२०८२ माघ २३ गते शुक्रवार
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला कार्कीले ‘सामाजिक सञ्जाल विधेयक, २०८१ फिर्ता गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने भएकी छिन् ।
गत मङ्गलबारको मन्त्रिपरिषद् बैठकले सो विधेयक सङ्घीय संसद्बाट फिर्ता लिन स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो । राष्ट्रियसभाको १७ औँ अधिवेशनमा दर्ता भएको उक्त विधेयक सभाको विधायन व्यवस्थापन समितिमा विचाराधीन थियो ।
बैठकको सम्भावित कार्यसूचीअनुसार प्रधानमन्त्री एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कार्कीले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।
त्यसअघि प्रधानमन्त्री कार्कीले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ९स्थापना र सञ्चालन० विधेयक, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।
बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी समितिको अध्ययन प्रतिवेदन, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे हुँदैछ ।
यसैबीच, राष्ट्रियसभा विधायन व्यवस्थापन समितिको बैठक आज बिहान ११ः०० बजे हुँदैछ । बैठकमा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ माथि दफावार छलफल हुने जानकारी समिति सभापति तुलसाकुमारी दाहालले दिइन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij