Logo

२०८२ माघ २३ गते शुक्रवार

२०८२ माघ २३ गते शुक्रवार

बाघको आक्रमणबाट एकैदिन २ जनाको मृत्यु

बाघको आक्रमणबाट एकैदिन २ जनाको मृत्यु


  • 603
    Shares

    बाघको आक्रमणबाट एकैदिन २ जनाको मृत्यु

    काठमाडौं । बर्दियामा बाघको आक्रमणबाट एकै दिन दुई किसानको मृत्यु भएको छ । मधुवन नगरपालिका–९, गाउँ नम्बर १३ की ४९ वर्षीया मैसरा डाँगी र गुलरिया नगरपालिका–४, तुल्सीपुरका ३५ वर्षीय नन्दु रोकायको बिहीबार मृत्यु भएको हो । उनीहरू दुवै जना काम गरिरहेकै समयमा आक्रमणमा परेका हुन् ।

    मैसरा आफ्नै खेतबारीमा काम गरिरहेको अवस्थामा जङ्गलबाट निस्किएको पाटेबाघको आक्रमणमा परेकी हुन् । उनलाई बाघले आक्रमण गरी जङ्गलतर्फ लगेपछि खोजतलासका क्रममा उनी मृत फेला परेकी थिइन् ।

    यस्तै, रोकायको बारबर्दिया नगरपालिका–११, बेलभारस्थित जनजागृति सामुदायिक वनमा घाँस काट्न गएको बेला चितुवाको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयले उनीहरू दुवैको बिहीबार नै मृत्यु भएको जनाएको छ । घाँस काट्न जङ्गल तथा सीमावर्ती क्षेत्रमा गएका र आफ्नै बारीमा काम गरिरहेका दुई स्थानीय किसानको वन्यजन्तुको आक्रमणमा परी मृत्यु भएपछि स्थानीय समुदाय त्रसित बनेको छ भने मानव–वन्यजन्तु द्वन्द्व फेरि चर्किएको सङ्केत देखिएको छ ।

    घटना विवरणअनुसार माघ २२ गते दिउँसो करिब २ बजे बर्दियाको मधुवन नगरपालिका–९ स्थित नेपाल–भारत सीमावर्ती क्षेत्रमा बस्ने भीमबहादुर डाँगीकी श्रीमती ४९ वर्षीया मैसरा डाँगी छिमेकीहरूसँग घाँस काट्न गएकी थिइन् । सीमापार भारततर्फको जङ्गलबाट आएको चितुवाले एक्कासि आक्रमण गरी उनलाई घिसार्दै भारततर्फ लगेको प्रत्यक्षदर्शीले बताएका छन् ।

    घटनाबारे स्थानीयले सवा ५ बजे वडाध्यक्षमार्फत प्रहरीलाई जानकारी गराएपछि तत्काल खोजतलास सुरु गरिएको थियो । प्रहरी चौकी तारातालबाट प्रहरी नायब निरीक्षक कृष्णबहादुर सुनारको कमान्डमा २ जना, इलाका प्रहरी कार्यालय ढोढरीबाट प्रहरी निरीक्षक महेन्द्र सेनको कमान्डमा ७ जनाको प्रहरी टोली तथा २०–२५ जना स्थानीय बासिन्दा संयुक्त रूपमा खोजीमा खटिएका थिए ।

    राति करिब साढे ७ बजे मधुवन नगरपालिका–९, धर्मबस्तीस्थित नेपाल–भारत सीमा स्तम्भ नम्बर ७० बाट करिब १०० मिटर नेपालतर्फ रहेको अरहर बारीमा मैसरा डाँगी मृत अवस्थामा फेला परेकी थिइन् । उनको शरीरमा जङ्गली जनावरको आक्रमणबाट लागेका गम्भीर चोटहरू देखिएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी चौकी ताराताल र इलाका प्रहरी कार्यालय ढोढरीबाट थप अनुसन्धान टोली खटिएर अनुसन्धान कार्य अघि बढाइएको थियो ।

    बिहीबार नै अर्को यस्तै घटनामा अर्का किसानले ज्यान गुमाउनुपर्‍यो । बारबर्दिया नगरपालिका–११, बेलभारस्थित जनजागृति सामुदायिक वनमा चितुवाको आक्रमणबाट अर्का एक पुरुष किसानको ज्यान गयो । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार गुलरिया नगरपालिका–४, तुल्सीपुर टोल बस्ने अन्दाजी ३५ वर्षीय नन्दु रोकाय घाँस काट्न वनमा गएका बेला बिहान करिब साढे ११ बजे चितुवाको आक्रमणमा परेका थिए । उनलाई घाँटीमा आक्रमण गरिएको थियो ।

    करिब १२ बजे प्रहरीलाई यस विषयमा जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जयनगरबाट प्रहरी नायब निरीक्षक हुमबहादुर विकको कमान्डमा टोली र जिल्ला प्रहरी कार्यालय बर्दियाबाट प्रहरी नायब निरीक्षक वेदबहादुर भण्डारीको कमान्डमा थप ५ जनाको टोली घटनास्थलमा खटिएको थियो । उक्त स्थान इलाका प्रहरी कार्यालय जयनगरबाट करिब ९ किलोमिटर दक्षिण–पश्चिममा पर्छ ।

    एकै दिन भएका यी दुई घटनाले बर्दियाका सीमावर्ती तथा वन क्षेत्र आसपास बसोबास गर्ने नागरिकको सुरक्षामा पुनः प्रश्न उठाएको छ । विशेष गरी घाँस, दाउरा तथा पशुचौपायाका लागि दैनिक रूपमा जङ्गल पस्ने र जङ्गल छेउ बस्ने स्थानीयहरू सबैभन्दा बढी जोखिममा रहेको स्थानीयको भनाइ छ । मधुवन–९ का वडाध्यक्ष हर्कबहादुर बस्नेतले खेतबारीमा काम गर्न जाँदा दिनहुँ मानवीय क्षति बेहोर्नुपरेको बताउँदै अब यस प्रकारका घटना दोहोरिन नदिन विशेष सुरक्षा सतर्कता अपनाउन आग्रह गरेका छन् ।

    प्रकाशित मिति :माघ २३ २०८२ शुक्रवार - १०:४३:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij