Logo

२०८२ फाल्गुण १ गते शुक्रवार

२०८२ फाल्गुण १ गते शुक्रवार

आज दिनभरको २२ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्

आज दिनभरको २२ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्


  • 694
    Shares

    आज दिनभरको २२ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्

    १. विश्वकपको सुपर आठमा पुग्नसके नेपाली क्रिकेटले ठूलो फड्को मार्छः उपाध्यक्ष सिंह

    नेपालले भारतमा जारी आइसिसी टी ट्वान्टी विश्वकपको पहिलो खेलमा जितनजिक पुगेर पनि पराजित हुन पराजित हुन पुग्यो । दुईपल्ट विश्व च्याम्पियन इङ्ल्याण्डसँग चार रनले पराजित भएसँगै नेपाली टोलीमा ठूला राष्ट्रसँग खेल्ने अनुभवको कमि देखिएको चर्चा भइरहेको छ । पत्रकार सम्मेलनमा कप्तान रोहित पौडेल र नेपालका अन्य खेलाडीले यस्तै प्रश्न सामना गर्नुपरेको छ । रोहितले पनि सहजै आपूmहरूले टेस्ट राष्ट्रसँग खेल्ने अवसर नपाएको स्वीकार गर्ने गरेका छन् । गत संस्करणको विश्वकपमा दक्षिण अफ्रिकासँग पनि नेपाल १ रनले पराजित हुँदा ठूला राष्ट्रविरुद्ध जित निकाल्न असफल भएको थियो । दशौं संस्करणमा पनि नेपाली टोलीले यही नियती सामना गर्नुप¥यो । नेपालका कप्तान रोहितले भारत, अस्ट्रेलिया र इङ्ल्याण्डजस्ता टोलीलाई टियु क्रिकेट स्टेडियममा समर्थक स्वागत गर्न आतुर रहेको प्रतिक्रिया दिएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंहले सन् २०२२ देखि नै टेस्ट राष्ट्रसँग खेल्न प्रयास गरिएको उल्लेख गर्दै अन्तिम समयमा श्रीलंका र अफगानिस्तान जस्ता टोलीलाई ल्याउन नसिएको बताएका छन् ।

    २. भारतद्वारा नेपाललाई निर्वाचनका लागि तेस्रो खेपको सहयोग हस्तान्तरण

    आगामी निर्वाचनको लागि भारत सरकारले नेपाललाई निर्वाचन सम्बन्धी सहयोगको तेस्रो खेप उपलब्ध गराएको छ । काठमाडौंस्थित गृह मन्त्रालयमा बिहीवार आयोजित एक समारोहका बीच भारतीय राजदुत नवीन श्रीवास्तवले गृहमन्त्री ओमप्रकाश अर्याललाई २ सय ७० भन्दा बढी सवारी साधन तथा अन्य सामग्रीहरू औपचारिक रूपमा हस्तान्तरण गर्नुभएको हो । नेपाल सरकारले आगामी निर्वाचनको तयारीका लागि खोजेको सहयोग अनुरूप भारतले यो सामग्री उपलब्ध गराएको हो । हस्तान्तरण गरिएका सामग्रीहरूमध्ये नेपाली सेनाका लागि ५० वटा ट्रकहरू रहेका छन् । जुन प्रधान सेनापति महारथी अशोकराज सिग्देलले राजदुत श्रीवास्तवबाट ग्रहण गर्नुभयो । सहयोग ग्रहण गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले समयमै उपलब्ध गराइएको यो महत्वपूर्ण सहयोगका लागि भारतीय पक्षलाई धन्यवाद व्यक्त गर्नुभयो ।

    ३. जेन–जी सुशासन योद्धा परिवारद्वारा शहीदहरूको सम्झनामा क्षमायाचना पूजा

    जेन–जी सुशासन योद्धा परिवारले शहीदहरूको सम्झनामा भावपूर्ण क्षमायाचना पूजा गरेको छ । नयाँ बानेश्वरस्थित संसद भवन अगाडि क्षमा याचना पूजा गरिएको हो । जेन–जी आन्दोलनका क्रममा शहीद भएकाहरूको आत्मशान्तिको लागि यो पूजा एवं होम लगाइएको थियो । शहीद परिवारका सदस्यहरू, योद्धा परिवारका प्रतिनिधि तथा समर्थकहरूको उपस्थितिमा यो धार्मिक एवं भावनात्मक कार्यक्रम गरिएको हो । जेन–जी सुशासन योद्धा भनेर सरकारले पहिचान गरेका ४५ जना प्रदर्शनकारीहरूलाई शहीद घोषणा गरेको थियो । शहीदहरूको बलिदानलाई सम्मान गर्दै परिवारले यस्ता कार्यक्रम नियमित रूपमा गर्दै आएको छ । 

    ४. अल्का अस्पतालको निःशुल्क शिविरबाट २ सय बढी बाथरोगका बिरामी लाभान्वित

    अल्का अस्पतालले सञ्चालन गरेको तीन दिने निःशुल्क बाथरोग शिविरबाट २ सय बढी बाथरोगका बिरामी लाभान्वित भएका छन् । बिहीवार सम्पन्न अस्पतालको निःशुल्क स्वास्थ्य शिविरमा आएर बाथरोगका २ सय बढी बिरामीहरु लाभान्वित भएका अस्पतालले जनाएको हो । अस्पतालका प्रशासन प्रमुख भगवान केसीकाअनुसार अस्पताल परिसरमा सञ्चालित उक्त शिविर माघ २५, २७ र २९ गते तीन दिन आयोजना भएको थियो । ललितपुरको जावलाखेलमा अवस्थित अल्का अस्पतालले आफ्नो स्थापनाको २० औं वार्षिकोत्सवको अवसर पारेर शिविर सञ्चालन गरेको उहाँले बताउनु भयो । शिविरमा अस्पतालकी वरिष्ठ बाथरोग विशेषज्ञ डा. श्रेया श्रेष्ठले बाथरोग सम्बन्धी विभिन्न समस्या लिएर आएका बिरामीहरूको प्रत्यक्ष स्वास्थ्य परीक्षण गर्नुभएको थियो । 

    ५. अब आलोपालो प्रधानमन्त्री हुने प्रथा अन्त्य गरौँः विश्वप्रकाश शर्मा

    नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अब आलोपालो प्रधानमन्त्री बन्ने प्रथा अन्त्य गर्न आग्रह गर्नुभएको छ । बुटवलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले आलोपालो प्रधानमन्त्री बन्ने र बनाउने प्रथ अन्त्य गर्न जोड दिनुभएको हो । आगामी सरकारको नेतृत्वका लागि सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको रूपमा अगाडि सारिएको बताउनु भयो । मुलुकको विकास र राजनीतिक स्थायित्वका लागि काँग्रेसले यस्तो निर्णय लिएको उहाँको भनाइ छ । सम्बोधनका क्रममा शर्माले अबको निर्वाचन पछि आलोपालो प्रधानमन्त्री बन्ने विकृत प्रथाको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।

    ६. “अहिले मर्निङ्गवाक नगरौँः मस्तिष्कघात र हृदयघातको जोखिम बढ्छ”– डा. रक्षा गौतम

    काठमाडौं उपत्यकामा वायु प्रदुषणको स्तर खतराको बिन्दुमा पुगेको छ । लामो समयदेखि वर्षा नहुनु र जाडोयाममा हावाको बहाव कम हुनुले उपत्यकाको आकाश तुवाँलोले ढाकिएको छ । विश्वव्यापी ¥याङ्किङमा काठमाडौं प्रदुषित शहरहरूको सूचिमा माथिल्लो स्थानमा उक्लिरहँदा यसको प्रत्यक्ष असर जनस्वास्थ्यमा देखिन थालेको छ । यसै सन्दर्भमा अल्का अस्पताल, पुल्चोककी फिजिसियन डा. रक्षा गौतमले वायु प्रदुषणले मानव स्वास्थ्यमा पारिरहेको गम्भीर असर, विशेषगरी ‘मर्निङ वाक’ सजगता अपनाउन आग्रह गर्नुभयो ।
    काठमाडौंको बिग्रँदो हावा र स्वास्थ्य संकट
    पछिल्लो समय काठमाडौंको आकाश सफा देखिन छोडेको छ । घाम राम्रोसँग नलाग्ने र वरिपरि तुवाँलो लागेजस्तो देखिनु मौसमको खराबी मात्र नभएर वायु प्रदुषणको डरलाग्दो रूप हो । डा. रक्षा गौतमकाअनुसार सामान्यतया एअर क्वालिटी इन्डेक्स ५० देखि १०० को बीचमा हुनुलाई स्वास्थ्यका लागि राम्रो मानिन्छ । तर काठमाडौंमा जाडो मौसममा यो सूचकांक बढेर १५० भन्दा माथि र कहिलेकाहीँ त २०० सम्म पुग्ने गरेको छ । 
    डा. गौतम भन्नुहुन्छ, ‘हामीले आकाशतिर हेर्दा पनि अलि फोहोर देखिन्छ । वास्तवमा वायु प्रदुषणको कारण यस्तो देखिएको हो। अस्वस्थकर हावाले बालबालिका, वृद्धवृद्धा तथा श्वासप्रश्वासका बिरामीलाई बढी असर गर्ने गरेको छ।’

    ७. अफ्रिकी संघको कार्यकारी परिषद्को बैठक शुरु, जल सुरक्षा, एकता र शान्तिमा जोड

    अफ्रिकी संघको कार्यकारी परिषद्को ४८ औं साधारण सत्र बुधवार इथियोपियाको राजधानी अडिस अबाबास्थित एयू मुख्यालयमा शुरु भएको छ । ३९ औं एयू शिखर सम्मेलनको ढाँचा अन्तर्गत सदस्य राष्ट्रका परराष्ट्रमन्त्रीहरूको सहभागितामा यो दुई दिने बैठक आयोजना भइरहेको छ । यस बैठकको मुख्य विषय ‘एजेण्डा २०६३ का लक्ष्यहरू प्राप्त गर्न दिगो जल उपलब्धता र सुरक्षित सरसफाइ प्रणाली सुनिश्चित गर्ने’ रहेको छ । उद्घाटन सत्रलाई सम्बोधन गर्दै एयू आयोगका अध्यक्ष महमुद अली युसुफले पानी र सरसफाई सबै देशहरूका लागि महत्वपूर्ण रहेको र यसलाई संरक्षण गरिनुपर्ने स्रोतको रूपमा हेरिनुपर्ने बताउनु भयो । यो दैनिक जीवनका लागि मात्र नभई हामीलाई एकजुट बनाउने कारक पनि बन्नुपर्ने बताउनु भयो । 

    ८. इरानद्वारा नेतान्याहुको अमेरिका भ्रमणको आलोचनाः आणविक वार्तालाई कमजोर पार्ने प्रयास भएको दाबी

    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको संयुक्त राज्य अमेरिकाको भ्रमण इरान र अमेरिकाबीच शुरु भएको आणविक वार्तालाई कमजोर बनाउने प्रयास भएको इरानले बताएको छ । नेतान्याहु अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई भेट्न मंगलवार वासिङ्टन प्रस्थान गर्नुभएको थियो । उहाँले आगामी वार्ताहरूमा इरानको ब्यालेस्टिक मिसाइल क्षमताप्रति कडा अडान लिन ट्रम्पलाई दबाब दिने उद्देश्य राखेका छन् । ट्रम्पले गाजामा युद्धविराम घोषणा गरेपछि अक्टोबर २०२५ मा जेरुसेलममा भएको भेटवार्तासहित सत्तामा फर्किएपछि इजरायली प्रधानमन्त्रीको ट्रम्पसँगको यो सातौं भेट हो । नेतान्याहुको कार्यालयले हालै भनेको छ कि प्रधानमन्त्रीले इरानसँगको कुनैपनि वार्ताले यसको आणविक मुद्दा मात्र नभई ब्यालेस्टिक मिसाइल कार्यक्रम र क्षेत्रीय गतिविधिहरूलाई पनि सम्बोधन गर्नुपर्छ भन्ने धारणा राख्नेछन् । 

    ९.इरानसँगको सम्झौता सफल हुनसक्छ कि भनेर वार्ता जारी रहने ट्रम्पको भनाइ

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता जारी रहने बताउनुभएको छ । ह्वाइट हाउसमा भ्रमणमा रहनुभएका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँगको बैठकपछि उहाँले यस्तो धारणा राख्नुभएको हो । इरानसँगको वार्ता जारी राख्नुपर्ने आफ्नो अडान बाहेक अन्य कुनै निश्चित निष्कर्ष ननिस्किएको बताउनु भयो । यदि सम्झौता सम्भव भयो भने त्यो आफूहरुको प्राथमिकता हुने उहाँको भनाइ छ । यदि भएन भने नतिजा के हुन्छ भनेर हेर्नुपर्ने बताउनु भयो । दुवै नेताहरूले गाजा र समग्र क्षेत्रमा भइरहेको प्रगतिका बारेमा पनि छलफल गर्नुभयो । ट्रम्पको दोस्रो कार्यकाल शुरु भए यता यी दुई नेताबीचको यो सातौं भेटवार्ता हो । जुन करिव तीन घण्टा चलेको थियो ।

    १०. टर्कीद्वाार मन्त्रिपरिषद् पुनर्गठनः नयाँ न्याय र गृह मन्त्रीहरू नियुक्त

    राष्ट्रपतीय निर्णयअनुसार टर्कीले वरिष्ठ न्यायिक र प्रशासनिक पदहरूमा ठूलो फेरबदल गरेको छ । जसमा अकिन गुर्लेकलाई न्याय मन्त्री र मुस्तफा सिफ्तीलाई गृह मन्त्रीमा नियुक्त गरिएको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानद्वारा हस्ताक्षरित नियुक्ति निर्णयहरू आधिकारिक राजपत्रमा प्रकाशित भएका थिए । न्याय मन्त्री यिलमाज टुन र गृहमन्त्री अली येर्लिकायाले बुझाएको राजीनामाको अनुरोध स्वीकृत गरिएको अध्यादेशमा उल्लेख छ । तर उनीहरूको राजीनामाको कारण भने खुलाइएको छैन । इस्तानबुलका पूर्वमुख्य सरकारी वकील गुर्लेक धेरै उच्च–स्तरका राजनीतिक मुद्दाहरूमा उनको फैसला र अनुसन्धानका कारण चर्चामा रहेका छन् । यसैबीच, सिफ्तीको क्षेत्रीय प्रशासनमा पृष्ठभूमि छ र उनले २०२३ देखि एरजुरुम प्रान्तको गभर्नरको रूपमा सेवा गरेका छन् ।

    ११. वेस्ट बैंकमा इजरायली नियन्त्रण विस्तार विरुद्ध प्यालेस्टाइनको प्रतिरोध आह्वान

    प्यालेस्टाइनी नेतृत्वले प्यालेस्टाइनी नागरिक र सुरक्षा संस्थाहरूलाई पश्चिम बैंकमा नियन्त्रण विस्तार गर्ने उद्देश्यका साथ चालिएका इजरायली कदमहरूसँग सहयोग नगर्न आग्रह गरेको छ । एक प्रेस विज्ञप्ति जारी गर्दै प्यालेस्टाइनी उप–राष्ट्रपति हुसेन अल–शेखले प्यालेस्टाइनीहरूलाई अडिग रहन र इजरायली कब्जाका कानूनहरूलाई अस्वीकार गर्न आह्वान गरेका छन् । प्यालेस्टाइनी जनतालाई आफ्नो भूमिमा अडिग र लचिलो रहन र कब्जा गर्ने कानूनहरूलाई पूर्ण रूपमा अस्वीकार गर्न आह्वान गरिएको छ । इजरायली सरकारले केही दिनअघि स्वीकृत गरेको पछिल्लो कानून अन्तर्राष्ट्रिय कानून र प्यालेस्टाइन मुक्ति संगठनसँग गरिएका सम्झौताहरूको विपरित रहेको प्यालेस्टाइनको ठहर छ । 

    १२. स्पेनका रेल कर्मचारीहरू सुरक्षाको माग गर्दै हड्तालमा

    स्पेनका प्रमुख रेल युनियनहरूले देशव्यापी हडताल शुरु गरेका छन् । जसमा रेल कर्मचारी र चालकहरूले रेल सञ्चालन सुरक्षामा व्यापक सुधारको माग गर्दै सेवाहरू स्थगित गरेका हुन् । यो हडतालका कारण देशभर रेल सेवा रद्ध भएको छ । यात्रुहरूको यात्रा प्रभावित भएको छ । युनियनका प्रतिनिधिहरूले स्पेनमा हालै भएका रेल दुर्घटनाहरूको श्रृङ्खलाले अग्रपंक्तिका कर्मचारीहरूमा रेल सुरक्षाको अवस्थाबारे चिन्ता बढाएको बताएका छन् । हडतालको समयमा, स्पेन सरकारले अत्यावश्यक यातायात आवश्यकताहरू सुनिश्चित गर्न न्युनतम सेवा स्तरहरू तोकेको थियो । यद्यपि केही मार्गहरूमा सेवाहरू ससमित नै रहे । 

    १३. बालबालिकालाई सामाजिक सञ्जालबाट बाहिर राख्ने कानून आवश्यकः कृष्णप्रसाद सिटौला

    राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले सामाजिक सञ्जालमा बालबालिकाहरुको बढ्दो प्रभावप्रति चिन्ता व्यक्त गर्नुभएको छ । बिहीवार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा भएको बालबालिका ऐन कार्यान्वयन मापनको मस्यौदा प्रतिवेदनसम्बन्धी छलफलमा उहाँले बालबालिकालाई नकारात्मक सामग्रीबाट जोगाउन नेपालमा स्पष्ट कानूनी व्यवस्था आवश्यक रहेको बताउनु भयो । उहाँले सामाजिक सञ्जाल सबैतिर खुला भएकोले बालबालिकाहरुले मोबाइलमा आउने जस्तो पनि साम्रग्री हेर्ने गरेको उल्लेख गर्नुभयो । उनीहरूलाई सकारात्मक सोचतर्फ कसरी अघि बढाउने र नकारात्मक सामग्रीबाट कसरी जोगाउने भन्ने विषयमा गम्भीर ध्यान दिनुपर्ने बताउनु भयो । कतिपय देशमा विद्यालय तहका विद्यार्थीलाई मोबाइल प्रयोगमा प्रतिवन्ध लगाइएको उदाहरण दिँदै उहाँले नेपालमा पनि यस्ता विषयमा बहस र नीति निर्माण आवश्यक रहेको उल्लेख गर्नुभयो ।

    १४. विधायन समितिबाट बालबालिकासम्बन्धी ऐन कार्यान्वयन मापनको प्रतिवेदन पारित

    विधायन व्यवस्थापन समितिको बैठकले बालबालिकासम्बन्धी ऐन, २०७५ को कार्यान्वयन अवस्थाबारे तयार पारिएको मापन प्रतिवेदन (मस्यौदा) पारित गरेको छ । विहीवार बसेको बैठकले ऐनमा समेटिएका बाल सहभागिता सम्बन्धी प्रावधानहरूको कार्यान्वयन मूल्याङ्कन गर्दै तयार पारिएको प्रतिवेदन पारित गरेको हो । समितिकी सभापति तुलसाकुमारी दाहालले बालबालिकासम्बन्धी ऐन, २०७५ मा रहेका बाल सहभागितासम्बन्धी विषयवस्तुमा व्यापक छलफल गरिएको बताउनु भयो । उहाँकाअनुसार समितिले १७ वटा कार्यक्रम सञ्चालन गरेको थियो भने पाँच वटा प्रदेशमा प्रत्यक्ष छलफल गरिएको थियो । सातै प्रदेशमा पुगेर छलफल गर्नसके अझ प्रभावकारी हुने उहाँले उल्लेख गर्नुभयो । उहाँले प्रतिवेदनबारे विज्ञहरूसँग थप छलफल गर्न समय अभावका कारण नकिएको बताउनु भयो ।

    १५. सडक सुरक्षा चुनौतीपूर्ण बन्दै गएको छः सचिव शर्मा 

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले नेपालमा सडक सुरक्षा प्रमुख चुनौतीका रूपमा उभिएको बताउनुभएको छ । उपत्यकाका ट्राफिक प्रहरी कार्यालयले बिहीवार आयोजना गरेको सडक सुरक्षा कार्यशालामा उहाँले सडक सुरक्षा चुनौतीपूर्ण बन्दै गएको बताउनुभएको हो । यातायातको माध्यमबाट जीवन सहज बनाउने र विकासको गतिलाई अगाडि बढाउने पूर्वशर्त सडक यातायात भएपनि सडक सुरक्षाको विषय निकै संवेदनशील बन्दै गएको उहाँको भनाई छ । विशेष गरी एशियाली तथा विकासोन्मुख देशहरूमा ट्राफिक व्यवस्थापन र सुरक्षाको समस्या गम्भीर रहेको उहाँले बताउनु भयो । सचिव शर्माले ट्राफिक सुरक्षा कुनै एक पक्षको प्रयासले मात्र सम्भव नहुने स्पष्ट पार्दै रोड सेफ्टी काउन्सिल गठनको आवश्यकता रहेको बताउनु भयो । उहाँले धेरै पहिलेदेखि रोड सेफ्टी काउन्सिल गठन गर्न प्रयास गरिरहेको भएपनि सफल हुन नसकेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री वा मन्त्रीको नेतृत्वमा काउन्सिल गठन गर्नको लागि अर्थ मन्त्रालयलाई पटक–पटक आग्रह गरेको भएपनि अहिलेसम्म गठन हुन नसकेको उहाँको भनाई छ । 

    १६. प्रतिनिधि सभा निर्वाचनः प्रत्यक्षतर्फको एक करोड ५७ लाखभन्दा बढी मतपत्र छपाइ सकियो, १२ जिल्लामा ढुवानी

    आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ कार्य सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । बिहीवार बिहान ८ बजेसम्म प्रत्यक्षतर्फको निर्वाचन प्रणालीतर्फका ५८ जिल्लाका १२४ ावटा निर्वाचन क्षेत्रको आगि आवश्यक मतपत्र छपाइ कार्य सम्पन्न भएको आयोगका मुद्रण अधिकृत बाबुराम कोईरालाले जानकारी दिनुभयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले प्रत्यक्षतर्फको निर्वाचनका लागि दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्ने उल्लेख गर्दै एक करोड ५७ लाख ७८ हजार मतपत्र छपाइ कार्य सम्पन्न भइसकेको बताउनु भयो । उहाँकाअनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ कार्य सम्पन्न गरी रुजु (जाँच) समेत गरेर ढुवानीको लागि तयारी अवस्थामा राखिएको छ । 

    १७. रक्षा मन्त्रालयको दोस्रो त्रैमासिक समिक्षाः पुँजीगत खर्च ६ प्रतिशत मात्र, अधिकांश आयोजनामा वित्तिय प्रगति कमजोर

    रक्षा मन्त्रालयले चालु आर्थिक वर्ष २०८२÷८३ को दोस्रो त्रैमासमा सम्पन्न गरेका कामकारबाही र उपलब्धि सार्वजनिक गरेको छ । मन्त्रालयले बजेट कार्यान्वयन, मन्त्रालय तथा अन्तर्गतका निकायहरुमार्फत भएको खर्चको विवरण तथा मन्त्रालयअन्तर्गतका निकायहरुबाट सञ्चालित विकास निर्माणका योजनाहरु कार्यान्वयनको अवस्था सार्वजनिक गरेको हो । मन्त्रालयकाअनुसार पुस मसान्तसम्ममा वार्षिक लक्ष्यको ४५ दशमलव ८२ प्रतिशत बजेट खर्च भएको छ । चालु आर्थिक वर्षको लागि सरकारले रक्षा मन्त्रालयको लागि ६२ अर्ब १ करोडभन्दा बढी बजेट विनियोजन गरेकोमा पुस मसान्तसम्म चालु खर्च ५० प्रतिशत र पुँजीगत खर्च जम्मा ७ प्रतिशत मात्र खर्च भएको हो । रक्षा मन्त्रालयमातहत सञ्चालित विकास कार्यक्रम तथा आयोजनामा भौतिक प्रगतिको तुलनामा वित्तीय प्रगति समेत कमजोर देखिएको छ । नेपाली सेनाको जिम्मेवारीमा रहेको काठमाडौं–तराई÷मधेस दु्रतमार्गको वित्तिय प्रगती ९.८४ प्रतिशत भएको छ भने भौतिक प्रगति २०.२० प्रतिशत भएको छ । 

    १८. दैनिक उपभोग्य वस्तुको भाउ बढेको हो ?

    निर्वाचनको मुखमा बजारमा दैनिक उपभोग्य वस्तुहरुको भाउ बढ्दै गएको छ । विगत केही समयदेखि तेल, चामलजस्ता दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि देखिएको छ भने ग्यासको अभाव अझै हटेको छैन । खानेतेलमा प्रतिलिटर २५ देखि ३० रुपैयाँसम्म मूल्यवृद्धि देखिएको छ भने चामलको समेत भाउ बढेको छ । यसले उपभोक्ताको भन्सासम्मै असर पर्ने देखिएको छ । बजारमा पछिल्ला दिनमा खानेतेल, चामल र दालमा अत्यधिक मूल्यवृद्धि भएको व्यवसायीहरू नै स्वीकार्छन् । नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधरले केही दिन यता बजारमा दाल, चामल, तेलमा भाउ बढेर आएको बताउनुभएको छ । उहाँकाअनुसार त्यस्ता वस्तुहरु एमआरपी नै बढेर आएका कारण दैनिक उपभोग्य वस्तुहरु खुद्रा व्यापारीहरुले बढाएर बेच्नुपरेको छ ।

    १९. प्रधानमन्त्रीद्वारा कोशी प्रदेशको निर्वाचन तयारी र सुरक्षा अवस्थाबारे जानकारी

    प्रधानमन्त्री सुशीला कार्कीले कोशी प्रदेशका निर्वाचनसँग संवद्ध अधिकारी र सुरक्षा प्रमुखहरुसँग निर्वाचन तयारी र सुरक्षा अवस्थाबारे जानकारी लिनुभएको छ । सोलुखुम्बु र भोजपुरको भ्रमण सकेर सुनसरीको इटहरी पुगेपछि प्रधानमन्त्री कार्कीले समग्र कोशी प्रदेशको अवस्थाका बारेमा छलफल गर्नुभएको हो । कोशी प्रदेशका प्रमुख सचिव राजेन्द्रकुमार पौडेल, नेपाल प्रहरीका नायव महानिरीक्षक विनोद घिमिरेका साथै विभिन्न जिल्लका मुख्य निर्वाचन अधिकृतहरु, नेपाली सेना, सशस्त्र प्रहरीका, राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरु, प्रमुख जिल्ला अधिकारीहरुको पनि उपस्थिति थियो । कार्यक्रममा नेपाली सेनाका पूर्वी पृतना मुख्यालयका पृतनापति उपरथी गौरवकुमार केसीले कोसी प्रदेशको सुरक्षा अवस्था र निर्वाचनलक्षित योजनाका विषयमा प्रश्तुतीकरण दिनुभएको थियो । प्रधानमन्त्री कार्कीले निर्वाचनका लागि भएको तयारीको प्रशंसा गर्दै आउँदा दिनमा पनि सबै निकायबीच समन्वयका साथ अघि बढ्न र चुस्त दुरुस्त व्यवस्थापन गर्न निर्देशन दिनुभयो । 

    २०. निर्वाचनको तयारी अन्तिम चरणमा, सुरक्षा व्यवस्था चुस्त बनाउन प्रधानमन्त्री कार्कीको निर्देशन

    अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले मुलुकभर निर्वाचनको लागि सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन दिनुभएको छ । सुनसरीमा कोशी प्रदेशको वस्तुस्थितिबारे जानकारी लिँदै उहाँले यस्तो निर्देशन दिनुभएको हो । उहाँले निर्वाचनको माहोल उत्साहजनक रहेको र सुरक्षा निकाय तथा प्रशासनिक क्षेत्रको तयारी प्रशंसनीय रहेको बताउनु भयो । सुनसरी, मोरङ, सोलुखुम्बु र भोजपुर लगायतका जिल्लाको स्थलगत निरीक्षण र वस्तुस्थिति बुझेपछि उहाँले मंसिर २१ गते हुने मतदानको सम्पूर्ण तयारी करिव पूरा भएको उल्लेख गर्नुभयो । सुनसरी र मोरङका प्रमुख जिल्ला अधिकारीहरुको रिपोर्टिङ र कार्य सम्पादनको मूल्यांकन गर्दै कार्कीले छोटो समयमा धेरै काम भएको बताउनु भयो । निर्वाचन आयोगले निर्वाचन घोषणा भएको भोलिपल्टदेखि नै निकै मेहनतका साथ काम अघि बढाएको र अब २१ गतेको मतदान मात्र बाँकी रहेको जस्तो देखिएको उहाँको भनाइ छ । जिल्ला जिल्लामा तयारीका क्रममा केही कठिनाइ भएपनि हालसम्मको प्रगति सन्तोषजनक रहेको उहाँले उल्लेख गर्नुभयो । 

    २१. नेता कार्यकर्तालाई विश्वप्रकाशले भने– विपक्षीलाई गाली नगरी चुनावी मैदानमा होमिनुस्

    नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विपक्षीलाई गाली नगरी चुनावी मैदानमा होमिन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । बिहीबार रुपन्देहीमा आयोजित निर्वाचन केन्द्रित पार्टी सदस्य भेटघाट कार्यक्रममा उपसभापति शर्माले प्रतिस्पर्धाका नाममा दुस्मनीको खडा गरेर वा  विपक्षीलाई गाली गरेर नभई कांग्रेसले अघि सारेका एजेन्डाका आधारमा चुनावी मैदानमा होमिन नेता तथा कार्यकर्तालाई आग्रह गरेका हुन् । 

    २२. पाशुपत क्षेत्रमा महाशिवरात्रीको तयारी सम्पन्न

    महाशिवरात्रिको लागि पशुपति मन्दिर क्षेत्रमा तयारी सम्पन्न भएको छ । महाशिवरात्रिको अवसरमा पशुपति दर्शनका लागि सहज व्यवस्था मिलाउन चार बाटाको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ । कोषले बिहीवार पत्रकार सम्मेलन गरी बत्तिसपुतली–गौशालाबाट पिङ्गलास्थान हुँदै धर्मशालालाई बायाँ पारेर चार शिवालय पञ्चदेवल भई दक्षिण ढोकाबाट प्रवेशको व्यवस्था मिलाइएको जनाएको छ ।  एयरपोर्टतर्फबाट तिलगङ्गा–राममन्दिर हुँदै वाग्मती तरी पूर्वढोकाबाट प्रवेश गर्ने दर्शनार्थीको लागि सोही ढोकाबाट बाहिर निस्कने व्यवस्था मिलाइएको कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीले जानकारी दिनुभयो । उहाँकाअनुसार जोरपाटी, कपन, महाँकाल, चावहिल तर्फबाट आउने भक्तजनहरुको लागि मित्रपार्क, गौरीघाट हुँदै उत्तरढोकाबाट प्रवेश गराई दर्शन गराउने र सोही ढोकाबाट बाहिर बाहिर फर्किने व्यवस्था मिलाइएको छ ।  –न्युज एजेन्सी नेपाल

    प्रकाशित मिति :माघ २९ २०८२ बिहिवार - २०:४६:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij