Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

राष्ट्रियसभा सदस्य उपनिर्वाचन शुरू, नतिजा आजै आउने

राष्ट्रियसभा सदस्य उपनिर्वाचन शुरू, नतिजा आजै आउने


  • 4.8K
    Shares

    राष्ट्रियसभा सदस्य उपनिर्वाचन शुरू, नतिजा आजै आउने
    images

    काठमाडौँ । वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचन शुरू भएको छ ।

    अपराह्न ३ बजेसम्म हुने मतदानमा गृहमन्त्रीसमेत रहेका एमालेका उम्मेदवार रामबहादुर थापा ‘बादल’ र  नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) विपक्षी गठबन्धनबाट डा. खिमलाल देवकोटा तथा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का कृष्णबहादुर तामाङ उम्मेदवार छन् ।

    तर धेरैजसोको चासोको केन्द्रमा भने थापा र देवकोटा छन् । पार्टीको विवाद मत्थर हुनेतर्फ अग्रसर भइरहँदा एमालेका जनप्रतिनिधिले  देवकोटालाई मत दिन्छन् या थापालाई भन्ने विषय अन्योलमा छ । एमालेकै मत निर्णायक समेत रहेकाले धेरैजसोको चासोको केन्द्रमा थापा र देवकोटामा नै छ ।

    पार्टीभित्र पूरै सहमति भइनसकेकाले एमालेको नेपाल-खनाल समूहले थापालाई मत दिने सम्भावना कम छ ।  तथापि यो बीचमा थापा स्वयमले वरिष्ठ नेता माधव कुमार नेपाललाई भेटेर मतका लागि अपिल गरेका छन् ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले निर्वाचनमा नेकपा (एमाले)का उम्मेदवारलाई मदान गर्ने निर्णय गरेको छ । एमालेका उम्मेदवार थापाका पक्षमा मतदान गर्न राप्रपाले मतदातालाई विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

    निर्वाचनमा वाग्मती प्रदेशसभा सदस्य ११० र प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी ३४८ मतदाता कायम रहेको निर्वाचन आयोगले जनाएको छ ।

    आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार मतदाताको निर्वाचकमण्डलबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअनुरुप हुने निर्वाचन स्वच्छ र निष्पक्ष बनाउन आयोग प्रतिबद्ध र क्रियाशील रहेको जानकारी दिइएको छ । आयोगले सबै मतदातालाई मतदानमा सहभागी हुन अनुरोध गरेको छ ।

    जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरले मतदाताको बसोबास र मतदान व्यवस्थापन स्वास्थ्य सुरक्षा मापदण्डका आधारमा प्रबन्ध मिलाइएको जानकारी दिएको छ ।

    हेटौँडा नगरपालिका– ४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा कायम गरिएको तीन केन्द्रमा मतदान हुनेछ । केन्द्रमा प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि र कोभिड संक्रमित मतदाताका लागि बेग्लाबेग्लै मतदानको व्यवस्था मिलाइने छ ।

    उपनिर्वाचनमा यसअघिका विभिन्न निर्वाचनमा जारी भएका मतदाता परिचयपत्र, नागरिकता वा राष्ट्रिय परिचयपत्रलगायत कागजात देखाएर मतदान गर्न सकिने व्यवस्था गरिएको छ ।

    निर्वाचकमण्डलको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले प्रदेशसभा सदस्य, गाउँपालिकाका अध्यक्ष वा उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख वा उपप्रमुखमा निर्वाचित भएको प्रमाणपत्रका आधारमा पनि मतदान गर्न सक्ने छन् ।

    स्थानीय तह निर्वाचन, प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन र उपनिर्वाचन, २०७६ मा आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नागरिकता प्रमाणपत्र र राष्ट्रिय परिचयपत्रका आधारमा मतदान गर्न सकिने आयोगका प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

    निर्वाचकमण्डलको अन्तिम मतदाता नामावली विवरणसँग भिडाएर यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई आयोगले निर्देशन पनि दिएको छ ।

    मतपरिणाम आजै

    उपनिर्वाचनको नतिजा भर्चुअल माध्यमबाट सार्वजनिक गरिने गरी व्यवस्थापन मिलाइएको छ ।

    प्रमुख निर्वाचन अधिकृत न्यायाधीश डिल्लीरत्न श्रेष्ठका अनुसार मतगणनाको नतिजा भर्चुअल माध्यमबाट सार्वजनिक गरिने गरी व्यवस्थापन गरिएको हो ।

    मतदान स्थल भुटनदेवी माविमै मतगणना गरी सोको नतिजा भर्चुअल माध्यम (जुम) मार्फत सार्वजनिक गर्ने योजना बनाइएको छ । मतगणना साँझ ५ बजेदेखि शुरु गरिने छ । आजै बेलुकासम्ममा नतिजा आइसक्ने जनाइएको छ ।

    प्रदेश निर्वाचन आयोगले मतदान स्थल र मतगणनाको संरचना तयार पारेको सहायक निर्वाचन अधिकृत गोविन्द पौडेलले जानकारी दिए । विद्यालय परिसरमा क, ख र ग नामकरण गरेर तीन वटा मतदान केन्द्र स्थापना गरिएको छ ।

    मतदान केन्द्र र मतगणनामा खटिने गरी २४ कर्मचारी परिचालन गरिएको कार्यालयले जनाएको छ ।

    प्रकाशित मिति :जेठ ६ २०७८ बिहिवार - ११:१४:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij