२०८२ फाल्गुण २८ गते बिहिवार
काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापाले भदौ २३ र २४ का घटनाहरूलाई नागरिकहरूको वर्षौंदेखिको हैरानी र असन्तुष्टिको परिणाम भएको बताए । सिरहामा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै थापाले ती घटनाहरूलाई केवल सुरक्षाको दृष्टिकोणबाट मात्र नहेरी त्यसको गहिराइ बुझ्न आवश्यक रहेकोमा जोड दिए।
नागरिकले दैनिक जीवनमा खेप्नुपरेका सास्तीका बारेमा बोल्दै थापाले पासपोर्टको लाइन, लाइसेन्सको झन्झट, मलको अभाव र शिक्षित युवाहरूको बेरोजगारीले जनतालाई दिग्दार बनाएको उल्लेख गरे ।
थापाले हालको राजनीतिमा दुई थरी घातक प्रवृत्ति देखिएको विश्लेषण गरे । पहिलो, ‘सबै ठीकठाक छ, यो सबै षड्यन्त्र मात्र हो’ भन्ने सत्तारुढ मानसिकता र दोस्रो, ‘आगोमा घिउ थपेर आफ्नो राजनीतिक झन्डा उठाउने’ अवसरवादी प्रवृत्ति रहेको बताए ।
मधेसको मुद्दा उठाउने अन्य दलहरूलाई लक्षित गर्दै थापाले मधेसको अधिकार र दुःख काठमाडौंको सत्ता र प्रशासनलाई बुझाउने काम आफू र काँग्रेसले गर्ने बताए। सर्लाही ४ बाट चुनाव लड्न आउनुको उद्देश्य नै मधेसलाई नबुझी देशको नेतृत्व गर्न सकिँदैन भन्ने आत्मबोध भएको उनको भनाइ थियो ।
‘मैले बोलेको कुरा पूरा गर्न सकिनँ भने तपाईंले सुन्नुपर्ने छैन, यो मेरो प्रतिज्ञा हो ।’ उनले भने, थापाले काँग्रेसका उम्मेदवार रामचन्द्र चौधरीलाई निर्वाचित गराउन आग्रह गर्दै ५ वर्ष काँग्रेसलाई मत दिएकोमा कसैले पछुताउनु नपर्ने ग्यारेन्टी गरे ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij