२०८२ फाल्गुण ३ गते आइतवार
पाल्पा । पाल्पा र रूपन्देहीको सिमानामा रहेको प्रसिद्ध सिद्धबाबा मन्दिर महाशिवरात्रिको स्वागतका लागि दुलहीझैँ सिँगारिएको छ।
विगतमा सडकको धुलो र लामो जाम झेल्दै दर्शन गर्नुपर्ने बाध्यतालाई चिर्दै यस वर्ष मन्दिर विकास समितिले मन्दिर दर्शन र पूजाआजा गर्न जाने दर्शनार्थीहरूलाई निर्माणाधीन सुरूङ मार्ग भित्रैदेखि लाइन लगाउने व्यवस्था गर्दैछ।
आइतबार परेको महाशिवरात्रिका लागि मन्दिर परिसरलाई रंगरोगन र ध्वजापताकाले झिलिमिली पारिएको छ। मन्दिर विकास समितिले दर्शनार्थीहरूलाई सहज होस् भनेर मन्दिरको दर्शन र पूजाको लागि टोकन प्रणालीको व्यवस्था गरेको छ। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सन्तोषकुमार शेरचनले यस वर्ष दर्शनार्थीलाई सिद्धबाबा सुरूङ मार्ग भित्रैदेखि लाइन व्यवस्थापन गरिने भएकोले सिद्धार्थ राजमार्गको सवारी आवागमन प्रभावित नहुने र दर्शनार्थीले पनि सुरक्षित महसुस गर्ने बताए।
‘दर्शनार्थीहरूको ठूलो भिड र सडकमै लाइन लाग्नु पर्दा विगतमा दर्शनका लागि साढे तीन घण्टासम्म लाइन बस्नुपर्ने बाध्यता थियो, तर यस पटक भने लाइन लागेको साढे दुई घण्टाभित्रै दर्शन गराइसक्ने लक्ष्य राखेका छौँ,’ शेरचनले भने।
प्रचारप्रसार संयोजक अरविन्द पाण्डेका अनुसार आइतबार ६० हजार बढी दर्शनार्थीले सिद्ध बाबा मन्दिरको दर्शन र पूजापाठ गर्ने अपेक्षा गरिएको छ।
गत वर्ष करिब ४० हजार दर्शनार्थीले मन्दिरको दर्शन गरेकोमा यस पटक २० हजार दर्शनार्थी थप हुन अनुमान गरिएको उनले बताए। त्यही अनुसार भिड व्यवस्थापन र दर्शनार्थीहरुको सुरक्षाका लागि नेपाली प्रहरी र सशस्त्र प्रहरी गरी ५० जना र २ सय बढी स्वयंसेवक परिचालन गरिने उनले बताए।
मन्दिरको दर्शनको लागि पुग्ने दर्शनार्थीहरूको अन्य सुरक्षाको लागि मन्दिर परिसरमा १८ वटा सिसी क्यामेरा जडान गरिएको र त्यसैबाट प्रत्यक्ष निगरानी गर्ने व्यवस्था मिलाइएको उनले बताए। मन्दिरको दर्शनको लागि पुग्ने ज्येष्ठ नागरिक, वृद्धवृद्धा, गर्भवती र अशक्तहरूलाई लाइन बस्नु नपर्ने र सिधै मूल मन्दिरमै पुगेर पूजा गर्न मिल्ने गरी विशेष व्यवस्था मिलाएको शिवरात्रि मेला संयोजक तथा मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष तोया लम्सालले जानकारी दिए।
विगतका वर्षहरूमा बिहान तीन बजेदेखि नै दर्शनार्थीहरूको लाइन लाग्ने गरेकोमा यस पटक आइतबार बिहान ४ बजेदेखि नै सर्वसाधारणका लागि मन्दिरको ढोका खुला गरिनेछ। त्यस्तै मन्दिरसम्म पुग्न विभिन्न स्थानदेखि निःशुल्क बस सेवा समेत उपलब्ध गराइने लम्सालले बताए।
उनका अनुसार दुई वटा बसले निःशुल्क र नौ वटा बसले सशुल्क गरी बुटवलको योगीकुटी, कालिकानगर, राजमार्ग चौराहा, अस्पताल लाइन, देवीनगर, शान्ति चोक, मिलनचोक, ट्राफिक चोक, गोलपार्क तथा पाल्पाको दोभान र झुम्सा सम्मबाट दर्शनार्थीलाई मन्दिरसम्म ल्याउने र लैजाने समेत गर्ने छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij