारा रक्षा क्षमता अभिवृद्धिका लागि ३९.७ अर्ब अमेरिकी डलरको रक्षा प्रश्ताव स्वीकृत
भारतको रक्षा अधिग्रहण परिषद्ले राफेल लडाकु विमान, लडाकु क्षेप्यास्त्र र एयरशिपमा आधारित उच्च उचाइको स्यूडो स्याटेलाइट खरिद गर्न ३९.७ अर्ब अमेरिकी डलर बराबरको प्रश्ताव स्वीकृत गरेको छ । यसको उद्देश्य द्वन्द्वका सबै क्षेत्रमा हवाई प्रभुत्व कायम राख्ने क्षमता अभिवृद्धि गर्नु र भारतीय वायुसेनाको प्रतिरोध क्षमता बढाउनु हो । स्थानीय सञ्चारमाध्यमकाअनुसार यस प्रश्तावमा फ्रान्सबाट ११४ वटा राफेल लडाकु विमान खरिद गर्ने योजना समावेश छ । जसमध्ये १८ वटा विमान फ्रान्सबाट तयारी अवस्थामा ल्याइनेछ भने बाँकी ९६ वटा विमान भारतमै निर्माण गरिनेछ । भारतीय वायुसेनासँग हाल ३६ वटा राफेल विमान सञ्चालनमा रहेका छन् । स्थल सेना, नौसेना र तटरक्षक बलका लागि एन्टी–ट्याङ्क माइन, आर्मर्ड रिकभरी भेइकलका सवारी प्लेटफर्मको मर्मत, टी–७२ ट्याङ्क र इन्फन्ट्री कम्ब्याट भेइकल लगायतका अन्य खरिदहरू पनि स्वीकृत गरिएका छन् ।
१९. मङ्गोलियामा अत्यधिक चिसोका कारण २६ हजार ३ सय भन्दा बढी चौपायाको मृत्यु
मङ्गोलियामा ‘जुद’ (मशगम) भनिने अत्यधिक चिसोका कारण गत जनवरी महिनामा २६ हजार ३ सय भन्दा बढी चौपायाको मृत्यु भएको छ । देशको राष्ट्रिय तथ्याङ्क कार्यालयले दिएको जानकारीअनुसार पश्चिमी प्रान्तहरू उभ्स, बयन–उल्गी र जाभखानका साथै मध्य प्रान्त उभुरखाङ्गाईमा यी चौपायाहरूको मृत्यु भएको हो । एनएसओले जारी गरेको विज्ञप्तिअनुसार मङ्गोलियाका कुल २१ प्रान्तहरूमध्ये कम्तीमा ११ वटा प्रान्तले हाल ‘जुद’ को सामना गरिरहेका छन् । मङ्गोलियाली भाषामा ‘जुद’ शब्दले यस्तो भीषण हिउँदलाई बुझाउँछ । जसमा जमिन जम्ने वा बाक्लो हिउँले ढाकिने हुनाले घाँसको अभाव भई ठूलो संख्यामा चौपायाहरूको मृत्यु हुने गर्दछ । पशुपालन मङ्गोलियाको अर्थतन्त्रको प्रमुख आधारस्तम्भ मध्ये एक हो ।
२०. युद्धविराम अनुगमन संयन्त्र अघि बढेसँगै मोनुस्को प्रमुखद्वारा गोमाको भ्रमण
प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा तैनाथ संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसन (मोनुस्को) की कार्यवाहक प्रमुख भिभियन भान डे पेरे गोमा पुग्नुभएको छ । उहाँको यो भ्रमणलाई कङ्गो सरकार र ‘मार्च २३ मुभमेन्ट’ (एम२३) विद्रोहीबीच संयुक्त युद्धविराम अनुगमन तथा प्रमाणीकरण संयन्त्र कार्यान्वयन गर्ने दिशामा एक महत्वपूर्ण कदमका रूपमा हेरिएको छ । उहाँ सवार हेलिकप्टर गोमा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । सन् २०२५ को जनवरीमा यो पूर्वी शहर एम २३ विद्रोहीको नियन्त्रणमा गएपछि उक्त विमानस्थल बन्द रहँदै आएको छ । विमानस्थल बन्द हुँदा द्वन्द्वग्रस्त यस क्षेत्रमा मानवीय सहायता सामग्रीको ढुवानी र कूटनीतिक आवतजावतमा जटिलता उत्पन्न भएको छ । यस क्षेत्रमा अझै पनि समय–समयमा फाट्टफुट्ट झडपहरू भइरहेका छन् ।
२१. कार्यन्वयन गर्न नसकिने संकल्प गरेका छैनौँः अध्यक्ष लिङदेन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आगामी निर्वाचनको लागी पार्टीले तयार गरेको घोषणापत्रमा कार्यन्वयन गर्न सकिने संकल्प मात्रै गरिएको बताउनुभएको छ । शनिवार घोषणापत्र जारी गर्दै उहाँले शतप्रतिशत कार्यान्वयन गर्न सकिने प्रतिबद्धताहरू मात्रै समावेश गरिएको बताउनुभएको हो । पार्टीले पूर्ण बहुमत हासिल गर्ने विश्वासका साथ आफ्नो घोषणापत्र तयार पारेको उहाँले बताउनु भयो । उहाँकाअनुसार घोषणापत्रमा मतदातालाई भ्रममा पार्ने वा केवल भोट बढाउने उद्देश्यले कुनैपनि कुरा राखिएको छैन । उहाँले वितरणमुखी नीति नभई देशको अर्थतन्त्रलाई कसरी मजबुत बनाउने भन्ने कुरामा पार्टी केन्द्रित रहेको बताउनु भयो । आयात प्रतिस्थापन, रोजगारी अभिवृद्धि, राजश्व वृद्धि र आर्थिक दायरा विस्तार गर्ने स्पष्ट योजनाका आधारमा घोषणापत्र तयार गरिएको उहाँले जानकारी दिनुभयो । सबै विषय यथार्थमा आधारित भएकाले प्रतिवद्धता पूरा गर्न वैदेशिक ऋण लिनु नपर्ने र करसमेत नबढाउनुपर्ने उहाँको दाबी छ ।
२२. जनताको आकर्षण हामीतिर छः उपेन्द्र यादव
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले यसपटकको निर्वाचनमा जनताको समर्थन आफूहरुलाई बढेको दाबी गर्नुभएको छ । राष्ट्रिय प्रेस क्लवले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाँले विगतको निर्वाचनको तुलनामा यसपटक जसपा नेपालको लागी अनुकूल वातावरण भएको दाबी गर्नुभएको हो । पार्टी एकीकरणपछि संगठन बलियो भएकोले जनसमर्थन बढेको उहाँको भनाई छ । उहाँकाअनुसार राजनीतिमा मुख्य कुरा मुद्दा, विचार र सिद्धान्त हो । राष्ट्रिय तथा स्थानीय मुद्दामा आफूहरु स्पष्ट रहेको र ती मुद्दा लिएर जनताबीच गएको उहाँले बताउनु भयो । सोही कारण विगतको तुलनामा अहिले जनताको आकर्षण आफ्नो पार्टीतर्फ बढेको उहाँको जिकिर छ । उहाँले आफूहरुले सधै जनताका मुद्दालाई केन्द्रमा राखेर अघि बढ्ने गरेको उल्लेख गनुभयो ।
२३. राप्रपाको चुनावी नाराः ‘बरु नष्ट हुन्छौँ, भ्रष्ट हुँदैनौँ’
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले देशमा सुशासन स्थापना गर्ने दृढ प्रतिवद्धतासहित विभिन्न संरचनात्मक तथा कानूनी सुधारका कार्यक्रम सार्वजनिक गरेको छ । राप्रपाले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि सार्वजानिक गरेको घोषणापत्रमा ‘बरु नष्ट हुन्छौ, भ्रष्ट हुँदैनौ !’ भन्ने मूल मन्त्रका साथ सुशासनको कार्यक्रम अगाडी सारेको हो । घोषणापत्रमा उच्चस्तरीय छानबिनदेखि न्यायपालिका पुनर्संरचनासम्मका कार्यक्रम अगाडी सारिएका छन् । २०४६ सालपछि उच्च पदमा बसेका नेता तथा कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय नागरिक आयोग गठन गरिने घोषणा गरिएको छ । अवैध सम्पती जफत गर्न कानूनी व्यवस्था मिलाइने, भ्रष्टाचार सम्बन्धी सूचना दिने व्यक्तिलाई संरक्षण र प्रोत्साहन गर्न ‘सूचक संरक्षण ऐन’ बनाई लागू गरिने घोषणापत्रमा छ । नीतिगत तथा कार्यगत क्षेत्रमा देखिएका भ्रष्टाचार र अनाचार अन्त्य गर्न सार्वजनिक पद धारण गर्ने पदाधिकारीलाई कानूनी दायरामा ल्याउन ‘स्वार्थको द्वन्द्व’ सम्बन्धी कानून जारी गरिने राप्रपाले जनाएको छ ।
२४. ललितपुरमा नेशनल चेष्ट सेन्टरको सुभारम्भ
लतिलपुरको मानभवनमा नेशनल चेष्ट सेन्टर सञ्चालनमा आएको छ । शनिवार एक विशेष कार्यक्रमको आयोजना गरी उक्त सेन्टरको शुभारम्भ गरिएको हो । श्वासप्रश्वासका बिरामीलाई एउटै छानामुनी सम्पूर्ण उपचार सेवा प्रदान गर्ने उद्देश्यले सेन्टर सञ्चालनमा ल्याइएको जनाइएको छ । सेन्टरमा फोक्सोको कार्यक्षमता परीक्षण, डिजिटल एक्स रे तथा आवश्यक इमेजिङ सुविधा, एलर्जी तथा दमको परीक्षण, सिओपी, दम, क्षयरोग तथा अन्य दीर्घकालिन श्वासप्रश्वास रोगको उपचार, धुम्रपान त्याग परामर्श सेवा उपलब्ध रहेको छ । विशेषज्ञ परामर्शसहित नियमित फलोअप, अत्याधुनिकस्तरको प्रयोगशाला सुविधा तथा विरामीलाई सहज रुपमा औषधि उपलब्ध गराउन आफ्नै फार्मेसी समेत रहेको सेन्टरले जनाएको छ । सेन्टरले काठमाडौं उपत्यकाको मात्रै नभई देशभरबाट आउने बिरामीहरुलाई सेवा दिने लक्ष्य राखेको छ ।
२५. लोकप्रियतावादको भ्रमबाट सचेत रहन एमालेको आह्वान
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रचार तथा प्रकाशन विभाग प्रमुख मीनबहादुर शाहीले लोकप्रियतावादको भ्रमबाट सचेत रहन मतदातालाई आह्वान गर्नुभएको छ । विभागले शनिवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले देशको लोकतान्त्रिक अभ्यास र दीर्घकालीन राष्ट्रिय हितमाथि क्षणिक तथा भावनात्मक लोकप्रियताले गम्भीर प्रभाव पार्नसक्ने भएकोले यसप्रति गम्भीर गर्न आग्रह गर्नुभएको हो । उहाँकाअनुसार राजनीतिमा देखापर्ने लोकप्रियतावाद प्रायः भ्रमपूर्ण हुने गरेको छ । यसले नीति, स्थायित्व तथा सुशासनमा नकारात्मक असर पार्ने उहाँको भनाई छ । उहाँले सबै मतदातालाई विचार, सिद्धान्त, तथ्य, अनुभव र राष्ट्रिय हितलाई केन्द्रमा राखी विवेकपूर्ण ढङ्गले आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न आग्रह गर्नुभयो ।
२६. नेपाली काँग्रेस पनि वामपन्थी विचार र शक्तिको संवाहक होः कमल थापा
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले आफूले नेपाली काँग्रेसलाई पनि वामपन्थी विचार र शक्तिको संवाहक शक्तिको रुपमा लिएको बताउनुभएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो टिप्पणी गर्नुभएको हो । नेता थापाले विगत लामो समयदेखि नेपालको राष्ट्रिय राजनीतिमा बामपन्थी विचार र शक्तिहरुको वर्चश्व रहेको उल्लेख गर्दै नेपाली काँग्रेसले पनि सोही विचारधाराअनुसार आफूलाई अघि बढाएको दाबी गर्नुभयो । उहाँले नेपाली समाजमा वैदिक मूल्य, मान्यता र परम्पराले जरो गाँडेर बसेको भएपनि त्यसको विपरित साम्यवाद, माक्र्सवाद र समाजले डोहो¥याउने काम भएकाले मुलुकमा बिडम्वनापूर्ण अवस्था आएको जिकिर समेत गर्नुभयो ।
२७. फागुन ३ मा काँग्रेसको चुनावी घोषणा पत्र सार्वजनिक हुने
नेपाली काँग्रेसले यही फागुन ३ गते (भोलि) पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक गर्ने भएको छ । शनिवार पार्टी मुख्यालय सानेपामा पत्रकार सम्मेलन गरी नेपाली काँग्रेस केन्द्रिय प्रचार, प्रचार समितिले सो जानकारी गराएको हो । पार्टीको तर्फबाट प्रतिज्ञापत्रको रुपमा सो घोषणा पत्र जारी गरिने पार्टीका प्रवक्ता देवराज चालिसेले बताउनु भयो । उहाँले घोषणा पत्रमा सार्वजनिक गरिएका कार्यक्रमहरु सम्पन्न गर्ने मितिसहितको प्रतिज्ञा घोषणा पत्रमा समावेशी गरिने पनि बताउनु भयो । प्रवक्ता चालिसेले भन्नुभयो,‘यसअघि घोषणा पत्र मात्र घोषणा पत्रको रुपमा मात्रै जारी भएको नेपाली जनताले महशुस गरे । लामा लामा सपनाहरु ठूल्ठूला कथाहरु जस्तो देखियो । र जनताले ती घोषणा पत्रको बारेमा जुन चासो राख्नुपर्ने हो, त्यो समेत नभएको अवस्था विगतमा देखियो । यस पटक हामीले घोषणा होइन कि प्रतिज्ञा पत्र ल्याउँछौ । जो फरक छ । हामीले प्रतिज्ञाको सन्दर्भमा यो घोषणा गर्दैछौँ । यति हामी काम गर्नसक्छौँ, यति हामी गर्छौं गर्नसक्छौँ र गर्छौं भन्ने कुरा पिरियडीकल्ली हुन्छ ।
२८. साम्यवाद र समाजवादी दर्शन विश्वबाटै असफल भइसक्योः राजेन्द्र लिङदेन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले साम्यवादी र समाजवादी दर्शनहरु असफल भइसकेको टिप्पणी गर्नुभएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । अध्यक्ष लिङदेनलेसमाजवाद र साम्यवादको दर्शन असफल भई विश्वका ठूल्ठूला राष्ट्रहरु पनि संवद्र्धनवादतर्फ उन्मुख भइरहेको जिकिर समेत गर्नुभयो । उहाँले मुलुकलाई बनाउन पनि र बचाउन पनि संवद्र्धनवाद उपयुक्त विचारधारा भएकाले आफ्नो पार्टीले त्यसलाई अंगिकार गरेर अघि बढेको समेत बताउनु भयो । उहाँले भन्नुभयो,‘संवद्र्धनवाद यो केवल हामीलाई मात्रै ठिक लागेको दर्शन, विचार होइन । अहिले समाजवाद, साम्यवाद भनेको परम्पगत जो दार्शनिक अवधारणहरु छन् । समाज विभाजित थियो, विश्व विभाजित थियो ।
२९. साधु सन्तहरुको आगमनले पशुपति क्षेत्र गुञ्जायमान
महाशिवरात्रिको पावन अवसरमा आराध्यदेव भगवान पशुपतिनाथ क्षेत्रमा अहिले विशेष चहलपहल छ । आईतवारको महाशिवरात्री पर्वका लागि पशुपति क्षेत्र विकास कोषले सबै सुरक्षा, व्यवस्थापन र सजावटका कार्यहरू पूरा गरेको छ । महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपति क्षेत्र अहिले साधुसन्तहरूको आगमनले भरिभराउ भएको छ । नेपाल तथा भारतका विभिन्न स्थानबाट ४ हजारभन्दा बढी साधुसन्त र नागा बाबाहरू पशुपति आइपुगेका छन् । विशेषगरी भारतका विभिन्न अखडाबाट सयौँ नागा बाबाहरूको उपस्थिति छ । उनीहरूले बाल्ने धुनीले पशुपति क्षेत्रमा एउटा फरक र आध्यात्मिक वातावरण सृजना गरेको छ । पशुपतिनाथको मुख्य मन्दिर र वरपरको क्षेत्रलाई फूल र आधुनिक बत्तीहरूले झिलिमिली पारिएको छ । वनकाली, भुवनेश्वरी, राममन्दिर, मृगस्थली र बागमती किनारका क्षेत्रहरूमा रंगरोगन गरी आकर्षक बनाइएको छ । –न्युज एजेन्सी नेपाल
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij