२०८२ फाल्गुण २८ गते बिहिवार
काठमाडौं । खोटाङमा बिहे भोज खाँदा बिरामी पर्नेको संख्या बढिरहेको छ । जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङमा विवाह भोज खाएपछि आफन्त र स्थानीयवासी बिरामी परेका हुन् ।
माघ २१ गतेको विवाह भोज खाएकामध्ये बेहुला–बेहलीसहित करिब डेड सय स्थानीय बिरामी परेका छन् । उपचारपछि धेरैजसो बिरामी निको भएर घर फर्किरहेका छन् । तर, नयाँ बिरामी थपिने क्रम जारी रहेको जन्तेढुंगा गाउँपालिका अध्यक्ष अरुणादेवी राईले बताइन् ।
माघ २५ गते मात्रै ४५ जना नयाँ बिरामी आएका छन् । कतिपय उपचारपछि घर फर्किएका बिरामीसमेत दोहोरिएर आइरहेका छन् । बिरामीको संख्या अधिक भएपछि दिप्लुङकै निगालावास भञ्ज्याङमा दिलबहादुर राईको घरमा उपचार शिविर खडा गरिएको छ । गाउँपालिकाले माघ २३ गतेदेखि शिविर खडा गरेर निगालावासमै उपचारको प्रवन्ध मिलाएको हो ।
बिरामीलाई राखेर उपचार गर्नका लागि पाल टाँगिएको छ । घरको कोठा, सिकुवा, आँगन र पेटीमै ओछ्यान हालेर उपचार गर्ने व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष राईले बताइन् ।
अलि सिकिस्त भएका सात बिरामीलाई प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा लगेर उपचारमा राखिएको छ । गाउँपालिकाको एम्बूलेन्स, स्ट्रेचर, ईलाका प्रहरी कार्यालय चिसापानी र स्वास्थ्य कार्यालय खोटाङको गाडीमार्फ विरामीलाई शिविरस्थलसम्म ओसार्ने काम भइरहेको छ । बिरामीको उपचारका लागि गाउँपालिकाको स्वास्थ्य शाखाको आरआरटी टिम, स्वास्थ्य कार्यालय र जनप्रतिनिधिको टोली खटिएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij