२०८२ फाल्गुण २८ गते बिहिवार
काठमाडौं । वीरगञ्ज महानगरपालिका आदर्शनगरस्थित एक स्टोरमा छापा मार्न गएको भन्सार र सशस्त्र प्रहरी बलको संयुक्त टोलीमाथि केही स्थानीयले आक्रमण गरेका छन् । सोक्रममा ३ जना सशस्त्र प्रहरी घाइते भएका छन् । एपीएफको गाडी पनि तोडफोड गरिएको छ ।
भन्सार स्रोतका अनुसार गैरकानुनी रूपमा गोदाममा राखिएको सामानबारे प्राप्त सूचनाको आधारमा एपीएफको सुरक्षासहित छापा मार्न कर्मचारी त्यहाँ पुगेका थिए । स्थानीयको एक समूहले अचानक ढुंगामुढा गरेपछि अवस्था तनावग्रस्त बनेको थियो ।
सशस्त्र प्रहरी बल मधेश प्रदेशका प्रमुख डीआईजी कृष्ण ढकालले भन्सारको नियमित काम कारबाहीमा बाधा पुर्याउने उद्देश्यले आक्रमण भएको बताएका छन् ।
‘अवैध सामान रहेको सूचनाको आधारमा भन्सारको कर्मचारीसँगै सशस्त्र प्रहरी छापा हान्न गएको बेला आक्रमण भएको हो । अनुसन्धान भइरहेको छ, कानुनी कार्यमा अवरोध गर्ने जो(कोहीमाथि कानुनअनुसार कारबाही हुन्छ’, ढकालले भने ।
ढुंगामुढाबाट एकजना सशस्त्र प्रहरी सामान्य घाइते भएका छन् । उनको अवस्था खतरामुक्त रहेको बताइएको छ । घटनापछि थप सुरक्षा परिचालन गरी अवस्था नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलले जनाएको छ । संलग्न व्यक्तिबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij