२०८२ फाल्गुण २८ गते बिहिवार
काठमाडौं । सशस्त्रका पूर्वडीआइजी रञ्जनप्रसाद कोइरालाले थुनामुक्तको माग गर्दै दिएको बन्दी प्रत्यक्षीकरण निवेदनको सुनुवाइका लागि पेसी तोकिएको छ ।
कोइरालाको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो ।
श्रीमती गीता ढकालको हत्यापछि जन्मकैदको फैसला भएपछि हाल कारागारमा जेल जीवन बिताइरहेका कोइरालाले ६० प्रतिशत कैद भुक्तान गरिसकेको भन्दै थुनामुक्तको माग गर्दै सर्वोच्च पुगेका हुन् ।
उनले बन्दी प्रत्यक्षीकरण निवेदनमा यसअघि २ हजार ४ सय कैदी बन्दीले छुट पाउँदा आफूले नपाएको र २०८१ साउन ३० मै ५९ प्रतिशत कैद भुक्तान गरेको दाबी गरेका छन् । कानुनको पालना गरेको र आफ्नो असल आचरण भएको कारण देखाएर उनले आफूलाई कैद छुट हुनुपर्ने माग गरेका छन् ।
काठमाडौं जिल्ला अदालतले ०७१ वैशाख ७ मा सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । सो फैसला तत्कालीन पुनरावेदन अदालत पाटनले ०७२ मङ्सिर २३ मा सदर गरेको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij