२०८२ फाल्गुण २८ गते बिहिवार
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रियसभाको आजको बैठकमा ‘मुस्लिम आयोगको आर्थिक वर्ष २०८०र८१ को वार्षिक प्रतिवेदन’ पेस गर्दै छिन् ।
मध्याह्न सवा १२ बजे हुने बैठकमा प्रधानमन्त्रीले उक्त प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दहालले ‘सङ्घीय एकाइहरुबीच विधायिकी अन्तरः सम्बन्ध अध्ययन प्रतिवेदत, २०८२’ र ‘बालबालिकासम्बन्धी ऐन, २०७५ मा रहेका बालसहभागितासम्बन्धी प्रावधानहरुको कार्यान्वयन मापन प्रतिवेदन, २०८२’ पेस गर्ने छिन् ।
बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माबाट ‘सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको अध्यागमन ऐन, २०४९ र सो ऐनअन्तर्गत बनेका प्रत्यायोजित विधायनहरुसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ ।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोराबारे जानकारी गराउने छ्न ।
साथै राष्ट्रपति रामचन्द्र पौडेलबाट अधिवेशन अन्त्यसम्बन्धी सभालाई प्राप्त पत्रको व्यहोराबारे पनि जानकारी गराउने छन् ।राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा आज राति १२ बजेदेखि लागू हुने गरी राष्ट्रियसभाको चालू अधिवेशन अन्त्य गरिसकेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij