२०८२ माघ २८ गते बुधवार
काठमाडौं । ‘सस्तो मूल्यमा बिलसहितको सुन दिन्छु’ भन्दै प्रलोभनमा पारेर ६० लाख रुपैयाँ लुटपाट गर्ने गिरोहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उपत्यकाका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
घटना गत माघ १४ गते दिउँसोको हो । सस्तोमा सुन पाउने लोभमा पीडित ६० लाख रुपैयाँ नगद बोकेर तोकिएको स्थानमा पुगे । ८–९ जनाको समूहले पीडितलाई घेराबन्दीमा पारी कुटपिट गरेर उनीसँग भएको ६० लाख रुपैयाँ लुटेर फरार भएको थियो ।
लुटपाटको उजुरीपछि अनुसन्धानमा खटिएको प्रहरी टोलीले घटनामा संलग्न चार जनालाई पक्राउ गर्न सफल भएको छ । पक्राउ पर्नेमा भक्तपुर बस्ने २७ वर्षीय दीपक आले मगर, काठमाडौंको तार्केश्वर बस्ने ३२ वर्षीय विक्रम तामाङ र तार्केश्वर बस्ने २८ वर्षीय जीवन तामाङ रहेका छन् ।
काठमाडौंको एयरपोर्ट बस्ने ३८ वर्षीय कर्णबहादुर सुनारलाई माघ २० गते टेकुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले पक्राउ परेकाहरूको साथबाट लुटिएको रकममध्ये ९ लाख ४२ हजार रुपैयाँ बरामद गरेको छ । यसका साथै ५ थान मोबाइल, घटनामा प्रयोग भएका ३ थान मोटरसाइकल र विभिन्न कम्पनीका १३ थान सिमकार्ड पनि बरामद भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij