Logo

२०८२ माघ २३ गते शुक्रवार

२०८२ माघ २३ गते शुक्रवार

आज दिनभरको ३४ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्

आज दिनभरको ३४ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्


  • 792
    Shares

    आज दिनभरको ३४ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्

    १. हामीभन्दा नयाँ कोही छैन, तथाकथित नयाँ भन्नेहरू दलालका एजेन्ट हुन्ः पुष्पकमल दाहाल

    पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नयाँ शक्तिका नाममा भइरहेको चर्चालाई ‘होहल्ला’को संज्ञा दिनुभएको छ । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने र उत्पीडित वर्गको हक–अधिकार सुनिश्चित गर्ने आफ्नो पार्टी नै मुलुकको सबैभन्दा नयाँ र प्रगतिशील शक्ति भएको दाबी गर्नुभएको हो ।  काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले महिला, दलित, आदिवासी, जनजाति, मधेसी, मुस्लिम र थारूलाई पहिचान र अधिकार दिने एकमात्र पार्टी आफ्नो भएको जिकिर गर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ लक्षित गर्दै दाहालले तथाकथित नयाँ भन्नेहरूकै कारण देश संकटमा परिरहेको टिप्पणी गर्नुभयो । दाहालले विचार र एजेण्डाका आधारमा मात्र को नयाँ र को पुरानो भन्ने छुट्याउनुपर्ने तर्क गर्दै राष्ट्र र जनताको हितमा समर्पित हुने शक्ति नै वास्तविक नयाँ भएको स्पष्ट पार्नुभयो । 

    २. स्वास्थ्य बीमाको भुक्तानीमा समस्या देखिए महानगरले व्यहोर्ने मेयर महर्जनको घोषणा

    ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले पाटन अस्पतालसँगको सहकार्यमा सञ्चालित स्वास्थ्य कार्यक्रमका लागि नेपाल सरकारले बीमाको भुक्तानी नगरे महानगरपालिका आफैँले सो रकम तिर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १८ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । बीमा बापतको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको भन्दै मेयर महर्जनले सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले कथं कदाचित भुक्तानी नभएर सेवा बन्द गर्नुपर्ने अवस्था आएमा त्यसको प्रत्यक्ष जिम्मेवारी र आलोचना आफूले खेप्नुपर्ने उल्लेख गर्नुभयो । महानगर प्रमुख महर्जनले नेपाल सरकारले औपचारिक पत्रमार्फत अनुमति दिए वा महानगरलाई भुक्तानीको जिम्मेवारी सुम्पेमा महानगरपालिकाले नै उक्त दायित्व पूरा गर्ने स्पष्ट पार्नुभयो । 

    ३. स्वास्थ्य बीमाको दायित्व बजेटभन्दा दोब्बर बढी, स्रोत सुनिश्चित नगरी खर्च नगर्न स्वास्थ्यमन्त्रीको निर्देशन

    स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य बीमा बोर्डले स्रोतको सुनिश्चितता र अर्थ मन्त्रालयको सहमति बिना खर्च गर्दा राज्यलाई ठूलो आर्थिक भार परेको बताउनुभएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १८ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री गौतमले स्वास्थ्य बीमाका लागि चालु आर्थिक वर्षमा विनियोजित १० अर्ब रुपैयाँ खर्च भइसकेको जानकारी दिनुभयो । उहाँले बीमा बोर्डले स्रोतको सुनिश्चितता नगरी कार्यक्रम सञ्चालन गर्दा हाल वार्षिक २४ अर्ब रुपैयाँ बराबरको दायित्व सिर्जना भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । सरकारले रुखबाट पैसा नल्याउने र नागरिकले दुःखले कमाएर तिरेको करबाटै स्वास्थ्य सेवाको भुक्तानी हुने भएकाले बजेटको परिधिभित्र रहेर खर्च गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । स्रोत सुनिश्चित नभई जति मन लाग्यो त्यति सेवा दिँदै जाँदा प्रणालीमा समस्या आएको उहाँको भनाइ छ । 

    ४. लोकतन्त्रको सुदृढीकरणका लागि निर्वाचन प्रणाली पारदर्शी, निष्पक्ष र विश्वसनीय हुनुपर्छः आयुक्त तुलाधर

    निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले लोकतन्त्रको सुदृढीकरणका लागि निर्वाचन प्रणाली पारदर्शी, निष्पक्ष र विश्वसनीय हुनुपर्नेमा जोड दिनुभएको छ । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि छनोट भएका निर्वाचन पर्यवेक्षकहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रमलाई शुक्रवार सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । आयुक्त डा. तुलाधरले निर्वाचन आयोगसँग सहकार्य गर्दै निर्वाचन प्रक्रियाको पर्यवेक्षण र अवलोकन गर्ने जिम्मेवारी पाएका राष्ट्रिय संस्थाहरूको भुमिका सह्रानीय रहेको उल्लेख गर्नुभयो । उहाँले निर्वाचन पर्यवेक्षणका क्रममा प्रचलित कानून, नियम, निर्देशिका तथा निर्वाचन आयोगद्वारा जारी आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिनुभयो । पर्यवेक्षकहरू कुनैपनि राजनीतिक दल, उम्मेदवार वा सरोकारवाला पक्षको प्रभाव, आग्रह वा दबाबमा नपरी तटस्थ रहनुपर्नेमा उहाँको विशेष जोड छ । व्यक्तिगत धारणा, पूर्वाग्रह वा अनुमानका आधारमा निष्कर्ष ननिकाली तथ्यमा आधारित भएर मात्र पर्यवेक्षण गर्न उहाँले आग्रह गर्नुभयो । अपुष्ट, अपूर्ण र भ्रामक सूचना सार्वजनिक हुँदा निर्वाचनको विश्वसनीयतामा गम्भीर असर पर्ने भन्दै उहाँले पर्यवेक्षकहरूलाई सञ्चार र सूचना प्रवाहमा शतर्क रहन सचेत गराउनु भयो । 

    ५. बिहेको उल्लास घर नपुग्दै सकियो, बेहुला र बेहुलीको गाउँ शोकमग्न

    बैतडीको पुर्चौडी नगरपालिका-७, भौने गाउँ बिहीबार बिहेको उल्लासमा थियो। दिनभर बिहेको कामकाज सकेपछि बेलुकीतिर बेहुलीलाई घरबाट बिदाइ गरियो। बेहुलीको घर भौते गाउँबाट बझाङको बित्थडचिर गाउँपालिका-७, लघुणासा लागि हिडेको केहीबेरमा बिहेको उल्लास शोकमा परिणत भयो। जन्ती बोकेको बस पुर्चौडी-७ बढ्गाउँमा दुर्घटना भयो। यो घटनाले भौने र लघुणासा गाउँलाई शोकमा डुबाएको छ। बेहुला-बेहुलीसँगै जीपमा बेहुलीका भाइ सोमराज थिए। पछि पछि हुँइकिरहेको पवनदूत यातायातको सु.प्र. ०२९००१ ख १११९० नम्बरको बसमा अर्का भाइ सुशिल र जन्ती चढेका थिए। बस जन्तीले खचाखच भरिएको थियो। बिहेको खुशी लिएर यात्रा सुरु भएको १५ मिनेट मात्र भएको थियो, मढगाउँ मोडमा पुग्दा उकालोमा बस एक्कासी बन्द भयो। पछाडि गुड्दै भीरबाट खस्यो।  ‘चालकले प्रयास गर्दा पनि बस रोकिएन। पछाडि गुडेर भीरबाट बस खस्यो,’ बसबाट हाम फालेर ज्यान जोगाएका अम्मरराज जोशी भन्छन्, ‘उत्तिसको रुख रहेछ, त्यहीँ अड्किएँ।’ जिल्ला प्रहरी कार्यालय, बैतडीका अनुसार दुर्घटनामा १३ जनाको मृत्यु भएको छ। ६ जनाको घटनास्थल, २ जनाको कोटिला स्वास्थ्य चौकी र अन्य ५ जनाको डडेल्धुरा अस्पताल ल्याउँदा बाटोमै मृत्यु भएको हो।

    ६. रास्वपा र बालेनको एकता विचार र सिद्धान्तविहीन ‘स्टन्ट’ मात्र होः अग्निप्रसाद सापकोटा

    नेपाल कम्युनिष्ट पार्टीका नेता अग्निप्रसाद सापकोटाले राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन्द्र शाहबीचको पछिल्लो सहकार्यलाई ‘स्टन्ट’ को रुपमा चित्रण गर्नुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उनीहरुमा कुनै ठोस एजेण्डा नभएको र प्राविधिक सहमति मात्र भएको बताउनु भयो । नयाँ शक्तिहरूका पछाडि भयानक तागत रहेको आरोप लगाउँदै नेपाली जनता अब भ्रममा नपर्ने दाबी गर्नुभयो । नेता सापकोटाले रास्वपा र बालेन्द्र पक्षबीच भएको १० बुँदे सहमतिमा कुनै राजनीतिक दर्शन वा दीर्घकालीन दृष्टिकोण नभएको जिकिर गर्नुभयो । उहाँले घण्टी बजाएको भरमा र ‘स्टन्ट’ गरेको भरमा नेपाली जनता अब भ्रमित नहुने स्पष्ट पार्नुभयो । नयाँ राजनीतिक दल र पात्रहरूको उदयका पछाडि एउटा भयानक र रहस्यमयी शक्ति खडा भइरहेको उहाँको विश्लेषण छ । सिन्धुपाल्चोक जिल्लालाई नेकपाको पुरानो र मजबुत किल्ला बताउँदै सापकोटाले वि.सं. २०६४ देखि नै आफूहरू संस्थापन पक्षको रूपमा जनताको सेवामा समर्पित रहेको उल्लेख गर्नुभयो । 

    ७. राष्ट्रिय बहिरा ११–ए साईड फुटबल प्रतियोगिता २०८२ को तयारी पूरा

    सुन्दरढोका साथीसेवाको आयोजनामा आगामी माघ २५ र २६ गते दशरथ रंगशालामा राष्ट्रिय स्तरको बहिरा फुटबल प्रतियोगिता हुने भएको छ । यस प्रतियोगितामा देशभरबाट जम्मा ८ वटा टोलीहरुले सहभागिता जनाउनेछन् । सातै प्रदेशबाट १–१ टिम र वागमती प्रदेशबाट थप १ गरी जम्मा ८ टिम बीच प्रतिष्पर्धा हुनेछ । कुल १ घण्टा (३०÷३० मिनेटका दुई हाफ र १० मिनेटको ब्रेक) हुनेछ । पहिलो दिन ४ वटा नकाउट खेलहरु हुनेछन् । विजेता टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् । दोस्रो दिनमा सेमिफाइनल र फाइनल खेलहरु हुनेछन् । विजेता टोलीले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

    ८. मुक्तिनाथमा ‘स्की’ प्रशिक्षण शुरु

    वारागुङ मुक्तिक्षेत्रको सेताम्मे हिउँले ढाकिएको मुक्तिनाथ क्षेत्रमा हिउँमा खेलिने स्की प्रतियोगिताको रौनक शुरु भएको छ । नेपाल स्की सङ्घको आयोजनामा पाँचौँ राष्ट्रिय स्की प्रतियोगिता सञ्चालन हुने भएको हो । स्की खेलको विकास, प्रवद्र्धन तथा हिमाली पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल स्की सङ्घले सन् २०१६ देखि राष्ट्रिय स्तरको स्की प्रतियोगिता आयोजना गर्दै आएको छ । पहिलो संस्करण रसुवाको क्यान्जेन भ्यालीमा भएको थियो भने त्यसपछिका संस्करणहरू मुस्ताङको मुक्तिनाथ क्षेत्रमै सम्पन्न हुँदै आएका छन् । यसअघि सन् २०१९, २०२० र २०२२ मा मुक्तिनाथमा सफलतापूर्वक प्रतियोगिता भएका थिए । मौसमको अवस्था हेरेर अन्तिम तालिका तय गरिने बताइएको छ ।  यस पटकको प्रतियोगितामा १४ पुरुष र १० महिला खेलाडी सहभागी हुनेछन् । मुस्ताङबाट नेपाली सेनाका केही खेलाडी पनि सहभागी हुने आयोजकले जनाएका छन् ।

    ९.निर्वाचनलाई स्वच्छ र विश्वसनीय बनाउन पर्यवेक्षकको भुमिका महत्वपूर्णः आयुक्त ज.ब.रा.

    निर्वाचन आयुक्त सगुन शमशेर ज.ब.रा.ले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष बनाउन निर्वाचन पर्यवेक्षकहरूको भुमिका महत्वपूर्ण हुने बताउनुभएको छ । शुक्रवार निर्वाचन आयोगमा आयोजित पर्यवेक्षकहरूको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले पर्यवेक्षणमा खटिने हरेक व्यक्तिले नेपालको संविधान, निर्वाचन कानून र वर्तमान वस्तुस्थितिको बारेमा स्पष्ट जानकारी राख्नुपर्ने बताउनु भयो । विगतका निर्वाचनहरूमा राष्ट्रिय पर्यवेक्षण संघ संस्थाहरूले निर्वाचनको विश्वसनीयता वृद्धि गर्न महत्वपूर्ण भुमिका निर्वाह गरेको स्मरण गर्दै उहाँले यस पटक पनि सोही अपेक्षा राखिएको उल्लेख गर्नुभयो । आयुक्त ज.ब.रा.ले निर्वाचन आयोगले हालै जारी गरेको निर्वाचन पर्यवेक्षण निर्देशिका र आचारसंहिताको पूर्ण पालना गर्न सचेत गराउनु भयो । 

    १०. निर्वाचनका लागि स्वेच्छिक सहयोग लिन पाइन्छ, चन्दा उठाउन पाइँदैनः निर्वाचन आयोग

    निर्वाचन आयोगले उम्मेदवार तथा राजनीतिक दलहरूले निर्वाचन प्रयोजनका लागि शुभेच्छुकहरूबाट स्वेच्छिक सहयोग लिन पाउने स्पष्ट पारेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रचलित कानूनको परिधिभित्र रहेर निर्वाचन प्रचार–प्रसारका लागि सहयोग संकलन गर्न बाधा नपर्ने बताउनुभएको हो । प्रवक्ता भट्टराईकाअनुसार उम्मेदवार वा दलले कसैलाई पनि निश्चित रकम तोकेर चन्दा माग्न भने पाउने छैनन् । उम्मेदवारले निर्वाचन प्रयोजनका लागि छुट्टै खाता खोल्नुपर्ने प्रावधान रहेको उल्लेख गर्दै प्रवक्ता भट्टराईले उक्त खातामा संकलित रकम व्यक्तिगत प्रयोजनमा खर्च गर्न नपाइने प्रष्ट पार्नुभयो । 

    ११. आचारसंहिता उल्लंघनमा आयोग निर्ममः २४ दल र उम्मेदवारद्वारा स्पष्टीकरण पेश

    निर्वाचन आयोगले आचारसंहिता उल्लंघनका घटनामा नजरअन्दाज नगर्ने स्पष्ट पारेको छ । शुक्रवार नियमित पत्रकार भेटघाटका क्रममा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगले आचारसंहिता पालना गराउन र उल्लंघनकर्ताहरूलाई कारबाहीको दायरामा ल्याउन सक्रियता बढाएको बताउनुभएको हो । भट्टराईले पछिल्लो समय जिल्ला तहबाटै उजुरी लिने र फस्र्यौट गर्ने क्रम बढेकाले केन्द्रमा उजुरीको चाप घटेको बताउनु भयो । आयोगले हालसम्म ३४ वटा राजनीतिक दल र उम्मेदवारलाई स्पष्टीकरण सोधेकोमा २४ वटाबाट जवाफ प्राप्त भइसकेको जानकारी दिएको छ । भट्टराईकाअनुसार प्राप्त जवाफहरूको अध्ययन गरी केन्द्रिय आचारसंहिता अनुगमन समितिले निर्वाचन कसुर तथा सजाय ऐन बमोजिम आवश्यक कारबाहीको निर्णय लिनेछ । प्रवक्ता भट्टराईले ६३ राजनीतिक दलका ५७ निर्वाचन चिन्हमा कुल ३ हजार १३५ उम्मेदवारहरू चुनावी प्रतिष्पर्धामा रहेको बताउनु भयो । जसमा महिला उम्मेदवारको संख्या १ हजार ७७२ र पुरुषको संख्या १ हजार ३६३ रहेको छ । 

    १२. ‘मनग्य पैसा कमाएर, धन दौलत जम्मा गरेर पद र प्रतिष्ठाको आशक्तिमा आएका घण्टी बजाउनेहरू र हामी एउटै होइनौँः माधव सापकोटा

    नेपाली कम्युनिष्ट पार्टीका नेता माधव सापकोटाले पछिल्लो समयमा राजनीतिक वृत्तमा सिर्जना गर्न खोजिएको ‘सबै पार्टी र उम्मेदवारहरू उस्तै हुन्’ भन्ने भाष्यको खण्डन गर्नुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित चुनाव प्रचार प्रसार कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पार्टीका कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमार्फत दैनिक यस्ता भ्रमहरू चिर्न र आफ्नो पार्टीको भिन्नता स्पष्ट पार्न निर्देशन दिनुभयो । नेता सापकोटाले सबै दलहरूलाई एउटै डालोमा राखेर हेर्नु न्यायसंगत नहुने बताउनु भयो । विशेषगरी नयाँ शक्ति र राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ संकेत गर्दै उहाँले भन्नुभयो, ‘मनग्य पैसा कमाएर, धन दौलत जम्मा गरेर र केवल पद र प्रतिष्ठाको आशक्तिमा आएका घण्टी बजाउनेहरू’ र आफूहरु एउटै नभएको बताउनु भयो । उहाँले नयाँ उम्मेदवारहरूलाई कुन सरकारी कार्यालय कहाँ पर्छन् भन्ने आधारभुत जानकारी समेत नभएको भन्दै उनीहरूका कुरा हाँस्यास्पद रहेको टिप्पणी गर्नुभयो । 

    १३. अफ्रिकाको द्रुत विकासका लागि घानाद्वारा सुदृढ एकीकरणमा जोड

    घानाकी उपराष्ट्रपति जेन नाआना ओपोकु–अग्येमाङले अफ्रिकी महादेशको विकासका लागि स्रोत र साधनको सहज परिचालन गर्न सीमानाका विषयमा पुनर्विचार गर्न आग्रह गर्नुभएको छ । अफ्रिका प्रोस्पेरिटी डायलग २०२६ को उद्घाटन सत्रमा बोल्दै ओपोकु–अग्येमाङले व्यापार र आर्थिक एकीकरणको लक्ष्य प्राप्त गर्न थप एकीकृत महादेश आवश्यक रहेको बताउनु भयो । १.३ अर्बभन्दा बढी जनसंख्या भएको अफ्रिकी महादेशीय स्वतन्त्र व्यापार क्षेत्र व्यापार र आर्थिक विकासका क्षेत्रमा महादेशका लागि ऐतिहासिक अवसर भएको उहाँको भनाइ थियो । ओपोकु–अग्येमाङले महादेशीय एकीकरण, औद्योगिकीकरण र आर्थिक विकासको गति सिर्जना गर्न अफ्रिकी युनियनले गरेको निरन्तर प्रयास, समन्वय र नेतृत्वको प्रशंसा गर्नुभयो । 

    १४. अमेरिकाको लस एञ्जलसमा कार दुर्घटनामा ३ जनाको मृत्यु, ७ घाइते

    अमेरिकाको लस एञ्जलस शहरस्थित वेस्टवुड क्षेत्रमा बिहीवार एउटा सवारी साधन किराना पसलभित्र छिर्दा तीन जनाको मृत्यु भएको छ । अन्य सात जना घाइते भएका छन् । स्थानीय अधिकारीहरूकाअनुसार यो दुर्घटना दिउँसो करिव १२ बजे भएको थियो । लस एञ्जलस अग्नि नियन्त्रण विभागले दिएको जानकारीअनुसार घटनास्थलमै तीन जनाको मृत्यु भएको घोषणा गरिएको थियो भने अन्य सात जनालाई तत्काल नजिकैको अस्पताल लगिएको छ । स्थानीय सञ्चारमाध्यमहरूले उक्त पसल एशियाली सुपरमार्केट चेन ९९ र्यान्च मार्केट रहेको पहिचान गरेका छन् । दुर्घटनाको वास्तविक कारणबारे अझै स्पष्ट हुन सकेको छैन र स्थानीय प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको छ । 

    १५. आँधी लियोनार्डोका कारण दक्षिण स्पेनमा हजारौंको उद्धार,जनजीवन प्रभावित

    आँधी लियोनार्डोले निम्त्याएको मुसलधारे वर्षाका कारण दक्षिण स्पेनभर ३ हजारदेखि ५ हजार मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको स्थानीय अधिकारीहरूले बताएका छन् । यसमा क्याडिज प्रान्तको पहाडी शहर ग्राजालेमाका सबै बासिन्दाहरू समेत समावेश छन् । धेरै दिनदेखि परेको असाधारण भारी वर्षाले बाढी, पहिरो र संरचनात्मक क्षतिको जोखिम बढाएपछि स्थानान्तरणको आदेश जारी गरिएको थियो । अन्डालुसिया क्षेत्रका अध्यक्ष जुआन्मा मोरेनोले यो कदम सावधानीका रूपमा चालिएको बताउँदै बासिन्दाहरूलाई शान्त रहन र व्यवस्थित रूपमा स्थानान्तरण प्रक्रियामा सहभागी हुन आग्रह गर्नुभएको छ । लियोनार्डो आँधीका कारण अन्डालुसिया र एस्ट्रेमाडुराका धेरै ठाउँमा नदीहरूमा बाढी आएको छ । जसले गर्दा विद्यालयहरू बन्द भएका छन् ।

    १६. पाकिस्तानमा सुरक्षा बलको कारबाहीमा २१६ आतंककारी मारिए

    पाकिस्तानको दक्षिण–पश्चिमी प्रान्त बलुचिस्तानमा सुरक्षा बलले आतंकवाद विरोधी अभियान सम्पन्न गरेको र यस क्रममा कम्तीमा २१६ आतंककारी मारिएको सेनाले जनाएको छ । आतंककारीहरूले गरेका आक्रमणमा सुरक्षा बल र कानून कार्यान्वयन गर्ने निकायका २२ जना कर्मचारी र ३६ जना सर्वसाधारणको पनि मृत्यु भएको पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर–सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर) ले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । स्थानीय बासिन्दाका लागि गम्भीर खतरा उत्पन्न गर्ने आतंककारीहरूको उपस्थितिको बारेमा विश्वसनीय र प्रमाणित गुप्तचरी सूचना प्राप्त भएपछि जनवरी २९ मा यो अभियान सुरु गरिएको थियो । त्यसपछि, सुरक्षा बलले प्रतिबन्धित बलुचिस्तान लिबरेसन आर्मीद्वारा गरिएका श्रृंखलावद्ध आक्रमणहरूलाई विफल पारेको आईएसपीआरले जनाएको छ । 

    १७. फ्रान्सेली विदेशमन्त्रीको दमास्कस भ्रमणः सिरियाको संक्रमणकाल र पुनर्निर्माणमा समर्थन

    सिरियाली सरकारी समाचार एजेन्सी सानाकाअनुसार फ्रान्सेली विदेशमन्त्री जाँ–नोएल बारोटले दमास्कसमा सिरियाली विदेश प्रमुख असाद हसन अल–सैबानीसँगको भेटका क्रममा सिरियाको संक्रमणकाल र पुनर्निर्माण प्रयासहरूमा फ्रान्सको समर्थन व्यक्त गर्नुभएको छ । भेटका क्रममा बारोटले फ्रान्स सदैव सिरियाली जनताको साथमा रहेको र सिरियाको समुज्ज्वल भविष्य निर्माणका लागि गरिने प्रयासहरूमा निरन्तर सहयोग जारी राख्ने बताउनु भयो । उहाँले सिरियाली अन्तरिम सरकार र कुर्द नेतृत्वको सिरियाली लोकतान्त्रिक बलबीच हालै भएको सम्झौताको स्वागत गर्नुभयो । बारोटकाअनुसार यो सम्झौताले सिरियाका कुर्द जनसंख्याको मौलिक अधिकारको ग्यारेन्टी गर्नुका साथै इस्लामिक स्टेट विरुद्धको जारी लडाइँलाई थप बल पु¥याउनेछ । दुवै पक्षले सिरियाको एकता, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको महत्वमा जोड दिँदै उत्तर–पूर्वी सिरियामा रहेका कुर्द फौजलाई सिरियाली सैन्य संरचनामा समाहित गर्ने आगामी प्रक्रियाका बारेमा छलफल गरेका छन् । 

    १८. रुवाण्डाका राष्ट्रपति कागामेद्वारा आत्मनिर्भरता र द्रुत विकासको आह्वान

    रुवाण्डाका राष्ट्रपति पल कागामेले २० औँ राष्ट्रिय संवाद परिषद्को अवसरमा आत्मनिर्भरता र द्रुत राष्ट्रिय विकासका लागि नयाँ प्रतिवद्धताको आह्वान गर्नुभएको छ । संवादको उद्घाटन गर्दै कागामेले रुवान्डाले उल्लेखनीय प्रगति गरे तापनि दीर्घकालीन लक्ष्यहरू प्राप्त गर्न अझ तीव्र गतिमा अघि बढ्नुपर्ने बताउनु भयो । कागामेले सार्वजनिक सेवामा जवाफदेहिता र उत्तरदायित्व सुदृढ गर्न सबै तहका नेताहरूलाई आग्रह गर्दै स्थानीय र राष्ट्रिय संस्थाहरूमा प्रभावकारी सेवा प्रवाह सुनिश्चित गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले आत्मनिर्भरतालाई रुवान्डाको विकास रणनीतिको मुख्य स्तम्भका रूपमा उल्लेख गर्दै नागरिकहरूलाई देशको भविष्यका लागि सामूहिक जिम्मेवारी लिन आग्रह गर्नुभयो । 

    १९. दुई चरणमा निर्वाचन गराउने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सांसद बिसीको आपत्ति

    राष्ट्रिय सभा सदस्य सुमित्रा विसीले प्रधानमन्त्री सुशीला कार्की निर्वाचन दुई चरणमा पनि हुनसक्छ भनि दिनुभएको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ । शुक्रवार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले सो आपत्ति जनाउनुभएको हो । सांसद विसीले तोकिएको मितिमा एकैपटक देशभर सम्पन्न गर्न पनि सरकारलाई सचेत गराउनु भयो । उहाँले निष्पक्ष, स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । सांसद विसीले भन्नुभयो,’यो सरकार ६ महिना भित्र निर्वाचन गराईसक्ने भनेर स्थापित भएको छ । यसको भाषा कहिले कहिले दुई चरणमा निर्वाचन गराउने, निर्वाचन ढिलो पनि हुनसक्छ भन्ने कुराहरु सरकारका प्रधानमन्त्रीले नै भन्ने गरेकाले यो निष्पक्ष, स्वच्छ र भयरहित चुनाव छिटो छरितो ढंगले सम्पन्न गर्नका निम्ति एकै चोटी चुनाव गराउनका लागि म सरकारसँग माग गर्न चाहन्छु । 

    २०. राष्ट्रिय निकुञ्जसम्बन्धि विद्यमान ऐन तत्काल संशोधन गर्न सरकारसँग राष्ट्रिय सभाका सांसदहरुको माग

    राष्ट्रिय सभाका सांसदहरुले राष्ट्रिय निकुञ्जसम्बन्धि विद्यमान ऐन तत्काल संशोधन गर्न सरकारसँग माग गर्नुभएको छ । शुक्रवार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसदहरु डा. अञ्जान शाक्य, सुमित्रा विसीलगायतका सांसदहरुले सो ऐन समयअनुकूल हुनेगरी तत्काल संशोधन गर्न सरकारलाई सचेत गराउनुभएको हो । सांसद शाक्यले वन्यजन्तुबाट हुने क्षतिको राहत वितरण प्रणालीलाई सहज बनाउन पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले राष्ट्रिय निकुञ्ज सम्बन्धि ऐनलाई आजको आवश्यक्ता अनुसार व्यापक संशोधन गरेर अघि बढनुपर्ने जरुरी रहेको बताउनु भयो । 

    २१. राष्ट्रिय सभाद्धारा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला सम्बन्धि विधेयक पारित

    राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक २०८१ राष्ट्रिय सभाबाट पारित भएको छ । शुक्रवार बसेको राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री सुशीला कार्कीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले पेश गर्नु भएको सो विधेयक सर्वसम्मतिले पारित भएको हो । विधेयकमा सो प्रयोगशालाको स्थापना र संचालनका लागि आवश्यक कानूनी व्यवस्था गरिएको छ । राष्ट्रिय सभाको अर्को बैठक यही माघ २६ गते सोमवार अपरान्ह १ बजेर १५ मिनेटमा बस्नेगरी बोलाइएको छ । 

    २२. संघीय संसद भवनको निर्माण कार्य चैत्र पहिलो हप्ताभित्र सक्न शहरी विकास मन्त्रालयलाई राष्ट्रिय सभा अध्यक्षको निर्देशन

    राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले चैत्रको पहिलो हप्ताभित्र संघीय संसद भवनको निर्माण कार्य सम्पन्न गर्न शहरी विकास मन्त्रालयलाई निर्देशन दिनुभएको छ । शुक्रवार सिंहदरवारस्थित कार्यकक्षमा शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल र निर्माण कार्यमा सम्पन्न सम्बन्धित पक्षलाई बोलाएर उहाँले सो निर्देशन दिनुभएको हो । नयाँ संसद भवनबाटै प्रतिनिधिसभा र राष्ट्रिय सभा सञ्चालन गर्नेगरी कुनैपनि अवरोध नहुने गरी काम सम्पन्न गर्न सम्बन्धित पक्षलाई अध्यक्ष दाहालले निर्देशन दिनुभएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताउनु भयो । 

    २३. सरकारले आसन्न निर्वाचन निष्पक्ष रुपमा सम्पन्न गराउने गरी आवश्यक तयारी गर्नुपर्छः मायाप्रसाद शर्मा

    राष्ट्रिय सभामा नेपाली कम्युनिष्ट पार्टीका सांसद मायाप्रसाद शर्माले निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि आवश्यक तयारी गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । शुक्रवार राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले निर्वाचन प्रचारको क्रममा सामाजिक सञ्जालमार्फत लागीगलौजका आपत्तिजनक भाषाहरु प्रयोग गरिएकोमा आपत्ति जनाउँदै सम्बन्धित निकायले त्यसमा रोक लगाउनुपर्ने समेत बताउनु भयो । उहाँले राजनीतिक दलहरुले निर्वाचनमा आफ्नो पार्टीको दृष्टिकोणसहित जनतामा प्रश्तुत भएर उनीहरुको विश्वास जित्ने गरी अघि बढ्न आवश्यक रहेको बताउनु भयो । सांसद शर्माले राजनीतिक दलहरुले आफ्नो सैद्धान्तिक दृष्टिकोण जनतामा लिएर जान नसक्ने हो भने त्यसले जनतामा भ्रम सृजना हुने खतरा रहेको बताउनु भयो । 

    २४. सरकारले प्रगतिशील सुधार हुनेगरी वनसम्बन्धि नियमावली संशोधन गरेको छः मन्त्री चौलागाईं

    वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले सरकारले वन सम्बन्धि देखिएको समस्या समाधान हुने गरी वन नियमावली संशोधन गरेको दाबी गर्नुभएको छ । शुक्रवार राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । वन नियमावलीको तेस्रो संशोधन वर्तमान सरकारले गरेको र त्यो हालसम्मकै सबैभन्दा प्रगतिशील रहेको मन्त्री चौलागाईंको भनाई थियो । उहाँले विकास, निर्माणको काममा निकुञ्ज क्षेत्रमा देखिएका समस्या पनि सो नियमावलीले समाधान गर्ने बताउनु भयो । मन्त्री चौलागाईले भन्नुभयो,‘यो सरकार आईसकेपछि वन नियमावलीको तेस्रो संशोधन भएको छ । त्यो संशोधन राजपत्रमा पनि आईसकेको छ । र, त्यसमा अहिलेसम्मकै प्रोग्रेसिव सुधारहरु आएका छन । यो भर्खरै भएको हुनाले मानिसहरुको चर्चामा आउन समय लाग्छ । विगतमा दिइएको सुझावहरुलाई ध्यानमा राखेर त्यो आएको छ । विशेष गरी काठहरुको सदुपयोग गर्न त्यसले काम गर्छ । जुन संरक्षणमुखि हाम्रा नीतिहरु थिए । त्यसको प्रभावकारी कार्यान्वयनमा पनि त्यसबाट हुनेछ ।’

    २५. सर्वोच्चले संसद पुनःस्थापनासम्बन्धि मुद्दाको फैसला नगरेकोमा काँग्रेस सांसद ढुंगानाको असन्तुष्टि

    राष्ट्रिय सभाका नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले सर्वोच्च अदालतले संसद पुनःस्थापनासम्बन्धि मुद्दाको फैसला नगरेकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ । शुक्रवार राष्ट्रिय सभा बैंठकमा विशेष समय लिएर बोल्दै उहाँले सो टिप्पणी गर्नुभएको हो । सांसद ढुंगानाले सर्वोच्च अदालतका न्यायाधिशहरु यति धेरै निरीह भएको आफूले यसअघि कहिल्यै नदेखेको जिकिर समेत गर्नुभयो । उहाँले पञ्चायत कालमा पनि न्यायाधीशहरुले मुद्दाको किनारा लगाउने कामलाई प्राथमिकता दिने गरेको दृष्टान्त पेश गर्दै अहिले त्यो अवस्था नहुनु चिन्ताको विषय भएको बताउनु भयो । 

    २६. स्वास्थ्य बीमामा देखिएको समस्याबारे सरकारले तत्काल संसदलाई जानकारी गराउनुपर्छः एमाले सांसद दाहाल

    राष्ट्रिय सभामा नेकपा (एमाले)की सांसद तुलसाकुमारी दाहालले स्वास्थ्य बीमामा देखिएको समस्याबारे स्पष्ट जानकारी संसदलाई गराउन सरकारसँग माग गर्नुभएको छ । शुक्रवार बसेको राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै उहाँले सो माग गर्नुभएको हो । अस्पतालहरुमा बजेटको अभाव भन्दै सो कार्यक्रम बन्द भईरहेकाले सरकारले सो सम्बन्धमा के भएको हो भनि संसदमा जानकारी गराउनुपर्ने सांसद दाहालको भनाई थियो । उहाँले सर्वसाधारणलाई धेरै राहत भएको सो कार्यक्रमको लागि आवश्यक बजेटको व्यवस्था गर्ने कुरामा सरकारले ढिलाई गर्न नहुने बताउनु भयो । 

    २७. खाद्य सुरक्षा र पोषणमा लैङ्गिक समानताका लागि सरोकारवालाको जोड

    खाद्य सुरक्षा तथा पोषणको सन्दर्भमा लैङ्गिक समानता र महिला तथा बालिकाहरूको सशक्तिकरणका लागि नीतिगत सुधार र व्यावहारिक कार्यान्वयनमा जोड दिन सरोकारवालाहरुले आग्रह गरेका छन् । शुक्रवार राजधानीमा एक विशेष छलफलका क्रममा सरोकारवालाहरुले यस्तो आग्रह गरेका हुन् । संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) र कमिटी अन वल्र्ड फुड सेक्युरिटी (सीएफएस) को सहकार्यमा आयोजित यस कार्यक्रममा लैङ्गिक आधारित भेदभाव अन्त्य गर्ने, कृषि तथा खाद्य प्रणालीमा महिलाहरूको भूमिका र पहुँच बढाउने तथा खाद्य सुरक्षा सुनिश्चित गर्ने उपायहरूबारे सहभागीहरूले व्यापक छलफल गरेका थिए । नेपालको कृषि क्षेत्रमा महिलाहरूको ठूलो योगदान रहे पनि स्रोत र साधनमाथिको पहुँचमा अझै ठूलो असमानता रहेको कार्यक्रममा औंल्याइएको छ । 

    २८. सातौँ चरणको भन्सार सुधारलाई निर्यातमैत्री बनाउन जोड

    व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम रानाले व्यापारको समयसँगै लागत घटाउने गरी भन्सार सुधार गर्न जरुरी रहेको बताउनुभएको छ । नेपाल तयारी पोशाक उद्योग संघले निकासी प्रवद्र्धन गर्न सातौँ चरणको प्रश्तावित भन्सार सुधारमा समावेश गर्नुपर्ने सम्भाव्य क्षेत्रहरूका बारेमा आयोजना गरेको कार्यक्रममा उहाँले कतिपय प्रक्रियागत ढिलाइका कारण व्यवसायीहरुको लागत समेत बढेकाले त्यसलाई सुधार्न ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले भन्सारले व्यवसायीलाई दुःख दिने नियतले अनावश्यक कागजात माग्न नहुने समेत स्पष्ट पार्नुभयो । निर्यातका लागि कतिपय व्यवसायीहरू व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रमा सिफारिस माग्न आउने गरेको उल्लेख गर्दै रानाले केन्द्रले दिने भनेको जिसिएप मात्र भएकाले  अधिकांश व्यवसायीले यो सुविधा लिइसकेको अवस्थामा पुनः अनावश्यक सिफारिस लिन केन्द्र धाउन नपर्ने बताउनु भयो । 

    २९. २१ फागुनको निर्वाचनमा काँग्रेसलाई शानदार परिणाम ल्याउनबाट कसैले रोक्न सक्दैनः सभापति थापा

    नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको सन्देश प्रभावकारी रूपमा मतदातामाझ पु¥याउन सके २१ फागुनमा हुने निर्वाचनमा पार्टीले शानदार परिणाम ल्याउने दाबी गर्नुभएको छ । शुक्रवार नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले सो दाबी गर्नुभएको हो । उहाँले अगामी निर्वाचनमा पार्टीको जित कार्यकर्ता र नेतृत्वको सक्रियतामा निर्भर रहेको उल्लेख गर्दै सोहीअनुसार मेहनत गर्न नेता कार्यकर्तालाई आग्रह पनि गर्नुभयो । उहाँले विगतको निर्वाचनमा काँग्रेससँग असन्तुष्ट बनेका मतदातासँग सम्पर्क बढाउँदै पार्टीको सन्देशबारे जानकारी दिनुपर्ने बताउनु भयो । उहाँले जेन—जी नवपुस्तासँग समेत छलफल गर्नेगरी आफूहरु अघि बढिरहेको बताउनु भयो । उहाँले पार्टीभित्र रहेको असन्तुष्टि र मतभिन्नताको समस्या समेत निर्मुल हुँदै गइरहेको बताउनु भयो । उहाँले निर्वाचनमा पार्टीलाई एकढिक्का बनाएर लैजाने विषयमा पूर्वसभापति शेरबहादुर देउवालगायतसँग निरन्तर संवाद भइरहेको पनि बताउनु भयो । 

    ३०. अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयकमा दफावार छलफल सकियो

    राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक २०८१ माथिको दफावार छलफल सकिएको छ । शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकले सहमति हुन नसकेका विषयहरु प्रतिवेदनमै छलफल गर्नेगरी दफावार छलफल सकाएको हो । नेपाल अभौतिक सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी महासन्धि, २००३को पक्ष राष्ट्र भएको हुनाले उक्त महासन्धिको कार्यान्वयन गराउन भन्दै यो विधेयक ल्याइएको हो । बैठकमा बोल्दै समिति सभापति तुलसाकुमारी दाहालले छलफलमार्फत टुंग्याएका विषयहरुलाई मस्यौदा प्रतिवेदनको रुपमा तयार पार्न समिति सचिवालयलाई निर्देशन दिनुभयो । उहाँले भाषिक तथा सहमति जुट्न नसकेका विषयहरुमा आवश्यक गृहकार्य गर्न संस्कृति,पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई सुझाव दिनुभयो ।

    ३१. अभौतिक सांस्कृतिक सम्पदा विधेयकः ‘निर्णयको अधिकार सिफारिस समितिलाई नै दिइनुपर्छ’

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले अभौतिक सांस्कृतिक सम्पदाको प्रवद्र्धनका लागि सिफारिस समितिलाई निर्णय लिने अधिकारसमेत सुनिश्चित गरी अघि बढ्नुपर्ने बताउनुभएको छ । शुक्रवार सिंहदरबारस्थित राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा विधेयकमाथिको दफावार छलफलमा बोल्दै मन्त्री सिन्हाले यस्तो बताउनुभएको हो । हाल सिफारिस समितिको काम, कर्तव्य र अधिकार सिफारिस र राय पेस गर्नेमा सीमित रहेकाले निर्णय प्रक्रियामा अस्पष्टता रहेको उहाँको भनाइ छ । उहाँले समितिको सिफारिसलाई नै निर्णय मान्ने हो भने विधेयकमा स्पष्ट व्यवस्था गर्नुपर्ने अन्यथा सिफारिस प्राप्त भएपछि निर्णय गर्ने निकाय तोकिनुपर्ने आवश्यक औँल्याउनुभयो । 

    ३२. काँग्रेस उपसभापति शर्माको व्यंग्यः करारमा कर्मचारी नियुक्ति सुनेको थिएँ, रास्वपाले प्रधानमन्त्री नै करारमा ल्याउन खोज्यो

    नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मुलुकको प्रधानमन्त्री नै करारमा बनाउन खोजेको भन्दै व्यंग्य गर्नुभएको छ । शुक्रवार ललितपुरमा आयोजित पार्टीको एक कार्यक्रममा बोल्दै उपसभापति शर्माले रास्वपा लक्षित व्यंग्य गर्नुभएको हो । मुलुकको प्रधानमन्त्री बन्ने कुरा चानचुने कर्मचारी नियुक्त गरेजस्तो नहुने भन्दै शर्माले त्यसको लागि राजनीतिक जग बलियो हुनुपर्ने टिप्पणी गर्नुभयो । उहाँले २३ र २४ भदौको जेन—जी आन्दोलनपनि नेपाली काँग्रेस बाहेक कुनैपनि दल सुदृढ भएर जनतामाझ जान नसकेको टिप्पणी पनि गर्नुभयो । उहाँले एमालले जेनजी आन्दोलनपछि पार्टी विधान संशोधन गरेर दुई पटक अध्यक्ष भइसकेपछि अवकाश हुनुपर्ने प्रावधान हटाएर तीन पटक पनि अध्यक्ष हुन पाउने व्यवस्था गरेको टिप्पणी गर्नुभयो ।

    ३३. खाद्य सुरक्षा र पोषणमा लैङ्गिक समानताका लागि सरोकारवालाको जोड

    खाद्य सुरक्षा तथा पोषणको सन्दर्भमा लैङ्गिक समानता र महिला तथा बालिकाहरूको सशक्तिकरणका लागि नीतिगत सुधार र व्यावहारिक कार्यान्वयनमा जोड दिन सरोकारवालाहरुले आग्रह गरेका छन् । शुक्रवार राजधानीमा एक विशेष छलफलका क्रममा सरोकारवालाहरुले यस्तो आग्रह गरेका हुन् । संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) र कमिटी अन वल्र्ड फुड सेक्युरिटी (सीएफएस) को सहकार्यमा आयोजित यस कार्यक्रममा लैङ्गिक आधारित भेदभाव अन्त्य गर्ने, कृषि तथा खाद्य प्रणालीमा महिलाहरूको भूमिका र पहुँच बढाउने तथा खाद्य सुरक्षा सुनिश्चित गर्ने उपायहरूबारे सहभागीहरूले व्यापक छलफल गरेका थिए । नेपालको कृषि क्षेत्रमा महिलाहरूको ठूलो योगदान रहे पनि स्रोत र साधनमाथिको पहुँचमा अझै ठूलो असमानता रहेको कार्यक्रममा औंल्याइएको छ । 

    ३४. सातौँ चरणको भन्सार सुधारलाई निर्यातमैत्री बनाउन जोड

    व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम रानाले व्यापारको समयसँगै लागत घटाउने गरी भन्सार सुधार गर्न जरुरी रहेको बताउनुभएको छ । नेपाल तयारी पोशाक उद्योग संघले निकासी प्रवद्र्धन गर्न सातौँ चरणको प्रश्तावित भन्सार सुधारमा समावेश गर्नुपर्ने सम्भाव्य क्षेत्रहरूका बारेमा आयोजना गरेको कार्यक्रममा उहाँले कतिपय प्रक्रियागत ढिलाइका कारण व्यवसायीहरुको लागत समेत बढेकाले त्यसलाई सुधार्न ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले भन्सारले व्यवसायीलाई दुःख दिने नियतले अनावश्यक कागजात माग्न नहुने समेत स्पष्ट पार्नुभयो । निर्यातका लागि कतिपय व्यवसायीहरू व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रमा सिफारिस माग्न आउने गरेको उल्लेख गर्दै रानाले केन्द्रले दिने भनेको जिसिएप मात्र भएकाले  अधिकांश व्यवसायीले यो सुविधा लिइसकेको अवस्थामा पुनः अनावश्यक सिफारिस लिन केन्द्र धाउन नपर्ने बताउनु भयो । —न्युज एजेन्सी नेपाल

    प्रकाशित मिति :माघ २३ २०८२ शुक्रवार - २०:३२:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij