Logo

२०८२ माघ २८ गते बुधवार

२०८२ माघ २८ गते बुधवार

आज दिनभरको २६ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्

आज दिनभरको २६ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्


  • 771
    Shares

    आज दिनभरको २६ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्

    १. समृद्ध नेपाल निर्माणका लागि विकास, सामाजिक न्याय र राष्ट्रिय एकता अपरिहार्यः अध्यक्ष ओली

    नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको चौतर्फी विकासका लागि भौतिक पूर्वाधारको निर्माण, सामाजिक अन्धविश्वासको अन्त्य र सुदृढ राष्ट्रिय एकता हुनुपर्नेमा जोड दिनुभएको छ । झापाको गौरीगञ्जमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले आफ्नो पार्टीले शुरु गरेका विकासका आयोजनाहरूले जनताको जीवनस्तरमा परिवर्तन ल्याएको दाबी गर्नुभयो । समृद्ध नेपालको अभियानलाई सार्थक बनाउन सबै एकजुट हुनुपर्ने उहाँको भनाइ छ । अध्यक्ष ओलीले आफू २६–२७ सालदेखि नै यस क्षेत्रको विकासमा जोडिएको स्मरण गर्दै झापाको परिवर्तन आफ्नै आँखाले देखेको बताउनु भयो । उहाँले विगतमा उपहास गरिएका हुलाकी राजमार्ग र ठूला पुलहरू आज यथार्थमा परिणत भएको बताउनु भयो । विकासका कामहरू ठेकेदार वा इन्जिनियरको त्रुटिका कारण केही ठाउँमा रोकिएको भएपनि ती सबै समस्या समाधान गरिने उहाँको भनाइ छ । उहाँले गरिबी र पछौटेपनलाई संस्कृति मानेर बस्न नहुने भन्दै गुइँठा र दाउराको सट्टा बिजुली र स्वदेशी ग्यासको प्रयोग गर्नुपर्ने बताउनु भयो । उहाँले ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्तिको संरक्षण राज्यको दायित्व भएको र एमाले सरकारले यसलाई उच्च प्राथमिकता दिएको स्पष्ट पार्नुभयो । उहाँले समाजमा रहेको बोक्सी प्रथा जस्ता कुप्रथालाई वैज्ञानिक चेतनाले चिर्नुपर्ने बताउनु भयो ।

    २. विचार र राजनीतिक मुद्दाका आधारमा नेकपा नै सबैभन्दा नयाँ पार्टी होः संयोजक दाहाल

    नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आफ्नो पार्टी विचार, नाम र राजनीतिक मुद्दाका दृष्टिकोणले नेपालकै सबैभन्दा नयाँ शक्ति भएको दाबी गर्नुभएको छ । पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले नयाँ हुनुको अर्थ केवल पुरानाको विरोध गर्नु नभई अग्रगामी विचार र एजेण्डा बोक्नु भएको स्पष्ट पार्नुभयो । दाहालले उपत्यकाभित्र रहेका विभिन्न क्षेत्रका मतदाताहरूलाई निर्वाचनमा सहभागी गराउन र नामावली भएको स्थानमा केन्द्रित गर्न कार्यकर्ताहरूलाई योजनावद्ध र संस्थागत रूपमा लाग्न निर्देशन दिनुभयो । उहाँले यसको प्रत्यक्ष प्रभाव निर्वाचनको परिणाममा पर्ने भन्दै आजैदेखि तयारी थाल्न आग्रह गर्नुभयो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रको संवाहक र उत्पीडित वर्ग, जाति, तथा समुदायको पहिचान स्थापित गर्ने मुद्दा आफ्नो पार्टीको मुख्य आधार भएको बताउनु भयो । दाहालकाअनुसार यो विचारभन्दा नयाँ र उन्नत विचार हाल नेपालको राजनीतिमा अन्य कसैको पनि छैन । अहिले सामाजिक सञ्जालमार्फत ‘नयाँ’ हुनुको गलत भाष्य निर्माण गर्न खोजिएकोमा उहाँले आपत्ति जनाउनु भयो । 

    ३. नेपाली कम्युनिस्ट पार्टीद्वारा निर्वाचन प्रतिवद्धता पत्र सार्वजनिकः सुशासन र रोजगारीलाई मुख्य प्राथमिकता

    आगामी २०८२ फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि २२ वटा कम्युनिस्ट तथा समाजवादी घटकहरूको एकीकरणबाट बनेको नेपाली कम्युनिस्ट पार्टीले आफ्नो चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । 
    ‘तारा’ चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रिएको सो पार्टीले ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ भन्ने मूल नाराका साथ स्वाधीन र समृद्ध नेपाल निर्माणको मार्गचित्र प्रश्तुत गरेको हो । प्रतिवद्धता पत्रमा राजनीतिक स्थिरता, नयाँ चरणको आर्थिक सुधार र सामाजिक न्यायसहितको समृद्धिलाई प्रमुख आधार स्तम्भ मानिएको छ । पार्टीले शासकीय स्वरूपमा सुधार गर्दै मन्त्रिपरिषद्को आकार घटाउने, निर्वाचन प्रणालीलाई कम खर्चिलो बनाउने र उच्चस्तरीय सम्पत्ति छानबिन आयोग गठन गरी भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने प्रतिज्ञा गरेको छ । आर्थिक क्षेत्रमा आगामी पाँच वर्षभित्र दोहोरो अङ्कको आर्थिक वृद्धिदर हासिल गर्ने र वार्षिक ५ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ । 

    ४. नेकपाको प्रतिवद्धता पत्रः १० प्रतिशत आर्थिक वृद्धि, प्रतिवर्ष ५ लाख रोजगारी, प्रत्यक्ष निर्वाचित कार्यकारी र सुशासनको ‘समाजवादी मार्गचित्र’

    २२ वटा विभिन्न कम्युनिष्ट तथा समाजवादी घटकहरूको एकीकरणपछि बनेको नेपाली कम्युनिष्ट पार्टीले आगामी २०८२ फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आफ्नो विस्तृत प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । ‘तारा’ चुनाव चिन्ह लिएर मैदानमा उत्रिएको सो पार्टीले ‘सुशासन र रोजगारी समाजवादको तयारी’ तथा ‘राष्ट्रियता र लोकतन्त्रको रक्षा हाम्रो जिम्मेवारी’ भन्ने मूल नाराका साथ स्वाधीन र समृद्ध नेपाल निर्माणको मार्गचित्र प्रश्तुत गरेको हो । पार्टीले विगतका राजनीतिक परिवर्तनहरूको नेतृत्व आफूले गरेको दाबी गर्दै अब देशको आर्थिक र सामाजिक अवस्था बदल्ने संकल्प गरेको छ । प्रतिवद्धता पत्रमा राजनीतिक स्थिरता, भ्रष्टाचार नियन्त्रण, नयाँ चरणको आर्थिक सुधार र सामाजिक न्यायसहितको समृद्धिलाई प्राथमिकता दिइएको छ । 

    ५. नेपाल–भारत सम्बन्धको नयाँ मार्गचित्रः सुरक्षा, सामुन्द्रिक पहुँच र रणनीतिक स्थिरता

    नेपाल–भारतका सुरक्षा विज्ञहरुले निर्वाचनले मात्रै स्थिरता नदिने बताएका छन् । नेपाल इन्स्टिच्युट फर इन्टरनेसनल कोअपरेसन एण्ड इन्गेजमेण्टको दशौं वार्षिकोत्सव समारोहमा बोल्दै विज्ञहरुले नेपालको आगामी निर्वाचन र यसले निम्त्याउने सामरिक कथ्यहरुको विश्लेषण गरेका हुन् । निर्वाचनले मात्रै स्थिरता नदिने तर्क गर्दै वक्ताहरुले अनुभवी राष्ट्रवाद, सुधारवादी युवा नेतृत्व, उदाउँदो नयाँ शक्ति र राजतन्त्र पुनस्र्थापनाको पक्षधरका बीचमा निर्वाचन भइरहेको बताए । युरोपका भू–परिवेष्ठित राष्ट्रहरुको उदाहरण दिँदै भूगोलले मात्र राष्ट्रको नियति निर्धारण नगर्ने उनीहरुको भनाइ छ । स्विट्जरल्याण्ड र अस्ट्रिया जस्ता देशहरु ‘भूगोलले मात्र ल्याण्डलक’ हुन् तर दक्षिण एशियामा भने देशहरु ‘राजनीति र सुरक्षा’ ले पनि ल्याण्डलक हुन पुगेका भारतीय नौसेनाका पूर्वनिर्देशक सञ्जय जसजीत सिंहले बताउनु भयो ।

    ६. नेकपाद्वारा चार राजनीतिक शक्तिको वर्गीकरणः नयाँ दललाई ‘सिद्धान्तहीन’ र ‘विध्वंशकारी’ को संज्ञा

    नेपाली कम्युनिस्ट पार्टीले आगामी निर्वाचनको सन्दर्भमा आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दै मुलुकका राजनीतिक दलहरूलाई चार मुख्य वर्गमा विभाजन गरेको छ । पार्टीले आफूलाई एकमात्र ‘क्रान्तिकारी शक्ति’ दाबी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका नयाँ शक्तिहरूलाई ‘सिद्धान्तहीन पपुलिष्ट’ र ‘भदौ २४ को विध्वंशकारी तत्व’ सँग सम्बन्धित रहेको गम्भीर आरोप लगाएको छ । घोषणापत्रमा राजनीतिक शक्तिहरूलाई क्रान्तिकारी, यथास्थितिवादी, पपुलिष्ट र प्रतिगामी पुनरुत्थानवादी गरी चार भागमा वर्गीकरण गरिएको छ । नेकपाले आफूलाई क्रान्तिकारी शक्तिको रूपमा प्रश्तुत गर्दै समाज रूपान्तरणको स्पष्ट समाजवादी कार्यदिशा भएको दाबी गरेको छ। अर्कोतर्फ, नेकपा एमाले र नेपाली काँग्रेसलाई ‘यथास्थितिवादी’ को संज्ञा दिँदै उनीहरूसँग मुलुक अगाडि बढाउने कुनै नवीन अवधारणा नभएको टिप्पणी गरिएको छ । 

    ७. आफ्नै जिल्लामा नपत्याएपछि अर्कै क्षेत्र खोज्दै हिँडेः अध्यक्ष ओली

    नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहप्रति लक्षित गर्दै आफ्नै क्षेत्रमा विश्वास गुमाएका नेताहरू नयाँ क्षेत्रको खोजीमा आउने गरेको टिप्पणी गर्नुभएको छ । उहाँले आफ्नो क्षेत्रमा विश्वास गुमाएकाहरु नयाँ ठाउँ चहार्दै हिँडेको बताउनुभएको हो । काठमाडौंमा जितिसकेको मान्छेले त्यहाँबाटै लड्ने किन आँट नगरेको ? उहाँको प्रश्न छ । आफूले काम गर्न नसकेपछि अरु नयाँ ठाउँमा जानुपर्ने बाध्यता आइलागेको बताउनु भयो । झापाको गौरीगञ्जसँगको सम्बन्ध वि.सं. २०२६ सालदेखि नै रहेको स्मरण गर्दै उहाँले २६, २७, २८, २९ सालसम्म आफू त्यहीँको संगठनमा खटिएको बताउनुभएको हो । ३० सालमा जेल परेपछि केही समय आउन नपाएको तर ४७ सालको अन्तिमदेखि फेरि उक्त ठाउँसँगको यात्रा निरन्तर रहेको बताउनु भयो । उहाँले गौरीगन्ज क्षेत्रमा भएको कायापलटको चर्चा गर्दै विगतको गौरीगञ्ज र वर्तमानको ‘सेल्फी रोड’ बनेको गौरीगञ्जमा आकाश–जमिनको फरक रहेको बताउनु भयो । 

    ८. ‘स्टन्टबाजी’ को भ्रम चिरेर चुनावी मैदानमा होमिन संयोजक दाहालको निर्देशन

    नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक सञ्जालमा हुने प्रचार र वास्तविक धरातलको अवस्था फरक रहेको बताउनुभएको छ । पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले हालैका दिनमा देखिएको ‘स्टन्ट’ र ‘हल्ला’ को प्रभाव जनताले बुझिसकेको उल्लेख गर्दै पार्टीका नेता तथा कार्यकर्ताहरूलाई तर्कसहित त्यसको खण्डन गर्न र आगामी निर्वाचनमा केन्द्रित हुन निर्देशन दिनुभयो । पूर्वप्रधानमन्त्री दाहालले सामाजिक सञ्जालको भरमा गरिने राजनीतिलाई ‘स्टन्टबाजी’ को संज्ञा दिँदै फिल्डमा त्यस्तो प्रभाव नरहेको स्पष्ट पार्नुभयो । उहाँकाअनुसार जहाँ पहिला त्यस्ता शक्तिहरूले जितेका थिए, त्यहाँ अहिले उनीहरूको प्रभाव ओरालो लागेको छ । 

    ९.‘परिवर्तन आगो लगाएर होइन, निर्माण गरेर हुन्छ’ः ओली

    झापाको सुदूर दक्षिणमा अवस्थित गौरीगञ्जसँग नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको साइनो आधा शताब्दीभन्दा पुरानो छ । २०२६ सालदेखि सङ्गठन विस्तारमा सक्रिय ओलीले गौरीगञ्जको बदलिँदो स्वरूपलाई ‘सेल्फी रोड’ को संज्ञा दिँदै यहाँका पूर्वाधार, सामाजिक सुरक्षा र डिजिटल पहुँचलाई समृद्धिको नमुनाका रूपमा प्रश्तुत गर्नुभएको छ । उहाँले विकासलाई केवल बाटो र पुलमा मात्र सीमित नराखी शिक्षा र अन्धविश्वास विरुद्धको चेतनासँग जोडेर नयाँ बहसको शुरुवात गर्नुभएको छ ।

    १०. अफ्रिकी माइनिङ इन्डाबाको केप टाउनमा भव्य उद्घाटनः साझेदारी र सहकार्यमा आधारित विकासमा जोड

    दक्षिण अफ्रिकाको केप टाउनमा ‘अफ्रिकी माइनिङ इन्डाबा २०२६’ शुरु भएको छ । जसले महादेशको खानी क्षेत्रमा साझेदारी र सहकार्यलाई प्राथमिकता दिएको छ । दक्षिण अफ्रिकी खनिज तथा पेट्रोलियम स्रोत मन्त्री ग्वेडे मन्ताशेले भूराजनीतिक तनावका बीच अफ्रिकी राष्ट्रहरूलाई आफ्ना प्राकृतिक स्रोतहरूको रक्षा गर्न सामूहिक आवाज उठाउन आह्वान गर्नुभयो । यस वर्षको सम्मेलनले अफ्रिकी महादेशको खानी क्षेत्रमा सहकार्य र साझेदारी–प्रेरित विकासलाई विशेष प्राथमिकता दिएको छ । उहाँले विकसित अर्थतन्त्रहरूले विकासशील राष्ट्रहरूको प्राकृतिक स्रोतहरूमाथि नियन्त्रण जमाउन खोज्दा उत्पन्न भएको भूराजनीतिक तनावप्रति चिन्ता व्यक्त गर्नुभयो । मन्ताशेकाअनुसार यो स्थिति संसाधन–सम्पन्न राष्ट्रहरू, विशेष गरी अफ्रिकी मुलुकहरूको सार्वभौमिकताका लागि गम्भीर खतरा हो । यसै सन्दर्भमा यस वर्षको नारा ‘हामी सँगै बलियो छौंः साझेदारी मार्फत प्रगति’ अत्यन्त सान्दर्भिक रहेको उहाँले उल्लेख गर्नुभयो । मन्त्री मन्ताशेले यसलाई केवल एउटा नारा मात्र नभई अफ्रिकाका लागि सामूहिक रूपमा कार्य गर्ने र विश्वव्यापी शक्ति तथा लगानीकर्ताहरूसँगको संलग्नतामा ‘विनाशकारी प्रतिष्पर्धा’ बाट बच्ने रणनीतिक आवश्यकता भएको बताउनु भयो । 

    ११. अमेरिकासँगको बढ्दो तनावका बीच खामेनीद्वारा राष्ट्रिय एकताको आह्वान

    इरानका सर्वोच्च नेता अली खामेनीले सोमवार अमेरिकासँगको बढ्दो तनावका बीच सन् १९७९ को इस्लामिक क्रान्तिको ४७ औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा इरानीहरूलाई एकता प्रदर्शन गर्न र शत्रुलाई निराश पार्न आग्रह गर्नुभएको छ । टेलिभिजनमार्फत सम्बोधन गर्दै खामेनीले राष्ट्रिय शक्ति क्षेप्यास्त्र र विमान जस्ता सैन्य उपकरणहरू भन्दा संकल्प र प्रतिरोधमा बढी भर पर्ने बताउनु भयो । उहाँको यो भनाइ इरानले क्रान्तिको विजयको उपलक्ष्यमा बुधवार देशव्यापी ¥यालीको तयारी गरिरहेका बेला आएको हो । ‘जबसम्म शत्रु निराश हुँदैन, तबसम्म एउटा राष्ट्र उत्पीडनको जोखिममा रहन्छ’ खामेनीको भनाइ छ । यो भाषण मध्य पूर्वमा अमेरिकी सैन्य तैनाथी र तेहरानविरुद्ध जारी धम्कीका कारण अमेरिकासँगको बढ्दो घर्षणको समयमा आएको हो । 

    १२. अमेरिकी सेनाद्वारा हिन्द महासागरमा भेनेजुएलासँग सम्बन्धित तेल ट्याङ्कर नियन्त्रणमा

    अमेरिकी रक्षा सचिव पिट हेगसेथले सोमवार दिनुभएको जानकारीअनुसार अमेरिकी सैन्य बलले क्यारिबियन क्षेत्रबाट पछ्याउँदै भेनेजुएलासँग सम्बन्धित एक तेल ट्याङ्करलाई हिन्द महासागरमा नियन्त्रणमा लिएको छ । अमेरिकी सैन्य बलले कुनै अप्रिय घटना बिना ट्याङ्कर नियन्त्रणमा लिएको हो । ट्याङ्करले अमेरिकी निगरानीबाट उम्किने प्रयास गरेको उल्लेख गर्दै उक्त ट्याङ्करमाथि भेनेजुएला आउने–जाने प्रतिवन्धित जहाजहरूका लागि तोकिएको अमेरिकी क्वारेन्टाइन उल्लंघन गरेको आरोप लगाइएको छ । सञ्चार माध्यमका रिपोर्टअनुसार ७ लाख ब्यारेल भेनेजुएलाको भारी कच्चा तेल बोकेको अक्विला आइआइ जनवरीको शुरुमा भेनेजुएलाको जलक्षेत्रबाट निस्किएको थियो । 

    १३. इजरायलद्वारा पश्चिम किनारका विवादास्पद कदमहरू स्वीकृत, प्यालेस्टाइनद्वारा अवैध कब्जाको रूपमा निन्दा

    इजरायली सुरक्षा मन्त्रिपरिषद्ले कब्जा गरिएको पश्चिम किनारमा इजरायलको नियन्त्रण अझ गहिरो बनाउने र त्यहाँ यहूदी बस्ती विस्तार गर्ने निर्णयहरू अनुमोदन गरेको छ । स्वीकृत विवादास्पद कदमहरू मध्ये, मन्त्रिपरिषद्ले यहूदीहरूलाई जग्गा बिक्रीमा प्रतिवन्ध लगाउने जोर्डन कालको कानून खारेज गर्न आदेश दियो । विशेष लेनदेन अनुमतिहरूको आवश्यकता हटायो र करिव २० वर्षअघि सञ्चालन बन्द भएको राज्य भूमि अधिग्रहण समितिलाई नवीकरण ग¥यो । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको मन्त्रिपरिषद्का प्रमुख बस्ती समर्थक मन्त्री अर्थमन्त्री बेजालेल स्मोट्रिचको कार्यालयबाट जारी विज्ञप्तिमा यो जानकारी दिइएको हो । स्मोट्रिचले यी निर्णयहरूले पश्चिम किनारमा यहूदी बस्तीका लागि ऐतिहासिक दिन चिन्हित गरेको बताउँदै यसले यहूदीहरूलाई कब्जा गरिएको क्षेत्रमा सरल सर्तहरूमा जग्गा प्राप्त गर्न सक्षम बनाउने तर्क गर्नुभयो । 

    १४. टर्कीद्वारा आन्तरिक बजारलाई स्थिर बनाउन कुखुराको मासु निर्यातमा रोक

    टर्कीको वाणिज्य मन्त्रालयले सोमबार आन्तरिक बजारमा आपूर्ति र मागको सन्तुलन कायम राख्ने उद्देश्यले कुखुराको मासु निर्यात रोक्ने घोषणा गरेको छ । मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, ‘बजारमा आपूर्ति–मागको सन्तुलनलाई सहयोग पु¥याउन आजदेखि कुखुराको मासु निर्यात स्थगित गर्ने उपायहरू कार्यान्वयनमा ल्याइएको छ ।’ विश्वव्यापी खाद्य बजारलाई असर गर्ने हालैका क्षेत्रीय घटनाक्रमका साथै आन्तरिक मागमा भएको वृद्धि र उपभोगको ढाँचामा आएको मौसमी परिवर्तनले केही उत्पादन समूहहरूमा मूल्यमा तिब्र उतारचढाव निम्त्याएको मन्त्रालयले जनाएको छ । यस पृष्ठभूमिमा, कुखुराको मासु बजारमा मूल्य निर्धारण व्यवहार सामान्य बजार अवस्थासँग मेल खान्छ कि छैन भनेर मूल्याङ्कन गर्न मूल्यहरूलाई नजिकबाट अनुगमन भइरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

    १५. दक्षिण कोरियामा सैन्य हेलिकप्टर दुर्घटनाः दुई जनाको अवस्था गम्भीर

    दक्षिण कोरियाको ग्योन्गी प्रान्तमा सोमवार एउटा सैन्य हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । योन्हाप समाचार एजेन्सीकाअनुसार यस दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् र उनीहरूलाई मुटुको चाल बन्द भएको अवस्थामा अस्पताल लगिएको छ । राजधानी सोललाई घेरेको यस प्रान्तको गप्योङ काउन्टीमा स्थानीय समय अनुसार बिहान करिव ११ बजे उक्त हेलिकप्टर दुर्घटना भएको हो । दुर्घटनामा परेका दुवै व्यक्तिलाई गम्भीर चोट लागेको छ । उडान प्रशिक्षणका लागि उडेको उक्त हेलिकप्टर दक्षिण कोरियाली सेनाको एएच–वानएस कोब्रा  मोडेलको थियो । समाचारअनुसार यो हेलिकप्टर सेवाबाट अवकाशको प्रक्रियामा रहेको थियो । दुर्घटनाका क्रममा कुनै पनि विस्फोट वा आगलागी भएको छैन । अधिकारीहरूले दुर्घटनाको कारणबारे अनुसन्धान शुरु गर्ने बताएका छन् ।

    १६. रुसी प्रहरीद्वारा लेनिनग्राद ओब्लास्टमा अवैध लागुऔषध उत्पादन स्थलमा छापा

    रुसी प्रहरीले नेशनल गार्डको सहयोगमा लेनिनग्राद ओब्लास्टमा एक अवैध लागुऔषध उत्पादन स्थलमा छापा मारेको छ । सिन्थेटिक मेथाडोन उत्पादन गरेको आशंकामा दुई स्थानीय बासिन्दालाई हिरासतमा लिएको छ । स्थानीय अधिकारीहरूले सोमवार जानकारी दिएका छन् । रुसी आन्तरिक मन्त्रालयको क्षेत्रीय विभागकाअनुसार यस अभियानका क्रममा अधिकारीहरूले करिब २५ केजी प्याकेज गरिएको धुलो पदार्थ, झन्डै ६ केजी रासायनिक प्रिकर्सर तरल पदार्थले भरिएका दर्जनौं कन्टेनर र ठूलो परिमाणमा विशेष प्रयोगशाला उपकरणहरू जफत गरेका छन् । अनुसन्धानकर्ताहरूकाअनुसार ४२ वर्षीय मुख्य संदिग्ध, जो मुख्य रसायनशास्त्रीको रूपमा कार्यरत थिए र उनका ४८ वर्षीय सहयोगीले गत नोभेम्बरमा लोमोनोसोभ्स्की जिल्लाको अन्निनस्कोय सहरी बस्तीमा रहेको एक अधुरो भवनभित्र अवैध प्रयोगशाला स्थापना गरेका थिए । उक्त केन्द्र पछि वितरणका लागि मेथाडोन उत्पादन गर्न प्रयोग गरिएको बताइएको छ । 

    १७. सबै प्रतिवन्धहरू हटाइएमा ६० प्रतिशत संवद्र्धित युरेनियमको मात्रा घटाउन इरान तयारः आणविक प्रमुख

    इरानको सरकारी समाचार एजेन्सी ‘इरना’ काअनुसार इरानका आणविक प्रमुखले सोमवार सबै अन्तर्राष्ट्रिय प्रतिवन्धहरू पूर्ण रूपमा हटाइएमा तेहरानले आफ्नो ६० प्रतिशत संवद्र्धित युरेनियमलाई घटाउने विषयमा विचार गर्नसक्ने बताउनुभएको छ । इरानी आणविक ऊर्जा संगठनका अध्यक्ष मोहम्मद इस्लामीले ओमानमा भएको अप्रत्यक्ष वार्ताका क्रममा अमेरिकाले युरेनियम संवद्र्धन घटाउन अनुरोध गरेको थियो कि भन्ने प्रश्नको जवाफमा यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले संवद्र्धित युरेनियम विदेश पठाउने तेहरानको कहिल्यै योजना नरहेकोमा जोड दिँदै यस्ता प्रस्तावहरू विवाद समाधानमा सहयोग गर्न चाहने अन्य पक्षहरूले मात्र राखेको उल्लेख गर्नुभयो । रुस र टर्किए जस्ता देशहरूले इरानको उच्च संवद्र्धित युरेनियम भण्डारण गर्ने प्रश्ताव गरेका थिए । तर तेहरानले उक्त प्रस्ताव अस्वीकार गरेको थियो । इस्लामीले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीलाई गत जुनमा इजरायल र अमेरिकाले इरानका आणविक केन्द्रहरूमा गरेको आक्रमणको निन्दा गर्न समेत आग्रह गर्नुभयो । 

    १८. गुठी संस्थानद्वारा महाशिवरात्री पर्वको तयारी पूरा, ४० लाख खर्च लाग्ने 

    गुठी संस्थानले महाशिवरात्री पर्वको तयारी पूरा गरेको छ । संस्थानले मंगलवार पत्रकार सम्मेलन गरी फागुन १ गतेदेखि ५ गतेसम्म महाशिवरात्री पर्व सञ्चालन गर्नको लागि तयारी पूरा गरेको जानकारी दिएको हो । यसवर्ष महाशिवरात्री फागुन ३ गते मनाइँदैछ । महाशिवरात्री पर्व मनाउनको लागि संस्थानले पर्व अगाडी र पछाडी गर्नुपर्ने कार्यहरुको तयारी पूरा गरेको गुठी संस्थानमा प्रवक्ता जनक पोखरेलले जानकारी दिनुभयो । उहाँकाअनुसार महाशिवारात्रीको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्र तथा काठमाडौंका विभिन्न अखडाहरूमा साधुसन्तको सेवा, पूजा तथा व्यवस्थापनका लागि संस्थानले आवश्यक तयारी पूरा गरेको छ । संस्थानले महाशिवरात्री पर्व अवधिभर पशुपति क्षेत्रका मठ–मन्दिर तथा अखडाहरूमा उपस्थित साधुसन्तका लागि दाउरा, भोजन, पूजा सामग्री र दक्षिणाको व्यवस्था गर्ने उहाँले जानकारी दिनुभयो । प्रवक्ता पोखरेलकाअनुसार फागुन १ गते संस्थानको शाखा कार्यालय पशुपतिका कर्मचारीहरूले राष्ट्रपतिबाट पशुपतिनाथ मन्दिरमा अर्पण गरिने तथा साधुसन्तलाई प्रदान गरिने सामग्रीहरूलाई परम्परागत विधिअनुसार सङ्कल्प गर्नको लागि राष्ट्रपति कार्यलयमा जाने तयारी छ । सङ्कल्प सामग्रीमा राढी, च्यादर, बख्खु, कमण्डलु, रुद्राक्ष माला, धान, दाल, घिउ, फलफूललगायत २१ प्रकारका सामग्री समावेश छन् । 

    १९. नेपाल–कतार सहकार्यलाई दिगो र लाभदायक बनाउनुपर्छः परराष्ट्रमन्त्री शर्मा

    परराष्ट्रमन्त्री बालानन्द शर्माले नेपाल र कतारबीचको सहकार्यलाई दिगो, दीर्घकालीन र पारस्परिक रूपमा लाभदायक बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । मंगलवार मन्त्री शर्मासँग कतार चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीजका बोर्ड सदस्य मोहद अहमद एम.ए. अलोबैदेलीको नेतृत्वको प्रतिनिधिमण्डलले गरेको भेटवार्तामा उहाँले यस्तो बताउनुभएको हो । उहाँले आजको विश्व परिवेशमा एक्लै अघि बढेर लक्ष्य हासिल गर्न कठिन हुने उल्लेख गर्दै आपसी सहकार्य अपरिहार्य रहेको बताउनु भयो । उहाँले निजी क्षेत्र आधुनिक अर्थतन्त्रको मुख्य इन्जिन भएको बताउनु भयो । मन्त्री शर्माले कतारी निजि क्षेत्रका प्रतिनिधिहरुलाई नेपालमा लगानीको लागि पनि आग्रह गर्नुभयो । उहाँले कतारको विकास अनुभवबाट नेपालले धेरै कुरा सिक्न सक्ने उल्लेख गर्दै दुवै देशका लागि लाभदायक र दीर्घकालीन सहकार्यका क्षेत्र पहिचान गरी संयुक्त रूपमा लगानी गर्न सकिने बताउनु भयो । 
    उहाँले भन्नुभयो, ‘आजको संसारमा, यदि हामी सँगै अघि बढेनौँ भने, एक्लै हिँडेर धेरै टाढा पुग्न सकिँदैन ।

    २०. भ्रष्टाचार नियन्त्रणमा नेपालको ठोस प्रगति देखिएनः ट्रान्सपरेन्सी इन्टरनेशनल 

    नेपालले भ्रष्टाचार नियन्त्रणमा कुनै ठोस प्रगति गर्न नसकेको प्रतिवेदनले देखाएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) ले मंगलवार सार्वजनिक गरेको भ्रष्टाचार धारणा सूचकाङ्क (सीपीआई) २०२५ काअनुसार नेपालको भ्रष्टाचारसम्बन्धी सूचकाङ्क यथावत नै रहेको छ । नेपालको स्थिति गत वर्षकै यस वर्ष पनि ३४ अङ्कमै सीमित भएको छ । ६ वटा अन्तर्राष्ट्रिय संस्थाले सन् २०२५ को अगस्टसम्म उपलब्ध सुशासनसम्बन्धी तथ्याङ्कका आधारमा नेपालको स्कोर निर्धारण गरेको टीआई नेपालका अध्यक्ष मदनकृष्ण शर्माले जानकारी दिनुभयो । उहाँकाअनुसार लामो समयदेखि नेपालले ३५ भन्दा कम अङ्क प्राप्त गर्दै आएको छ । सूचकाङ्कमा १०० अङ्कले भ्रष्टाचार रहित र शुन्य अङ्कले अत्याधिक भ्रष्ट अवस्थालाई जनाउँछ । सन् २०२५ मा विश्वका दुई तिहाइ देशले १०० मा ५० भन्दा कम अङ्क प्राप्त गरेका छन्, जसले ती देशहरू भ्रष्टाचार नियन्त्रण गर्न असफल रहेको संकेत गर्दछ । नेपालले अङ्क प्राप्त गर्नुले नेपाललको सत्तामा आएकाहरुले भ्रष्टाचारविरुद्ध प्रभावकारी काम गर्न नसकेको पुष्टि गरेको अध्यक्ष शर्माले बताउनु भयो ।

    २१. अग्निवीरबारे नेपालको निर्णय पर्खिरहेका छौँ, गोरखा भर्ती सुचारु हुनेमा विश्वस्त छुः भारतीय अधिकारी

    भारतीय नौसेनाका पूर्वमहानिर्देशक सञ्जय जसजीत सिंहले  भारतीय सेनामा रोकिएको गोरखा भर्ती प्रक्रिया अस्थायी भएको भएको भन्दै  नेपालले निर्णय लिनेबित्तिकै यो पुनः सुचारु हुने बताउनुभएको छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बतानउनुभएको हो । उहाँले नेपाल–भारत सम्बन्धलाई शताब्दीऔंको निरन्तरताका रूपमा व्याख्या गर्दै गोरखा सैनिकबारे हाल देखिएका असमझदारीहरु छिट्टै हल हुने समेत बताउनु भयो । उहाँले दुई देशबीचको सम्बन्धलाई दशक वा वर्षमा नभई शताब्दीयौंको साझा इतिहास र सभ्यताका आधारमा मूल्याङ्कन गर्दै आपसि सहयोग र समन्वयका साथ अघि बढ्नुपर्ने धारणा समेत राख्नुभयो । उहाँले अग्निवीर योजनाका कारण सिर्जित अन्योलताबारे प्रस्ट पार्दै यसलाई ऐतिहासिक परिप्रेक्ष्यमा बुझ्न आग्रह गर्नुभयो ।

    २२. नेपाली कम्युनिष्ट पार्टी सबैभन्दा नयाँ पार्टी होः पुष्पकमल दाहाल

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो पार्टी सबैभन्दा नयाँ पार्टी भएको दाबी गर्नुभएको छ । मंगलबार पार्टी मुख्यालय पेरिसडाँडामा पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक गर्दै उहाँले सो दावी गर्नुभएको हो । संयोजक दाहालले जेन–जी आन्दोलनपछि सबभन्दा पहिला राजनीतिक पहल लिए पु्रानो पार्टी भत्काएर नयाँ पार्टी बनाउन पहल गर्ने आफूहरु नै रहेको बताउनु भयो । उहाँले सबैभन्दा पछि कार्तिक १९ गते आफूहरुले नेपाली कम्युनिष्ट पार्टी स्थापना गरकाले सो पार्टी नै सबैभन्दा नयाँ पार्टी हुन पुगेको तर्क समेत गर्नुभयो । 

    २३. विद्यालय केन्द्रित एचपीभी खोपबाट लाभ लिनुहोस्ः सुनिता डंगोल

    काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विद्यालय केन्द्रित एचपीभी खोप व्यवस्थित रुपमा अघि बढाउन मातहतका सबै पक्षलाई निर्देशन दिनुभएको छ । मंगलवार काठमाडौंको डिल्लीबजारस्थित पद्यकन्या माविमा सो खोपको उद्घाटन गर्दै उहाँले महानगरपालिका अन्तर्गतको स्वास्थ्य विभाग र सम्बन्धित सबै पक्षलाई सो अभियानलाई सफलतापूर्वक सम्पन्न गर्न सचेत गराउनुभएको हो । सरकारले पाठेघरको मुखको क्यान्सर प्रतिरोधी सो खोप निःशुल्क रुपमा उपलब्ध गराएको छ । सो खोप लिन र त्यसलाईं व्यवस्थित रुपमा सम्पन्न गर्न कार्यवाहक प्रमुख डंगोलको आग्रह थियो । उहाँले सो खोप अभियान काठमाडौ महानगरपालिका भित्रका सबै विद्यालयहरुमा संचालन भईरहेकाले त्यसबाट लाभ लिन पनि किशोरीहरुलाई आग्रह गर्नुभयो । 

    २४. ‘बजेट निर्माण गर्दा क्षेत्रगत प्राथमिकता तय गराँै’

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले बजेट निर्माण गर्दा क्षेत्रगत प्राथमिकता तय गर्न जरुरी रहेको बताउनुभएको छ । नेपाल उद्योग परिसंघसँगले सेजनसँगको सहकार्यमा गरेको बजेट वाच कार्यक्रममा उहाँले बजेट निर्माण गर्दा क्षेत्रगत मात्र नभई क्षेत्रभित्र पनि प्राथमिकता तोक्न आवश्यक रहेको बताउनु भयो । शर्माकाअनुसार स्वास्थ्य बीमा, हेल्थपोष्ट, ऊर्जा, सडक सबै नै प्राथमिकतामा परेजस्तो देखिन्छ । तर सिमित स्रोत हुँदा सबै क्षेत्रमा एकैपटक लगानी सम्भव हुँदैन । उहाँले अब ५ वर्ष विद्युत विकास वर्ष, अर्को ५ वर्ष सडक पहुँच वर्ष, त्यसपछि साक्षरता वर्षजस्ता स्पष्ट प्राथमिकता तय गरेर बजेट बनाउनुपर्ने बताउनु भयो । शर्माकाअनुसार आवश्यकता र जीवनसँग प्रत्यक्ष जोडिएका आयोजनालाई प्राथमिकतामा राख्नुपर्ने हुन्छ । 

    २५. ६ महिनामा ६ खर्ब ९० अर्ब खर्च, बजेट संशोधन

    सरकारले चालु आर्थिक वर्षको ६ महीनामा कुल बजेटमध्ये ६ अर्ब ९० अर्ब खर्च गरेको छ । आज बजेटको अर्धवार्षिक समिक्षा गर्दै अर्थमन्त्रालयले बजेट खर्च र स्रोत परिचालनबारे जानकारी दिएको हो । अर्थमन्त्रालयकाअनुसार कुल बजेट र खर्च आर्थिक वर्ष २०२÷३ का लागि कुल १९ खर्ब ६४ अर्व ११ करोड बजेट विनियोजन गरिएकोमा पुस मसान्तसम्म ६ खर्च ९० अर्ब २१ करोड ७८ लाख खर्च भएको छ । विनियोजित रकममध्ये चालु खर्च ४१.२५ प्रतिशत, पुँजीगत खर्च १२.१२ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ४०.१५ प्रतिशत खर्च भएको छ । गत वर्षसँगको तुलनामा समीक्षा अवधिको समग्र खर्च गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.३९ प्रतिशतले वृद्धि भएको छ । पुजीगत खर्च न्युन हुनाका कारण योजनाको पूर्वतयारीको अभाव, जग्गा प्राप्ति र बन क्षेत्रको उपयोगमा जटिलता र भदौ २३ र २४ को आन्दोलनका कारण भौतिक संरचनामा भएको अतिले पुँजीगत खर्च कम हुन गएको अर्थमन्त्रालयले जानकारी दिएको छ ।

    २६. नेपालको डिजिटल रूपान्तरणका लागि विश्व बैंकले ५० मिलियन डलर दिने

    नेपालको डिजिटल रूपान्तरणका लागि विश्व बैंकले ५० मिलियन डलर दिने भएको छ । हालै वासिङ्टनमा बसेको विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले ‘नेपाल डिजिटल ट्रान्सफर्मेसन प्रोजेक्ट’ अन्तर्गत उक्त सहयोग नेपाललाई दिने निर्णय गरेको हो । उक्त निर्णयसँगै विश्व बैंकले नेपालको डिजिटल सार्वजनिक पूर्वाधार सुदृढ गर्न र सार्वजनिक सेवाहरू डिजिटल माध्यमबाट उपलब्ध गराउइने उक्त सहयोग परिचालन गरिनेछ । यो परियोजनाले नागरिकलाई प्रदान गरिने सेवाको ढाँचामा मौलिक परिवर्तन ल्याउने लक्ष्य लिएको छ । परियोजनाअन्तर्गत एकीकृत अनलाइन नागरिक सेवा पोर्टल, सुरक्षित डेटा आदान–प्रदान प्रणाली, तथा प्रमाणीकरण योग्य प्रमाणपत्र र डिजिटल वालेट व्यवस्थापन गर्न सकिने डिजिटल लकर जस्ता डिजिटल प्लेटफर्ममा लगानी गरिनेछ ।–न्युज एजेन्सी नेपाल

    प्रकाशित मिति :माघ २७ २०८२ मंगलवार - १९:४१:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij