२०८२ माघ २७ गते मंगलवार
१. सामाजिक सञ्जालको ‘स्टन्ट’ र लोकप्रियतावाद लोकतन्त्रका लागि खतराः संयोजक दाहाल
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले विचार र सिद्धान्तविहीन ‘लोकप्रियतावाद’ले लोकतन्त्र र समाजवादमाथि प्रहार गरिरहेको बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले २६ दलको एकता र नयाँ निर्वाचन चिह्न ‘तारा’ सहित आफ्नो पार्टी राष्ट्रिय सङ्कट सामना गर्न तयार रहेको उद्घोष गर्नुभएको हो । दाहालले सामाजिक सञ्जालमा गरिने ‘स्टन्ट’ र लोकप्रियतावादको आलोचना गर्नुभयो । उहाँले विचार, राजनीति र इतिहास नभए पनि सामाजिक सञ्जालमा फण्डा गरेकै भरमा लोकतन्त्र र समाजवादमाथि प्रहार गर्ने कोशिस भइरहेको बताउनु भयो । यो अन्तर्राष्ट्रिय भूराजनीतिक चलखेल र साम्राज्यवादले फैलाएको लोकप्रियतावादको नेपाली संस्करण मात्र भएको उहाँको टिप्पणी छ ।
२. महासंघको पहलमा नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे मन्त्रालयमा छलफल
नेपाल र कतारबीच समग्र आर्थिक विकास, पर्यटन प्रवद्र्धन तथा सहयोग आदान प्रदानबारे छलफल भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हा र नेपालका लागि कतारका राजदुत मिसाल बीन मोहम्मद अलि अल अन्सारी तथा नेपाल उद्योग वाणिज्य महासघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, कतार चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्रीजका बोर्ड सदस्य मोहद अहमद एम. ए. अलोबैदली तथा कतार एयरवेजका प्रतिनिधिविच भेटवार्ता भएको हो । भेटघाटमा नेपाल–कतार आर्थिक विकास, पर्यटन प्रवद्र्धन, हवाई उडान विस्तार तथा नागरिक उड्डयन क्षेत्रमा सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको थियो । विशेषगरी नेपाल र कतारबीच सिधा हवाई उडानको संख्या बढाउने, नयाँ गन्तव्य थप गर्ने तथा नेपाल वायुसेवा निगम र कतार एयरवेजबीच सहकार्यका सम्भावनाबारे छलफल केन्द्रित रहेको थियो । छलफलका क्रममा मन्त्री सिन्हाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि अन्तर्राष्ट्रिय एयरलाइन्सको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै कतार एयरवेजको भुमिकालाई महत्वपूर्ण हुने बताउनु भयो ।
३. निजी क्षेत्र त्रसित भए मुलुक समृद्धिको बाटोमा अघि बढ्न सक्दैनः उद्योगमन्त्री सिन्हा
भदौ २४ को घटनाले पु¥याएको ३४ अर्बको भौतिक क्षतिभन्दा लगानीकर्ताको खस्किएको आत्मविश्वास डरलाग्दो अन्तरिम सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले निजी क्षेत्रको मनोबल खस्किए मुलुक समृद्धिको बाटोमा अगाडि बढ्न नसक्ने बताउनुभएको छ । क्लिकमाण्डुद्वारा आयोजित ‘जेन–जी आन्दोलनपछिको लगानीकर्ताको मनोबल’ सम्बन्धी सिम्पोजियममा बोल्दै मन्त्री सिन्हाले निजी क्षेत्रलाई अर्थतन्त्रको इन्जिन र मेरुदण्डको रूपमा परिभाषित गर्नुभएको हो । नेपालको कुल गार्हस्थ उत्पादनमा ८१ प्रतिशत योगदान र ८५ प्रतिशत रोजगारी सिर्जना गर्ने निजी क्षेत्र नै असुरक्षित महशुस गर्छ भने समृद्धिको यात्रा सम्भव नरहेको मन्त्री सिन्हाको भनाइ छ । उहाँले भदौ २३ र २४ गतेको घटनापछि निजी क्षेत्रले व्यहोरेको ३४ अर्बको प्रत्यक्ष भौतिक क्षति र करिव ८१ अर्बको अप्रत्यक्ष आर्थिक क्षति सामान्य नरहेको उल्लेख गर्नुभयो । मन्त्री सिन्हाले ती घटनाहरूमा भएका क्षतिभन्दा पनि लगानीकर्ताको खस्किएको आत्मविश्वास सरकारका लागि ठूलो चुनौती भएको स्वीकार गर्नुभयो ।
४. आसन्न निर्वाचनका लागि भारतबाट नेपाललाई सवारी साधनहरूको सहयोग (तस्बिरहरु)
नेपालमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीलाई सहयोग पु¥याउन भारत सरकारले नेपाललाई ठूलो संख्यामा सवारी साधनहरू अनुदान स्वरूप उपलब्ध गराएको छ । यो सहयोग नेपाल सरकारको आग्रहमा आधारित रहेको छ । निर्वाचन प्रक्रियालाई सुगम बनाउनका लागि महत्वपूर्ण मानिएको छ । भारत सरकारले करिव ६५० वटा सवारी साधनहरू (मुख्य रूपमा डबल क्याव पिकअप, एसयूभी र अन्य उपयोगी वाहनहरू) उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ । यो सहयोगलाई विभिन्न चरणमा हस्तान्तरण गरिँदैछ । भारतीय दूतावासका अनुसार यो सहयोग नेपालको निर्वाचन तयारीमा लजिस्टिक्स र सुरक्षा व्यवस्थापनलाई मजबुत बनाउन लक्षित छ । भारतले सन् २००८ देखि नै नेपालको निर्वाचनमा यस्तो सहयोग गर्दै आएको छ । जसअन्तर्गत हजारौं सवारी साधनहरू प्रदान गरिसकिएको छ ।
५. ‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ः राष्ट्रिय सभा अध्यक्ष
विनाशकारी राजनीतिले अर्थतन्त्र धराशायीः सुशासन र कानूनी राज्यमै लगानीको भविष्य
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले मुलुकको दिगो विकास र समृद्धिका लागि विध्वंसात्मक बाटो छोडेर संवाद र सुधारको मार्ग अवलम्वन गर्नुपर्नेमा जोड दिनुभएको छ । क्लिकमाण्डुद्वारा आयोजित ‘जेन–जी प्रदर्शनपछिको व्यावसायिक वातावरण’ विषयक अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले अध्यक्ष दाहालले नेपालको भविष्य विध्वंश र अराजकतामा नभइ संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित रहेको बताउनुभएको हो । निजी क्षेत्रको आत्मविश्वास नफर्किएसम्म अर्थतन्त्र बलियो हुन नसक्ने चेतावनी दिनुभयो । उहाँले भदौ २३ र २४ गतेका घटनाहरूले राष्ट्रिय जीवनमा गम्भीर प्रश्न उब्जाएको र त्यसले लगानीकर्ताको मनोविज्ञानमा गहिरो चोट पु¥याएको उल्लेख गर्नुभयो । भ्रष्टाचार र कुशासन विरुद्ध उठ्ने नागरिक आवाज जायज भए पनि त्यसको आवरणमा हुने भौतिक विनाशले मुलुकलाई असफल राष्ट्रतर्फ धकेल्ने उहाँले बताउनु भयो ।
६. अफगानिस्तानमा १ लाख ५८ हजार मेट्रिक टनभन्दा बढी कपास उत्पादन
अफगानिस्तानको राष्ट्रिय तथ्याङ्क तथा सूचना प्राधिकरणले जारी गरेको एक विज्ञप्तिअनुसार गत वर्ष मुलुकमा १ लाख ५८ हजार मेट्रिक टनभन्दा बढी कपास उत्पादन भएको छ । तथ्याङ्कअनुसार सो अवधिमा अफगानिस्तानका ३४ मध्ये १७ प्रान्तका कुल १ लाख ४ हजार २ सय ३६ हेक्टर क्षेत्रफलमा कपास खेती गरिएको थियो । विशेषगरी हेलमान्ड, बाल्ख, कान्दाहार, जोजजान र नान्गाहार प्रान्त कपास उत्पादनका लागि अग्रणी रहेका छन् । काबुलका एक कपास व्यवसायी अब्दुल हलिमले कपास निर्यातको अवस्था निकै उत्साहजनक रहेको र यसबाट किसान र देश दुवैलाई फाइदा पुगेको बताउनुभएको छ । उहाँले आफ्नो देशबाट कपास निर्यात हुनु गर्वको विषय भएको समेत उल्लेख गर्नुभयो । कपास अफगानिस्तानको प्रमुख निर्यातजन्य वस्तुमध्ये एक हो ।
७. एस्टोनियामा हिउँदे लोक नृत्य महोत्सव सम्पन्न
एस्टोनियाको उत्तर–पूर्वी क्षेत्रमा पर्ने एक पूर्व खानी बस्ती कोहत्ला–नोम्मेमा ‘ताल्भेपिइल्गार’ नामक हिउँदे लोक नृत्य महोत्सव सम्पन्न भएको छ । एस्टोनियाली खानी संग्रहालयमा आयोजित यस परम्परागत महोत्सवमा विभिन्न उमेर समूहका करिव १ हजार ३ सय कलाकारहरूको सहभागिता रहेको थियो । यस हिउँदे कार्यक्रमले एक लचिलो ढाँचा अपनाउने गर्दछ जहाँ प्रत्येक नृत्य टोलीले आफ्नै कोरियोग्राफी तयार गर्न सक्छन् । आयोजकहरूकाअनुसार यस कार्यक्रमको मुख्य उद्देश्य नृत्यको आनन्द साटासाट गर्नु र उत्सवमय आत्मीयता फैलाउनु हो ।
८. जापानः ताकाइची नेतृत्वको दललाई भारी बहुमत
जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) र साझेदार जापान इनोभेसन पार्टीको गठबन्धनले आईतवार सम्पन्न आम निर्वाचनमा प्रतिनिधि सभामा बहुमत हासिल गरेको छ । सत्तारुढ गठबन्धनले ३१६ सिट जितेको छ । २३३ सिट जिते बहुमत पुग्छ । यो बहुमतका लागि चाहिने भन्दा ८३ सिट बढी हो । पार्टीको जितपछि सानाए ताकाइचीले आफूहरुले जिम्मेवार र सक्रिय वित्तीय नीतिमा निरन्तर जोड दिँदै आएको बताउनु भयो । आफूहरुले वित्तीय नीतिको दिगोपनलाई प्राथमिकता दिने र आवश्यक लगानी सुनिश्चित गर्ने बताउनु भयो ।
९.म्याड्रिड डिजाइन फेस्टिवल जारी
म्याड्रिड डिजाइन फेस्टिवलको नवौं संस्करण शहरको फर्नान गोमेज सांस्कृतिक केन्द्रमा सञ्चालन भइरहेको छ । विश्वलाई पुनः डिजाइन गर्दै भन्ने नाराका साथ सञ्चालन भइरहेको छ । यस वर्षको कार्यक्रमले समकालीन समाजमा डिजाइनको भुमिका अन्वेषण गर्ने तीनवटा मुख्य प्रदर्शनीहरू प्रश्तुत गर्दछ । महोत्सवको आमन्त्रित देशको रूपमा, ग्वाटेमालाले आफ्नो माया सभ्यताको कपडा परम्पराहरू प्रदर्शन गर्दछ । जसले सांस्कृतिक निरन्तरता र अन्तर्राष्ट्रिय आदानप्रदानमा डिजाइनको भूमिकालाई जोड दिन्छ । प्रदर्शनी र सार्वजनिक कार्यक्रमहरूमार्फत यस कार्यक्रमको उद्देश्य डिजाइनलाई सहरी जीवनमा एकीकृत गर्नु हो । जसले समकालीन युरोपेली डिजाइन र आधुनिक सहरसँग यसको सम्बन्धको बारेमा अन्तर्दृष्टि प्रदान गर्दछ ।
१०. १६ औँ योजना मध्यावधि समीक्षा र दिगो विकास अनुगमनका लागि ताजा डाटा महत्वपूर्णः मुख्यसचिव अर्याल
मुख्यसचिव सुमनराज अर्यालले राष्ट्रिय तथ्याङ्क कार्यालयले हालै गरेको सर्वेक्षणबाट प्राप्त ताजा डाटाले दिगो विकास लक्ष्य (एसडीजीएस) को अनुगमन, नीति निर्माण तथा १६ औँ योजनाको मध्यावधि समीक्षामा महत्वपूर्ण आधार प्रदान गर्ने बताउनुभएको छ । सोमवार आयोजित नेपाल बहुसूचक सर्वेक्षण सार्वजनिक कार्यक्रममा उहाँले १६ औँ योजनाको कार्यान्वयन र अनुगमनका क्रममा यस्ता तथ्याङ्क अपरिहार्य हुने बताउनु भयो । उहाँले कार्यालयले राम्रो र फ्रेस डाटा ल्याएको उल्लेख गर्नुहुँदै यसले योजना अनुगमन र मूल्याङ्कनमा ठोस सहयोग दाबी गर्नभयो । मुख्यसचिव अर्यालले हाल देशभरका ७५३ वटै स्थानीय तहबाट राष्ट्रिय स्तरमा संकलित डाटालाई स्थानीय तहसम्म पुनरुत्पादन (रेप्लिकेट) गर्नुपर्ने माग बढ्दै गएको उल्लेख गर्नुभयो । तर परम्परागत विधिबाट सबै स्थानीय तहको छुट्टाछुट्टै डाटा निकाल्न सम्भव नभएको उहाँको भनाई छ ।
११. फेब्रुअरी १४ देखि आठौं नेपाल राइडर्स मिट हुने
नेपालमा आठौं नेपाल राइडर्स मिट आयोजना हुने भएको छ । नेपालमा साहसिक मोटरसाइकल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आगामी फेब्रुअरी १४ देखि १६ सम्म मिट आयोजना हुन लागेको हो । आयोजक संस्था फोर नेपाल र द हिमालयन मोटरसाईकल एक्सपिरियन्सले सोमवार काठमाडौमा पत्रकार सम्मेलन गरी लाँकुरीभञ्जाङमा कार्यक्रम हुने जानकारी दिएको छ । कार्यक्रममा नेपालसहित भारत, भूटानलगायत विभिन्न देशका ५०० भन्दा बढी रोयल इन्फिल्ड राइडरहरूको सहभागिता रहने आयोजक संस्था द हिमालयन मोटरसाईकल एक्सपिरियन्सका संयोजक अर्जुन थापाले जानकारी दिनुभयो । कार्यक्रममा स्थानीय कला–संस्कृति झल्कने नृत्य, स्थानीय उत्पादन तथा परिकार प्रदर्शनी पनि गरिने उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार मोटरसाइकलसम्बन्धी विभिन्न खेल प्रतियोगिता पनि आयोजना गरिनेछ । प्रतियोगिताअन्तर्गत टग अफ वार, स्किल टाइम ट्रायल ३५०, स्किल टाइम ट्रायल ४११, स्लो रेस, कम्बो ब्याकवार्ड पुल तथा बियर चग आयोजना गरिनेछ ।
१२. बहुसूचक सर्वेक्षण २०८१÷८२ सार्वजनिकः सुदूरपश्चिममा शिशु तथा बाल मृत्युदर उच्च
राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपाल बहुसूचक सर्वेक्षण २०८१÷८२ को पूर्ण नतिजा प्रतिवेदन सार्वजनिक गरेको छ । तथ्याङ्क कार्यालयले सोमवार सार्वजनिक गरिएको प्रतिवेदनअनुसार नेपालमा प्रति १ हजार जीवित जन्ममा २७ शिशुको एक वर्ष नपुग्दै मृत्यु हुने गरेको देखिएको छ । ५ वर्षमुनिका बालबालिकाको मृत्युदर ३१ पुगेको छ । साथै नवजात शिशुहरूमध्ये १ महिना उमेर नपुग्दै १७ जना शिशुको मृत्यु हुने गरेको तथ्याङ्क कार्यलयले सार्वजानिक गरेको प्रतिवेदनमा उल्लेख छ । प्रदेशगत तथ्याङ्कअनुसार नवजात शिशु तथा बाल मृत्यु दर सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी रहेको छ । सुदूरपश्चिममा प्रति १ हजार जन्ममा २६ बालमुत्यु हुने गरेको छ भने सबैभन्दा कम वागमती प्रदेशमा १० जना रहेको छ । शिशु मृत्युदर पनि सुदूरपश्चिममा सबैभन्दा बढी ३८ र वागमतीमा सबैभन्दा कम १७ देखिएको छ । पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर समेत सुदूरपश्चिममा ४८ पुगेको छ भने सबैभन्दा कम गण्डकी प्रदेशमा २० जना रहेको छ ।
१३. भ्रष्टाचार नियन्त्रण गर्ने दायित्व सरकारको होः प्रमुख आयुक्त राई
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण गर्ने प्रमुख दायित्व सरकारको भएको बताउनुभएको छ । आयोगको ३५ औँ स्थापना दिवसका अवसरमा सोमवार आयोजित पुरस्कार तथा प्रशंसापत्र वितरण कार्यक्रममा उहाँले भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकतामा हुनुपर्ने बताउनुभएको हो । उहाँले सुशासन कायम गर्नको लागी संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकारले ऐन, नियम र कानुनको चुस्त र दुरुस्त कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । भ्रष्टाचा नियन्त्रणमा अख्तियार अन्तिम अस्त्रका रूपमा प्रयोग हुने संस्था मात्र भएको उहाँको भनाई छ । सुशासन कायम गर्न सरकार, नागरिक समाज र सञ्चारजगत सबैको भुमिका अपरिहार्य रहेको बताउनु भयो । उहाँले अख्तियार ऐन, नियम र कानुन अनुसार भ्रष्टाचार नियन्त्रणमा निरन्तर क्रियाशील रहेको बताउनु भयो ।
१४. ३ सय ५५ ऐनसहित संघीयस्तरमा १ हजार १ सय ३० कानून निर्माण
संघीयस्तरमा हालसम्म १ हजार १ सय ३० वटा ऐन, कानून, नियमावली तथा निर्देशिका निर्माण भएका छन् । राष्ट्रिय सभाको सोमवारको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले यस्तो जानकारी दिनुभएको हो । उहाँकाअनुसार कानून मन्त्रालयको अभिलेखअनुसार ३ सय ५५ वटा ऐन, ३२५ वटा नियमावली तथा नियम, ६६ वटा गठन आदेश, १३४ वटा निर्देशिका र २५० वटा कार्यविधि निर्माण भएका छन् । उहाँले विधायन ऐन २०८१ को प्रभावकारी कार्यान्वयन भइरहेको पनि बताउनु भयो । उहाँले प्रत्यायोजित विधायन ऐनमा भएको व्यवस्थाअनुसार सम्बन्धित मन्त्रालय वा निकायबाट जारी हुने प्रत्यायोजित विधायन अनिवार्य रूपमा कानून मन्त्रालयमा दर्ता गर्ने व्यवस्था लागू गरिएको जानकारी दिनुभयो ।
१५. काँग्रेस सांसद शर्माको आशंका– असंलग्न र एक चीन नीति कमजोर बनाइँदैछ कि ?
नेपाली काँग्रेसका सांसद युवराज शर्माले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारको परराष्ट्र नीतिप्रति प्रश्न उठाउनुभएको छ । राष्ट्रिय सभाको सोमवारको बैठकमा बोल्दै उहाँले सरकारको परराष्ट्र नीतिप्रति प्रश्न उठाउनुभएको हो । उहाँले विगतका सरकारहरू असंलग्न परराष्ट्र नीति तथा एक चीन नीतिप्रति सचेत रहेको उल्लेख गर्दै वर्तमान सरकारले ती आधारभूत नीतिहरू कमजोर बनाउने हो कि भन्ने चिन्ता सर्वत्र रहेको बताउनु भयो । उहाँले केवल प्रथम महिला प्रधानमन्त्री भनेर इतिहासमा नाम लेखिनु मात्र पर्याप्त नहुने भन्दै इतिहास रच्न सक्नेगरी कार्यसम्पादन गर्न आवश्यक रहेको धारणा राख्नुभयो । नागरिकको एकमात्र र प्रमुख माग निष्पक्ष निर्वाचन रहेको उल्लेख गर्दै त्यसका लागि संविधानका पक्षधर शक्तिहरू एकजुट भएर कडा र स्पष्ट भूमिका निर्वाह गर्नुपर्ने उहाँको जोड छ ।
१६. राष्ट्रिय सभाबाट पर्यटन विधेयक पारित
राष्ट्रिय सभाबाट पर्यटन विधेयक पारित भएको छ । सोमवार बसेको सभाको बैठकबाट उक्त विधेयक सर्वसम्मत रुपमा पारित गरेको हो । बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हाले विधेयक पारित गरियोस् भन्ने प्रश्तुत गरेका गर्नुभएको थियो । यसअघि विधयान व्यवस्थापन समितिमा छलफल भएको पर्यटन विधेयकमाथि छलफल गरेर सभामा लगेको हो । यो विधेयक तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले ५ वैशाख २०८२ मा दर्ता गराउनुभएको थियो ।
१७. संविधान निर्माणको १० वर्षसम्म पनि पुरानै कानूनका आधारमा देश चल्नु चिन्ताजनकः सांसद विसी
नेकपा (एमाले)की सांसद सुमित्रा विसीले संविधान कार्यान्वयनका लागि आवश्यक कानून निर्माणमा ढिलाई हुँदा मुलुकको विकास प्रक्रियामा असर परेको बताउनुभएको छ । राष्ट्रिय सभाको सोमवारको बैठकमा बिदाइ सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले २०१३, २०२० र २०२९ सालमा बनेका कानूनका आधारमा मुलुक सञ्चालन अत्यन्त चिन्ताजनक विषय भएको बताउनु भयो । आवश्यक कानून समयमा नबन्दा विकासका काममा प्रत्यक्ष बाधा पुगेको उहाँको भनाइ थियो। सांसद विसीले सार्वजनिक खरिद ऐन, वन ऐन, निकुञ्ज ऐन र शिक्षा ऐनलगायत महत्वपूर्ण कानूनहरू तत्काल संशोधन गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो ।उहाँले अन्तरमन्त्रालय तथा अन्तरसरकारी समन्वय सुदृढ हुनुपर्नेमा जोड समेत दिनुभयो । उहाँले सरकारको नीति तथा कार्यक्रमअनुसार बजेट प्रस्तुत हुन सके विकास प्रक्रियाले गति लिने पनि बताउनु भयो ।
१८. सांसद भुसालको बिदाइ सम्बोधन– राष्ट्रिय सभा प्रतिनिधि सभाको छायाँ जस्तो नबनोस्
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद डा. वेदुराम भुसालले भुसालले राष्ट्रिय सभाले अहिलेसम्म स्थापित गरेका असल परम्परा र मानकलाई निरन्तरता दिँदै थप नयाँ मानक विकास गर्न सभालाई सुभाव दिनुभएको छ । सभाको सोमवारको बैठकमा बिदाइ सम्बोधन गर्दै उहाँले यस्तो सुझाव दिनुभएको हो । राष्ट्रिय सभा प्रतिनिधि सभाको छायाँजस्तो नभई छुट्टै पहिचानसहित प्रभुत्वशाली सभाका रूपमा स्थापित हुनुपर्नेमा उहाँको जोड छ । सभाले संवैधानिक भुमिका र जिम्मेवारीअनुसार स्वतन्त्र तथा प्रभावकारी रूपमा काम गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘सभाले अहिलेसम्म प्राप्त गरेका असल परम्परा र मानकहरुलाई अगामी दिनमा पनि कायमै राखोस् र अरु थप असल परम्परा र मानकहरु स्थापित गर्दै जाओस् । यो सभा प्रतिनिधि सभाको छायाँ जस्तो नबनि छुट्टै पहिचानसहितको प्रभुत्व सभाको रुपमा काम गर्ने सभा बनिरहोस् भन्ने सुझाव दिन चाहन्छु ।’
१९. ३ सय ५५ ऐनसहित संघीयस्तरमा १ हजार १ सय ३० कानून निर्माण
संघीयस्तरमा हालसम्म १ हजार १ सय ३० वटा ऐन, कानून, नियमावली तथा निर्देशिका निर्माण भएका छन् । राष्ट्रिय सभाको सोमवारको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले यस्तो जानकारी दिनुभएको हो । उहाँकाअनुसार कानून मन्त्रालयको अभिलेखअनुसार ३ सय ५५ वटा ऐन, ३२५ वटा नियमावली तथा नियम, ६६ वटा गठन आदेश, १३४ वटा निर्देशिका र २५० वटा कार्यविधि निर्माण भएका छन् । उहाँले विधायन ऐन २०८१ को प्रभावकारी कार्यान्वयन भइरहेको पनि बताउनु भयो । उहाँले प्रत्यायोजित विधायन ऐनमा भएको व्यवस्थाअनुसार सम्बन्धित मन्त्रालय वा निकायबाट जारी हुने प्रत्यायोजित विधायन अनिवार्य रूपमा कानून मन्त्रालयमा दर्ता गर्ने व्यवस्था लागू गरिएको जानकारी दिनुभयो । हालसम्म दर्ता भएका प्रत्यायोजित विधायनमा ८ वटा नियमावली, ८ वटा विनियमावली, ४५ वटा कार्यविधि, १४ वटा निर्देशिका र १ वटा मापदण्ड रहेको मन्त्री सिन्हाले जानकारी दिनुभयो ।
२०. आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्ने सरकारको निर्णय
सरकारले आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्ने भएको छ । सोमवार सिंहदरवारमा बसेको मन्त्रीपरिषद बैठकले सो वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गर्ने निर्णय गरेको हो । नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका गृहमन्त्री ओमप्रकाश अर्यालले सो वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्ने निर्णय गरिएको बताउनु भयो । संवैधानिक व्यवस्थाअनुसार सरकारले हरेक वर्षको आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्नुपर्ने हुन्छ । गृहमन्त्री अर्यालले भन्नुभयो,‘राष्ट्रिय आर्थिक गणना २०८२ को तथ्यांक संकलन गर्ने आदेश स्विकृत गर्ने । नेपाल सरकारको आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रतिवेदन सम्माननीय राष्ट्रपतिज्यू समक्ष पेश गर्ने निर्णय भयो ।’
२१. एआईको दुरुपयोग रोक्न नेपाल प्रहरीले छुट्टै सेल गठन गर्छः प्रहरी महानिरीक्षक कार्की
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीले एआई तथा एडभान्स एनालेटिक सेल गठन गर्न लागेको बताउनु भएको छ । सूचना प्रविधिको दुरुपयोग गरेर झुटा सामग्रीहरु प्रशारण गर्ने कामले बढवा पाएकाले त्यस्ता गतिविधिलाई निगरानी गर्न र कानूनी उपचारका लागि पनि नेपाल प्रहरीले सो सेवा गठन गर्न लागेको उहाँको भनाई थियो । सोमवार काठमाडौंमा आयोजित अपराध अनुसन्धान र शान्ति सुरक्षामा सञ्चार माध्यमको भूमिका विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले छिटो सूचना दिने प्रतिष्पर्धा र होडबाजीका कारण मुलुकमा झुटा र गलत समाचारले बढवा पाइरहनु चिन्ताको विषय भएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्दै लैजाने काममा नेपाल प्रहरी र सञ्चारकर्मीहरुले बलियो सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनु भयो । प्रहरी महानिरीक्षक कार्कीले राष्ट्रिय सुरक्षाको मर्मलाई सञचारकर्मीहरुले आफ्नो धर्मको रुपमा आत्मासात गर्न जरुरी रहेको पनि बताउनु भयो ।
२२. जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद पुनः २५ दिन थप गर्ने सरकारको निर्णय
सरकारले जेनजी आन्दोलनको घटनाको छानविन गर्न गठित जाँचबुझ आयोगको म्याद पुनः २५ दिन थप गर्ने भएको छ । सोमवार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले तेस्रो पटक सो आयोगको म्याद थप गर्ने निर्णय गरेको हो । सो आयोगको दोस्रो पटक थप गरिएको म्याद माघ २८ गते बुधवार सकिँदैछ । सो आयोगको म्याद पुनः थप गर्ने निर्णय गरिएको नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘नेपाल सरकार मन्त्रीपरिषदको २०८२ असोज ५ गतेको निर्णय अनुसार भदौ २३ र २४ गतेको प्रर्दशनको क्रममा भएको भौतिक एवं मानवीय क्षतिको यथार्थ छानविन गरी प्रतिवेदन पेश गर्न गठित जाँचबुझ आयोगको समय अवधि २५ दिन थप गर्ने निर्णय गरियो ।’
२३. सञ्चारकर्मीहरुलाई पत्रकार महासंघले भन्योः सामाजिक सञ्जालको प्रयोगमा जिम्मेवार बन्नू
नेपाल पत्रकार महासंघले जिम्मेवार भएर सामाजिक सञ्जाललगायतका विद्युतीय सञ्चार माध्यामहरुको प्रयोग गर्न सञ्चारकर्मीहरुलाई आग्रह गरेको छ । महासंघकी अध्यक्ष निर्मला शर्माले जिम्मेवार भएर सामाजिक सञ्जाललगायतका विद्युतीय सञ्चार माध्यमहरुको प्रयोग गर्न सञ्चारकर्मीहरुलाई सचेत गराउनुभएको हो । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले पत्रकारहरुले आफ्नो अनुसन्धानको काम नसकिदै सामाजिक सञ्जालहरुमा त्यस्ता विषयहरु सार्वजनिक गरिदिँदा प्रहरीको अपराध अनुसन्धानमा समेत नकारात्मक प्रभाव पर्ने भएकाले त्यसतर्फ सचेत हुनुपर्ने स्पष्ट पार्नुभयो । अध्यक्ष शर्माले सञ्चारकर्मीहरुलाई जिम्मेवार भएर सामाजिक सञ्जालहरुको प्रयोग गराउनका लागि महासंघले देशभर सो सम्बन्धि अभियानको सुरुवात गरेको पनि स्मरण गराउनु भयो ।
२४. अवसरहरूको असमान वितरणले मानिसहरूमा असन्तुष्टि जन्माउने गरेको छः गभर्नर पौडेल
नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आर्थिक वृद्धिदर बढ्दै जाँदा समाजमा असन्तुष्टि र अस्थिरता बढ्ने गरेको बताउनुभएको छ । क्लिकमाण्डुद्वारा आयोजित ‘जेन–जी प्रदर्शनपछिको व्यावसायिक वातावरण’ विषयक अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा उहाँले फ्रान्स र चीन जस्ता देशहरूमा भएको क्रान्ति तथा विद्रोहको उदाहरण दिँदै आर्थिक वृद्धिको प्रारम्भिक चरणमा स्थायित्व बढ्ने भएपनि वृद्धि बढ्दै जाँदा अवसरहरूको असमान वितरणले मानिसहरूमा असन्तुष्टि जन्माउने गरेको बताउनु भयो । गभर्नर पौडेलकाअनुसार नेपालमा पनि उदारीकरण नीतिका कारण केही व्यक्ति धनी भइरहेका छन्, तर यसलाई राम्रोसँग व्याख्या गर्न नसक्दा समस्या देखिएको छ । विशेष गरी नेपाल जस्तो देशमा नवप्रवर्तन (इन्नोभेसन) आधारित सम्पती कमाइभन्दा लाइसेन्स र आयातमा आधारित तरिकाले धनी बन्ने परिपाटीले अस्वाभाविक देखिने गरेको उहाँको भनाइ छ ।
२५. सरकारी निर्माण कम्पनी खारेज गर्नुपर्छः अध्यक्ष सिंह
निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारी लगानी रहेको नेपाल पूर्वाधार निर्माण कम्पनी खारेज गर्नुपर्ने बताउनुभएको छ । पहिले पनि सरकारले लगानी गरेर निर्माण कम्पनी खुलाएको र भ्रष्टाचार गर्ने अखडा बनेको भन्दै सरकारले भ्रष्टाचार हुनसक्ने संस्थाहरु राख्न नहुने बताउनुभएको हो । उहाँकाअनुसार सरकारले यसअघि २०१८ सालमा नेशनल कन्स्ट्रक्शन कम्पनी नेपाल (एनसीसीएन) स्थापना गरेको थियो । लगातार ६ वर्ष घाटामा गएपछि सरकारले २०६७ सालमा एनसीसीएन खारेज गरेको थियो । अहिले पनि खडा भइरहेको निर्माण कम्पनी राजनीतिका आडमा भ्रष्टाचार गर्ने अखडा बन्नसक्ने उहाँले बताउनु भयो ।
२६. सार्वजनिक सेवा प्रवाहमा सुधार नहुँदा असन्तोष बढेको होः उपाध्यक्ष श्रेष्ठ
रष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले सार्वजनिक सेवा प्रवाहमा तत्काल सुधार आवश्यक रहेको बताउँदै दैनिक जनजीवनसँग जोडिएका आधारभुत सेवाहरूमा देखिएको समस्या सम्बोधन गर्न सरकारको ध्यान जानुपर्नेमा जोड दिनुभएको छ । उहाँले ड्राइभिङ लाइसेन्स, पासपोर्ट र राष्ट्रिय परिचयपत्र जस्ता सेवामा लामो लाइन, झन्झटिलो प्रक्रिया र व्यवस्थापनको अभावका कारण सेवाग्राहीले सास्ती भोग्नुपरेको बताउनुभएको हो । उहाँकाअनुसार सरकारले ठूला–ठूला कुरा गर्ने भन्दापनि सामान्य सार्वजनिक सेवामा सुधारमा जोड दिनुपर्छ । सार्वजनिक सेवा सुधारमा विगतदेखि नै सरकारहरुले ध्यान दिन नसक्दा जनतामा असन्तोष बढाइरहेको उहँँको भनाइ छ । श्रेष्ठले व्यवसाय क्षेत्रतर्फ संकेत गर्दै राजनीति र व्यवसायबीचको अत्यधिक घनिष्ठ सम्बन्धले नकारात्मक सन्देश फैलिरहेको समेत बताउनु भयो । उहाँकाअनुसार राजनीतिक लबिङ र प्रभावका आधारमा व्यवसाय चलाउने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनु भयो । अब उद्योगी व्यवसायीहरु नविनता र सिर्जनशील बन्न जरुरी छ । व्यवसायीहरूले अब प्रोफेसनलिज्म अपनाउनुपर्छ र नवप्रवर्तनमा ध्यान दिनुपर्छ ।
२७. ‘अबको नेपालमा राति सुत्ने छुट छैन’ः विश्वप्रकाश शर्मा
नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश विकासका लागि ठोस आर्थिक मोडेल, श्रम संस्कृतिमा परिवर्तन र राजनीतिक शुद्धीकरणका लागि कडा कदमहरू चाल्न आवश्यक रहेको बताउनुभएको छ । चितवनमा आयोजित एक कार्यक्रमलाई सोमवार सम्बोध्न गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बदलिएको काँग्रेसले गगन थापालाई प्रधानमन्त्री बनाउने संकल्पका साथ अघि बढ्ने बताउनु भयो । बुढीगण्डकी परियोजनाका लागि मुआब्जाको काम लगभग सकिएको तर निर्माणका लागि बजेट अभाव रहेको भन्दै शर्माले जीडीपीपी (गभर्मेन्ट, डायस्पोरा र प्राइभेट सेक्टर) मोडेल अघि सार्नुभयो । विदेशमा रहेका नेपालीले १००० देखि २५००० अमेरिकी डलरसम्म लगानी गर्नसक्ने र त्यसबाट १२०० मेगावाट बिजुलीका साथै पर्यटन र माछा उत्पादनको विशाल ड्याम बन्ने उहाँको परिकल्पना छ ।
२८. ओली र बालेनलक्षित काँग्रेस उपसभापति शर्माको टिप्पणीः दुवैबाट देश चल्न सक्दैन
नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्रीका उम्मेदवारद्वय केपी शर्मा ओली स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह प्रधानमन्त्रीका लागि उपयुक्त पात्र नभएको टिप्पणी गर्नुभएको छ । सोमवार चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै उपसभापति शर्माले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले शाह र ओलीलाई लक्षित गर्दै एक जना बोलेको बोलई गर्ने र अर्को बोल्दै नबोल्ने खालको रहेको भन्दै धेरै बोल्ने र बोल्दै नबोल्नेबाट देश चल्न नसक्ने बताउनु भयो । प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय मञ्चमा देशको प्रतिनिधित्व गर्न सक्नुपर्ने उहाँको भनाइ छ । उहाँले काँग्रेस सभापति गगनकुमार थापालाई ‘तौलेर बोल्ने’ नेताको रूपमा प्रश्तुत पनि गर्नुभयो । अहिलेको बहस वडा अध्यक्षको नभई प्रधानमन्त्रीको भएको भन्दै उहाँले झोक चल्यो भने घर जलाईदिन्छु भन्न अभिव्यक्ति प्रधानमन्त्रीका लागि उपयुक्त नहुने टिप्पणी गर्नुभयो ।
२९. सिरहा कारागारभित्र भेटियो पेस्तोल, १३ कैदीबन्दी नियन्त्रणमा
सिरहा सदरमुकामस्थित कारागारभित्र एउटा कटुवा पेस्तोल र दुई वटा गोली बरामद भएपछि नाइकेसहित १३ जनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ। जिल्ला सुरक्षा समितिले सोमबार गरेको विशेष अनुगमनका क्रममा कारागारभित्र ‘नाइके’ भनिने इन्द्रजित यादवसँग पेस्तोल भेटिएको हो। सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार आइतबार नाइके यादवको समूहले अन्य १० जना कैदीबन्दीलाई कुटपिट गरी कारागारबाट बाहिर निकालेको थियो। त्यसपछि आज सुरक्षा समितिले कारागारभित्र खानतलासी गर्दा हतियार फेला परेको पौडेलले जानकारी दिए। घटनामा संलग्न रहेको आरोपमा नाइके यादवसहित १३ जनालाई कारागारबाट झिकेर प्रहरी हिरासतमा राखिएको छ। ‘हामीले उनीहरूलाई कारागारबाट झिकेर हिरासतमा राखेका छौँ, उनीहरूलाई अन्यत्र कारागारमा पठाउने तयारी भइरहेको छ,’ प्रजिअ पौडेलले भने। –न्युज एजेन्सी नेपाल
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij