२०८२ फाल्गुण २८ गते बिहिवार
काठमाडौं । बर्दिया मार्ग हुँदै भारत लैजान लागिएका तीन जना नेपाली बालबालिकाको नेपाल प्रहरीले उद्धार गरेको छ।
दाङको घोराहीबाट एक जना दाङका र दुई जना रोल्पाका बालबालिकालाई भारतीय नागरिकहरूले बर्दियाको बाटो हुँदै भारत लैजाँदै गरेको अवस्थामा बर्दियाको गुलरिया नगरपालिका–७ भन्सार रोड क्षेत्रबाट प्रहरीले उद्धार गरेको हो।
उद्धार गरिएका बालबालिकामा दाङ चौघेरा पुलवारीका ८ वर्षीय बालक, रोल्पा उपरकोटकी १५ वर्षीया बालिका र रोल्पा खाराकी १३ वर्षीया बालिका रहेका छन्। उनीहरूका परिवार प्रहरीको सम्पर्कमा आइसकेको र समन्वय भइरहेको प्रहरीले बताएको छ।
घटनामा संलग्न भएको आशंकामा भारत उत्तर प्रदेशका ६ जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा बहराइच जिल्लाका ७४ वर्षीय लेडी महत,उनका ३४ वर्षीय छोरा हिरालाल महत,२६ वर्षीया ज्ञानकुमारी महत, अयोध्या गोलाई गाउँकी ३५ वर्षीया सुनिता महत, बहराइचका २४ वर्षीय भुल्लु महत र १९ वर्षीय मुकेश महत रहेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij