Logo

२०८२ माघ २६ गते सोमवार

२०८२ माघ २६ गते सोमवार

दाजुभाइले काठमाडौंबाट ओखलढुंगा पुगेर गरेका थिए राई दम्पतीको हत्या

दाजुभाइले काठमाडौंबाट ओखलढुंगा पुगेर गरेका थिए राई दम्पतीको हत्या


  • 1.5K
    Shares

    दाजुभाइले काठमाडौंबाट ओखलढुंगा पुगेर गरेका थिए राई दम्पतीको हत्या

    काठमाडौं । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेस्थित बोहोरे टोलमा बयोवृद्ध दम्पतीको हत्यामा दाजुभाइ संलग्न रहेको खुलेको छ।

    बयोवृद्धको घरमा लुटपाटपछि ती दाजुभाइले उनीहरूको गत माघ १२ गते विभत्स हत्या गरिएको खुलेको छ । बयोवृद्ध दम्पत्तिको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ती दाजुभाइलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

    उक्त हत्यापछि गाउँ नै त्रसित रहेको अवस्थामा प्रहरीको यो सफलताले केही राहत दिएको छ । ८१ वर्षीय चन्द्रबिक्रम राई र उनकी ८० वर्षीया पत्नी चन्द्रमाया राईको घरभित्रै हत्या भएको थियो ।

    घरमा लुटपाटपछि उनीहरूको ज्यान लिइएको थियो । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार माघ १३ गते बिहान घरको दोस्रो तलाको सुत्ने कोठामा खाटमै सिरक ओढेको अवस्थामा उनीहरू मृत फेला परेका थिए।

    घटनापछि कोशी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय ओखलढुंगा तथा केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० को संयुक्त टोलीले अनुसन्धान थालेको थियो। थप प्राविधिक सहयोगका लागि सीआईबीबाट विज्ञ जनशक्ति माघ २० गते खटाइएको प्रहरीले जनाएको छ। प्रहरीले शुक्रबार दाजुभाइलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

    पक्राउ पर्नेहरूमा त्यही पालिकाको वडा नम्बर ६ निवासी ३४ वर्षीय धनबहादुर राना मगर रहेका छन् । उनी पछिल्लो समय काठमाडौंको डल्लु, लखतीर्थ मार्गमा डेरा लिएर बस्ने गर्थे ।

    उनैले लुटपाट गर्ने योजना बनाएको खुलेको छ। उनले अर्का अभियुक्तसँग काठमाडौंदेखि ओखलढुंगा पुगेर हत्या र लुटपाटमा संलग्न भई प्रमाण मेटाउने काम गरेको प्रहरीले जनाएको छ। उनीसँगै १७ वर्षीय किशोर पनि पक्राउ परेका छन् । उनी धनबहादुरका भाइ भएको खुलेको छ। उनलाई पनि दाजुसँगै डल्लुको डेरबाट प्रहरीले पक्राउ गरेको हो ।

    दुवै दाजुभाइ सानैबाट काठमाडौंको डल्लुमा डेरा लिएर बस्ने गरेको खुलेको छ। उनीहरू राई दम्पतीको हत्या हुनु केही दिनअघिमात्रै गाउँमा पुगेका थिए । तर उक्त घटनापछि उनीहरू दुवै एकाएक हराए ।

    दम्पतीको हत्यापछि दुवैजना सदरमुकाम ओखलढुंगाबाट खोटाङ तरेर काठमाडौं पुगेको खुलेको छ। उनीहरू गाउँ आएलगत्तै हराएको विवरण पाएपछि प्रहरीले निगरानी गरिरहेको थियो।

    पक्राउमध्ये दाजु वैदेशिक रोजगारीमा मलेसिया गएर फर्किएका खुलेको छ। गाउँ आएलगत्तै हराएपछि स्थानीयवासीले उनीहरूबारेको सूचना प्रहरीलाई दिएका थिए । तर यो घटनामा अरू पनि व्यक्तिको संलग्नता हुन सक्ने भन्दै स्थानीयले गहिरो अनुसन्धान गर्न प्रहरीलाई दबाब दिएका छन् ।

    प्रहरीका अनुसार उनीहरूले काठमाडौंमै लुटपाट गर्ने योजना बनाई घटनास्थल पुगेका थिए। रातको समयमा गाउँमा चिनिने डरले घटनापछि तत्कालै फरक बाटो प्रयोग गर्दै भागेको खुलेको छ। बस टिकट काट्दा समेत नाम परिवर्तन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको सीआईबीले जनाएको छ।

    पक्राउ परेकाको डेराबाट मृतक चन्द्रमाया राईको मोबाइल, अभियुक्तहरूले प्रयोग गरेका दुईवटा मोबाइल, लुटिएका रिचार्ज कार्ड, नगद, सुनजस्तै देखिने गरगहना तथा सि माला बरामद गरिएको प्रहरीले जनाएको छ।

    यस्तै, काभ्रेपलाञ्चोकको पनौतीस्थित आफन्तको डेराबाट मृतक चन्द्रविक्रम राईको मोबाइल बरामद भएको छ। घटनास्थलबाट हत्यामा प्रयोग भएको कोदालो पनि फेला परेको प्रहरीले जानकारी दिएको छ।

    प्रहरीका अनुसार पक्राउ परेका दुवैलाई बरामद दसी प्रमाणसहित थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुंगा पठाइएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। उक्त वडाका सचिव चेलेन्द्र कार्कीले दुईजना दाजुभाइ समातिएको खबरले गाउँमा केही शान्ति महसुस भएको बताएका छन् ।

    प्रकाशित मिति :माघ २५ २०८२ आइतवार - १७:२४:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij